भरतकाजी खानदानी परिवारका थिए । गाउँमा उनी प्रतिष्ठित मान्छेमा गनिन्थे । गाउँमा हुने झैँझगडा उनले नै मिलाइदिन्थे । दशैं तिहार तथा अन्य चाडबाडमा गाउँलेहरुका समस्या फुकाइदिन्थे । कोही बिरामी पऱ्यो र अस्पताल लानु पऱ्यो भने नि उनले सहयोग गर्थे । अन्न नहुनेलाई घरको धान, मकै दिएर भोक टारिदिन्थे । पैसा सरसापटी लगेका गाउँलेहरु खेतीपातीमा मेलापात गएर चुक्ता गर्दथे । सबैको भलो चाहन्थे भरतकाजी । उनका दुई भाइ छोराहरु थिए महेश र दिनेश । उनीहरुको उमेर दुई वर्षको मात्र फरक थियो ।

महेश र दिनेश स्कुल पढ्न जान्थे । महेश कक्षा ३ मा र दिनेश कक्षा १ मा पढ्थे । एकदिन महेश बिरामी भएर स्कुल जान सकेनन् दिनेश मात्र गए । बेलुका छुट्टी भएर गाउँघरका सबैजना घरमा आइसके, दिनेश भने आएनन् । बेलुका अबेरसम्म सबैतिर खोज खबर गर्दा पनि दिनेशको पत्तो लागेन । बेलुका अबेरसम्म स्कुलबाट घर फर्कँदै गरेको सम्म सबैले बताए । उनी कता गए कसैलाई थाहा भएन । भोलिपल्ट भरतकाजीले छोरा हराएको भनि प्रहरीमा खोजिदिन जाहेरी दिए । दिनेशकी आमा अम्बिकाले धेरै पीर गरिन् । उनले कति छाक त खाना नै नखाई भोकभोकै बसिन् ।

सानोबाबुको परिवार सहरमा बस्दथ्यो । उनका आमाबुबा उनी सानै हुँदा बिते र उनले धेरै दुःख पाए । फलाम कारखानामा काम गर्दागर्दै उनले काम सिके । पछि उनले आफ्नै कारखाना खोले । कामदार पनि राखे । उनकी एउटै मात्र छोरी थिइन रोशनी । उनी पढ्नमा अब्बल थिइन् ।

सानोबाबुको फलाम कारखानामा काम गर्ने दश जनामध्ये एउटा केटोले उनको मन खिच्यो । त्यो केटो काम पनि ध्यान दिएर आफ्नै जसरी गर्दथ्यो । सीप पनि उसको राम्रो थियो । घरमा पनि सघाँउथ्यो ऊ । सानोबाबु त्यो केटादेखि साह्रै खुशी थिए । कारखानाको मुख्य जिम्मेवारी उसैलाई दिएका थिए र उनले त्यो केटालाई मायाले ‘प्रेम’ भनेर बोलाउँथे ।

रोशनीले एमबीबीएस सकिन र नेपाल मेडिकल काउन्सिलको परीक्षामा पनि उनी उत्तीर्ण भइन् । उनी सहरको प्रतिष्ठित ग्रीन हस्पिटलमा काम गर्न थालिन् । भर्खरै मेडिकल काउन्सिलको परीक्षामा उत्तीर्ण भएका महेश पनि ग्रीन हस्पिटलमा काम गर्न थाले । महेशको एक नम्बरमा नाउँ निस्किएको थियो भने रोशनीकोे दुई नम्बरमा थियो । ग्रीन हस्पिटलमा काम गर्ने सिलसिलामा विस्तारै महेश र रोशनी नजिकिन थाले । थाहै नपाई दुबैको मनले एक अर्कालाई चाहेको थियो । छुट्टीमा उनीहरु गाडी लिएर घुम्न जान्थे । दुबैजना आफै सक्षम भएकाले एक अर्कालाई बुभ्न पनि समय लागेन । कामैको सिलसिलामा विश्वभर फैलिएको कोभिड–१९ ले रोशनीलाई सक्रमण गऱ्यो । उनले पिसिआर चेक गर्दा पोजिटिभ देखियो । उनी घरैमा आइसोलेसनमा बसिन् । प्रेमले नै उनकै हेरचाह गरे । रोशनीलाई झनै आक्रान्त पार्दै लग्यो । उनलाई हस्पिटल लगियो । हस्पिटलमा चेकजाच गर्दा रगत दिनुपर्ने भयो । उनको ओ नेगेटिभ रगत पाउन सकिएन । धेरैतिर बुझ्दा पनि ओ नेगेटिभ रगत भेटिएन । ब्लड बैंकमा नि सकिएको रहेछ । अन्तमा प्रेमले मेरो रगत जाँच गर्नुहोस भने नभन्दै उनको ओ नेगेटिभ नै रहेछ । उनले रगत दिएर रोशनीलाई बचाए । बिस्तारै रोशनीको स्वास्थ्यमा सुधार आयो । महेशले प्रेमलाई धेरै धेरै धन्यवाद दिए । रोशनीको स्वास्थ्य क्रमिक सुधार हुँदै गयो र हस्पिटलबाट डिस्चार्ज भइन् । घरमा आराम गरेर बसिन् । बेलाबेला महेश जान्थे स्वास्थ्य स्थिति बुझेर फर्किन्थे ।

महेश र रोशनीको विवाहको टुंगो लाग्यो । विवाहको सबै तयारी पूरा भयो । प्रेमले पनि धेरै सघाए । महेश र रोशनीको धुमधामसँग विवाह भयो । भरतकाजीले प्रेमलाई आफ्नै छोरा सरह मानेर श्री सम्पति सबै उसलाई दिने अठोट गरेर आफ्नी श्रीमती राधासँग सल्लाह गरे । उनले पनि स्वीकृति जनाइन् । हुन पनि उनीहरुका अरु कोही सन्तान थिएनन् ।

रोशनी सुत्केरी भइन । उनले छोरा पाइन । भरतकाजीका सबै परिवार खुसी भए । यता सानोबाबुको परिवार पनि उत्तिकै खुसी भए । एकदिन रोशनीलाई भेटन भनेर सानोबाबु, राधा र प्रेम रोशनीको घर गए । मिठामिठा परिकार र फलफूलहरु लगेका थिए । भेटघाट भयो । सबै खाजा खान थाले प्रेमलाई कताकता वालापनको याद आयो । उसले हिडेको, खेलेको ठाउँ, वन वुट्यान पनि चिनेचिनेको जस्तो लाग्यो । सम्धिसम्धिको गफ हुँदै जाँदा भरतकाजीले भने मेरो दुईभाई छोरामध्ये एउटा कान्छो सानैमा स्कुल जादा हराएको अहिलेसम्म अत्तोपत्तो छैन । प्रेमको अनुहार एकाएक परिवर्तन भयो । उसले बरर्र आसु खसाल्दै भन्यो । बुबा तपाईको त्यो छोरा मै हुँ । म स्कुलबाट घर फर्कदै थिए । एउटा अधवैशे मोटो मान्छेले मलाई चकलेट दियो र फकाएर लग्यो । सहरमा एउटा कोठामा राख्यो । मलाई त्यहाँ बस्न मनै लागेन म राति नै त्यहाँबाट भागेँ । बिहान नहुन्जेल सडकमै बसें । त्यसपछि एउटा होटलमा पुगे । त्यहाँ खानेकुरा मागें । होटलवालाले चिया, सेल र तरकारी दियो र मैले खाएँ । त्यसपछि मैले घर पुऱ्याइदिन भने । बुबाको नाम भरतकाजी । मेरो नाम दिनेश भने । उनले ठेगाना सोधे मैले बताउन सकिन । उनले यहीं बस्नु भने । म उनकैमा बसें । उनले स्कुल पढ्न पनि पठाए । तर उनकी श्रीमती असाध्यै चोथाले थिइन् । मलाई देखि सहदैनथिन् । कहिलेकाहीँ साहु नभएको बेला कुट्न पनि आइलाग्थिन् । उनकोमा म ९ वर्षजति बसे । एकदिन होटलवालाको घर राती चोरी भयो । साहुनीले मलाई धेरै गाली गरिन् । चनाखो भएर सुत्न पर्दैन भनेर कपाल लुछिन् उनका गालीका शब्दहरुले मनमा धेरै बिझायो । अनि त्यहाँबाट म निस्के । साहुबा लाई पनि म अब आफ्नै घर खोज्दै जान्छु भने । सहरबाट निस्केर हिडदै थिए । एकजना साथीले फलाम कारखानामा काम छ गर्ने हो भन्यो । मैले गर्छु नि भने अनि उहाँ (सानोबाबु) कोमा काम गर्न थाले । कुरा सुनिरहेको महेश पनि निकै भावुक भयो । रोशनीलाई झन दया लागेर आयो । अम्बिकाले मन थाम्न सकिनन् र उसलाई अंगालो हालेर मेरो छोरा मेरो बाबु भन्दै भक्कानो छोडेर रुन थालिन् । दिनेशको पनि आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेको थियो ।

*************

प्रतिक्रिया
Exit mobile version