कलेज बसबाट मेरो थकित शरिरले विश्राम लिएसँगै मेरा अघि करिब सय मिटरको साँघुरो गल्ली प्रस्तुत हुन्छ,
अनि हरदिन गल्लीका छेउ छेउबाट
मेरा शरिरका अङ्गहरुलाई मुल्यांकन गर्ने
निर्णायकहरु भेटिन्छन्।
हातमा चुरोट र चियाको चुस्कीसँगै
दानवरुपी भोगको वितृष्णामा
म हरदिन मुल्याङ्कित हुन्छु,
मेरा अङ्गका आकार रङ्ग, मेरो रुप गुण र वैगुण्यहरुप्रती कायर शब्द र भावमा पोखिने विषयवस्तुकी स्रोत म हुन्छु।
म प्रती समर्पित राक्षसीप्रती
मेरा घोर रिसहरु र असन्तुष्टिहरुले मार्ग ओगट्छन्,
यद्यपि ममा कताकता म प्रती दुष्कर्मको आशङ्का
र मेरो अस्मिताको पक्षमा
सिर्जित भयहरुले मेरो आवाज निलिदिन्छन्।
मलाई लाग्छ सायद
मेरा पिठ्युँहरुका मोटाई बढ्छन्
अनि त्यहीँ बेला मेरो छातीको चौडाई पनि बढ्छ
लाग्छ ती कोट र पाइन्ट भर्खरै छाेटा भएका छन्
अनि मेरो शर्ट गुप्ताङ्ग नै देखिने गरि पातलिएको छ।
मेरो मलिन मुहार र सुक्खा ओठहरुमा
अझैपनि भोगीहरुप्रती त गोरोपन वा चम्काहट नै देखिएला तर त्यो बेला मेरा मन र मस्तिष्कहरुमा
असहजताको कालो बादल छाइसकेको हुन्छ।
आज फेरि मेरा पाइलाका तरङ्ग लम्बाई
झनै छोटा भएका छन्,
मेरो शरीर अघि बढ्नै नसके जस्तो
अनि यसको तौल बढेजस्तो भएको छ।
दुईवटा पुस्तक बोकेको ब्याग
आज धेरै नै भारी लागेको छ,
मेरो स्वास पनि रोकिएझैँ भाको छ,
मुटुको धड्कन बढेको छ, समय रोकिएजस्तै भएको छ।
म यसविरुद्ध कहिलै पनि बोल्न सक्दिनँ,
कसैसँग आफ्ना भावनाहरु पोख्न सक्दिनँ,
म यो चाहन्छु अब यो गल्लीको दुरि छोटियोस्
यात मेरो कलेज बसले मेरो रुमसम्म छाडिदियोस्
अनि छिट्टै कलेज सकियोस्।
अनि मेरो काम अफिस वा एक्लै जानु र आउनुपर्ने ठाउँहरुमा
फेरि कहिल्यै यस्तो गल्ली नदेखियोस्।
म एक युवती…