तिमी विश्व मानचित्र पल्टाएर
आफू अनुकूलकाे देश खाेजिरहीछ्यौ
म आफ्नै घरबाट हराएकाे,
मेराे नाम खाेजिरहेकी छु ।
तिमी महासागरकाे कुरा गर्छ्याै
आइफिल टावर फन्काे मार्छु भन्छ्याै
म यति बेला मेरै चाेकसित बिरानाे छु
हराएकाे मेराे परिचय खाेजिरहेछु ।।
मलाई,
बाग्मतिकाे सफा पानीमा
मेराे देशकाे प्रतिबिम्व हेर्न मन छ
लाग्छ,
म जन्मेकाे आँगनभन्दा पर मेराे भुगाेल छैन्
सगरमाथाभन्दा पर मेराे कुनै देश छैन
म कसैकी छाेरी
कसैकी बुहारी भएर
तिम्रै नामबाट आमा बनेर चिनिएँ
छिमेकभन्दा अलि पर मेराे कुनै परिचय छैन् ।
जन्म घरमा ठूली भन्थे बा-आमाले
कर्मघरमा कान्छी भएँ
पछि याे देशकाे नागरिक भएँ
ठूली-कान्छी भएर ।
मलाई पनि तिम्रै जस्ताे नाम प्याराे लाग्थ्याे
तिमी जस्तै स्वतन्त्र भएर गगनमा उडुँ उडुँ लाग्थ्याे
तर मैले त तिम्रै लागि भाँचेकी हुँ उड्ने पखेटा
तिम्रै लागि थुनेकी हुँ,
संसार चिहाउने स-साना सञ्ज्यालहरू
एउटै रूखकाे हाँगामा झुन्डिएर मैले
गरेकी हुँ सबथोक तिम्रा लागि।
प्रिय छोरी !
काेसी तर्दा तर्दै काँसजस्तै सेतै फुलेका
बा- आमा बस्ने तीर्थभन्दा पर
मेराे कुनै मन्दिर छैन् ।
तिमी यतिबेला,
झाँगिन चाहन्छ्याै पीपल जस्तै
र फैलिन चाहन्छ्याै पर-परसम्म
साँघुराे भैसक्याे याे भुगाेल तिम्राे लागि अब ।
मलाई थाहा छ,
तिम्राे पदचाप पछाउँदै हिड्ने छन्, घाम-जून
एक अँगालो घाम च्यापेर पस्ने छ उज्यालो
तिम्रै लागि आशीर्वादका मन्त्र पढ्ने छन् बाजे-बजूले
तिम्राे स्वर्णिम भविष्यकाे लागि ।
म भने
बल्दा बल्दै सकिने मैनबत्ती भएँ र
अरूकै लागि बलेर सकिएँ
प्रिय छाेरी !
तिम्राे र मेराे लागि कहिल्यै याे समय
समानान्तर दुरीमा हिँडेन
म हिंड्ने सानाे गाेरेटाे
र
तिमी दाैडने फराकिलाे राजमार्गले
कहिल्यै हामीलाई छाेएन ।