मामाको छोरो रवि दाइले त भनेकै हो –
“गाउँकै कलेजमा पढ्, काठमाडौं नजा ।”
काठमाडौंमा एक्लै बसेर ‘होमसिक‘ भएको थियो ऊ । उसका कुरा नसुनी के के न लछारपाटो लाउँला झैं गरी आएको छु । एउटा महँगो कलेजमा भर्ना गरिदिएर त्यहीँकै होस्टेलमा खाने, बस्ने व्यवस्था मिलाइदिएर बुबा फर्केका छन् ।
घरै घरको जङ्गल, मोटर गाडीका लर्का, धुवाँ, धुलो, हल्ला । अग्लो भवनमा अवस्थित कलेज, केही रोमान्चित पनि छु अनि नियास्रेको पनि छु । मेचीदेखि महाकालीसम्मका मानिसहरुको संगमस्थल काठमाडौं । यस परचक्री भीडमा परिचित अनुहार भेट्न धेरै गाह्रो भएको छ ।

सुरुसुरुमा त बिहान बिहानै सुनिने वार्डेनको कर्कश स्वरले सातो लिन्थ्यो । चर्पीको लाइन, चियाको लाइन, खानाको लाइन, बेला बेला त आफूलाई पढ्न होइन, जागिर खाने सिलसिलामा तालिम लिँदै गरेको सिपाही जस्तो लाग्थ्यो । कहिले नुन नलागेको खल्लो तरकारी, कहिले पानीमा मिसाएर पकाएको झैं लाग्ने दाल (दालमा पानी होइन), कहिले दाँत झर्ने गरी ढुंगा टोकिने भात, त्यो पनि भान्से दाइ–दिदीको झर्कोफर्कोको मिठो मिश्रणयुक्त । खान बसेपछि आमा र बहिनीको धेरै सम्झना आउँथ्यो , कहिलेकाहिँ लोडसेडिङको बेला त मुटु निचोरिएर भातमा मिसिएको पनि छ आँखाहरुको बाटो भएर । बिस्तारै सम्झौताको बानी पर्दै गयो, अब त अभ्यस्त भइसकेको छु । कौशीमा उभिएर हेर्दा आतेश लाग्ने यो शहर अचेल रमाइलै लाग्छ । पल्लो घरकी मैयाँसँग आँखा ठोकिन थालेदेखि त झन कौशी औधी प्रिय भएको छ । उनी पनि कपडा सुकाउने, उठाउने, कौशी सफा गर्ने बहानामा निक्कै उक्लिन थालेकी छिन् । दुई चार जना साथीहरुले जिस्क्याउन थालेका छन्, मलाई पनि रमाइलै लागिरहेको छ । वार्डेनका आँखा छल्न भ्याउँदा अनि कहिले लुगा उठाउने निहुँमा, कहिले छतमा बसेर पढ्ने बहानामा म पनि विशेष बेलुकीपख कौशीतिर धाउन थालेको छु ।

सुरु सुरुको मौन हेराइ अलि पछि मुस्कुराहटमा अनि बिस्तारै हाइ, हेल्लो र परिचयको साटासाटमा पुग्छ । वार्डेनले राखिदिने गरेको मोबाइल प्रत्येक शनिवार चलाउन पाउँदा त हरेक दिन शनिबार भए पनि हुन्थ्यो जस्तो लाग्छ । कहिलेकाहिँ त लुकाएर हराएको बहाना गरुँ झैं लाग्छ तर अस्ति भर्खर रमेश र अशेषले मोबाइल लुकाएको थाहा पाएपछि त एक महिनासम्म (४शनिवार) उनीहरुलाई मोबाइल नै प्रतिबन्धित भएको थियो । कस्तो सि आइ डि जस्तो छ वार्डेन पनि । भो बाबा, एक महिनाको सजाय काट्नुभन्दा त हरेक शनिवारमा चित्त बुझाउनु नै बेस । हर शनिवार बडा दिन झैं लाग्छ– ऊसँग गफिन पाइने, रमाइला एस एम एस पठाउन पाइने अनि उसले पठाएका रोमान्टिक मेसेजहरुसँग रम्न पाइने ।
यतिका केटाहरु बस्ने होस्टेलमा उसले मलाई नै किन मन पराई ? म सबैभन्दा ह्यान्ड्सम भएर त पक्कै होइन । पहिला पहिला मैले सोचेको यो कुरा उसलाई सोध्छु । उसले मेरो ग्रुपका केटाहरु सबैले चुरोट पिएको तर मैले नपिएकोले मन पराएकी रहिछ । उसको घरतल सटरमा एउटा किराना पसल छ । आफ्ना आवश्यक तथा इच्छित सामानहरु त्यहीँ किन्छौं हामी । पसल्नी दिदी फरासिली छन् । वार्डेनका आँखा छलेर केटाहरु चुरोट किन्छन् तर म चकलेट, चुइँगमहरु मात्र । केटाहरु चुरोट पिउनकै लागि पनि १२/१ बजेसम्म जागै बस्छन । वार्डेन सुतेपछि तान्छन् । यो अवसरको सदुपयोग मेरो पढाइमा गरेको छु मैले । नानीसँगको प्रेममा कर्तव्य भुलेको छैन । उसको नाम नानी, पहिला त सुन्दा पनि अनौठो लागेको थियो । पसलकी दिदीसँग यसो कहिलेकाहिँ दुख सुखका कुरा हुन्थे, त्यहीँ भएर नानीलाई मेरो निकै प्रशंसा गरेर प्रभावित बनाएकी रहिछन् । ऊ पनि अर्को कलेजमा ११ मै पढ्दै रहिछे । अरु विषय नमिले पनि अंग्रेजी मिल्ने भएकाले नोट कापी साटासाट हुन्छन् हाम्रा, भित्र अनिवार्य एउटा चिठी । पसल्नी दिदी निमित्त बनेकी छिन् ।
यसरी झाँगिदै गएको हाम्रो प्रेममा लेश मात्र पनि विकार मिसिएको छैन । हाम्रो जात पनि मिल्छ । त्यसैले पढाइलाई प्राथमिकतामा राखेका छौँ । आजभोलिको सस्तो डेटिङ पनि हामी गएका छैनौँ । चिठी,फोन र मेसेजमा सीमित छ हाम्रो प्रेम । केटाहरु भन्ने गर्छन् –”तँ त साह्रै सोझो छस् । यति च्वाँक केटीले लभ गर्दा पनि घुमाउन नलाने तँ कति लाछी हँ ?“
म खिस्स हाँसेरै उडाइदिन्छु । प्रेम गरेपछि एकान्तमा घुम्न जानैपर्छ, एक अर्कालाई बाहुपाशमा बाँध्नै पर्छ भन्ने मान्यताबाट म टाढै छु ।
साहुनी दिदी र मेरा निकट केही साथीबाहेक कसैले थाहै पाउँदैन हाम्रो प्रेमको बारेमा । १२ को परीक्षा सकिएपछि केही समयका लागि म घर फर्किन्छु तर मेसेज र फोनको आदानप्रदान भइ नै रहन्छ । भौतिकतामा टाढा रहेर पनि आत्मिक निकटताको अनुभूति भइरहेकै बेला एक दिन अकस्मात उसको फोनले बज्रपात गरिदिन्छ । अझै पनि हाम्रो समाजमा छोरा र छोरीको समानता नारामै सीमित छ । अमेरिकाको ग्रीनकार्ड वालासँग उसको कुरो चलाउन थालेछन् । उसको फोनले म खङ्ग्रङ्ग हुन्छु, के गरुँ र कसो गरुँ हुन्छ । आउँदो महिनाको ७ गते दाजुको बिहे छ, घरमा तयारी भइरहेको छ । बुबा कडा स्वभावका छन् । १२ कक्षा नै पास नगरी कुन मुखले बिहेको कुरो गर्नु ? उता अमेरिकाको ग्रीनकार्ड होल्डरको तुलनामा मेरो हैसियत नै के छ र ? छोरीकै उमेरको फुच्चेलाई कुन बाबुले ज्वाइँ पत्याउला र ? हे भगवान, म के गरुँ ?
उसको तारन्तार कल र मेसेजहरुको रेस्पोन्स गर्न असमर्थ छु म । छोरीको चक्कर अली अली भेउ पाएछन्, मोबाइल खोसिएछ । घरछेउकै होस्टेलमा बस्ने अल्लारे ठिटोसँगको प्रेम किन स्वीकार्य हुन्थ्यो र ? पसल्नी दिदी फोनमा भन्छिन् –”भाइ, नानीको अवस्था नाजुक छ, भगाएर लानु ।“
दिमाग चकराइरहेको बेलामा तिनको यो कस्तो प्रस्ताव हो ? उसलाई भगाएर कहाँ लिएर जाऊँ ? घरमा दाइको बिहेको धमाधम छ । केही बोल्न सक्दिन, नबोली फोन काटिदिन्छु र स्वीच अफ गर्छु । भगवानले जोडी पहिल्यै तय गरेर पठाएका हुन्छन् रे । शायद ऊ मेरी थिइन, मनलाई दृढ गर्छु । ऊ पनि २/४ दिन रोली, पछि अमेरिकाको रमझममा बिर्सँदै जाली । यस्तै सोचेर दह्रो मन गर्छु तर प्रत्येक रात सिरानी भिज्छ । ओहो, कत्ति गाह्रो हुँदोरहेछ कसैलाई भुल्न !
दाइको बिहेको १५ दिन जतिपछि आँट गरेर पसल्नी दिदीलाई फोन गर्छु । कस्तो संयोग, उसको बिहे पनि त्यही दिन परेछ र हिजो मात्रै अमेरिका उडेछन् । प्रत्येक दिन पसलमा आएर मेरो बाटो हेर्थी रे अनि बरर आँसु झार्थी रे । दिदी भन्छिन्
।।।।।।।।।।।
–”भाइ, तपाईं त कस्तो निष्ठुरी !“ ग्रहण गर्छु उनको दोषारोपण लाई निःशब्द ।
विवाहसँगै दाइको जिम्मेवारी थपिएको छ । काठमाडौँतिरै गएर कुनै व्यवसाय गर्ने विचारमा छन् उनी । बहिनीले पनि एस एल सी सकी । घरमा बुबा र आमालाई छाडेर सबै उतै जाने सल्लाह हुन्छ । मुटु चरक्क चर्किन्छ नानी बिनाको रित्तो काठमाडौँ सम्झेर तर पनि मैले अगाडि पढ्नु छ, भविष्य निर्माण गर्नु छ ।
पहिला दाइ गएर एउटा किराना पसल किनेर त्यही घरको फ्ल्याटमा बस्ने व्यवस्था मिलाएर अनि मेरो रिजल्ट पनि लिएर आउँछन् । सबैको आशालाई मैले निराश तुल्याएको रहेनछु ।निस्कन्छौँ हामी बाआमालाई मात्र छोडेर । हरे, कस्तो बिडम्बना ! दाइले लिनुभएको पसल त तिनै दिदीको पो रहेछ, डिभी परेर सपरिवार अमेरिका जानलाई अलि सस्तोमै बेचेको । नानीकै घरको तल्लो तला हाम्रो वासस्थान । ओहो, यो कस्तो खेल नियतिको ! धन्न उसका बाआमाले उसको पूर्व प्रेमी म नै हुँ भनेर चिन्दैनन् । अगाडि होस्टेलमा ११/१२ का नयाँ विद्यार्थीहरु, नयाँ वार्डेन, उस्तै हल्ला । अतीत दोहोरिन लागे झैँ भान हुन्छ । स्मरण भइरहन्छ विगतका ती क्षणहरुको । सम्हाल्छु वहकिन लागेको मनलाई अनि सारा शक्ति सञ्चय गरेर पढाइमा केन्द्रित हुन खोज्छु । धेरै गाह्रो लाग्छ कहिलेकाहिँ ।
समयले पुर्दै लान्छ हरेक घाउ अनि खाटा बस्दै जान्छ । ३ वर्ष बितिसकेको छ । मेरो इन्जिनियरिंग को कोर्स पुरा हुन लागेको छ । बडो तन्मयसाथ लागिपरेको छु । यस बिचमा एउटी भतिजीको अंकल भएको छु , बहिनी बी ए पढ्दैछे । पसल राम्रो चलिरहेको छ । बाआमासँग भेटघाट, भलाकुशारी, फोन सम्पर्क बाक्लै छ । धन्न अहिलेसम्म तगडै छन् । बहिनीको र मेरो बिहे गरुन्जेल गाउँमै बस्ने उनीहरुको अडान ।
शनिवारको दिन, पसलमै छु । एउटा ट्याक्सी आएर रोकिन्छ । १ घन्टाअगाडि ठाँटिएर हिँडेको घरभेटी बुढो ओर्लन्छ, सुटकेशहरु झिक्छ, ड्राइभर उसलाई सघाउँछ । पछिल्लो सिटबाट बाहिरिएको आकृतिमा आँखा ठोकिन्छन् । बिना कुनै पूर्वसूचना भूकम्प गएजस्तो अकल्पनीय उसको आगमनले म जड बन्छु । उसकै घरमा मेरो उपस्थिति अपत्यारिलो लागेरै होला, ऊ पनि हेर्याहेर्यै हुन्छे । बाबुले आवाज दिँदा पो झस्किन्छे, केही नबोली बिस्तारै भित्र जान्छे ।
यति लामो अन्तरालमा उसलाई एक्कासी देख्दा चकराउँछु म । पहिलाकी मोटीघाटी ऊ त खर्लप्प आधा भइछ । बिदेश जानेहरु त प्राय मोटाएर आउँछन्, यहाँ त ठीक उल्टो पो भएछ ।
भाउजु र बहिनीसँग उसकी आमाको सम्बन्ध सुमधुर नै छ, दुखसुख बाँड्छिन् । उनीहरुबाटै थाहा पाउँछु– लोग्नेसँग पारपाचुके गरेर पो फर्किएकी रहिछे । लोग्नेबाट स्वास्नीले पाउनुपर्ने मायाबाट अझैसम्म वञ्चित नै रहिछे अर्थात यतिका वर्षसम्म पनि कुमारी नै । डलरसँग सन्तानको खुशी किन्ने कोशिसमा मान्छेले कहिलेकाहीँ गतिलै भुल गर्दो रहेछ । विचरीलाई ३ वर्ष लागेछ लोग्ने समलिंगी भएको थाहा पाउन । सधैँ डेभिडसँग ढोका लगाएर बस्दा पनि अन्तरंग मित्र ठानिरहिछे तर आफूप्रति लोग्ने उदासिन रहिरहेपछि चाहिँ शंका लाग्दै गएछ । एक दिन उसैले रुँदै सुनाएछ कसरी आफ्नो परिचय लुकाएर परिवारको लागि बिहे गर्न बाध्य भयो ऊ । माफी पनि मागेछ उसका अमूल्य ३ वर्ष नष्ट गरिदिएकोमा र मुक्त गरिदिएछ उसको रंगहीन सिन्दूरको बन्धनबाट । के गरोस् र ऊ पनि प्रकृति नै त्यस्तै पाएपछि । सामाजिक संरचनाभित्र बाँधिन विवश एउटा लाचार प्राणी, दोहोरो जीवन बिताउन बाध्य । त्यसैले उसको अनिर्णयको शिकार भएरै पनि केही नभनी फर्किछ ऊ ।
कुनै दिन मैले यति अगाध माया गरेकी नानी आज मेरै सामुन्ने खडा छे, निरीह अनि रंगविहीन अवस्थामा तर म केही गर्न सक्दिन उसको निम्ति । त्यतिखेरै पनि के गर्न सकेको थिएँ र ? उसको आग्रहलाई स्वीकारेर भगाएको भए आज यो दिन आउने थिएन । अब पनि के नै गर्न सक्छु र टुलुटुलु हेर्न बाहेक ! उसका मूक नयनभित्र लुकेका असङ्ख्य असन्तुष्टी र सिकायत हरुको सामना गर्न असमर्थ छु म । छोरो इन्जिनियर भएपछि सुयोग्य कन्यासँग लगन गाँठो कसिदिने धोको पालेर बसेका जन्मदाता को आशा विपरीत एउटी पारपाचुके भएकी महिलासँग बिहे गर्ने हिम्मत कहाँबाट ल्याऊँ म ? कति अन्यायी अनि पक्षपाती छ यो सामाजिक तराजु अनि कत्ति निरीह छौँ हामी मान्छे झुठो आदर्शको खोलभित्र ! कत्ति ठूलो अन्तराल नानी र मेरो सम्बन्धमा यत्ति ३ वर्षभित्रमै । लम्पसार छ अगाडि यति लामो जिन्दगी उसको तर म ‘आदर्श’ छोरो, ‘आज्ञाकारी’ भाइ अनि समाजको एउटा ‘सज्जन‘ सदस्य – कहाँ थाम्न सक्छु र एउटी ‘परित्यक्ता‘ काे हात ? कसरी गर्न सक्छु यत्रो दुस्साहस ? यो ३ वर्षको अन्तरालमै पो चिस्सिसकेछ हाम्रो मायाको न्यानोपन त । होइन, हाम्रो प्रेम ओस्सिएको कि म चिस्सिएको ?
बस् ।

प्रतिक्रिया
Exit mobile version