केही बर्ष भयो मनवीर संयुक्त परिवारबाट अलग भएर सहरको सुबिधायुक्त फ्ल्याटमा बस्न थालेको। बुढी आमा, बिहे हुन बाँकी दुई बहिनी र दुई भाईको पठन पाठन देखि लिएर घर खर्च उस्कै एक्लो जागिरले धानेको थियो । चलेकै थियो केही अघिसम्म । सबै हाँसीखुसी नै देखिन्थे ।

जब घरमा उस्की दुलही बनेर मीरा भित्रिईन् तब सुरु भयो रडाँको । मीरालाई लाग्यो आखिर मेरै श्रीमानले कमाएर खुवाउनुपर्छ त हामी किन छुट्टै नबस्ने ! उन्को ढिपीका अगाडि मनवीर निरीह सावित भए र फ्ल्याटमा सर्न पुगे ।

सुरु सुरुमा मनवीरले आमाको उपचार र घर खर्च लुकाएर पनि दिने गर्थे ! त्यो पनि मीरालाई असह्य भयो र आउजाऊ नै बन्दझैँ हुन पुग्यो । आमा मेनकाले साना छोरा छोरीको पढाइमा कमी नहोस् भनेर अरूको घरमा भाँडा माझ्ने र कपडा धुने काम गरेरै भए पनि अभिभावकत्व निभाउँदै थिईन् ।

देश कोरोना कहरको दोस्रो लहरले आक्रान्त बनेको बेला मीरा पनि कोभिडको सङ्क्रमणमा परेर पोजिटिभ बनिन् ! उन्को अक्सिजन लेभल अस्थिर हुन थालेपछि मनवीर अतालिएर राजधानीका थुप्रै अस्पताल चहार्दा पनि बेड र अक्सिजनको ब्यबस्था गर्न सकेनन् । एउटा नाम चलेको अस्पतालको वरिष्ठ डाक्टरलाई फोन गरेर उन्ले आफ्नी श्रीमतीको ज्यान बचाइदिन भने । डाक्टरले म कोशिश गरूँला ल्याउँनुस् भनेर कोभिड वार्डको एउटा शैय्या खाली गर्न निर्देशन दिए । इमर्जेन्सीको बाध्यता यो थियो कि एउटा बिरामीको डिस्चार्ज नगरी अर्कोलाई लिन सक्ने अवस्था थिएन ।

जब मनवीर मीरालाई लिएर इमर्जेन्सी वार्डमा पुगे त्यहाँ एकजना महिलालाई अब यिनी बाँच्दिनन् अर्कोलाई बचाउनु पर्‍यो भन्दै बेड नम्बर १२३ खाली गर्न भनेको सुने यति मात्र सुनेनन् डाक्टर साब हामी सँग पर्याप्त पैसा छैन भनेर यसो गर्न लाग्नु भाको यस्तो अन्याय नगर्नुस् हाम्री आमालाई बचाउनुस् उहाँ हाम्रो एक्लो सहारा हुनुहुन्छ .. वरिपरि बसेका स-साना छोराछोरीको यो कारूणिक चित्कारले मनवीर थप पीडामा परे ! ती महिला अरू कोही नभएर उन्कै आमा मेनका थिईन् ।

“नुवाेटमा जन्मिएका `उत्तम विचार′ बहुविधामा कलम चलाउने सर्जक हुन्। उनका कविता, मुक्तक, गीत र लघुकथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।„

प्रतिक्रिया
Exit mobile version