पुस फासफुसकाे बेला। पाँच बज्दा नबज्दै झमक्क साँझ पर्ने । जाडाे पनि उस्तै।यस्तैमा तीन बीस हिउँद खाएकी प्रभा कस्ताे जाडाे भन्दै ओछ्यानबाट उठेर भगवानकाे आरती गर्न लागिन्। धुप बत्ती बालिन्। जल चढाएर घण्टीकाे सुमधुर ध्वनिले घर पवित्र बनाइन्। उनकाे याे नित्य आरतीकाे दिव्यतामा उनी आफू भगवानमा समाहित भएकाे अनुभूत गर्दथिन् ।

आरती सकेकी मात्र थिइन्, उनकाे काेठाकाे ढाेका अगाडि एउटा अधबैँसे मानिस देखापर्याे र दिदी दर्शन गरे भन्दै गाेडामा ढाेग्याे। प्रभा जिल्ल परिन्। कहिल्यै नदेखेकाे त्याे मान्छे कसरी भाइ हुँ भन्दै आयाे भन्दै अवाक् भइन्। प्रभा यसरी जिल्लिएकाे देखेर उसैले भन्याे,
‘दिदीले त मलाई चिन्नु भएनकि क्या हाे ? म क्या त बलविरे, हजुरकाे गाउँकाे पल्लाे घरकाे छाेराे ।

प्रभाले भनिन्
“खाेइ बाबु! मैले त बिर्सें। गाउँ नगाकाे पनि पन्ध्र बीस बर्ष भइसक्याे। आफ्नाे भन्ने काे छ र? न घर न माइती ? सात बर्षकाे उमेरमा विधवा भएँ। घर अथवा दुलाहा भन्ने के कस्ताे हुन्छ थाहै भएन। बाह् तेह् बर्षकाे उमेरमा बा, आमा दुबैलाई हैजाले लग्याे। मलाई संसारमा एक्लाे पार्याे। यही दु:ख भाेग्नु पर्ने रहेछ र छाेड्याे।

बलविरले पनि दु:ख मनाए जस्तै गरि सम्झायाे।
“यस्तै हाे संसार । मेराे पनि बाबा बित्नु भएकाे दुई बर्ष भयाे त्यसैले उहाँकाे नाममा पशुपतिमा सत्विज छर्न आएकाे। हजुरलाई याे अलिकति गुन्द्रुक र तीलकाे छाेप आमाले पठाउनु भएकाे भन्दै एउटा पाेकाे दियाे।

पाेकाे लिदै प्रभाले भनिन्
“लाै बा माइतीकाे कुकुर पनि प्याराे हुन्छ भन्छन्। भाउजू बुहारी भएर यसरी काेसेलीपात सम्झे अरू कस्ले सम्झिने ?”

गाउँदेखि आएकाे पाहुनालाई छिटैं खाना खुवाउन गुन्द्रुक मस्याैरा र भात पकाइन्।लाेडसेडिङकाे बेला थियाे। मट्टीतेलकाे टुकी र मैनवत्ती बालेर खाना पकाएकि थिइन्। पाहुनालाई पेटभरि खुवाएर पछि आफू पनि खान लागिन्। त्यहिबेला बलवीरले फू…….. गरेर वत्ती निभाइदियाे।

“ए बाबु! के गरेकाे यस्ताे, कस्ताे केटाकेटी जस्ताे लाै।”
हाेसमा आउँदा न त्याे गाउँकाे भाइ छ, न हात कानमा केही छ। शिरानीमा राखेकाे थैली पनि रित्तै छ।

म्हेपी, काठमाडौं ।

प्रतिक्रिया
Exit mobile version