ऐनाको बाहेक मान्छेहरूको पनि विश्वास हुन्न
फुटेर चिरिएको ऐना
मेरो जीवनको साधक सुदामा मित्र हो
ढोका माथी झुन्डिएको ऐना मेरो हो -मात्रै मेरो
जसको विरुद्धमा म कविता भुकिरहेछु।
कहिलेकाहीँ
फुटाउन मन लाग्छ
मेरो कोठाको ढोका माथि झुण्डिएको
मैले आफ्नै अनुहार हेर्ने ऐना
जुन ऐनामा मेरो सत्यता लुक्दैन
लुकाउन सक्दिनँ आफ्नै भाग्य
लुकाउन सक्दिनँ जीवनको वर्ण
लुकाउन सक्दिनँ आफ्नो दरिद्रता
हुनसक्छ –
मेरो कोठैको ढोका माथि झुण्डिएको ऐना
कुनै दिन फुटेको हुनसक्छ आफै झरेर
जसरी झरेको हुनसक्छ मेरो भाग्य
सिसा जस्तै टुक्रिएको हुनसक्छ मेरो कर्म
र बिचमा चिरिएको हुनसक्छ
ऐनाको सिसा जस्तै मेरो जीवन
सोच्नुस त
के ऐना फुट्दैमा यथार्थ लुकाउन सकिन्छ
फुट्यो भन्दैमा ऐनाले कालोलाई गोरो देखाउन सक्दैन
चिरियो भन्दैमा ऐनाले जीवनका दुखहरु चिर्न सक्दैन
टुक्रियो भन्दैमा ऐनाको सिसाले जीवनको दरिद्रता टुक्राउन सक्दैन
कहिलेकाहीँ
प्रेमले सुमसुम्याउदै छातिमा टास्न मन लाग्छ
मैले आफ्नै अनुहार हेर्ने ऐना
जुन ऐनाले गरिबलाई धनी देखाउन सक्दैन
गरिबलाई किस्मती देखाउन सक्दैन
दुखिलाई सुखी / सुखिलाई दुखी देखाउन सक्दैन
एक दरिद्रलाई संसारकै महान देखाउन सक्दैन
रोएको मान्छेलाई हाँसेको देखाउन सक्दैन
र त मलाई ऐनाको बाहेक मान्छेको पनि विस्वास लाग्दैन
त्यसैले-
मलाई आजकाल दरिद्र बन्न मन लाग्छ
गरिब बन्न मन लाग्छ
अभागी बन्न मन लाग्छ
दुखी बन्न मन लाग्छ
रोदन र आँसु बन्न मन लाग्छ
मेरो कोठाको ढोकै माथि झुण्डिएको
बिचमा फुटेर चिरिएको ऐनाले देखाउने
ब्रह्माण्ड कै एक्लो जस्तो बन्न मन लाग्छ।।