“स्वच्छन्द साहित्य लेखन प्रतियोगिता २०८१”को अन्तिम नतिजा घोषणा हुँदै थियो ।
सहभागी र दर्शकहरुले सभाहल खचाखच थियो।
दर्शक दीर्घामा विभिन्न खासखुस सुनिन्थे।

“दर्शन , चिन्तन , जीवन, जगत, आत्मा, परमात्मा, जन्म, मृत्यु , पुनर्जन्म, सृजना–प्रलय तमाम जिज्ञासाहरुको उत्तर पाईन्छ शान्त सरोवरको अध्यात्मिक लेखमा । ज्ञानको महासागर नै हो यार शान्त सरोवर ” सन्देशले भन्यो ।

“शारीरिक कष्ट र मानसिक तनावका बिच पनि मुहारमा मुस्कान पस्किन सक्नु नै जीवन हो”
दिब्य मुस्कानका यी शब्दहरु मेरै निमित्त लेखेजस्तो लाग्छ निष्ठाले भनी ।

“माटोमा बीज अंकुराउन पनि पानीको स्पर्श चाहिन्छ ।
प्रेम फूल्न फक्रीन पनि प्रेमील स्पर्श र स्नेहील साथ चाहिन्छ । नत्र मन कहाँ अडिन्छ र ? मनै नरहे घर कहाँ घरजस्तो हुन्छ र ! ” विह्वल वनिताका भनाईले जो कोहीलाई मर्माहत बनाउंँछ्न ।

“उसको यौन कथा पढेका छौ?
पढ है । महसुस गर्दै पढ्दाको मज्जै बेग्लै, मथिङ्गल हल्लाइदिन्छ ।
“श्रवणले भन्यो ।

“हामी समक्ष एकसेएक रचनाहरु आएका थिए ।
एउटालाई द्वितीय भन्दा अन्याय हुन्छ ।” त्यसैले शान्त सरोवर, दिब्य मुस्कान र विह्वल वनितालाई प्रथम भएको घोषणा गर्दै पुरस्कार ग्रहण गरिदिनहुन मञ्चमा आमन्त्रण गर्दछु। उद्द्घोषकले भने ।

कोही आएन मञ्चमा ।
साथीले कर गरेपछि मन्जरी शर्मा उठिन् ।
अरु तीनजनाको चालचोल छैन ।
अन्त्यमा, विभिन्न नामधारी रचनाकार ऊ नै हुन भन्ने खुल्यो ।

“कसरी यस्तो हुन सक्छ ?
एकैजनाले यस्ता विभिन्न विषयबस्तु समेटेर छद्मी नामबाट प्रेषित गर्नुको रहस्य ?”
सत्ता निरंकुश भएका बेला भए परिचय खुल्दा कारबाहीमा परिने डरले भन्न हुन्थ्यो ।
एउटै मान्छेका लेख हुनै सक्दैनन ।
विवाद हुन थाल्यो ।

“हो मान्छेभित्र काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य सबै हुन्छन् । भन्न मिल्ने नमिल्ने सबैखाले भावहरु उर्लिन्छन । एउटी नारीले सबैकुरालाई खुलस्त लेख्दा हाम्रो संकीर्ण सोचले नपचाउँन सक्छ त्यसैले वहाँले छद्मी नाममा रचना प्रेषित गर्नुभयो ।”

विवाद निरुपण सर्वाधिकारको अस्त्र प्रयोग गर्दै निर्णायकले भने ।

सभापोखरी -१,
संखुवासभा ।

प्रतिक्रिया
Exit mobile version