साँझपख!
म बरालिदैछु ।
एउटा कहालि लाग्दो सहरको व्यस्त फुटपाथमा । घाम भर्खर डुबेको छ, रात फेरि अँधेरो बोकेर आउने सुरसारमा छ । रातले उज्यालो पनि ल्याउन सके कती जाती हुँदो हो। मेरा कानमा एयरफोन बुझो लागेको छ । दुबै हात हुडिको गोजीमा तातिदैं छन् । मलाई कतै पुग्नु छैन बस केही दुरि पार गर्नु छ । बिना कारण, बिना लक्ष्य ।

मन फकिर बनि रहँदा आफूभित्र बेग्लै दुनियाँ बन्ने रहेछ, जो आँखाका गल्ली गल्छेडा हुँदै मगजमा आईपुग्छन् कल्पनाको आकार लिएर । माथि माथि चमेराहरु उड्दैछन् सायद कतै टाढै पुग्नु छ तिनिहरूलाई । आकाशमा चमेराहरुलाई हतारो छ । धर्तीमा मेरो दायाँ तर्फका मोटरहरुलाई हतारो छ । थाहा छैन एउटाले अर्कोलाई लखेट्दै छन् वा, एक-अर्कालाई जबरजस्ती पछाडि घिसार्दै छन् ? सासै नफेरि कुदिरहन्छन्। तर मलाई थाहा छ म जत्तिको फुर्सद कहाँ हुँदो हो ति मोटरहरुलाई अनि ति चमेराहरुलाई ।

त्यसो त म पनि आफ्नै बेताल र बेसुरमा लखर लखर हिड्दैछु । मेरा पाईला चलि रहेकै छन् । पर देख्छु एउटा खम्बाको टाउकोमा रातो बत्ति चुहियो । भर्खर सम्म कुदिरहेका मोटरहरु टक्क अडिए । जिन्दगीको सडकमा सासको रातो बत्ती कति बेला बलि दिन्छ के थाहाँ ? त्यसो त थाहाँ नहुनु पनि थाहाँ हुनु हैन र? थाहाँ छैन भन्ने कुरा थाहाँ हुनु सम्भावनाको जानकार हुनु सरह हो भन्ने तर्क गर्न मलाई कसले रोक्ला?
म पनि रोकिन्छु । एयरफोनमा गाइरहेका Arijit ले Papon लाई पालो दिए ।
Papon भन्दै थिए- “आज जानेकि जिद नकरो’’ भनेर हुने हो र? मैले पनि भनेको थिएँ कुनैबेला कसैलाई खैत! उ जिदमै रहि अनि गई पनि ।
हेर्दा हेर्दै उता रातो बत्तीले आत्मसमर्पण गर्छ र फेरि मोटरका ताती दौडिन थाल्छन् ।
एकै क्षणलाई भएपनि हरियो बत्तीले आफ्नो दबदबा कायम राख्छ । तर यति छोटो अवधिको जित पनि के जित? अनि छोटो अवधिको हार पनि के हार ? हार होस या जित पर सम्म पुगोस न , अनन्तसम्म पुगोस् न । आखिर ईतिहास त जित्नेको पनि बन्छ र हार्नेको पनि । म आँफै खुद हारेर हिँडेको छु, सबथोक हारेर हिँडेको छु । इतिहास बनोस् नबनोस् त्यो मेरो लागि महत्वपुर्ण छैन, मैले जितेको छैन यति स्विकार गर्न सकौँ यो महत्वपुर्ण छ ।

आहा !
कस्तो खुशी! कस्तो सुकुन!
आँफैलाई सम्झिँदा गर्व लाग्छ । छाति ढक्क फुलेर आउँछ । क्या जिन्दगी पाइयो, क्या जुनि पाईयो । रहर त थियो नि जीवन यस्तो बनोस् जस्तै,
‘विश्व मोहन भट्’ सापले विणाका तारहरु तान्दा निस्कने
मधुर ध्वनि जस्तै, गुलजारका शब्दहरु जस्तै, Arijit र Vishal Misra- का गलाहरु जस्तै, यस्तो होस् न जीवन चक्र, जस्तै पराल मुनि कुहिएर बिस्तारै फक्रिएको गुलाफ जस्तै, झुसिलकिरा सुन्दर पुतलिमा परिणत भए जस्तै ! चौतारि को पिपल जस्तै होस् न जीवन, थाकेकाहरुलाई शीतलता छर्न सकियोस्, बुढि आमैहरुको पटुकी जस्तै ढाडस मिलोस् न ! युवतीको नङमा पोतिएको नेलपोलिस् जस्तो हुनुपर्छ जीवन, जब जब धमिलिन थाल्छ, रङ हराउन थाल्छ सर्ल्लक मेटाएर नयाँ अनि फ्रेश रङ पोत्न सकियोस्। के मेरा यि रहरहरु अरु कसैको भन्दा अलग छन् र ? मेरा रहरमा के सिङ् उम्रेका छन् र ? अजिब पनि त छैन नि ! सामान्य नै हैनन् र मेरा चाहना ? दुखैदुखले भरियोस् जीवन तर म खुसी हुन सकौँ न। तर कहाँ ?

कविता हैन जीवन। कहानी हैन जीवन। न त कुनै आख्यानकारले आफ्नो बन्द कोठामा बसेर कल्पनाको तानाबानाबाट जन्माएको पात्रको स्वभाव हो।
जीवन भन्नु भोगाईका बगरहरुमा छेस्कोले लेखेका नाम हरुलाई निमेष भरमै छालले मेटेर पुन भविष्यमा लेख्न छोडेको बालुवाको थुप्रो हो कि ? समय त्यहीँ छाल बनेर आउँछ । बल्ल लेखेको एउटा नाम मेट्छ। अर्को नाम लेखिन्छ । मेटिन्छ। यो कहाँ कल्पनाको जन्जिरले बेरिएको छ र? यो सत्य हो कि जीवन कुनैपनि नामुद आख्यानकारले लेख्न नसकेको कथा हो।
अहो !
म त भावावेशमा आएछु। ध्यान त चर्न गएछ ।

हैन! म त आफ्नो जीवनको खाका बनाउदै पो थिएँ वा ढाँचा मिलाउदै थिएँ। कि त उहीँ कनिकुथी दर्शनका पन्नाहरुमा टेकेर जीवन दर्शनको पण्डीत्याइँ गर्दै थिएँ । खाका त तब झन्डै बिग्रिएन जब साईकलमा बत्तिएर आएकी तरुनीले ब्रेक लगाउन भ्याईन । यसरि ध्यान भड्किदा मेरो मुटुको ब्रेक जरुर लाग्न सक्थ्यो ! जीन्दगीको यात्रा पुरा हुन सक्थ्यो। बालबाल बाचेँ!

बाचेँ!
म जिउँदैछु!
म फेरि बाचेँ!
म त ठीक छु, फेरि यो तरुनी किन यसरी चिच्याउदै छे? म मरिसकेँ जसरी पो आत्तिएकी छे। बिचरी सातो गयो जस्तो छ। जे होस् ठुलो घटना हुनबाट जोगियो ।
घटना आखिर घटना नै हैन र ? यसको आकार के सँग दाँजीएला ? के एउटा प्राण गएपछि मात्र त्यो घटनाले विराटताको अस्तित्व पाउने हो ? त्यसो हो भने हरपल हरक्षण भित्र भित्रै मरिरहेका हरुमा घटेको घटना अजङ्गको छैन होला र ? आत्मा मरेको मान्छेको, सास चलि रहनु जत्ति को ठुलो घटना अरु केही हुन सक्दैन ।

मलाई उठाउन पनि सहयोग नगरि हतारिदै गई । यसैपनि मलाई यो आईमाई जातसँग नफरत हुन लागेको बर्ष बित्यो आज! आज कै दिन त हो नि हाम्रो सम्बन्धमा बिर्को लागेको मेरो मन आज यती धेरै बेचैनी हुनुको दोस्रो कारण अरु के नै छ र?

लगभग तीन बर्ष सम्मको मेरो प्रेमलाई कुल्चिएर हिँडेकी थीई ऊ त्यो साँझ। यहीं समय, यहीं दोबाटोमा मैले परसम्म हेरेको थिएँ। उसको साइकलको गती हावासँग प्रतिस्पर्धा गर्दै थियो, एकैछिनमा ओझेल परेकी थीई । त्यसपछीको मेरो जीवनमा पनि ओझेल परेको थियो । प्रेम त बाँकी छ अझैपनि, हिम्मत पनि छ भेट्न पाए उहीँ साथ दिन उहीँ साथ माग्न। तर हिम्मत छैन फेरि धोका खान। फेरि मुटु दुखाउँन/

उठेर माटो झारेँ कपडाको। कस्तो अचम्म? म यसरी लडेँ तर कसैले देखेन। त्यो तरुनीलाई त कसैले देख्यो कि ? मोटरहरु अघि नै देखी रोकिएका छन्। रेड लाईटले फुटपाथमा पनि रातो रंग थोरै पोखिदिएको छ। मेरो त आँखा मै पो परेको छ । यतीबेला कपाल पनि अबिर पानीमा चोपलेको झैँ देखिएको होला। अघी त्यो तरुनीको अनुहार देख्न पाइएन तर उसले मेरो टाउको समाएकी थिई। त्यस्को हात पनि राताम्मे थियो ।

निरन्तर बजि रहेको ईस्पटिफाइमा सबैलाई भ्याईनभ्याई छ । पालैपालो मेरो कान तताईरहेका छन्। मन तताइरहेका छन् । यतीबेला ठ्याक्कै Gnash र Olivia O’brien मिलेर ‘आई हेट यु आई लव यु’ भन्दैछन् । यो संगीतको दुनियाँ पनि कती
भयानक छ। हरेक शब्द, सुर र ताल आफ्नै लागि बनेका झैँ लाग्छन्।

म कस्लाई भनौँ?
के भनौँ?
आई मिस यु भनौँ? वा आई हेट यु भनौँ?
मलाई थाहा छैन मैले के भन्नुपर्छ तर एउटा लाइन खुब मन पर्छ / ‘आई हेट ड्याट् आई लव यु आई हेट ड्याट् आई वान्ट यु!’ यसो हुनुको कारण म मा प्रेमरस हराउँदै जानु हो । सायद म मा कतै स्वाद बाँकी छैन ‘लव’ को न त कुनै तितोपन त्यस्ता ‘हेट’ हरुको। कतै यो नपुंसकताको लक्षण त हैन?

समय घुमिरहेछ। मेरा पाईला पनि रोकिएका छैनन् । छैनन् रोकिएका यि मोटरहरु पनि । हरियो बत्तीको दबदबा बाँकी नै पो छ कि ? सिर्सिर चलेको बतासले अली चिसोपन बोकेर ल्यायो । हुडिको टोपी लगाउछु। तर मलाई यो वातावरणले केही आग्रह गर्दैछ म महसुस गर्दै छु । यो आग्रह म कसरी नकार्न सक्छु र? धुवाँ उडाउने निर्णय गर्छु । पैन्टको पछाडि बाँया गोजीमा कैद सिग्रेटको बट्टाले पनि घोचेको अनुभब हुँदैछ । बिडम्बना म यहाँ सल्काउने आँट गर्न सक्दिन ।
भिडभाडमा तान्ने बानी छैन:- पहिलो कुरो।
पहिलो कुरो बिर्सने बानी छैन:- दोस्रो कुरो।

एकैछिनको आत्मसंवाद पश्चात म व्यस्त फुट्पाथ छोडेर बाँया लाग्छु । सुनसान प्राय; गल्लीमा चिसो बतासको किन्चित आग्रह स्विकार गर्दै गोजीमा निसास्सिएको एक खिल्ली निकोटिनको उद्दार गर्न आतुर छु । एक निमेषमै त्यस्को टाउकोमा आगो लगाइदिन्छु। अक्सर म आफ्नो मनको आगो निभाउन यस्ता सिग्रेटमा आगो झोस्ने गर्छु। अचेल मेरा ओठले यती कोमलताका साथ यदि केही च्याप्छ भने यहीं सिग्रेट हो । उसका ओठलाई पनि यत्तिकै कोमलताका साथ च्यापेका थिए मेरा ओठले। स्पर्शदंसको दुखाई जो कोहिले कसरी महशुस गरुन? मलाई दया लाग्छ ति प्रति जसले ओठको ताप आपसमा प्रसार गरेका छैनन्। के आगो लाग्न सलाई वा मट्टीतेल कै जरुरत छ र? झिल्को लाग्छ प्रेमको रमिताले । प्रेम सँगै हुने रासलीलाले।

कैयौँ दफा झिल्को लाग्यो, आगो लाग्यो, आपसमा प्रेमरस तप्प तप्प चुहियो, तर रहेन प्रमाण। त्यहाँ कुनै संवेदना थियो सायद। भयको झन्कार नभएर हुनुपर्छ, रित्तियो आगो लागेको त्यो स्थान।

सम्झिन्छु एउटा घाट थियो, जो हर दिन हर रात
बल्यो, पखालियो। बल्यो, पखालियो।
प्रेमको भोगमा सम्भोगको अपरिहार्यता कसरी सुरुवात भयो होला? सोधिरहें जोडी पन्क्षिलाई र परागसेचन गर्दै गरेको फूललाई पनि । जवाफ आयो, “प्रेमका खातिर सम्भोग वा सम्भोगका खातिर प्रेम आफुलाई सोध बुझ्नेछौ।” फेरि मैले आफुलाई सोधेँ। एउटा पाप बोधले जगल्ट्यायो । जब एक घुट्को धुवाँ फोक्सोमा पुग्छ,
यस्तो लाग्छ फोक्सो, कलेजो, मुटु, करङ्ग जे जे छ वरिपरि त्यहाँ जमेर बसेको नैराश्यता र विवशताका काला लेउ सबै डढेर खरानी हुँदैछन् । त्यो शितलताको बयान गर्न असमर्थ छु। धुम्रपान गर्नुको यहीं नशा त अजिबको छ नि । मलाई लाग्छ धुवाँका हरेक घुट्काहरु (घुट्का यसकारण भन्दैछुकि म धुवाँहरु पिउनेगर्छु) -मगज सम्म पुग्दा हुन् । यो सारा चाहिने र नचाहिने भावनाहरुको भन्डार थोडी फोक्सो र कलेजो मा छ? यो त सबै मगजमा थुप्रिएको छ । म प्रेम गर्छु यी खिल्लीहरुलाई अनी सिध्याउने पनि म आफैँ हुँ । आफुले प्रेम गरेकालाई सिध्याउन सबैभन्दा सजिलो जो छ। तर कुनै पर्वाह छैन यी खिल्लीहरुलाई । यी हरेक दिन पल पल जल्छन र सकिन्छन् । म हतारमा सल्काउछु- यिनीहरु मलाई बिस्तारै निभाउँछन् । म धोका दिन पनि सक्दिन । फगत गोजीमा कोचेर निसास्सिएर मर्न बाध्य पार्ने त्यती दयालु अपराधी म हुँदै हैन । म बस आफुलाई मार्न यिनीहरुको ज्यान लिदै छु । हुन त जल्नु र उड्नु यिनीहरुको नसिब हो, कर्तव्य पनि हो। त्यसैले त म आजाद गरिदिन्छु । म कती महान छु कम्तिमा यि खिल्लिहरुका नजरमा हरेक पटक यिनिहरुलाई आजाद गरि रहँदा चाहन्छु म पनि आजाद रहुँ।

म केही हल्का रहुँ बादल जत्ति कै। म थोरै भए पनि आफुलाई दया गर्ने ल्याकत राखौँ।
म चाहन्छु धुवा सँगै सबै दु:खहरु उडेर जाओस्। हावामा बिलिन भईजाओस् न सबै पीडाहरु। अहिले हिडिरहेको गल्लि भरी चुहिएर सकियोस् न अफसोसका सिक्काहरु। रित्तिदै गएका सिग्रेटका बट्टा जस्तै रित्तिदै जाओस् न मनको टर्रो पन अघि को फुट्पाथको कोलाहलबाट यता आए जस्तै, अब त यो मन पनि वेचैनिको बाटो मोडेर खुल्ला र शान्त स्थानतर्फ लागोस् न, अब त सिग्रेटले मुख सुकाए जस्तै यी आँखाहरु पनि सुक्दै जाओस् न, खडेरी लागोस् न। अब त यस्तो सस्तो अभिनय गर्न नपरोस् न, अब त चमक छाओस् न यो मुहारमा त्यो परको ल्याम्पोस्ट जस्तै।

यी सबै मेरा सपना हुँन् चाहना हुँन् जो पुरा होला भनेर म कतै आसावदी छैन ।
“जिले जरा – जिले जरा” Vishal भन्दैछन्। म यी धुवाँको मुस्लोमा जिन्दगी खोज्दैछु वा उडाउदै छु । यहीं सिग्रेट जानोस् न ‘जीले जरा’ लाई मैले सिरिएस्लि लिएको छु सायद। म जीउँदै हुनु त्यसको प्रमाण हो। नेपथ्यमा कुकुरहरु एक्कासी भुक्न थाल्छन्। सुनसान गल्ली अली झस्किन्छ र म पनि धरमरिन्छु । केही दुरीमा एउटी वृद्धा कुकुरसँग डराएर बसेकी देख्छु। म त्यतै लाग्छु । वृद्धा आफुलाई कुकुरसँग डर लाग्ने र आँखापनी कम देख्ने तर घर यतै नजिकै भएको कुरा बताउछिन। उनले अप्रत्यक्ष रुपमा सहयोग मागिन। म ति वृद्धालाई उनको घरसम्म पुऱ्याइँदिने निर्णय गर्छु र सोही अनुरुप उनको घरसम्म जान्छु ।

घण्टी निक्कै बेर बजाएपछि मात्र एउटी तरुनीले ढोका खोली । खै! किन हो कुन्नी! ऊ मलाई देखेर डराए जस्तो, आत्तिए जस्तो, चकित देखिई । मलाई धेरै बेर त्यहाँ अलमल गर्नु थिएन फर्किन्छु। एउटा धन्यवाद पनि नभनी तरुनीले ढोका बन्द गर्छे । म जुन बाटो गएको हुँ त्यहीँ बाटो फर्किन्छु । केही दुरी पश्चात दाँया लाग्छु। नजिकै एउटा भट्टी छ । कालो चिम्नीबाट सेतो धुवाँ निस्केको प्रस्ट देख्छु। साथै धुवाँमा सुङ्गुर पोलिएको गन्ध गज्जबले घोलिएको छ । डिम् लाइटमा मधुरो देखिएको भट्टीको भित्रपट्टी कुनामा एउटा व्यक्ती देख्छु जो उस्को ल्यापटपमा आँखा गाडेर केही गहिरो सोचमा डुबिरहेको प्रतित हुन्छ । कानमा उस्को एयरफोन छ हुडिको टोपी पनि लगाएको छ । भट्टी भित्र किन टोपी लगाउनु? उसैलाई थाहा होला।
उसका दुवै हातमा सिग्रेट छ र पालैपालो पीउँदै छ । आँखा उसका ल्यापटपका स्क्रिनमा टाँसिएको हुनुपर्छ। नत्र त्यति गहिरिएर कसले अपलक हेरि रहन सक्छ र?
अजिब त के छ भने उसको अगाडी सिग्रेटका बट्टा असरल्ल छरिएका छन् । भट्टी भएर के गर्नु दारुको एउटा सर्को पनि उस्ले लिएको छैन । दुवै हातका बुढी औंला र चोर औंलाले सिग्रेट समातेको छ र यो सबै दृश्य म बाहिरैबाट हेरीरहेको छु भनु देखि रहेको छु ! वास्तवमा हेरि रहेकै छु ।

केही बेरमा एउटी कपास जत्ति कै सेताम्मे कपाल फुलेकी बुढी मान्छे देखा पर्छिन् ।उनको हातमा केही अन्य सिग्रेटका बट्टा छन् जो त्यहीँ व्यक्तीलाई थमाउँदै छिन्।
मलाई भट्टी भित्रै जान मन लाग्छ। छिर्छु भट्टी भित्र, त्यहीँ एउटा व्यक्ति का अलावा अरु कोही ग्राहक छैनन र त्यो व्यक्तिले सिग्रेट बाहेक केही खाएको पिएको पनि देखिदैन फेरि त्यो सुङ्गुर कस्को लागि किन पोलिएको होला? बडो अजिब लाग्दैछ मलाई । म ढोकाको छेवैमा बस्छु, जहाँबाट त्यो मानिसलाई पनि सजिलै देख्न सक्छु । ति बुढीले मिठो मुस्कानका साथ के ल्याइदिउँ? भनेर सोध्छिन्। मैले एउटा बियर भनेँ। टेबलमा टक्राएर ति किचेन तिर छिरिन । म ग्लासमा बियर भरीसकेर त्यो मानिस तिर हेर्छु तर ऊ त्यहाँ थिएन । कती बेला कहाँबाट निस्कियो त्यो ? म अवाक् भएँ । एक सर्को पनि नपिएको बियर लागेको जस्तो भयो/न । रिङ्गिएँ। जहाँ उ बसेको थियो त्यो टेबल खाली र सफा देख्छु । त्यत्तिका सिग्रेटका बट्टा कहाँ गए ?
अब भएन भनेर ति बुढीलाई सोध्छु । उनि त्यहाँ कोही पनि नबसेको कुरा बताउँछिन्। उनको जवाफले म चकित पर्छु । मेरा आँखाले देखेको त्यो दृष्य कसरी गलत हुन सक्छ? उनि त अझ यो पनि भन्दैछिन् कि म नै उनको
भट्टीको पहिलो ग्राहक हुँ। र यो भट्टी पहिलो पटक आजै खोलिएको हो।
म भुमरीमा परे झैँ फनफनी घुम्न थालेँ।
उनी भन्दैछिन्:-
(आज भन्दा चालिस बर्ष अगाडी एक साँझ म साईकलमा बत्तीएर आफ्नो घर तर्फ जादै थिएँ । यस्तै साँझको बेला थियो । त्यसदिन मेरो प्रेमी सँग ठूलो झगडा भयो र सम्बन्धको पनि अन्त्य भयो। म त्यो शोकले लगभग अर्ध बेहोसीमा साईकल चलाउँदै थिएँ। अकस्मात् एउटा ट्राफिक लाइटको नजिक एउटा मान्छेलाई मैले अन्जानमा ठक्कर दिन पुगेँ। साइकलमा ब्रेक लागेन उ त्यहाँ नराम्ररी
लड्यो । म आत्तिएँ, मलाई रिगटा लाग्यो, ओठमुख सुके। बान्ता आऊला झै पनि भयो तर आएन । त्यती धेरै भिडभाड थियो र पनि त्यो घटना कसैले देखेन। म आत्तिएको कसैले देखेन । मोटरहरु पनि रेड लाइटमा रोकिएका थिए तर मोटर भित्रका मानिसहरुले पनि देखेनन्। साईकलले लडाए पछि त्यो व्यक्तिको निधारबाट हुलहुल्ती रगत बग्दै थियो । म भने डरले थर्थरी काँपि रहेकी थिएँ । म सहयोग माग्दै थिएँ आवत जावत गरि रहेका बटुवाहरुसँग, तर कसैले मेरो आवाज सुनेनन् वा सुन्न चाहेनन्! यस्तो लाग्थ्यो कि त्यहाँ हामी दुई अदृश्य छौँ। केही बेरमा त्यो मान्छेले आफ्नो दम तोड्यो । उस्लाई त्यहीँ छोडेर म रगतले लतपतिएको हात लिएरै घर पुगेँ। त्यो रात मेरो लागि एउटा अजिब, अजङ्ग र अविस्मरणीय रात बन्न पुग्यो । त्यो घटना यसकारण पनि अजिब छ कि , त्यहीँ रात केही घण्टा पछि त्यहीँ व्यक्ति जसको लास मैले फुटपाथमा छोडेर आएकी थिएँ, उसैले मेरी आमालाई घरसम्म लिएर आएको थियो । मेरी आमाका आँखा कमजोर थिए । झमक्कै साँझ परि सकेको थियो, गल्लीमा कुकुरहरुको डरले सहयोग माग्नु भएछ, तर त्यो मान्छे कसरि त्यो गल्लीसम्म पुग्यो, कसरि जीउँदो भयो मलाई थाहा भएन! आमासँग त्यो व्यक्ती देखेर म बेहोस भएछु । जब म होसमा आएँ, मैले आफुलाई यहीं अवस्थामा पाएँ एउटी कपाल फुलेकी बुढी आइमाईका रुपमा। अर्थात पुरै चालिस वर्ष म बेहोसीमा रहेछु, कोमामा रहेछु। होसमा आउँदा मलाई त्यो रातसम्मका सबैकुरा याद थियो । त्यसपछि का चालिस बर्ष मलाई केही याद छैन । म आफुलाई तन्दुरुस्त महसुस गर्छु। त्यसैले साठिको उमेर भए पनि यो भट्टी चलाऊन मन गरेँ । भाग्यवश तपाईं मेरो पहिलो ग्राहक हुनुभयो। यो भट्टी आजैबाट सुरु गरेकी हुँ। किनकि मेरो पहिलो प्रेम टुटेको तारिख आजै हो। मैले अन्जानमा साईकलले हानेर कसैको ज्यान लिएको तारिख आजै हो। आफुले मृत छोडेर हिडेको लासले मेरी आमालाई घर सम्म छोड्न आएको देखेर कोमामा पुगेको तारिख पनि आजै हो। यो तारिख धेरै घटनाहरु सँग तालुख राख्ने भएकाले मैले भट्टीको उद्घघाटनका लागि पनि आजकै तारिख रोजेकी हुँ। मैले सिङ्गै सुङ्गुर पोल्दैछु। आजको दिन जे जे खाए – पिए पनि विशेष छुट छ ।)
यत्ती बोलेर ति बुढी चुप लागिन ।

यो के सुनि रहेछु म? म आँफैलाई प्रश्न गर्दै छु ।
अघी भर्खर मलाई साइकलले हान्ने तरुनी यी बुढी पो थिईन्? तरुनी कि बुढी?
अनि अघी त्यहीँ पर एउटी आमैलाई मैले उनको घरसम्म छोडेर आएको थिएँ, ति यी बुढी की आमा पो थिइन्? आमा पो बुढी थिइन् त यी त तरुनी थिइन् हैन र?
घरको ढोका खोल्दा आश्चर्य र विस्मात नजरले मलाई हेर्ने ति तरुनी यी बुढी पो थिईन्? त्यसरी हेर्नुको कारण रातो बत्तीको प्रकाशले हातमा देखिएको छायाँलाई कतै रातो रगत त ठानेकी थिइनन्? अझ आश्चर्यको कुरा त एकसाल पहिला आपसमा ठूलै मनमुटाव भएर करीब तीन बर्षसम्मको हाम्रो प्रेमको अन्त्य गरेर यहीं भट्टीबाट निस्किएर साइकलमा बत्तीएकी मेरी पूर्व प्रेमिका यी बुढी पो थिइन्!
त्यसो भए ढोका खोल्ने ति बुढी आमै कि तरुनी छोरी को थिई त?
म आँफै देवदास भएर हिडेको त्यहीँ ब्रेकअप पछी त हो नि । तर ब्रेकअप भएको चाँही एकवर्ष अगाडी कि चालिस वर्ष अगाडि ?
यो सारा प्रश्नको जवाफ त्यहीँ व्यक्तीले जो अघी त्यो कुनामा घोसेमुन्टो लगाएर ल्यापटपमा आँखा गाडेर बसेको थियो। जो धुवाँको पेग लगाउँदै थियो ।

मलाई बल्ल महसुस हुँदैछ, कि सायद म अस्तित्वमा छैन ।
म त त्यो व्यक्तीको कथाको पात्र रहेछु ।
के त्यो व्यक्ती लेखक थियो? लेखक थियो भने त्यो साइको लेखक हो।
त्यसले दिमाग भ्रष्ट गराईदिन सक्छ।
सावधान!
यति बेला म सिग्रेटको अन्तिम पेग पीउँदैछु।

प्रतिक्रिया
Exit mobile version