आख्यानात्मक विधामा विशेष पहिचानगत स्वरूप, प्रविधा लघुकथा रहेको छ । लघुकथा कथाको रूप वा अंशको रूपमा केही विद्वतहरूले लिएको पाईन्छ । मेरो व्यक्तिगत मान्यता अनुसार यो एक विशुद्ध आख्यानको प्रविधा हो । न त यो कथाको सानो स्वरूप हो न त उपन्यासको कुनै अनुच्छेद नै । यो पूर्ण रचना, चातुर्यपूर्ण समापन र अर्थपूर्ण भाव गरी त्रिआयामिक संरचनामा रहेको हुन्छ, जसमा व्यक्ति र समाजको द्वन्द्वको अभिव्यक्ति रहेको पाइन्छ । सामाजिक विसङ्गति उजागर गर्ने लघुकथाको मुख्य विशेषता सूक्ष्म र अर्थपूर्ण हुनु हो ।

पृथक धार बोकेको यो विधाले वर्तमान समयमा निकै राम्रो उपस्थिति जनाएको छ । बदलिँदो समय र समाजको व्यस्त जीवनले पारेको प्रभावले यो स्वतन्त्र विधाको विकास भएको पाइन्छ । पछिल्लो समयमा नेपाली साहित्यको फाँटमा नेपाली लघुकथा लेखनले निरन्तर रूपमा प्रगति र लोकप्रियता हासिल गरेको छ । वि. सं. २०७९ मा ३२ लघुकथा कृति प्रकाशित भएकोमा २०८० मा मात्र ४० भन्दा बढी लघुकथाको कृतिहरू प्रकाशित भएको पाइएको छ ।

यीनै २०८० मा प्रकाशित, मेरा हात परेका केही सङ्ग्रहहरू मध्ये हेटौडा निवासी श्यामप्रसाद श्रेष्ठको लघुकथासङ्ग्रह व्यथाभित्रको कथाको नालीबेली खोतल्ने प्रयासमा छु ।

हेटौडाको पारिवारिक कार्यक्रममा उपस्थित हुनजाँदा, मातृभूमि साहित्य समाज मकवानपुरको आयोजनामा मातृभूमि समाजका कार्यसमिति सदस्य एवम् लघुकथाकार श्यामप्रसाद श्रेष्ठज्यूको लघुकथा कृति ´व्यथाभित्रको कथा´ को गृह विमोचन कार्यक्रममा उपस्थिति जनाइ लघुकथा माथि प्रकाश पार्नु को साथै कृति पनि हातमा पर्ने अवसर मिल्यो । यो अवसर प्रदान गरिदिनुहुने आदरणीय किशन पौडेल ज्यू, श्यामप्रसाद श्रेष्ठ ज्यू र मातृभूमि साहित्य समाज मकवानपुरलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

नीरबहादुर याख्याको आवरण चित्र, डा. पुष्करराज भट्टको भूमिका, र किशन पौडेल शुभेच्छा शब्दले साजसिङ्गारमा रहेको यो कृतिले ८८ पेजमा ५७ लघुकथाका खुराक पस्किएको छ । उहाँको यस सङ्ग्रह लघुकथा उन्मुक्तिबाट सुरु भइ गुहारमा सकिएको छ । कृतिको नाम ‘व्यथाभित्रको कथा’ सान्दर्भिक छ । हाम्रो समाज, देशको व्यथालाई कथा बनाइएको छ ।

लघुकथाको पहिलो आकर्षण लेखकीय अभिव्यक्ति रहेको छ । लघुकथा सङ्ग्रहको बारेमा लेखकीय अभिव्यक्तिलाई लघुकथा सङ्ग्रहभित्र रहेका ५७ वटै लघुकथाका शीर्षकहरूलाई समेटेर प्रस्तुत गर्नु भएको छ ।

शीर्षक सार्थकता :-

एक सुन्दर र प्रभावकारी शीर्षकले लघुकथालाई बाधिन्छ । शीर्षक लघुकथाको मियो हो । यसैको वरिपरि कथावस्तु घुम्दै गएर एउटा प्रभावकारी निष्कर्षमा पुग्दछ । शीर्षक चयन गर्दा, लघुकथाको विषयवस्तु, घटना, पात्र, परिवेश, विम्ब प्रतीक सबैसँग वा कुनै एक वा दुईमा मेल खाने हुनुपर्छ । अझ, सटिक, आकर्षक र कौतूहलता बोकेको शीर्षक बनाउन सके लघुकथाको भावलाई उचाईमा पुऱ्याउँछ । लघुकथाको शीर्षक लघुकथा झैं लघु हुनुपर्छ भन्ने मान्यता छ ।

यिनै कथ्यतथ्य अनुरुप लघुकथाकार श्रेष्ठ शीर्षक चयनमा सचेत रहुनुभएको देखिन्छ । सङ्ग्रहभित्र रहेका लघुकथाहरूमा, चवालिस वटा लघुकथा एक पदीय, बाह्रवटा दुई पदीय शीर्षक र एक लघुकथामा तीन पदीय शीर्षक रहेको छ । सङ्ग्रहभित्र उन्मुक्ति, तारणहार, चीत्कार, नलेखेको कथा, मिठो बोट, कुहिएको आलु, भार, रक्षक, मनचिन्ते, के फेर्ने, अनुभवी, पत्रकारिता, चक्रव्युह, दुर्गन्ध, मास्क भित्रको मान्छे, आर्तनाद, संस्कार, नाङ्गिने खेल, रगत, तुँहिएको सपना, नेपाल यातायत, हानथाप जस्ता उत्कृष्ट शीर्षक चयन गरिएको छ । यसको साथै लघुकथाको शीर्षकको पुनरावृत्ति हुनबाट जोगाउन पनि लघुकथाकार श्रेष्ठ सफल रहनु भएको छ ।

सङ्ग्रहको कतिपय लघुकथाको शीर्षकले प्रतिक्रियात्मक अर्थ बोकेको देखिन्छ भने कतिपयले मार्मिक पक्षको रहस्योद्‍घाटन गर्ने प्रतिच्छाया राखेको छ । प्रतिकात्मक शीर्षक रहेका लघुकथाहरूः चित्कार, कुहेको आलु, परिचय, आसारामको सपना, अपच, नेपाल यातायत, गोठालो, मिठो बोट, नाङ्गिने खेल जस्ता लघुकथाहरूले प्रतिकात्मक रूपमा राजनीतिको पतनलाई चित्रण गरेका छन् । त्यस्तै उन्मुक्ति, आसारामको सपना , चोट, अन्तर्नाद जस्ता लघुकथाहरूले विम्बात्मक स्वरूप बोकेको पाइन्छ ।

तर केही लघुकथाको शीर्षकको रहस्योद्‍घाटन उठान बाक्यबाट गरिएका छन् जसले सम्पूर्ण कथा पढ्नु अघि नै पाठकले लघुकथाको भाव बुझिसक्छन् (लघुकथा संविधान, गठबन्धन, नौटङ्की) । केही लघुकथाका भाव अनुसार शीर्षक सार्थकता नभएको हो कि जस्तो लाग्छ (लघुकथा – संभावनाको खेल, असत्य) ।

पात्र चयन / दृष्टिविन्दु :-

लघुकथामा अनिवार्य घटकका रूपमा रहेको पात्रलाई कथानक र घटकको सारथि पनि भन्ने गरिन्छ । न्यून पात्र भएमा लघुकथाको अभिव्यक्तिमा स्पष्टता र तीव्रता आउँछ ।

लघुकथाकारले अवलम्बन गरेको विषयलाई आत्मसात गर्न सक्ने तथा विचारलाई बोक्न सक्ने खालको पात्रको चयनमा विशेष ध्यान पुर्याउनु भएको देखिन्छ । लघुकथामा प्रयोग भएका पात्रहरूको भूमिकाका आधारमा पात्रहरू मुख्य, सहायक र गौण पात्रहरू रहेका छन् । नेपाल बहादुर, चिनमान, (लघुकथा उन्मुक्ति), जनताराम, गरिब लाल, भ्रष्टबहादुर (लघुकथा परिचय), प्रजाराम (लघुकथा भार), बाह्रमाने, (लघुकथा विश्वासघात), फुर्तिमान (लघुकथा हैसियत) जस्ता नामकरण गरिएका पात्रहरू लघुकथा सङ्ग्रहका आकर्षकणको केन्द्रमा रहेका छन् ।

लघुकथा सङ्ग्रहभित्र मानवीय तथा मानवेतर प्राणी र प्राणेतर जड वस्तुहरू पात्रको रूपमा रहेका छन् । ढाडे बिरालो, मुसा, कुकुर, गधा, कार्वन, बाँदर, खहरे, कुलो, नदी, कुवा, ईनार, किराहरूलाई लघुकथाका पात्र बनाइएको छ । यस्ता मानवेत्तर पात्रहरू प्रयोग गरिएको लघुकथाहरूमा उन्मुक्ति, योद्धा, अधिनायक, चोट, आर्तनाद, तुँहिएको सपना, आदि रहेका छन् ।

प्रथम वा तृतीय दृष्टिविन्दुमा लघुकथाको विकास हुन्छ । लघुकथाकार श्रेष्ठको एक लघुकथा (मिठो बोट) बाहेक सबै लघुकथाहरूमा तृतीय दृष्टिविन्दुमा प्रयोग भएको छ । लघुकथाकारले लघुकथाहरूमा आँफूलाई चरित्रबाट पृथक राखेर पात्रहरूको माध्यमबाट विचार प्रस्तुत गर्नुभएको छ ।

उठान/प्रारम्भ :-

लघुकथाको प्रारम्भमा परिचय वा परिवेशलाई परिभाषित गर्ने ठाउँ राख्नु हुँदैन । यो आकस्मिक र एक वाक्यबाट सुरु हुनुपर्छ जसले पाठकलाई थप पढ्ने तीव्र इच्छा जगाउँछ । आकस्मिक उठान संवादबाट वा वाक्यको गठनबाट गर्न सकिन्छ ।

सङ्ग्रहका केही लघुकथाहरूले पहिलो वाक्यबाट नै पाठकलाई उत्सुकता जगाउन सफल रहेका छन् । यस्ता लघुकथाहरूमा –

“हजुर! तपाईँले मेरो तारणहार कहीँ देख्नुभएको छ?”- (लघुकथा तारणहार)
“ए जनताराम तिमीले मलाई चिनेनौ?” – (लघुकथा परिचय)
“यो विश्वकै उत्कृष्ट र आकर्षक पोको हो ।“ – (लघुकथा संविधान)
“तेरो हातखुट्टा भाँचिदिन्छु । तैंले के सोचेको छस् ?” – (लघुकथा भागबण्डा)
“खै! त्यो मास्के बुढा ? कहीँ देखिदैन नि?” – (लघुकथा मास्क भित्रको मान्छे)
“हैन, बैदार बाजे हस्याङफस्याङ् गर्दै कतातिर लाग्नु भयो ?” – (लघुकथा बेरोजगार)

केही लघुकथाहरूमा आकस्मिक उठान रहने ठाउँ रहदा रहदै पनि वर्णात्मक तर्फ उन्मुख भएका छन् । लघुकथाहरू- उन्मुक्ति, नलेखेको कथा, गोठालो, निजीकरण, मिठो बोट, आशारामको सपना, अनुभवी, असत्य, के फेर्ने, पत्रकारिता, गठबन्धन, नौटङ्की, बोझ, ममता, महामानव आदिमा आकस्मिक उठान गर्न सकिने ठाउँ रहेको छ ।

विषयवस्तु/कथानक :-

यथार्थपरकको साथै काल्पनिक विषयवस्तु समेटिएका लघुकथाहरूमा श्रेष्ठले समाजमा रहेका व्यथाहरूलाई लघुकथाहरूको माध्यमबाट पस्कनु भएको छ । विषयगत कुरा गर्दा झण्डै ८० प्रतिशत लघुकथाहरूमा राजनैतिक परिवेश रहेका छन् । केही लघुकथाहरूले पारम्परित विषयवस्तुको उठान गरेका छन् ।

लघुकथा सङ्ग्रहभित्र विषयगत लघुकथाहरू –

राजनीतिक पृष्ठभूमिका लघुकथाहरू – उन्मुक्ति, तारणहार, चीत्कार, परिचय, खोइ फेरेको, कुहेको आलु, गोठालो, निजीकरण, मनचिन्ते, आदेश, बन्दी, बिडम्बना, भार, मिठो बोट, योद्धा, रक्षक, आसारामको सपना, अपच, असत्य, के फेर्ने, पत्रकारिता, चक्रव्यूह, ठट्टा, विश्वासघात, संविधान, गठबन्धन, नौटङ्की, नेता, विद्यावारिधी, भागबण्डा, मूल मन्त्र, दुर्गन्ध, आनर्नाद, समाज सुधारक, नाङ्गिने खेल, नेपाल यातायात, गुहार रहेका छन् ।

सामाजिक/पारिवारिक विषयवस्तुका लघुकथाहरूमा नलेखेको कथा, पीडा, अनुभवी, बन्धन, बोझ, ममता, मास्क भित्रको मान्छे, शङ्का, संस्कार, बेरोजगार, रगत, हानथाप रहेका छन् । यी मध्ये हानथाप, बोझ, पीडा, मास्क भित्रको मान्छे लघुकथाहरूमा वृद्धवृद्धाको कथा, रगत लघुकथामा जातिय विभेद, नलेखेको कथा र शङ्का लघुकथाहरूमा गरिबीको चित्रण पाइन्छ ।

यस बाहेक पर्यावरणीय लघुकथाको रूपमा अधिनायक, तुँहिएको सपना, स्वैरकल्पनाका लघुकथाहरू- नेता, आत्मबोध र हाँस्यरसमा लेखिएको लघुकथाहरू – ठट्टा, पत्रकारिता, नौटङ्कि सङ्ग्रह भित्र अटाएका छन् ।

सङ्ग्रहमा रहेका केही लघुकथाका भावर्थ यस प्रकारका छन् ।

उन्मुक्तिः- प्रतिकात्मकरूपमा राजनीतिक व्यङ्ग्य बोकेको यो लघुकथामा सशक्तरूपमा विम्बको प्रयोग भएको छ । बारम्बार रक्तपासुहरूको आक्रमण बाट उन्मुक्ति खोजेको देशको चित्रण गरिएको छ ।

तारणहारः- जनयुद्धकालिन पृष्ठभूमिको कथा बोकेको छ । पीडकले न्याय पाउने आसामा पिल्सिएर बसेका पीडितको व्यथा रहेको छ ।

के फेर्नेः यो लघुकथामा नेताहरूमात्र हैन जनताहरू पनि सचेत हुनु पर्ने कुरा उठाईएको छ ।

हानथापः गजब समापन , सम्पत्ति प्रति सन्तानको आसक्तीको कुरा उठाएको छ ।

महानः शिक्षासँग सम्बन्धित छ ।

नलेखिएको कथाः- साहित्यकारको कथा व्यथासँग सम्बन्धित छ । जीविकोपार्जन र अस्तित्वका लागि संघर्षरत साहित्यकारको पीडा देखाइएको छ ।

गोठालोः- नेता र चौपयाहरूको तुलनात्मक कथा छ । समसामयिक कथावस्तुले नेताप्रति विम्बात्मक तरिकाले कटाक्ष गरिएको छ ।

असत्यः- असत्यताको भूमरीमा परेको सत्यता ।

पत्रकारिताः- एकै समचार वा घटनालाई पत्रपत्रिकाले कसरी तोडमोड गरेर गलत अर्थ जनमासमा छर्न सक्छन् भन्ने कुरा यस लघुकथाले निकै रोचक तरिकाले उठाएको छ ।

शंकाः- गरिबीले निम्छरो हुनुको सबैभन्दा बढी पिरलो त्यतिबेला हुन्छ जब आफ्ना भनाउँदाले लखेट्छन् ।

रगतः- जातभात, छुवाछुत र उँचनीचको संकीर्ण मानसिकता बोकेकालाई निचो जातिद्वारा गरिएको सेवा ।

अधिनायकः– वतावरणीय विनासको रुपमा रहेको कार्वनको निकै सशक्त कथा वस्तु छ । लघुकथाले वतावरणीय संरक्षणको सचेतनालाई उठाएको छ ।

केही लघुकथाहरूमा (महान, रगत हानथाप, शंका, पत्रकारिता आदि) विषयवस्तुमा खासै नविनता नरेहको अनुभव हुन्छ । नयाँ बोतलमा पुरानो रक्सी जस्तै लाग्छन् तर पनि पृथक प्रस्तुतिले कथालाई रोचक बनाएको छ । केही लघुकथाहरूले (चित्कार, भाव , मिठो बोट) कथाभाव र द्वन्द्वलाई समेटन नसकेको देखिन्छ ।

परिवेश/आयम :-

लघुकथाको कथानक कुनै खास कालखण्डमा केन्द्रित हुनुपर्छ अर्थात् त्यसमा क्षणिक घटनाहरू उल्लेख गर्नुपर्छ । एकै स्थान एक समय लघुकथाको मुख्य मानक रहेका छन् । सङ्ग्रहभित्र रहेका अधिकांश लघुकथाहरू परिवेस र आयमका मानक भित्र रहेका छन् ।

परिवेश लामो रहेका लघुकथाहरूमा – महान्, निजीकरण, बिडम्बना, मिठो बोट, अनुभवी, पत्रकारिता, हैसियत रहेका छन् ।

खोइ फेरेको, असत्य, संविधान लघुकथाहरू तुलनात्मक रूपमा छोटा छन् भने शंका, मास्क भित्रको मान्छे लगायतका केही लघुकथाहरू अलि लामा खालका पनि छन् तर तिनले लघुकथाको आयाम पार गरी छोटा कथाको आयाम भने समातेका छैनन् ।

समापन :-

लघुकथाको मुख्य मानक भनेको यसको समापन हो । लघुकथाको अन्तिम वाक्यले लघुकथाको भावलाई विस्फोट गराउनुपर्छ भन्ने मान्यता रहेको छ । लघुकथाको समापन खुला वा बन्द हुन्छन् । बन्द समापनमा लघुकथाकारले आफ्नो विचार भाव व्यक्त गरेका हुन्छन् । यसखालको समापनमा पाठकलाई धेरै घोत्लिने ठाउँ रहदैन । खुला समापन भएका लघुकथाले पाठकलाई कथाको बाँकी अवस्था र घटनाका बारेमा सोच्ने, अरू अर्थ लगाउने जस्ता कल्पनाको स्वतन्त्रता दिने भएकाले यस्ता लघुकथा सबैभन्दा प्रभावकारी हुन्छ । यीनै कथ्यलाई आधार मानेर सङ्ग्रहभित्र प्रवेश गर्दा धेरैजसो लघुकथाहरूले संवेदनशीलतालाई चकित पार्न खोजेको देखिन्छ ।

लघुकथाहरूः उन्मुक्ति, तारणहार, चित्कार, परिचय, नलेखेको कथा, खोइ? फेरेको, बिडम्बना, योद्धा, रक्षक, अधिनायक, अपच, असत्य, के फेर्ने, पत्रकारिता, संविधान, बन्धन, मास्कभित्रको मान्छे, दुर्गन्ध, हैसियत, शंका, नाङ्गिने खेल, गुहार आदि खुला समापनमा रहेका छन् भने बन्द समापनमा रहेका लघुकथाहरूमा महान, कुहेको आलु, गोठालो, निजीकरण, पीडा, भार, मिठो बोट, अनुभवी, आत्मबोध, चक्रव्यूह, चोट, विश्वासघात, गठबन्धन, नेता, बोझ, भागबन्डा, मूल मन्त्र, ममता, आर्तनाद, संस्कार, महामानव, रगत, तुँहिएको सपना, नेपाल यातायात, हानथाप रहेका छन् ।

सुधारोन्मुख पक्ष :-

धेरै लघुकथाहरूमा भ्रष्ट र राजनीतिको नग्नता प्रस्तुत गरिएको छ । एकै विषयवस्तुमा धेरै लघुकथाहरू लेख्न कठिन कार्य हो । एक कोणबाट यस कृतिलाई पृथक् र नवीन मान्न सकिन्छ तर विषयवस्तु र एउटै किसिमको शैलीले गर्दा पाठकहरूको मन कतै कुँडिने त हैन भन्ने ठाउँ पनि रहेको छ ।

कथामा भाषागत (व्याकरण) रुपमा केही कमी कमजोरी रहेको देखिन्छ । कहीँ कतै सम्पादन पक्ष अलि कमजोर भयो कि भन्न सकिने ठाउँ देखिन्छ । त्यस्तै कहीँ कतै शुद्ध-अशुद्धिले भनाइ खजमजिएको छ । पाठकीय दृष्टिकोणबाट केही स्थानमा सुधारको आवश्यकता महसुस गरेको छु-

एकल पात्र रहेको लघुकथा मिठो बोटमा पहिलो वाक्याङ्समा तेस्रो दृष्टिविन्दु (ऊ पात्र) प्रयोग गरिएको छ र पछि फेरि त्यही पात्रलाई प्रथम दृष्टिविन्दु (म पात्र) प्रयोग गरिएको छ ।

फूलरोटी- फुलरोटी (लघुकथा-पत्रकारिता)
अनावश्यक अनुच्छेद प्रयोग भएको (लघुकथा- आदेश)
आफू संग – आँफूसँग (लघुकथा मनचिन्ते)
गाउँलेहरूले उत्सुक हुँदै सोध्यो – गाउँलेहरूले उत्सुक हुँदै सोधे (लघुकथा मनचिन्ते)
उ- ऊ (लघुकथा गुहार)

अन्त्यमा,
मानवीय अवमूल्यनप्रति ध्यानाकर्षण गर्दै मूल्यमान्यताप्रति आफ्नो सकारात्मक दृष्टिकोण प्रस्तुत गर्न सफल छन् लघुकथाहरू । लघुकथाका विषयवस्तु आजको समाजमा सबैले भोगिरहेकै भएकाले पाठकहरूले आफैँले भोगेजस्तो महसुस गर्न सक्छन् । लघुकथाकारले राजनैतिक अवमूल्यनको बढ्दो खतराप्रति ध्यानाकर्षण गराउँदै स्वच्छ पारदर्शी मूल्यमान्यताप्रति आफ्नो सकारात्मक दृष्टिकोण पनि प्रस्तुत गर्नु भएकोछ । राजनीतिबाट शोषित, उत्पीडित र उपेक्षित वर्ग प्रतिको गहिरो चासो उहाँका लघुकथाहरूको मुख्य स्वर हो । यो स्वर कतिपय ठाउँमा कटुतामा परिणत भएको पनि देखिन्छ ।

उहाँको लेखनले आँफूले अनुभव गरेको यथार्थलाई चित्रण गरेको छ । सकारात्मक सोच र संवेदनशीलता उहाँको लघुकथाको मुख्य आधार रहेको छ । वस्तुपरक र यथार्थपरक लघुकथाहरू यस सङ्ग्रहको सबैभन्दा ठूलो उपलब्धि हुन् । उहाँले यस लघुकथासङ्ग्रहका माध्यमबाट आँफूलाई उल्लेख्य लघुकथाकारका रूपमा स्थापित गर्नाका साथै नेपाली लघुकथाका क्षेत्रमा विशिष्टता प्रदान गर्नु भएको छ र उहाँको गहिराइमा पुगेर लघुकथा लेख्ने कौशल पनि विशिष्ट रहेको छ ।

एक पटक पुनः लघुकथाकार श्यामप्रसाद श्रेष्ठज्यूको कृतिगत सफलताको कामना सहित हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

प्रतिक्रिया
Exit mobile version