दोस्रो पटकको परीक्षा उत्तीर्ण गरेर विक्रम सम्वत् २०५० साल मङ्सिर १५ गते मैले दुर्गम क्षेत्र विकास समितिमा सिभिल ओभरसियर (सब इन्जिनियर) पदमा स्थायी नियुक्ति पाउन सफल भएँ । हिमाली तथा उच्च पहाडी भेगका २२ दुर्गम जिल्लाहरूमा मात्र कार्यक्षेत्र रहेको यस समितिमा मेरो पहिलो दरबन्दी मनाङ जिल्लामा कायम भएको थियो । मनाङ जिल्लामा नियुक्ति पाउनेमा अर्का साथी गुणबहादुर लामा वाइबा थिए । एक हप्ते सेवा प्रवेश तालीम लिएर हामी बेसीशहरमा भेटेर सँगै जाने निधो गरेर छुट्टियौं ।
तोकिएकै दिन उनी काभ्रेबाट र म तनहुँँबाट बेसीशहर त पुग्यौं तर कहाँँ भेट्ने भन्ने स्थान यकीन नभएकोले हाम्रो भेट हुन सकेन । उनी बसपार्क नजिकको होटेलमा बसेछन् , म चाँहिं केही माथि पुगेर थकाली होटलमा बसेको थिएँ । डुम्रे बेसीशहर कच्ची बाटोको यात्राले थकित भएकोले साँझमा हामीले सोधखोज गरेनौं ।
भोलिपल्ट सबेरै उठेर म होटेल अगाडि उनी आउछन् कि भनेर पर्खेर बसेको थिएँ । तर ३ घण्टा कुर्दा पनि उनी नआएपछि म पनि खाना खाएर एक्लै एक्लै आफ्नो बाटो लागें ।
झोला २० केजीभन्दा गह्रौं थियो । जाडोमा लगाउने कपडा, सिरक, निजामती कर्मचारीले पढ्ने पुस्तक, इन्जिनियरिङ विषय र साहित्यिक पुस्तकहरू बोकेर म मन नलागी नलागी मनाङतिर उकालो लागिरहें ।
बाटोमा पर्यटकहरू फाट्टफुट्ट मात्र भेटिन्थे । जाडो छल्न तल झर्ने शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाहरूको ताँती ठुलै थियो । मनाङ जाने साथीहरू भने कोही भेट्न सकिएन ।
पहिलो दिन बाहुनडाँडामा बसियो । दोश्रो दिन मनाङ जिल्लाको प्रवेशद्वार तालमा बसियो । पहिलोपटक आएको यात्री भएको र टुरिष्ट होटलमा खानेबस्ने गरेकोले रकम अलि बढी नै खर्च हुन पुग्यो । धेरैजसो नेपाली त साइनबोर्ड नभएको होटेलमा खानेबस्ने रहेछन् ।
ताल पुगेपछि मेरो जुत्ता नराम्ररी च्यातिन पुग्यो । जुत्ता सिलाउने मान्छे कतै पनि बस्दा रहेनछन् । स्थानीय बासिन्दाले चार घण्टामा चामे पुगिने बताए ।
किराना पसलमा पुगेर जुत्ता किन्ने तर्खर गर्दा साहुजीले भने -‘सर तपाईंको स्पोर्ट शुज डुप्लिकेट रहेछ । यो ओरिजनल पान्डा शुज किन्नुस् । हिमालतिर त ट्रेकिङ बूट लगाएर आउनुपर्छ ।’ अनि पान्डा शुज किनेर लगाएँ र सुस्तरी उकालो लागेँ । झोला झन् झन् गह्रौं हुँदै जान थालेको थियो । साथी पनि थिएन र पैसा पनि सिद्धिएको थियो ।
धारापानी पुगेर चिया खाएँ । खाना खाने पैसा थिएन । अनि चामे पुगेर खाना खाने मनसायले सुस्तरी उकालो लागें ।
मर्स्याङ्दी आफ्नै धूनमा सुसाइरहेको थियो । मेरो घरबाट एक घण्टाको दूरीमा रहेको मर्स्याङ्दी नदीको मुहान खोज्दै म बटुवा भएर आएकोमा मन त रोमाञ्चित भएको थियो तर भोग्नुपर्ने दु:खले पनि उत्तिकै अत्याइरहेको थियो ।
धारापानी कटेपछि मेरो पछिल्तिरबाट आउँदै गरेका एकजना साथीले गुनासो पोखे -‘सुन्नुस् त सर ! म नयाँ नियुक्ति लिएर आएको मान्छे हुँ । मसँग पैसा सकियो । मलाई १०० रुपैया सापटी दिनुस् न! म चामे पुगेर दिन्छु । ‘
मेरो मन झन् अँध्यारो भयो । ‘म पनि यही कुरा तपाईंंसँग भन्न खोज्दै थिएँ । म पनि नयाँ नियुक्ति लिएर आएको निजामति कर्मचारी हुँ । मेरो पनि पैसा नभएर खाना खान पाएको छैन । ‘मैले सुस्केरा हाल्दै जवाफ फर्काएँ । अनि दुवैजना सँगसँगै चामे सम्झेर उकाली रह्यौं ।
थान्चोक मुनिको सल्लाघारी आइपुग्दा मेरा छिमेकी गाउँका दाजुले बाटो उछिने । उनी पनि कृषिमा प्रा.स. मा नियुक्ति लिएर आएका रहेछन् । झोला गह्रौं नभएकोले उनीहरु फटाफट बाटो लागे । मैले आफ्नो समस्या बताउन सकिन ।
सल्लाघारी माथि कटेपछि बाटो र धाराहरूमा पानी जमेको थियो । हावापानी निकै चिसो थियो । झोलाको बोझ र भोको पेटले गर्दा हिंडाइको गति सुस्त हुन पुगेको थियो ।
चामे मुनिको गाउँ कोतो पुगेपछि मलाई पानी खान मन लाग्यो । धाराको टुटीमा बरफ झुन्डिएको थियो । पानी निकै चिसो र छोइनसक्नुको थियो । त्यसैले एउटा सानो घरमा पानी मागें । अनि घरबेटी आमैलाई आफ्नो पैसा सकिएको र खाना खान नपाएको कुरा बताएँ । बज्यैले नुनचिया र करुको सातु खान दिइन् । अनि, हामीले पछि आएर पैसा दिने कुरा गर्दा भनिन् -‘भो बाबु ! पर्दैन । खान दिएर मैले धर्म कमाउछु । यसको ज्याला भगवानले दिन्छन् ।’
त्यसपछि अलि तागत आयाे र कार्यालय समयभित्र नै अफिस( जिल्ला विकास समितिकाे कार्यालय ) पुुगियाे । गुणबहादुर लामा भने अघिल्लो दिन नै चामे आइपुगेका रहेछन् । चिसाे बढेकाेले धेरैजसाे कर्मचारीहरू झरिसकेका रहेछन् । सबैजसाे कार्यालयमा स्थानीय कर्मचारीहरू मात्र रहेछन् ।
जिविसमा सबैले भव्य स्वागत गरे । कर्मचारी मिलन केन्द्रले पनि स्वागत गर्याे। दिनहरू रमाइलाेसँग बित्दै गए ।
नदी, खाेला, धाराहरूमा बरफका ढिक्का देखिन्थे । गाग्री, बाल्टिनकाे पानी समेत जम्न थालेकाे थियाे । केटाकेटीहरू बरफका ढिक्काहरु बटुलेर खेल्ने गर्थे ।
अफिसमा बसेर घाम लाग्दा घाम ताप्ने र अरु बेला किचनमा आगाे तापेर समय कटाउने गरिन्थ्यो । फुर्सदमा काेठामा बसेर किताब पढ्ने गर्थें ।
बिस्तारै चामेकाे सामाजिक बातावरणमा घुलमिल हुँदै जाने क्रम बढिरह्याे । सबैले भन्ने गर्थे- ‘सर, तपाईं त बुद्धजस्ताे मान्छे रहेछ । किताबकाे कीराे रहेछ। सामाजिक रुपमा स्वस्थ हुन सबै कुराकाे ज्ञान र अनुभव सँगाल्न जान्नुपर्ने हुन्छ । बुद्धजस्ताे पात्र हाेइन, ओशाेजस्ताे पनि बन्ने प्रयत्न गर्नुपर्दछ । जुन ठाउँमा पुगिन्छ, त्यहाँकाे चालचलन र संस्कार अपनाउन सिक्नुपर्दछ । हाेइन र सर?’
कहिले आफू पढ्ने, कहिले त्यहाँका विद्यार्थी भाइबहिनीहररूलाई नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय पढाउने गरेर साँझ बिहान कटाउन थालें। शनिबारकाे दिन भने मर्स्याङ्दी किनारकाे ताताेपानी मुलमा नुहाइधुवाइ गरेर बित्थ्याे ।
जिविसमा हामी चारजना प्राविधिकहरू थियौं । चारैजना जिविसको अतिथिगृहको ठूलो कोठामा बस्थ्यौं । खाना भने जिविसका खरिदार वीरसिंह गुरुङको होटलमा खान्थ्यौं ।
मनाङकाे बारेमा राेचक किस्साहरु रहेछन् । अदालत छ , मुद्दा छैन ।अस्पताल छ, बिरामी छैनन् । कारागार छ, कैदी छैनन् । खाेला छ, माछा छैनन् । खेत छ, धान छैन ।अफिस छ,कर्मचारी छैनन् । कर्मचारी छ, काम छैन । किनकि याे मनाङ हाे । यस्तै यस्तै कुरा गरेर समय काटिन्थ्याे । स्थानीय भाषामा म्ह भनेकाे निगालाे र नाङ् भनेकाे घर रहेछ । धेरै निगालाे पाइने र निगालाेबाट बनेका घर हुनाले म्हनाङ हुँदै मनाङ भन्न थालिएकाे रहेछ ।
पुस २७ गते पृथ्वी जयन्तीमा कार्यक्रम सकेपछि हामी बजार घुम्न निस्किएको बेला माैसममा एकाएक परिवर्तन आयाे । हेर्दाहेर्दै फुरफुर हिउँ पर्न थाल्याे । भाेलिपल्टसम्म त तीन फीट हिउँ परिसकेको थियाे । हामीले अघाउञ्जेल हिउँ खेल्याैं । मन प्रफुल्ल भएर आयाे ।
हिउँ परेपछि बाँकी रहेका कर्मचारी र स्थानीय बासिन्दाहररू बेसी झर्न थाले । मलाई भने निमित्त स्थानीय विकास अधिकारी भएर दुई महिना बस्न भनियाे । दुई हप्ता जिविसमा निमित्त कार्यालय प्रमुख भएपछि जिल्ला भवन कार्यालयमा काजमा बाेलाएर निमित्त कार्यालय प्रमुख भएर फागुनकाे पहिलाे हप्तासम्म बस्नुपर्ने भयाे ।
घाम लाग्दा बेल्चाले हिउँ पन्छाएर घाम तापेर बस्ने र घाम नलाग्दा किचनमा आगाे तापेर बस्ने काम मात्र भयाे । अनि सफा ठाउँकाे हिउँ बटुलेर चिया पकाएर खाइन्थ्याे । साँझबिहान बाटाे हिड्दा हिउँमा चिप्लेर लडिन्थ्याे । चिसाेले हातगाेडा झन्झनाउथे। माघमा अधिकतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा माथि चढ्न सकेन । चैतमा बल्ल ७ डिग्रीसम्म पुगेकाे थियो ।
फागुनदेखि असारसम्म मनाङ जिल्लाका १२ गाविसका जम्मा ३० गाउँमा घुमेर विकास निर्माणका गतिविधिमा संलग्न रहेर काम गरियाे । फर्कदा गलाभरि खादा सजिएकाे हुन्थ्यो । आफूले भाेग्नुपरेकाे पीडा र व्यथा सबै भुलेर म चामे फर्किएको हुन्थें । प्राविधिक सर्भेक्षण, लेआउट, कार्यान्वयन र नापी कार्य गर्दा एउटा प्रहरी जवान र सैनिक जवानले भोग्नुपर्ने जस्तै पीडा भोग्नु परेको थियो ।
मनाङ जिल्लाभरि मलाई सबैले सायरी सर भनेर चिन्थे । मैले धेरै ठाउँमा बालबालिकालाई बालकविता र चुड्किला सुनाउने गर्थें भने विभित्र मेला, जात्रा, पर्व, उत्सव र समाराेहमा मुक्तक, सायरी र प्रहसन सुनाउने गर्थें । साथै, हिमाली भेगकाे स्वच्छन्द जीवनशैली र संस्कारले मेराे जीवनमा एउटा व्यवहारिक मान्छे बन्न सघाउ पुर्याएकाे थियाे । कार्यालयमा निमित्त हाकिम र याेजनास्थलमा साइट इन्चार्ज भएर काम गर्दा मैले धेरै व्यवहारिक ज्ञान हासिल गरेकाे थिएँ ।
मनाङमा डेढवर्ष बिताएपछि मेराे मुस्ताङ जिल्ला सरुवा भयाे । २०५२ बैशाखमा मैले रमाना लिएर जाने भएँ । जिविसले भव्य विदाइ कार्यक्रम राख्याे । कर्मचारी मिलन केन्द्रकाे तर्फबाट जिल्ला प्रशासन कार्यालयमा पनि विदाइ कार्यक्रम राखियाे ।
भाेलिपल्ट खाना खाएर विदाइ भएर हिड्दा चामेकाे नमस्ते गेटमा आमा समूहकाे टाेली हातमा सगुन र खादा लिएर बसेकाे रहेछ । मलाई चक्लामा पलेटी कसेर बस्न लगाइयाे । अनि सबैले पालैपालाे खादा लगाएर सगुन चढाए । सबैले ‘फेरि फेरि सरुवा भएर आउनुहाेला है’ भने । मेरा आँखा आंसुले भरिए । अनि, भारी मन र भारी झाेला बाेकेर म एक्लै एक्लै ओरालाे झरें ।
५ घन्टाकाे बाटाे ताल आइपुग्दासम्म बिदाइ गर्ने क्रम जारी रह्यो । ताल कटेपछि मनाङ जिल्ला समाप्त भएकाेले अवीर धाेएर खादा झाेलामा खाँदे । अनि मनभरि मनाङकाे सम्झना बाेकेर तालबेसीकाे ओरालाे झरें । अनि चामेमा हुँदा लेखेकाे कविता झल्झली सम्झन थालें –
तिमी जस्तै, ए हिमाल !
हाँसेकै छु म पनि
फरक यत्ति छ –
तिमी हाँस्छौ दिल फुकाएर
म हाँस्छु व्यथा लुकाएर ।
तिमी जस्तै, ए मर्स्याङ्दी !
बगेकै छु म पनि
फरक यत्ति छ –
तिमी बग्छ्यौ तरलता निरन्तरता पाएर
म बग्छु जटिलताले मुख बाएर।
तिमी जस्तै, ए फूल!
फुलेकै छु म पनि
फरक यत्ति छ –
तिमी फुलेर झर्छौ
म झुलेर मर्छु।
तिमी जस्तै, ए बुद्ध!
आउने छु म पनि त्यहाँ
फरक् यत्ति छ –
तिमी गयौ दुनिया रिझाएर
म आउँला एकैछिन् भए पनि
कसै न कसैको परेली भिजाएर।
मातातीर्थ,बालागाउँ – काठमाडौं