– रमेश प्रभात
अध्यक्ष, अक्षर समूह चितवन ।

मिति: २०८१ कार्तिक २२ गते छठपर्व
स्थान: भरतपुर १०, कटहरचोक, चितवन ।

आदरणीय उपन्यासकार हरिबोल काफ्लेजी,
चाडपर्वको मौसममा प्रभातकालीन नमस्कार !

तपाई मलाई चिन्नुहुन्न । त्यसो त म तपाईंको एउटा आमपाठक हुँ, तपाईंको र मेरो प्रत्यक्ष्य चिनजान भने भएको छैन । हामी आजका मितिसम्म फेसबुकलगायतका सामाजिक सञ्जालबाट पनि जोडिएका छैनौँ । हुन त अचेल नेपालमा चिनिएका लेखक र तिनका विशेष पाठकका बीचमा सुमधुर सम्बन्ध हुने मात्र होइन तिनै पाठकले लेखकको बचाउ पनि गर्ने गरेका कुराहरु देख्न, सुन्न र पढ्न पाइन्छ । ती त भए डाइहार्ट फ्यानका कुरा, तर सबै पाठकलाई लेखकले चिन्नै पर्छ भन्ने चाहिँ कहाँ छ र ?

मैले तपाईंको ‘यशोधरा’ उपन्यास २०८० को अन्त्यतिर सम्पूर्ण किताब, नारायणगढबाट किनेको थिएँ, तर पढ्ने सुयोग मिलेको थिएन । दराजमा थन्किएको सो किताब आज बल्ल पूरा पढेर सकेँ । पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो, त्यसैले पढिसकेपछि त्यसका बारेमा केही भन्नुपर्छ भन्ने मान्यता राख्छु म । नेपाली मूल विषय लिएर पढेको र करिब तीन दशक त्यही विषयलाई आधार बनाएर आजीविकासमेत चलाएको हुँदा यसलाई मेरो कर्म र धर्म दुबै ठान्छु म । यसरी बोलिदिँदा लेखक र पाठक समेत त्यसबाट लाभान्वित हुन्छन् भन्ने धारणा हो मेरो । म आफू त्यति जान्ने सुन्ने नभए पनि आफूलाई लागेको कुरा बोलिदिँदा अन्य पाठकले पनि त्यसका बारेमा धारणा बनाउँछन् भन्ने ठानेर यो पत्र कोरेको हुँ ।

अरु पाठक कसरी पढ्छन् ? म जान्दिनँ र जान्न पनि चाहन्नँ । मेरो हकमा भन्दा यति लेखकीय धारणा छ भने प्रायः पहिला त्यो पढ्छु । त्यसले मलाई लेखक र सिर्जनामा एकोहोरिन सहयोग गर्छ । यहाँले उपन्यास सकिएपछि ‘जाँदाजाँदै’ शीर्षकमा यस्तो लेख्नुभएको रहेछ:

बुद्धको जीवन वर्णनातीत छ । संसारमा बुद्ध धर्मप्रतिको आस्था र विश्वास अपरिमित छ । बुद्धको जीवनमा केही यस्ता अन्य अवर्णनीय पात्र छन्, जसको योगदान ओझेलमा छ । सियाँमा परेका कैयौँ पात्रहरुमध्ये यशोधरा अर्थात् सिद्धार्थ गौतमकी पत्नीको जीवन चरित्रलाई सिद्धार्थले दरबार त्याग गरेपछि धेरै खोजीनिती गरेको पाइँदैन । ज्ञानको व्यग्रतामा सांसारिक मोहलाई विच्छेद गरेका सिद्धार्थलाई जीवनपत्नी यशोधराले दरबारकै चौघेरामै पतिको बुद्धरुपी आभाका रुपमा दर्शन पाउनसमेत वर्षौंवर्ष पर्खिनुपरेको थियो । यो उपन्यास सिद्धार्थको पर्खाइमा जीवनपर्यन्त मिलनको पल कुरिरहेकी, निरापराध वियोगको शासना पाएकी र आधा जीवन उपयोग भई छाडिएकी यशोधरामा आधारित छ । (पृष्ठ, २८१)

यो पढेपछि मलाई उपन्यास पक्कै राम्रो छ भन्ने लाग्यो । त्यसपछि मैले सामाजिक सञ्जालमा गएर यहाँका बारेमा खोजी गर्दा यहाँमा बुद्धका बारेमा अथाह ज्ञान भएको पाएँ । यसले मलाई खुसी बनायो । लेखकीय पढेपछि उपन्यास सर्सती पढेँ । त्यहाँ त मैले चाहेजस्तो पाइनँ । यहाँले आफ्नो अथाह ज्ञानलाई आफ्नो उपन्यासमा कसरी प्रस्तुत गर्नुभयो भन्ने कुराले भने मलाई सोच्न बाध्य बनायो । यहाँले यशोधरालाई मुख्य पात्र बनाएर उपन्यास त लेख्नुभयो । त्यो ज्यादै सराहनीय कार्य पनि हो । तर उपन्यासमा यशोधरा भन्दा पनि सिद्धार्थ अर्थात् गौतम बुद्ध मात्र देख्छु म त:

बुद्धले आफ्नो ज्ञान, योग र साधनाका माध्यमबाट नयाँ धम्मको प्रवर्तन गरे । त्यो प्रकारान्तमा धम्मदीक्षाका रुपमा रहन गयो । त्यसले वैदिककालका अनेक मान्यतालाई सापेक्ष बनाइदिएको थियो । समस्त ब्रह्माण्डबारे नयाँ धारणा विकास गरेको थियो । प्राचीन पूर्वीय दर्शनलाई नयाँ उचाइमा लगेर संश्लेषण गर्ने अवस्थामा छाडिदिएको थियो । काल्पनिक धारामा आधारित उपनिषद् वा त्यसको शिक्षालाई समेत अस्वीकार गरिदिएको थियो । (पृष्ठ, २०२)

म यहाँलाई सोध्छु, माथिको साक्ष्यमा यशोधरा कहाँ छिन् ? यसमा यशोधराले आफ्नोभन्दा पनि बढी बुद्धको कथा भनेकी छिन् त्यसैले यो उपन्यास ‘यशोधरा’ नभएर ‘बुद्ध’ बनेको छ भन्ने किटान छ मेरो । हो, यहाँले प्रथम पुरुषीय शैली प्रयोग गरी यशोधराकै मुखबाट कथा भन्न लगाउनुभयो । यसरी कथा बुन्दा प्रभावकारी भएको छ । यसरी कथा भन्न लगाउँदा जीवनअवधिका कुरा त ठिकै लाग्दा रहेछन् तर मृत्युपछिका कुरा उनले कसलाई सुनाइन् ? यसको उत्तर भने मैले पाउन सकिनँ । मलाई लाग्छ। यसले म मात्र होइन, अन्य पाठक पनि पक्कै अलमलिने डर छ । यदि हिप्नोटिज्म वा यस्तै केही विधिको प्रयोग गरी कसैलाई सुनाएको देखाएर लेखिएको भएचाहिँ अल्लि बढी प्रभावकारी हुन्थ्यो कि ? हेरौँ है त तपाईंले प्रयोग गर्नुभएको एउटा साक्ष्य:

म आज मानव संसारबाट विलीन भएकी छु । धेरै टाढा आइपुगेकी छु । किनकि आँखारुपी दृश्यमा म अब समेटिने छैन । जोकोही मलाई देख्ने इच्छा राख्छन् भने त्यो केबल सीमित सपनामा साटिनेछन् । (पृष्ठ, २७६)

माथिको भनाइ मृत्युपछि यशोधराले व्यक्त गरेकी हुन्, तर यसको स्रोता को हो ? भन्ने कुरा उपन्यासमा खुलेको छैन । त्यसो त सिङ्गो उपन्यास एकालाप शैलीमा अगाडि बढेको छ । यसमा पात्रले एकोहोरो आफ्ना कुरा राखेको छ । जीवित छँदा त त्यो मान्य हुन्छ तर मृत्युपछि यो मत्र्यलोकमा ती कुरा कसले कसरी सुन्छ ? उपन्यासको सुरुमा यशोधरा राजकुमारी हुन्छिन् । त्यसरी उपन्यास थाल्दा भने मज्जा आएको छ । हेरौँ उपन्यासको उठान:

म कोलियकी शाहजादी हुँ ।
शाहजादी अर्थात् सुन्दरी युवतीको आवृत्ति, जसले सबैको हृदयको धारालाई गद्गद् बनाउँछ । हमेसा पुलकित तुल्याउँछ । राजकुमारीको अर्थले रुपवान्, सुन्दर, सम्पन्न, गुणशील र रहस्यमयी युवतीको स्वप्नील अकृतिलाई उद्वेलित गराउँछ । (पृष्ठ, १)

हो, माथिको उद्धरण निकै अर्थपूर्ण र उपयोगी छ । यसमा यशोधराले आफ्नो परिचय सबै सामु दिएकी छिन् । यसबाट लाग्छ यो उपन्यास अतीतमा गएर लेखिएको होला । तर उपन्यास त्यस्तो छैन । यसमा त वर्तमान आएको छ । त्यतिबेला प्रयोगमै नभएका कुरा पनि यसमा आएका छन् । एउटा साक्ष्य राख्छु म:

पटक पटक मैले मनको बह पोख्ने माध्यम बनेका थिए, कागजका लामा लामा पाना । (पृष्ठ, २७८)

मैले आजसम्म पढेर जानेको कुरा यो हो कि यशोधराको समयमा कागज बनेकै थिएन । लेख्नु परे ताम्रपत्र, चर्मपत्र वा भोजपत्रको प्रयोग हुन्थ्यो । यो इतिहासका कुरा त मैलेभन्दा यहाँले बढी बुझ्नुभएको छ । यस्ता गल्ती किन गर्नुभयो । यति मात्र कहाँ हो र राहुलले पहिलो पटक बोल्दा यशोधराले राखेको धारणा हेर्नुस् त:

त्यो दिन मेरो खुसीको सीमा थिएन । जब लरबराउँदै तोते बोलीमा राहुलले पहिलो पटक मामु बोल्न सक्यो । (पृष्ठ, १८५)

उपन्यासमा त्यतिबेला कुन भाषा प्रयोग हुन्थ्यो भनिएको छैन । पक्कै पनि त्यतिबेला कपिलवस्तुमा पाली भाषा नै प्रयोग भएको हुनुपर्छ । पाली भाषामा आमालाई जनाउन ‘मामु’ शब्द प्रयोग हुन्छ र ? मचाहिँ यसमा पूर्ण रुपमा अनभिज्ञ छु । मेरो अज्ञानता दूर गरिदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।

प्रिय लेखक महोदय,
यहाँको उपन्यास पूरा पढि सक्दा गौतम बुद्ध कति वर्ष बाँचे ? उनलाई पालन पोषण गर्ने माता प्रजापति कति वर्ष बाँचिन् ? सिद्धार्थका पिता शुद्धोधन र गौतमी उमेरका बिचमा कति वर्षको अन्तर थियो भन्ने बारेमा भ्रम सिर्जना गरेको छ । त्यसका लागि उपन्यासभित्रबाट केही साक्ष्यहरु राख्छु म:

साक्ष्य १:
मन्त्री धेरै प्रतिप्रश्न लिएर कपिलवस्तु फर्किए । उनका लागि यो सन्देश थियो – शरद्मा एउटा मल्लयुद्ध आयोजना हुनेछ । देश देशान्तरका राजकुमारमध्ये कुस्तीमा विजयी हुनेलाई मेरो वरका रुपमा योग्य ठहऱ्याइनेछ । र उसैलाई चुनिने छ । (पृष्ठ, ५६)

साक्ष्य २:
मेरो मनले आदिदेखिको इतिहासको विवेचना गर्दै थियो । बलको परीक्षाबाट जिम्मा लगाइएका स्त्री र तिनीहरुको जीवनको पिँजडाले मलाई गिज्याइरहेको आभास हुँदै थियो । यत्तिकैमा एउटी सँगीले सुनाई, “पुरुषार्थको परीक्षामा सिद्धार्थले सबैलाई धुलिसात तुल्याए । मल्लयुद्धमा उनी मात्र विजयीपात्र हुन् ।” (पृष्ठ, ६३)

साक्ष्य ३:
म सृष्टिकर्ताका रुपमा नयाँ भूमिकामा अवतरित हुँदै थिएँ ।
प्रणय जीवनपछिको करिब १३/१४ वर्ष लामो निशामय जीवन व्यतीत हुनु र मातृत्व उद्घाटनको तिर्खामा व्याकुल हुनु चानेचुने प्रतीक्षा थिएन । (पृष्ठ, १२२)

साक्ष्य ४:
सिद्धार्थले गृहत्याग गरेको पनि करिब सात वर्ष बितिसकेको थियो । ज्ञान प्राप्तिपछि उनी कपिलवस्तु फिर्ती हुनेमा वचनवद्ध थिए । (पृष्ठ, २०६)

साक्ष्य ५:
यता कपिलवस्तुमा दिनपरदिन महाराज शिथिल बन्नुभयो । एक त उहाँको उमेर नै ९८ वर्ष हाराहारी पुगिसकेको थियो । आफ्नो जीवनमा आएका अनेकौँ वियोगान्त दृष्टान्तले उहाँको हृदयलाई मर्माहत बनाएको थियो । उहाँ आफैँ आफ्नो हृदयको शीतलताका लागि प्राणलाई श्वासविहीन बनाउने इच्छामा द्रवीभूत भइसक्नुभएको थियो । (पृष्ठ, २४२)

साक्ष्य ६:
‘माता, अहिलेको समयमा पुरुष र नारीबीचको भेदभाव वा विभेद माथिल्लो तहमा छ । त्यसको केही निरोपण म गर्नेछु । अनि त्यसपछि सङ्घका लागि नारीको प्रवेश हुनेछ ।’
करिब चार दशक पुरानो यो संवादको अन्य कैयौँ किस्सा मैले बिर्सिसकेको छु ।
बुद्धको ज्ञान प्राप्तिको करिब पाँच वर्षको अन्तरालमै महाराज स्वर्गवास हुनुभएको थियो । (पृष्ठ, २४८)

साक्ष्य ७:
यस्तो रुढ परम्पराको भुक्तभोगी महामाता प्रजापति आफैँ हुनुहुन्थ्यो । लुम्बिनी वनमा पुगेपछि सिद्धार्थ जन्मनु र महामाया देवीको हविगत बिग्रँदै जानु आफैँमा दैविक नियति मात्र थिएन, नारी संवेदनामाथिको अन्धविश्वासको उपज पनि थियो । (पृष्ठ, १२७)

साक्ष्य ८:
माता महारानी प्रजापतिको उमेर समेत ८० वर्ष पुगिसकेको थियो । उहाँमा अब अटल श्रद्धा, दृढता, सङ्कल्प र संस्कार जति सङ्घको नियमादिको लागि आवश्यक थियो, त्योभन्दा धेरै गुणा थियो । तथागत बुद्धको धर्ममार्गलाई हरप्रकारले अनुभूति गरिसकेकाले माताजीले राज्यसुखको उपादेयतालाई निम्न ठानिसक्नुभएको थियो । (पृष्ठ, २४८)

माथिको पहिलो साक्ष्यमा यशोधराले आफ्नो विवाह कसरी हुँदै छ भन्ने जानकारी दिएकी छिन् । दोस्रो साक्ष्यमा सिद्धार्थले सबै राजकुमार र राजाहरुलाई मल्लयुद्धमा जितेको कुरा छ । यसो हुनका लागि उनको उमेर कम्तीमा पनि २० वर्षको हाराहारी त हुनैपर्ला नि हैन र ? तेस्रो साक्ष्यमा यशोधराले आफू विवाह गरेको १३/१४ वर्षपछि आमा बनेको कुरा गरेकी छिन् । चौथो साक्ष्यमा उनले कपिलवस्तु छाडेको सात वर्षपछि ज्ञान पाएको कुरा छ यतिबेला बुद्धको भौतिक उमेर कम्तीमा चालीस वर्ष पुगेको मान्न सकिन्छ । पाँचौँ साक्ष्यमा ९८ वर्षको उमेरमा उनका बुबाको मृत्यु भएको कुरा गरिएको छ भने छैटौँ साक्ष्यमा बुद्धले ज्ञान पाएको पाँच वर्षमा उनको पिता शुद्धोधनको देहावसान भएको कुरा गरिएको छ । त्यसैगरी यसैमा त्यसको चार दशकपछि बल्ल माता प्रजापति बुद्ध सङ्घमा प्रवेश गरेको कुरा गरिएको छ । यसो गर्दा यतिबेला नै बुद्धको उमेर ८० वर्ष कटिसक्छ । सातौँ साक्ष्यमा गौतमीले बुद्धको जन्मका समयदेखि हेरचाह गरेको कुरा गरिएको छ । यसो गर्दा कम्तीमा पनि उनी १५ वर्ष त कटेकी हुनुपर्ने अनुमान गर्न सकिन्छ । आठौँ साक्ष्यमा उनी देहावसान हुँदा जम्मा ८० वर्ष पुगेको कुरा गरिएको छ । यी साक्ष्यका आधारमा उनको उमेरको गन्ती बिग्रेको छ । यो उमेरको तालमेल बुद्ध, शुद्धोधन र स्वयम् यशोधरामा पनि लागू हुन्छ । यसमा यहाँको ध्यान किन पुगेन लेकखकज्यू ?

र अन्त्यमा,

यहाँले बुद्धसँगै यशोधराको आवश्यकताबोध यसरी गर्नुभएको रहेछ:

विश्वशान्तिको स्थायित्वका लागि यशोधरा र सिद्धार्थ सँगै जन्मिएका थिए, फेरि पनि सँगै जन्मिने छन् । (पृष्ठ, २८०)

हो, हामी केबल बुद्धलाई मात्र सम्झन्छौँ, उनका योगदानको चर्चा गरेर थाक्दैनौँ । देशमा अझ अशान्ति बढेका बेला ‘बुद्ध आऊ’ भनेर भन्न पनि पछि पदैनौँ । उनलाई सिद्धार्थबाट बुद्ध बन्न उत्प्रेरित गर्ने यशोधरालाई हामी कहिल्यै सम्झन्नौँ । यस कमीलाई पूरा गराउन यहाँले गरेको योगदानको शत शत नमन गर्दै यहाँबाट बुद्धकालका बारेमा थप सामग्री आऊन् भन्ने अपेक्षाका साथ कलम रोक्छु ।

उही तपाईंको अपरिचित पाठक
रमेश प्रभात ।

प्रतिक्रिया
Exit mobile version