म अफिसबाट घर फर्किदा लगभग साँझको ६ बजेको थियो । यसो बैठक कोठाको बाटो हुँदै बेडरुम तिर लाग्दै थिए । अकस्मात आवाज आयो – “मामा !” यसो फर्केर कोठाभित्र हेरेको रामहरि भान्जा पो रहेछन् । मैले हेर्न नपाउँदै उनैले नमस्कार गरे । मैले पनि नमस्कार भनेँ । बस्दै गर है भान्जा म कपडा चेन्ज गरेर आउँछु भनेर आफ्नो कोठातिर लागेँ । उमेरले अठ्ठाइस लागे पनि केटाकेटी पाराको छ । बोल्न र आफन्तहरूसँग झ्याम्मिदैन मोरो, भान्जाप्रति मनमनै एक किसिमको माया जागेर आयो । ऊ मेरो साँइली फुपु हजुरआमाको नाति हो । नाताले पुरानो पात भएपनि हाम्रो आउ जाउ राम्रै छ । चञ्चले स्वभावका भएपनि ज्ञानी र फरासिलो खालका छन् । बि.ए.सम्मको अध्ययन गरे । खै के के समस्या पऱ्यो उनि पढाइ छोडेर बसेका छन् । सबैलाई राम्रो गर्छन् । बद्मसी कहिल्यैँ गर्दैनन् । मनमा कुरा खेलाउँदै म पनि फटाफट लुगा चेन्ज गरेर आइपुगेँ ।

मामा भान्जाको कुराकानी भयो । देवकीले चिया बनाएर ल्याइदिइन् । चिया खायौँ । उनी कतारको भिषा लगाइवरी भोलिको फ्लाइटको लागि आएका रहेछन् । बेलुका खाना खाएर अबेरसम्म कुराकानी गरेर बसियो भोलिपल्ट विहानको खाना खाएर तीन बजेको फ्लाइट समात्न उनी एघार बजेतिर घरबाट निस्किए । म पनि भान्जासँगै एयरपोर्टसम्म छोड्न गएँ । मैले सफल यात्राको कामना गरेँ ।

उनी कतार पुगेको चार पाँच दिनपछि फोन गरे । बेला बेलामा फोन गरिरहन्थे । घरमा खर्च पठाउँदा मै मार्फत पठाउँथे । करिब बाइस महिना भएको थियो । फोन गरे र गलेको स्वरमा भने म त साह्रो बिरामी भएँ । मैले सोधखाज गर्दा आफूलाई धेरै पेट दुख्ने गरेको र जति उपचार गरे पनि निको नहुने बताए । उनले ड्युटी पनि जान नसक्ने बताएपछि मेरो मन चसक्क भयो । मैले सोधेँ, “के गर्छाै त अब ? अझैँ राम्रो डाक्टरलाई देखाउनू ।” म आत्तिसकेको रहेछु । पछि मेरो बोलिबाट मैले सहजै अनुमान गरेँ ।

उनले त्यहाँ उपचार गराएर निको नभएकाले नेपाल आउनका लागि तपाइँले एउटा सहयोग गरिदिन आग्रह गरे । मैले भनेँ, ‘‘ कस्तो सहयोग ?’’ उताबाट उत्तर आयो, मेरो घरमा बहिनी विती भनेर मेरो घरको परिवारको सदस्यको नामबाट पत्र फ्याक्स गरिदिनु पऱ्यो । अहो ! सुनिसक्दा मेरो बोली नै लालाकलुलुक भराइसकेछ । मैले प्रतिउत्तरमा भनेँ, “धत् तेस्तो पनि गर्छन् त ? ” उनले म मर्नुभन्दा त मेरी नभएकी बहिनीलाई मार्दा के भयो त ? भन्ने कुरा गरेपछि मैले हुन्छ भनेर तुरन्त उसले भनेजस्तै गरी पत्र फ्याक्स गरिदिएँ । फेरि भोलिपल्ट उनले फोन गरेर भने अस्पतालको मृत्यु प्रमाणपत्र पनि चाहियो अरे । अब के गर्ने । जुक्ति त लगाउनै पऱ्यो , यसो विचार गरेँ । अस्पतालको मृत्यु प्रमाणपत्र कहाँबाट ल्याउने त ? भनेँ मेरो देशको गाउँमा अस्पताल नै छैन भनिदेऊ उनले जसो भनेको त्यसै गरेछन् ।

दुई दिनपछि उनी टुप्लुक्क आइपुगेँ । कम्पनिले दुई वर्ष पुगे सरहकै सुविधामा पठाएछ । एउटा साथीले आउँछन् भनेर जमानी बसीदिएछ । जाने आउने टिकट पनि दिएछ । साह्रै विकसित भएर आएजस्तो अनुहार त थिएन ।

मैले कस्तो छ भान्जा भनेर सोधेँ । उनले नेपाल ओर्लिएपछि आफूलाई धेरै सन्चो भएको महसुस भयो भने । मैले राम्रो डाक्टर बुझेर काठमाडौँमै उपचार गराएर जाऊ भन्दा उनले एकपटक घर पुगेर जान्नेलाई देखाउँने र भएन भने डाक्टरलाई देखाउन आउँने कुरा गरे । उनी भोलिपल्ट विहानै घर जान्छु भनेर हुँइकिए पूर्वतिर । मलाई पनि एक किसिमले भान्जा ठिकै रहेछन् भनेर आनन्द लाग्यो ।

दुई महिनाको बिदा लिएर आएका मान्छे गएदेखि फोन सम्पर्क गरेका थिएनन् । जाने बेलामा त अवश्य पनि यता पसेर जालान् भन्ने विश्वास मनमा थियो । उनी आएनन् । फर्कने टिकटको समय गुज्रियो उनी फर्केनन् । मेरो मन कता कता नराम्रो सोचाईतिर पनि गयो । फेरि अर्काे मनले सोचेँ केही कामले व्यस्त भएर यता नपसी पो गए कि ? पुगेपछि त फोन गर्नुपर्ने नि । खेइ जे गरेपनि गरुन अब एकपटक बसेर आइसकेका मान्छे जे जस्तो भए पनि मिलाउलान् नि ।

म अफिस जानलाई तयार हुँदै थिएँ । मोवाइलमा फोन आयो नचिनेको नम्बरबाट । मैले हेलो मात्र के भनेको थिएँ । उताबाट आत्तिएको स्वरमा भन्यो हरेराम (अखण्ड भन्डारी) तपाइँको आफन्त हो ? मैले हो भनेँ । उसले फेरि थप गऱ्यो हरेरामले विदेशबाट आउँदा मेरो छोरालाई जमानी राखेर आएको रहेछ फर्कन्छु भनेर अहिले नफर्केपछि कम्पनिले मेरो छोरालाई सत्तरी हजार रूपैया जरीवाना गरेछ । उनी कहाँ छन् त्यो पैसा मलाई दिलाइदिनु पऱ्यो हजुर । मैले हुन्छ म उसलाई फोन गर्छु, केही अफ्ठ्यारो परेर नगएको होलान् तपाइँको पैसा दिन्छन् तपाइँ ढुक्क हुनुस् भनेर फोन राखिदिएँ ।

रामहरिको नेपालकै नम्बरमा फोन ट्राई गर्दा लाग्यो । उनले फोन रिसिभ गरे । मैले सोधे किन विदेश नगएको ? उसले रुन्चे स्वरमा मामा त्यस्तै कारण पऱ्यो मान्छेले धोका दिए भने । उनले अहिले आफू काठमाडौंमा नै भएकोले बेलुकासम्म मलाई भेट्छु भने । मैले हुन्छ भन्दै फोन राखीदिएँ । म अफिसतिर लागेँ । दिनभरि तिनै भान्जाको कुराले मनमा खुलदुली भरियो । बेलुका अलि छिटै घर पुग्ने गरेर अफिसबाट निस्किएँ । बाटोमा अलमल नगरी सरासर घर गएँ । मेरो आँखा सुरमै बैठक कोठातिर चियाउन पुगे भान्जा बैठक कोठामै बसेर चिया पिउँदै रहेछन् । तर पहिलेको जस्तो हँसमुख र चञ्चले विलकुल थिएनन् । उनले जुरक्क सोफाबाट उठेर नमस्कार गरे । मैले पनि नमस्कार फर्काएँ । यसो अनुहार हेरेँ । अहिले पो भान्जालाई साँच्चै पेट दुख्ने रोगले ग्रस्थ पारे जस्तो लाग्यो । निको नहुने सरुवा रोग लागेजस्तो शरीर र भावनाको सागरमा डुबेका आँखा टुलुटुलु मात्र थिए ।

कतिबेला आइपुग्यौ त भान्जा मैले सोधेँ । प्रतिउत्तरमा पाँच बजे तिर आइपुगेको मामा भने । म भन्दा एक पाइलो अघि आइपुगेका रहेछन् । घरतिरको खबर ठीकै थियो, मेरो पो बेहाल भयो त । उनी बिस्तारै बोले । कसरी र कसले धोका दियो तिमीलाई ? मैले प्रश्न गरेँ । उनले आँखा रसिला बनाए । बल गरेर स्वर निकाले र भनँ, “गर्ल फ्रेन्डले धोका दिई ।” म तीन छक परेर सोध, “पोहोर जानेबेलामा मैले सोध्दा त गर्ल फ्रेन्ड छैन भन्थ्यौ त मलाई” मलाई उमेरले बुढ्यौले बनाए पनि यस्ता कुरामा भर्खरका केटाकेटी भेटेपछि सोध्न बाँकि राख्दैनथेँ । खै किन हो किन नसोधी मन मान्दैनथ्यो । उनले छैन भनेका थिए । मलाई पक्का थाहा छ ।

हो मामा त्यतिबेला थिइन । कतार गएपछि त्यहाँको वातावरण अलि अर्कै लाग्यो । गर्मीले टिकी नसक्नु ड्यूटी सकेर कोठामा आएपछि समय बिताउन गाह्रो । सबै साथीहरू फेसबुक टुइटर चलाउँदा रहेछन् मोबाइलबाट र नयाँ नयाँ साथी बनाएर कुरा गर्दै दिन बिताउँदा रहेछन् । मलाई पनि त्यसै गरे सजिलो हुन्छ टाइम पास गर्न भन्ने लाग्यो । कोही त मलेसियन केटीहरूसँग लागेर वर्वाद भएका पनि रहेछन् । मलेसियन केटीहरू पछ्याएर रुममै लिन आउँदा रहेछन् र धेरे पैसा ठग्दा रहेछन् । त्यसरी आफूले घर परिवार छोडेर खाडीमा गएर कमाएको पैसा त्यसरी मोजमस्तीमा उडाउन मलाई ठीक लागेन । ती केटीहरूदेखि सँधै बचेर रहेँ ।

तर फेसबुक आइ.डी खोल्ने तरिका चाहीँ मलाई पनि राम्रो लाग्यो । त्यसको माध्यमबाट चिनेका आफन्त साथीभाइसँग पनि कुरा गर्न पाइने नचिनेकाहरूसँग पनि चिनजान र विचार भावना साटासाट हुने । मैले पनि फेस बुक आइडी बनाएँ र राम्रो राम्रा नाम खोजीखोजी रिक्वेस्ट गर्न थालेँ । त्यसै क्रममा प्रिन्सेस सोफिया भन्ने केटीसँग पनि साथी बनिएछ । दिनदिनै हाम्रो च्याट हुन थाल्यो । एक एक घण्टामा म्यासेज भइरहन्थ्यो । यस्तै हुँदाहुँदै हामीले एक अर्कामा फोन नम्बर पनि साटासाट गऱ्यौँ । दिनमा धेरै पटक मिसकल गर्थी । धेरै म्यासेज पनि गर्ने गर्थी । उसको असली नाम सोफिया गौतम हो । मोरङ् घर भएर विराटनगर पढ्न बसेकी भन्थिन् । दिनदिनै हामी एक अर्कामा बानी पर्न लाग्यौ । मलाई त च्याट कसरी गर्ने हो भन्ने समेतको ज्ञान थिएन त्यसैले मैले उसलाई सोध्ने गर्थे उसले लेखेका कति कुरा बुझ्दैन थिए पनि अन्तिममा के के लेखिदिन्थी के भनेको हो के ? मैले यसरी नबुझेपछि उसलाई नै अफ्ठेरो लागेछ क्यार त्यसपछि सबै च्याट भाषाको बारेमा लिस्ट नै पठाई दिई । उसले पठाएकी च्याटको संक्षिप्त अंग्रेजी भाषा यस्तो थियो–

a/s/l or asl Age/Sex, Location – -used to ask a chatter their personal information_
ASAP –As Soon As possible
b/f Boyfriend -also shown as bf, B/F, or BF_
b4 Before
BAK Back At Keyboard -I’m back_
BBL Be Back Later
BBN Bye Bye Now
BBS Be Back Soon
BF Boyfriend
BFN Bye For Now
BR Best Regards
CU See You – also p osted as cya
CUL8R See You Later
CUOL See You On Line
GF Girl friend
HB Hurry Back
IC I See
IDN I Don’t kNow
NP, np No Problem
NRN No Reply Necessary
NT No Thanks
TNT Till Next Time
TOY Thinking Of You
TTYL Talk To You Later
TY Thank You
TYT Take Your Time
TYVMThank You Very Much
YVW You’re Very Welcome

यति लामो फेहरिस्त ? उसको संक्षिप्त च्याट कुराकानीका अक्षर देख्दैमा म चकित परेको थिएँ । मेरो इनबक्समा सरसरती पढ्न मात्र पनि मलाई आधा घण्टाको समय लागेको थियो । आमा हो यत्ति धेरै त मैले एस.एल.सी. दिदा पनि पढ्नु परेको थिएन । मैले सकी नसकी सबै कण्ठ गरेर हरेक दिन निरन्तर च्याट हुन थाल्यो र एवं रितले हामी एकछिन कि त मिसकल, कि म्यासेज वा फोन नगरी बस्नै नसक्ने भयौं । एक अर्कालाई यत्रो धेरै माया गरेर पनि टाढा बस्नुपर्दा नराम्रो लाग्न थाल्यो । एक अर्कालाई कहिल्यैँ चिनेका पनि थिएनौं देखेको पनि थिएनौं । म कहिलेकाँही साइबरमा बोलाउँथे कुरा गर्न उ स्काइपमा पनि कुरा गर्ने गर्थी । त्यस्तो हुँदा-हुँदै म उसलाई आफ्नो ज्यान भन्दा पनि धेरै माया गर्न थाले । उसले पनि मलाई धेरै नै केयर गर्थी । सधै कहिले आउने भनेर फोनमा हुरुक्क हुने गरि रहन्थी । म पनि उसको रुवाई देखेर सहन नसकेर कति रुन्थे कति तड्पिन्थें ।

हामी दुबैलाई कुरा गर्न सजिलो होस् भनेर मैले एउटा ल्यापटप पठाइदिएँ । त्यसपछि त राती दिउँसो मेरो ड्यूटीबाट फुर्सद भयो कि स्काइपमा कुरा गर्न थाल्यौं । उसको इन्टरनेटको खर्च र पकेट खर्च प्राय महिनै पठाउने गर्थेँ म ।

ऊ कुरा गर्दा, हाँस्दा, बोल्दा हरेक तबरले मलाई खुसी राख्ने प्रयत्न गर्थी । उसले मैले जसो गर भन्यो त्यसै गर्थी । टाढैबाट भएपनि मेरो लागि उसले सम्पूर्ण सुम्पेकी थिई । उसका फोनमा, च्याटमा वा स्काइपमा कुरा गराइको लवज नै मेरो विश्वास गर्ने एउटा आधार बनेको थियो । सत्ययुगका शिवपार्वतीका कथाजस्तै लाग्न थाल्यो मलाई हाम्रो प्रेम । उसले अरुसँग पो सम्बन्ध गाँस्ने हो कि भन्ने डर र उसको यादले दिनदिनै मलाई घाइते बनायो । कहिले दुई वर्ष बित्ला र म पुगौंँ पनि कहिले आउने भनेर हुरुक्कै हुने गरी रहन्थी । कहिले रिसाउँथी । रिसाउनु र रुनु पनि स्वभाविक थियो । किनकि पहिले उसले मेरो बारेमा सोध्दा र कहिले नेपाल आउने भन्दा मैले आएको एक वर्ष भयो अब एक वर्षपछि आउँछु भनिदिएको थिएँ । यो जुक्ति मलाई साथीले सिकाएको थियो । छिट्टै आउँछु भन्नु पर्छ नत्र केटीहरू पट्टिदैनन् भनेर । मैले झुट बोले पनि उसलाई पट्याउन र दुःख दिन झुट नबोलेर उनलाई गुमाउन पर्ने डरले झुट बोलेको थिएँ । लाग्थ्यो यो हाम्रो जोडी भगवानले जुराइदिएका हुन् । मैले कुनै पनि हालतमा गुमाउनु हुँदैन ।

उसलाई सम्झाउन गएँ आफूले झुठ बोल्नुको कारण कहिले कसो बुझेजस्तो गर्थी तर फेरि बेला बेलामा त्यहीँ विषयलाई लिएर मलाई अविश्वासको पात्र बनाउँथी । मलाई त्यहीँ कुराले दिनमा दुई गुणा, रातमा चौगुणा पिरोल्थ्यो । उडी जाउँ कि गुडीजाउँ जस्तो हुन्थ्यो । विवशता थियो । दुई वर्ष पूरा नभई बिदा दिदैनथ्यो । उपाय केही नभएर कयौं पटक पेट दुखेको वाहना गरेर रोइ कराई गरेँ । इमरजेन्सीमा हस्पिटल लान्थ्यो । के भयो भन्थ्यो पेट दुख्यो भन्थे । चेक गर्थ्यो । रोग भेटाउँदैनथ्यो । पेन किलर दिन्थ्यो । म ट्वाइलेटमा हालिदिन्थे । खाँए भन्दै सुत्थेँ तर मेरो पेट होइन मन दुःखेको थियो । सोफी छिटो भेट्नु थियो । उसको विश्वास जित्नु थियो । म प्रेममा पागल भइसकेको थिएँ । त्यसैले तपाइँलाई पनि मैले झुट बोलेर पत्र फ्याक्स गर्न लगाएँ । आउने दिन जब म काठमाडौं आइपुगेँ त्यो समयसम्म त उसले फोन उठाई तर म विराटनगर पुगरे फोन गर्दा उसको मोबाइल स्वीच अफ थियो । अझैँ पनि मलाई उसले धोका दिई भन्ने पूरा विश्वास लागेन । के भयो र कहाँ गई र कसले के गऱ्यो र यस्तै प्रश्न मनमा लिएर एक महिनासम्म विराटनगरमा खोज्दै बसेँ । त्यसपछि घर मोरङ भन्थी तर कुन ठाउँ हो कुन गाउँ हो मलाई अत्तोपत्तो थिएन । मोरङ्ग जिल्ला भरी भौतारिएर एक महिना खोजेँ । तब फ्लाइटको समय पनि गुज्रियो अनि पत्ता लगाएँ कि उसले मलाई धोका दिएकी रहिछे ।

उसको स्कुल पढ्दा देखि नै गाउँमा अर्कै प्रेमी रहेछ । म त सिर्फ झुठो मायाको पछि लागेर पागल प्रेमी बनेको रहेछु । म लगाम लगाएको घोडा जस्तै भएर दायाँ–बाँया नहेरी उसको प्रेमको ट्रयाकमा आँखा चिम्लेर हिँडेको रहेछु । मैले यो कुरा जानेकै रहेनछु कि सामाजिक सञ्जालको दुरूपयोग गरेर मान्छेले आफ्नो फाइदा लुट्दा रहेछन् । उसले पनि मलाई प्रेमरूपी हतियारको प्रयोग गरेर मसँग करिब डेढ लाख रूपैया लुटी । अहिले गाउँको केटासँग काठमाडौं तिर बस्दै छे रे भन्ने सुनेको छु । अब घर तिरबाट जग्गा बैङ्कमा राखेर साथीको ऋण तिर्नुपर्ला मामा ।

उसको यति लामो कहानी सुनेर म न त हाँस्न सके न रुन सकेँ । नत अविभावकले भान्जालाई गाली नै गर्न सके । हामीले यति कुरा गरीसक्दा लगभग रातको नौ बजेछ । बूढीले खाना खान भान्छातिर बोलाइन् । खाना खाएर सुत्यौँ । भोलिपल्ट बिहानै उठेर भान्जा घर हिँडे । म आफ्नै दिचर्यामा व्यस्त भएँ । करिब प्रन्ध्र दिनपछि भान्जाले सत्तरी हजार पैसा लिएर आएछन् । जग्गा बैङ्कमा धितो राखेर । उनको साथीको बाउलाई बोलाएर पैसा जिम्मा लगाइदियौं । पहिले गएको एक महिनामा प्रमोसन भएर सेल्स म्यान भएका र राम्रा पैसा कमाएका भान्जा फेसबुके प्रेमिकाको नाउँमा आहुती हालेर अहिले कन्सट्रक्सनको भिषाको प्रोसेसिङ्गमा म्यान पावर धाइरहेका छन् ।

प्रतिक्रिया
Exit mobile version