प्राय: साथीहरु

भावनात्मक अत्याचार गरेर
जो आफ्नो नियन्त्रणमा राख्दछ
जससंग मेरो भावनात्मक सम्बन्ध छ
जस्ले भय,कर्तव्य र अपराधबोध गराएर दोहन गर्दछ
फसाउँछ भयदोहन गरेर
र आफ्नो स्वार्थ पूरा गर्दछ
त्यसलाई छिमेकी भन्नू परेको छ

जस्ले दोषी देखाउन
धम्कीपूर्ण इशारा
सामान्य मायालाग्दो दण्ड
दयालाग्दो छल गरेर
चिन्ताजनक अवस्थामा पुर्याईदिन्छ
त्यसलाई साथी भन्नू परेको छ

साख्खै बनेर मक्ख पार्छ
कोखाबाट झिक्छ
पिलोबाट खिल निकाल्छु भन्छ
निचोरेर दुखाइदिन्छ
पिठ्युँमा धुलो लागेछ टक्टकाउँछु भन्छ
बेस्सरी हिर्काएर धुलो झार्छ
माया गरेको भन्छ
निर्मम तरिकाले चिमोट्छ
गालाका पुष्पपत्र कति सुकोमल भन्छ
मसारे झैँ गरेर चुँड्छ
पाइला-पाइलामा टेकेर हिडेको छु भन्छ
धरनासोमा हिर्काउँछ
यस्तोलाई साथी मान्छु म

झूठा र लोभलाग्दो सरप्राइज दिएर हुन्छ कि
गोपनियता भंग गर्न खोजेर हुन्छ कि
सुका पैसा राखेर
एकको सिँगै ढ्याक असुल्छ
बाबरी ल्याएर सुँघाउछ मलाई ऊ आफू सुँघ्छ
मेरो परेवाको प्वाँख उखेलेर
आफ्नो कानमा काउकुती लगाउँछ
अनि के के न भएजस्तो
कानमा आई साउती गर्छ
यस्तोलाई साथी भन्नुपर्छ

तिमीलाई छाला मन पर्छ भन्छ
र अरु के के भन्छ
हत्तपत्त आफ्नो जुठो भागबाट झिकेर मेरो थालमा हाल्छ
तिम्रो आँगनको धुलो मार्ने भनेर
जुठेल्नो फ्याँक्छ

यस्तो विवश गर्छ कि
आफ्नो घरको खिड्की खोलेर हेर्छु
उस्को हाउभाउ देखेर हैरान हुन्छु
उस्को हर कोसिस हुन्छ कि
धुप हालेर मतिर धुँवा पठाउँ परेशान गरुँ
यस्ता साथीलाई साथी भन्नुछ

– निम्ब तरु

प्रतिक्रिया
Exit mobile version