– ‘ए ऽऽऽ नेपालबाट ……।’
भन्दै नजिकैको स्टाफलाई नेपालबाट पनि ब्राजिल आएछ भनेर छक्क पर्दै मेरो पासपोर्ट देखायो। म अचम्ममा परे मनमनै गुनें के नेपालबाट ब्राजिल आउनु हुने थिएन र ? हुन सक्छ । त्यो स्टाफलाई एउटा नेपाली ब्राजिल आएकोमा अचम्म लागेको थियो। अथवा हुन सक्छ त्यो स्टाफले धेरै समयको अन्तरालमा नेपाली पासपोर्ट देखेको हुनुपर्छ । साउथ अमेरिकाको यो देश नेपालीहरूको गन्तव्यस्थल हुँदै होइन, कहाँको अमेरिका जापान छोडेर ब्राजिल गइरहोस् ।
हुन त म पनि नेपालबाट ब्राजिल आएको त कदापि होइन । मेरी श्रीमतीको दिदी (जेठी सासू) को एउटा ब्राजिलिएनसँग हुन गइरहेको बिहेमा सरिक हुनको लागि श्रीमती र ससुरासँग जापानबाट आएको थिएँ। जब माकीले दिदीको बिहे हुने भन्ने सूचना पाइन निकै दङ्ग परेकी थिइन् । ब्राजिल जाने कुरामा एक त उनी सानो हुँदा बाल्यकाल बिताएको देश अर्को दिदीको बिहे हुँदैछ भन्ने खबर । यी दुई कुराले तिनी निकै प्रफुल्ल थिइन् र जानु एक महिना अगाडि नै तयारीमा जुटेकी थिइन् ।
मेरी सासूले अमेरिका भएर गएमा समय कम लाग्छ भनेर सुझाव दिएकी थिइन् तर मेरो नेपाली पार्सपोर्ट अमेरिकाको ट्रान्जिट भिसाको लागि अयोग्य ठहरियो । माकी ज्यादै निराश भएकी थिइन् । त्यसबेला मलाई लाग्यो कहीं नेपालीसँग बिहे गरेकोमा पश्चाताप त मानेकी छैनन् उनले । के गर्ने ? देश गरिब भएपछि त्यस देशका नागरिक पनि त हेपिने नै भए नि । खै ! जापानीहरूलाई कतै जान भिसा नै पर्दैन ! कति आनन्द छ ।। उनीहरूको सबैले इज्जत गर्छन् । तर हामीलाई भने एरपोर्टदेखि नै अर्कै दृष्टिले हेर्छन् । पहिलोचोटि जापान जाँदा कस्टम अफिसरले सोधेको थियो-‘डु यु हाव ड्रग (तिमीसँग लागूऔषध छ……… अनि मेरो अनुहार हेर्दै पासपोर्टको भिसा तिर नजर दौडाएको थियो । मैले हाँस्दै भनेको थिए- ‘तिमी मेरो ब्याग चेक गर्न सक्छौ ।’ त्यसपछि मलाई तलदेखि माथिसम्म निरीक्षण गर्दै भनेको थियो । तिमी जान सक्छौ ।
भिसाको लागि इन्टरभ्यूमा सोधेको प्रश्नहरूले म जिल्लिएको थिएँ । मैले कहिले माकीलाई भटेको रे ? कहाँ भटेको रे ? कहिले बिहे भएको रे ? अनि जापान आएको कति भयो रे ? छ महिना भयो जापान आएको, श्रीमती, ससुरासँग बिहेको लागि ब्राजिल जाँदैछौं त्यसैले मलाई करिब ६ घण्टाको लागि ट्रान्जिट भिसा चाहियो मैले भन्दै गएको थिएँ । तर….. म जापान बसेको अवधि धेरै नभएको कारण देखाएर मलाई भिसा नदिने निर्णय गर्यो । मैले अचम्म मान्दै भनेको थिएँ – ‘यो हास्यास्पद हो म तिम्रो देशमा जान लागेको होइन् ।
मलाई केवल ट्रान्जिट भिसा चाहिएको हो ।’ तर पनि त्यो टसको मस भएन् । मलाई झनक्क रिस उठ्यो र धन्यवाद भन्दै पासपोर्ट लिएर हिँडे ।
त्यस समय साह्रै नै निराश भएको थिएँ। नेपाली हुनुको गर्व हैन अपमान भएको महसुस गरेँ।
हुन पनि नेपालीहरू देशको बिग्रदो स्थितिले पलायन तर्फ उन्मुख छन् । कतिपय नाम चलेका कलाकारहरू पनि अमेरिका पलायन भएका छन् । अभाव नै अभावको भुमरीमा परेका नेपालीहरूमा आशाको दियो जगाउने खालको कुनै नेता, कुनै दल, अझसम्म नदेखिनुले पनि निराशा छाएको छ, अनि विदेशिन बाध्य छन् नेपालीहरू । नत्र आफ्नो देश, परिवार सबै छोडेर विदेशिन चाहन्छन् र ? आफ्नो देशको माया कसलाई लाग्दैन । जति नै वर्ष विदेश बसे पनि आखिर नेपाली, नेपाली नै हुन्छन् ।
हो त्यस दिन मलाई साह्रै दुःख लागेको थियो, किनकि जम्मा छ घण्टाको लागि ट्रान्जिट भिसा पनि नदिएर नेपाली हुनुको अपमान गरेझैँ लाग्यो। कहीँ मलाई पनि आतङ्कवादी नै सम्झ्यो कि क्या हो मनमनै गुन्न पुगें नत्र जाबो ६ घण्टा एरपोर्टमा बस्न पनि भिसा चाहिने र त्यो पनि नदिने कस्तो देश हो अमेरिका ।।।
त्यसको केही दिनपछि नेटमा एउटा लेख पढ्न पाएँ। अमेरिका भ्रमण सम्बन्धी लेखमा लेखक अभि सुवेदीले पनि नपाएको रहेछ। साहै घतलाग्दो उक्त लेख पढेपछि चाहिँ मन केही हलुका भयो र सोचें अमेरिकाको भिसा भनेको त हामी नेपालीहरूका लागि भाग्योदय चिठ्ठा झैँ पो रहेछ। यत्रो वरिष्ठ लेखक अभि सुवेदी जस्तो व्यक्तिले पाउन नसकेको……..।
त्यसपछि माकीले युरोप हुँदै ब्राजिल जानको लागि टिकट बुक गरिन् । यदि अमेरिका हुँदै जान पाएको भए जम्मा जम्मी २४ घण्टा लाग्दथ्यो तर अब स्विजरलैण्ड हुँदै जानु परेकोले करिव ३० घण्टाको यात्रा हुने भयो। ‘नेपालीसँग बिहे गर्दा त कहीँ जान पनि भिसा कै समस्या हुँदोरहेछ ।’ माकीले हाँस्दै व्यङ्ग्य गरेकी थिइन् ।
‘के गर्ने त गरिब देशको नागरिक भएपछि त सबैले हेप्ने नै रहेछन् ।’ मैले आफ्नो विवशता पोखें । यसरी हामी नारिता-स्विस हुँदै ब्राजिलको सानपावल भन्ने सहरमा आइपुगेका थियौँ । स्विजरल्याण्डको जुरिच एयरपोर्टमा करिब ५ घण्टा बस्नु परेको थियो । ३ जनवरी २००७ को नारिताबाट जहाज उडेको थियो। करिब १३ घण्टा पछि हामी स्विसको जुरी एयरपोर्ट पुगेका थियौं । अचम्म के थियो भने १३ घण्टाको यात्रा पछि पनि जुरिच एयरपोर्ट पुग्दा त्यहाँ ३ तारिखको ४ बजेको थियो। यदि जापानमा भैदिएको भए रातको बाह्र बजिसकेको हुन्थ्यो र अर्को दिन सुरु हुन्थ्यो। यसरी एसियाबाट युरोप आउँदाको फरक समयले हाम्रो लागि जनवरी ३ तारिख निकै लामो हुन पुगेको थियो ।
एयरपोर्ट मलाई दिल्लीको जस्तै लाग्यो। हामी लगेज लिनको लागि गयौं तर कस्तो अचम्म हाम्रो सामान आएकै छैन। धेरैबेर पर्खियौं तर पनि सामानहरू आएनन्, माकी चिन्ता गर्न लागिन्, मलाई के गरुँ गरुँ भयो। यहाँ सामान हराउन सक्छ, ससुरा चिन्तित देखिए । अनि हामीहरू स्टाफलाई सोध्न दौडियौं। केही छिनमै एउटा स्टाफ आएर केही पर तिन वटा सुट्केशहरू त्यसै राखिएको छ भनेर भन्यो। हामी हाम्रो हो कि भन्दै त्यतैतिर दौडियौं। सुटकेसहरू त हाम्रै रहेछन् । कसले त्यहाँ राखेछ थाहाँ पाइएन् । बल्ल आत्तिएको मनमा सान्तवना छायो । मैले लामो श्वास फेरें। एयरपोर्ट बाहिर हामीलाई लिन तोसेको र खाच्याङ्ग आएका रहेछन् । खाच्याङ्गसँग मेरो परिचय गराइयो, एउटा जापानिज ब्राजिलियन । तर ऊ कुनै कोणबाट पनि ब्राजिलियन देखिँदैनथ्यो । अनुहार जीउडाल सबै जापानिज अनि भाषा पनि जापानी। त्यहाँ केहीबेर बसेर चिसो बियर पियौं ।
पहिलोचोटि ब्राजिलको भूमिमा पाइला टेक्दा मन अनौठो किसिमले धड्किरहेको थियो। ‘सानपाउल’ ब्राजिलको औद्योगिक सहर रहेछ । ठूलाठूला गगन चुम्बी घरहरू भएको ठूलाठूला बाटाहरू निकै विकसित देखिन्थे । म ट्याक्सीबाट बाहिरतिरको फोटो खिच्नमा व्यस्त थिएँ। ससुरा ट्याक्सी ड्राइभरसँग पोर्चुगल भाषामा कुरा गर्दै थिए। सायद धेरै वर्ष यो ठाउँमा बसेको भएर राम्रैसँग कुरा गर्न सक्दा रहेछन् । ड्राइभर पनि हरेक ठाउँको विवरण दिदै ट्याक्सी दौडाइ रहेको थियो। म चाहिँ केही नबुझेर केवल बाहिरतिरको दृश्य हेर्दै क्यामरामा कैद गर्दै थिएँ। करिव ४५ मिनेटको यात्रापछि हामी गिन्जा नाम गरेको होटलमा पुग्यौं। जापानी नामबाट खोलिएको यो होटल चाइनिज को रहेछ । यहाँ प्रायः जापानीज पर्यटक बढी आउने भएर होटलको नाम पनि जापानीज मा राखेको रहेछ ।
रातको समयमा डिनर लिन हामी एउटा चाइनिज रेष्टुरेन्टमा गयौं। फर्कदा करिब नौ बजेको थियो । यहाँको ठाउँ अलि डरलाग्दो छ भनेर तोसीले भन्दै थिइन् । किनकि यो ठाउँमा अपराधका घटनाहरू निकै हुँदा रहेछन् । विशेष गरेर जापानी पर्यटकहरूलाई सजिलैसँग लुट्दा रहेछन् । माकी निकै सर्तक भएकी थिइन् । ठाउँ पनि त्यस्तै-त्यस्तै दिल्लीको गल्ली जस्तै थियो। सानपावलबाट जनवरी ६ तारीखमा योयुवा भन्ने ठाउँमा आएका थियौं प्लेन करिव दुई घण्टाको यात्रा। त्यसपछि कारबाट त्यस्तै करिव २/३ घण्टामा हामी योयुवा भन्ने ठाउँमा आइपुग्यौं ।
साँच्चै मलाई त सानपावलको त्यो एयरपोर्टको अहिले पनि सम्झना आइरहेछ । भन्न त त्यो पुरानो एयरपोर्ट रे तर निकै आधुनिकजस्तो लाग्यो । मलाई कताकता अमेरिकाको एयरपोर्ट हो कि भन्ने भान भएको थियो । हुन त यो पनि साउथ अमेरिका नै हो। एयरपोर्टमा केही फोटोहरू खिचेका थियौँ । प्लेनबाट तल हेर्दा साह्रै रमाइलो लागेको थियो । साँच्चै नै ब्राजिल निकै ठूलो रहेछ । हुन पनि जापान भन्दा बिसौं गुना ठूलो छ रे नेपालभन्दा त कति हो कति ? समतल फैलिएको आँखाले नभ्याउने सम्मको समतल भू-भाग । संसारको सबभन्दा ठूलो ‘आमासोन’ जङ्गल पनि यहीं नै रहेछ । तर विकासको आधारमा यो देश उत्तर अमेरिका भन्दा कम नै रहेछ । यहाँको मुद्रालाई ‘रियर’ भन्दा रहेछन् । करिव दुई रियरको एक अमेरिकी डलर रहेछ। हामी अहिले युवा कम्युनिटीमा छौं, जहाँ करिब ८० वर्ष अगाडि युवा इसाम नाम भएको जापानीज आफ्नो परिवार तथा केही साथीहरूसँग जापानको कोबे भन्ने ठाउँबाट महिनौं लगाई जहाजबाट आएका रहेछन् । यहाँ आएर अरू जापानीहरू सँग मिलेर करिब १०० हेक्टर जमिन किनेर एउटा सानो गाउँ नै बनाएका रहेछन् । जहाँ पहिले जङ्गल थियो । जङ्गल लाई फाँडेर बस्ती बसाएका रहेछन् । तर अचम्म लाग्दो कुरा के रहेछ भने यसलाई गाऊँ भन्न अलि मुस्किल पर्छ किनकि सबै जना मिलेर एकै ठाउँमा खाना खान्छन् अर्थात् सबैको भान्छा एउटै । जापानीज ब्राजिलीयनको कम्युनिटी करिब ८० वर्षदेखिको यो चलन अझैसम्म पनि कायम नै रहेछ। करिब बिस परिवार छन् यहाँ स-साना घरहरू छन् र सबै कृषिमा निर्भर छन् । लोग्नेमान्छेहरू बाहिर खेतमा काम गर्छन् । हरेक कुरा आफैँ बनाउछन् । कसैको घरमा पनि ताला लाग्दैन् । सबै जना मिलीजुली काम गर्छन् । अनि सबैजनाको भान्छा एउटै । एकै प्रकारको खाना सबै जनाले खान्छन् । बिहान करिब ६ बजे ब्रेकफास्ट को समय हुन्छ । त्यसबेला साइरन बजाउछन् । यो चाँहि शायद गाईको सिङ रहेछ। मैले पनि एकचोटि फुकी हेरेको थिएँ। साइरनको आवाज सुनेपछि सबै जना उपस्थित हुन्छन् । त्यस्तै दिनको १२ बजे लन्च टाइम र साँझको ६ बजे डिनर हुँदोरहेछ । यसरी सबै जना उपस्थित भई सँगै खाना खान्छन् । लाग्छ सधैं भोजौँ । यो करिब ८० वर्षदेखि निरन्तर चलिआएको रहेछ । सुन्दा पनि विश्वास गर्न गाह्रो । आजको समयमा ३/४ जना त मिलेर बस्न सक्क्तैनन् भने यहाँ भने अचम्मै छ। साँच्चै कसरी मिल्न सकेका होलान् । आफ्नै परिवार त मिलेर बस्न गाह्रो हुनेमा यहाँ भने धेरै परिवार मिलेर बसेका छन् ।
बास्तवमा हामी त्यहाँ टोसीको बिहेको लागि आएका थियौं, यहीं कम्युनिटीको एक युवकसँग टोसीको प्रेम बसेको रहेछ। करिब दुई वर्ष अगाडि उनी यहाँ अर्थात् ब्राजिलमा जापानीज भाषा पढाउन भनेर आएकी थिइन् । शायद त्यसबेला यस्तो कम्युनिटीको बारेमा सुनेर बेलाबेलामा यहाँ आउने गर्थिन् । यसरी आउँदा जाँदा खाच्याङ्ग (इसामु युवाका भतिजा) सँग मायाप्रीति बसेछ। तर टोकियो जस्तो अति विकसित सहरको केटी यस्तो ठाउँमा बस्ने निर्णय गरेर विवाहको लागि तयार भइन् ।
१३ जनवरीमा टोसीको बिहे सम्पन्न भयो। बिहान ५:३० बजेदेखि नै माकी उठेर तयार भएकी थिइन् तर म भने ६ बजे मात्र उठेर नुहाई धुवाई गरेर तयार भएँ। हामी सबै बिहे हुने ठाउँमा जम्मा भएका थियौं। बिहे क्रिश्चियन विधिबाट सम्पन्न भयो। टोसी सेतो ड्रेसमा सजिएकी थिइन् । उमेरले चालिस काटे पनि सुन्दर देखिन्थिन् । नेपालमा भए मुश्किलले हुन्थ्यो होला चालिस कटेकीको विवाह । टोसीको बाबुले टोसीलाई लिएर आए। दुलाहा-दुलही सँगै राखी पादरीले केही मन्त्र पढ्यो। जापानी भाषामा सबैले गाना गायौं। त्यसपछि औंठी साटासाट भयो। एकले अर्कालाई लगाई दिए। करिब एक घण्टाको अवधिमा बिहे सम्पन्न भयो। सबैले ताली बजाएर स्वागत गर्यौँ । त्यसपछि नव दम्पतीलाई सबैले अछेता छर्किएर स्वागत गर्यौँ । सबै नातेदारहरू एक अर्कामा शुभ-कामनाको आदानप्रदान भयो। अनि सबैले हँसिलो मुद्रामा फोटोहरू खिच्यौं। यसरी टोसीको बिहे सम्पन्न भएको थियो । टोकियोको एउटी पढेलेखेकी युवती ब्राजिलको एउटा कम्युनिटीमा बसेको किसान युवकसँग माया प्रीतिले विवाह बन्धनमा बाँधिन राजी भइन् अझ भनौं त्यस कम्युनिटीको सदस्य भएर बस्ने अठोट गरिन् । हुन त प्रेमले मानिसलाई जस्तै परिस्थितिमा पनि खुसी भई बाँच्न सिकाउँछ भन्छन्। हो जस्तै लाग्यो।
हामी यहाँ आएको भोलिपल्ट एक जना ९२ वर्षको कम्युनिटीका सदस्यको देहान्त भएको थियो । देहान्त भएको एक दिनपछि क्रिश्चियन विधिद्वारा लाशलाई गाडिएको थियो । त्यसमा म पनि सरिक भएको थिएँ। यसरी हरेक कार्यलाई यस कम्युनिटीले महत्त्वको साथ सम्पन्न गर्दोरहेछ। एउटा सानो जापान अर्थात् प्राचिन जापानको झल्को दिने यस कम्युनिटीमा तेरो मेरोको टण्टाबाट मुक्त छ। यहाँ सबै जनामा हाम्रो भन्ने भावना विकसित भएको छ । सबै जना जापानीज भाषा नै बोल्छन् । आफ्नो संस्कार र संस्कृति जोगाई राखेका छन् । यहाँ बस्दा मलाई कहिल्यै पनि ब्राजिलमा छु भन्नै आभाष भएन ।
स-साना भुइँतले घरहरू देखेर मलाई त चितवनको जङ्गल सफारीको लजहरू जस्तै लाग्यो। सबैजना मिलीजुली काम गर्छन् । सबै जना एउटै घरको परिवारकै लाग्छन् । प्रायःजसो युवा वर्ग र प्रौढ को उत्तिकै जिम्मेवारी छ। यहाँ सबैभन्दा सानोमा करिब तिन वर्षको बच्चा र सबभन्दा प्रौढ मा १०२ वर्षको बुढा पनि छन्। जनवरी १३ तारीखको साँझ बिहे पार्टी पनि निकै रोचक थियो। साहै रमाइलो भएको थियो। पार्टीमा एउटा मन्च बनाएको थियो । त्यहाँ विविध किसिमको कार्यक्रमहरू भएथे । मलाई पनि सबैले अनुरोध गरेको भएर एउटा नेपाली गीत गाएको थिएँ। …. रेशम फिरिरी.. रेशम फिरिरी….!’ सबैले रेशम फिरिरी…..! भन्दै साथ दिए। गाना सकिनासाथ सबैले जोडदार तालीले स्वागत गरें। मलाई अत्यन्त खुसी लाग्यो ब्राजिल गएर नेपाली गीत गाउन पाएकोमा। सबै जना नेपालबाट आएकोमा आश्चर्य मिश्रित भावमा हेर्थे । जे होस् नेपाललाई सबैले चिन्दा रहेछन् सगरमाथाको देश भनेर ।
त्यहाँ एक जना पादरीकी श्रीमती थिइन् जो बिहेको लागि भनेर केही दिन अगाडिदेखि बसिरहेकी थिइन् । पादरी जापानिज र तिनी भने ब्राजिलियन जापानिज, अङ्ग्रेजी केही पनि नबुझ्ने । मसँग परिचय भएको थियो तर कस्तो अप्ठ्यारो भने तिनीसँग कुराकानी गर्नै गाह्रो। सँगै बसेको उनको श्रीमान हाम्रो बिचमा भाषाको मध्यस्तकर्ता हुँदा मात्र कुराकानी अलिअलि हुन्थ्यो । तर तिनी खुबै फरासिली रहिछन् । सधैं मलाई देख्यो कि ब्राजिलीयन भन्ने ठानेर झुक्किने रहिछन् । त्यसैले देख्नासाथ ‘बोन्जिवा’ (ब्राजिलीयन भाषामा हेलो, नमस्ते जस्तै हो) भन्दै कुरा गर्न अघि सर्थिन्, अनि के भन्थिन् म बुझ्न नसकेर टोलाइरहन्थे । एकैछिन पछि म नेपाली भन्ने सम्झना आउँथ्यो कि के हो हाँस्दै एकातिर लाग्थिन् । हो त्यहाँ धेरैले मसँग ब्राजिलीयन भाषा बोल्न कोसिस गरेका थिए। सायद म ब्राजिलीयन जस्तै देखेर हो कि जो पनि बोल्न अघि सर्थे।
करिव दुई हप्ता त्यस कम्युनिटीमा बसेर हामी दृगासु’ भन्ने ठाउँमा आइपुग्यौं । युवाबाट गाडीमा करिब १० घण्टामा ‘कासाकाभेऊ’ भन्ने ठाउँमा आइपुगेका थियौ एकरात एउटा जापानिजको फर्महाउसमा बिताएका थियौं। साँच्चै ब्राजिल धेरै नै ठूलो र फराकिलो लाग्यो।
जमिनले आकाश छोएको जस्तो भान हुँदोरहेछ टाढा क्षितिजसम्म हेर्दा। टोसीको भन्दै थिइन् ‘यहाँ समथर जमिन मात्र भएकोले भूकम्प कहिल्यै जाँदैन रे।’ त्यसैले सहरी क्षेत्रमा ठूलाठूला गगनचुम्बी भवनहरू देख्न सकिन्छ, अर्को अचम्मको कुरा यहाँ पनि झुपडपट्टी रहेछ। जहाँ सुकुम्बासीहरू बस्दा रहेछन् । इण्डियाको झुपडपट्टी लाग्यो मलाई। यहाँ धनीमा धेरै धनी अनि गरिबमा धेरै गरिब पनि रहेछन् ।
यो इगासु भन्ने ठाउँ पनि धेरै नै राम्रो र बढी पर्यटकहरू आउने रहेछन् । मौसम पनि ठीक्कको, न जाडो न गर्मी। जापानमा भैदिएको भए जनवरीको महिनामा निकै जाडो हुन्थ्यो तर ब्राजिलमा यसको विपरीत गर्मी थियो। हामी एउटा चाइनिज रेष्टुरेन्टमा लन्च लिइवरी ‘इटाइपु’ ड्याम हेर्न गयौं। यो ब्राजिलको अति प्रसिद्ध ड्याम रहेछ। यसको अवलोकन गर्न नै विभिन्न देशको पर्यटकहरूको ओहिरो लाग्दो रहेछ । साँच्चै ठूलो रहेछ त्यो ड्याम । म त अचम्मै परें। सबै देशका पर्यटकहरूको लिस्ट रहेछ, ड्याम हेर्न आउनेहरूका सबै जना लिष्ट हेर्नमा तल्लिन थिए। मैले पनि नेपाललाई खोजे । म ३७ औं नेपालीमा परेछु, त्यो ड्याम हेर्नमा । खुसी लाग्यो । राती ८ बजे फेरि पनि ड्याम हेर्न पुग्यौं। राती ड्याममा ‘इब्युमेशन’ हेर्नको लागि पर्यटक जम्मा भएका रहेछन् । कुनै गायकको कर्न्सट लाग्यो । अति रमाइलो अनुभव भयो। सबै जना सङ्गीतको तालमा मस्त देखिन्थे। त्यसको भोलिपल्ट हामीहरू अर्को प्रसिद्ध स्थल ‘इगासुफल’ भन्ने ठाउँमा पुग्यौं । ‘इगासुफल’ देखेर झनै आश्चर्यचकित हुन पुगें। कति ठूलो झरना ! चारैतिर झरना वाहऽऽऽ! कस्तो प्राकृतिक सौन्दर्य । साँच्चै ब्राजिल पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेछ । धेरै फोटोहरू खिच्यौं। मेरो लागि यो ठाउँ साँच्चै अविस्मरणीय भयो।
अहिले सम्झदै छु ‘युवाकम्युनिटी’ को एक सदस्य मासाकाचु यासाकीले भनेको वाक्य-‘तिम्रो देश नेपालमा हिमालहरू धेरै भएजस्तै हाम्रो देशमा झरनाहरू धेरै छन् ।’ धेरै पर्यटकहरू आउँदा रहेछन् यो अलौकिक तथा विशाल झरनाको अवलोकन गर्नको लागि । करिब तिन घण्टा त्यहीँ बिताएर हामी होटल फर्कियौं । २२ जनवरीमा हामीहरू रियो द जेनेरियो भन्ने ठाउँमा पुग्यौं । इगासुफल सहरबाट जहाजमा करिब दुई घण्टा लाग्दो रहेछ। रियो द जेनेरियो भन्ने सहर कस्तो होला भन्ने मनमा खुल्दुली लागिरहेको थियो । २२ जनवरी देखि हाम्रो यात्रामा दुई जना घटे। टोसीको र खाच्याङ युवाबाट आएकै गाडीमा फर्के ।
सानपावलबाट ‘युवा कम्युनिटी’ मा पुगेका थियौं । एयरपोर्टबाट होटलसम्म आइपुग्न ट्याक्सीमा करिब ४० मिनेट लाग्यो। ट्याक्सीबाट रियो द जेनेरियो को अवलोकन गर्दै आइपुग्यौं। साँच्चिकै यो सहर त निकै आधुनिक रहेछ। पर्यटकीय सहरको रूपमा प्रसिद्ध कमाएको यो सहरले मलाई निकै आकर्षित गर्यो। बाटोमा हेर्दै जाँदा काठमाडौँ झल्काउने बस्ती पनि देखें। अचम्म लाग्दो किनकि काठमाडौँको बस्ती झै लाग्यो । माकीको बुबा ड्राइभरसँग कुरा गर्दै थिए। ड्राइभर भन्दै थियो ‘त्यो त ब्राजिलको सुकुम्बासीहरूको घर रे।’ क्या अचम्म । २३ तारीखको बिहान ब्रेकफास्ट पछि हामीहरू पोनोडेमाक्सा भन्ने ठाउँमा पुग्यौं। धेरै ठूलो चट्टानको माथिपट्टि रोप वे बाट जान पर्दोरहेछ। एकदमै रमाइलो भयो । त्यसपछि हामी कोरुकावाद भन्ने ठाउँमा पुग्यौं धेरै ठूलो करिब ७०० मिटरको चट्टान माथि अति नै ठूला क्राइष्टको मूर्ति । म त गजवै भएँ। कस्तो अविश्वसनीय, कसरी बनाए होलान् ? मान्छेले नै बनाएका त होलान् मनमनै सोचे। कस्तो अलौकिक । पर्यटकहरूको भीड थियो।
साँच्चै नै रियो द जेनेरियो आर्कषक सहर रहेछ। जीवनमा पहिलोचोटि समुद्रको छालसँग खेल्ने मौका पाएँ। होटल नगिचैको समुदमा दिउँसो छालसँग खेल्दा साह्रै नै रमाइलो भएको थियो। ठूला-ठूला छालसँग मानिसहरू खेल्दा रहेछन् । किनारामा मानिसहरूको भीड । हुन त जापानमा पनि समुद्र त हेर्न पाएको थिएँ, तर यहाँ छालसँग लुकामारी खेल्ने मौका पाएँ। मन हर्षले बिभोर भयो । राती ‘साम्वा’ डान्स हेर्नको लागि टिकट बुक गरेका थियौं । निकै प्रसिद्ध यो डान्स ब्राजिलको परिचय पनि रहेछ। फेब्रुवरीतिर यो डान्सको उत्सव नै हुँदोरहेछ । विभिन्न किसिमको पहिरनहरू लगाई सडकमा डान्स गर्दा रहेछन् । हाम्रो, भक्तपुरको विस्केट जात्रा झैँ । ब्राजिलियनहरूले पर्व मनाउँदा रहेछन् ।
अति नै आर्कषक पहिरन साम्बा डान्स रोमान्चकारी थियो। यो साम्बा डान्स त । अन्त्यमा आयोजक देशहरूको नाम लिदै त्यस देशका पर्यटकहरूलाई स्टेजमा नृत्य गर्न बोलाए। अमेरिका, जापान, जर्मन, चाइना, सबै खुसी हुँदै हात उठाउदै स्टेजतिर लम्किए। मेरो मन ढुकढुक भयो । नेपाल पनि भन्लाकि भन्ने आशा पलायो । स्टेजमा गएर नृत्य गर्ने इच्छा जाग्यो, तर अफसोच नेपालको उच्चारण नै आएन्। हाम्रोजस्तो गरिब देशलाई कसले सम्झन्छ र ?
तिन दिन बसेर हामी फेरि रियो द जेनेरियोबाट एक घण्टाको प्लेनको यात्राबाट सानपावल आइपुग्यौं । सानपावलमा एक रात बसेर २६ जनवरीमा ब्राजिलको भूमि छाड्यौं । सानपावलबाट रातीको करिब ९ बजे प्लेन उडेको थियो। आकाशबाट म सानपावल सहर अवलोकन गर्दै थिएँ। रातको समय थियो, तर सहर पूरै झिलिमिली थियो । ठूला-ठूला गगनचुम्बी घरहरू, समतल फैलिएका बाटाहरू हेर्दै म सोचिरहेको थिएँ ब्राजिलको भ्रमण मेरो लागि साँच्चिकै अविस्मरणीय भयो ।