कृतिका खातहरू
ती खाताहरूमा अलग्गै उपस्थिति छ पुडासैनीको ।
नेपाली वाङ्मयका गौरव — दामोदर पुडासैनी ‘किशोर’
लेख्छन् पुडासैनी । हामी सबै लेखकले लेख्छौँ । तर.. तर उनको लेखन विशेष छ । त्यो विशिष्टता के हो ? पाठकहरू भन्छन् अलि फरक स्वाद र ज्ञान छ पुडासैनीको लेखनमा । त्यति त हो नै, त्यसभन्दा पनि बढी कुरा छ उनका कृतिको विशिष्टतम् विविधता ।
उनी आफ्ना कृतिमा अरुभन्दा अरु बेजोड देखा पर्छन् । अरुले भन्नुपर्ने कुरा भन्दा सबैले भन्नुपर्ने कुरा उनी भन्ने गर्छन् । यस अर्थमा पुडासैनी अरुलाई उछिन्छन् । एक्लै उभिन्छन् लेखन लेखिरहन ।
अन्यभन्दा फरक थप कुरापनि छन् पुडासैनीका सिर्जनामा । थप आविष्कार आउँछन् । अनुभवको फेहरिस्त पनि आउँछन् । बेतुकको वर्णन चाहिँ उनको होइन (पटक्कै हुँदैन) । उनको लेखनमा अनुभूति सल्वलाएर आउँछ, यत्र तत्र सर्वत्र । कसैले त भनिहाल्छ फ्युजन, मिश्रण, कोलाज, अनुभवको अभिव्यक्ति ।
सबैले लेख्छन् – उनको लेखनको वैशिष्ट्य कौतूहलमा परिणत हुन्छ । पढुँ पढुँ, पढ्न लागेपछि नछोडु जस्तो (अध्यात्म विज्ञानको कुरा गर्दा सभ्य मानवताको स्पर्श उदाहरणको रूपमा एक टिप्पणीकर्ताले भनिदिए) । लेखक पुडासैनीको लेखनमा हामी किन वेस्सरी रमाउँछौँ किन ? प्रश्न उठिरहन्छ । उज्यालो, उज्यालोको अन्वेषण, अँध्यारोको बीचमा यो पुडासैनीमा पाइन्छ । यो उज्यालो प्रतीकात्मक र विम्वामक रूपमा यत्रतत्र छाइरहन्छ । लोभलाग्दो र इष्र्यापूर्ण रूपमा ।
पुडासैनीको लेखन कहिले आफैमा केन्द्रित हुन्छ, कहिले परकेन्द्रित । केन्द्रित विकेन्द्रित जता भए पनि पाठकको मन असाध्यै तान्न उनी सफल हुन्छन् । यो कला धेरै कम लेखक मध्ये लेखक पुडासैनीमा पाइन्छ । सोचें पुडासैनीले नलेखे भए कहाँ हुन्थे ? उनी खाई पिईमा, तास जुवामा, गफको अखडामा, अन्यमा, कर्मचारी भए अख्तियार, जेल नेलमा, उनी भने लेख्छन् तर, लेखनले नै बेग्लै संसार रचेका छन् उनले । उनी पानी जस्तै बहन्छन् कञ्चन बनेर । यसैले हामीसँग न्यानो रूपमा छन् ।
पुडासैनीको लेखकीय व्यक्तित्व कतै अन्तर्मुखी छ कतै बहिर्मुखी ।
हामी धेरै स्वदेश घुम्छौ । रमाइलो गर्छौ । विदेश पुग्छौ, त्यस्तै अनेक भ्रमणको रमाइलो भोग्छौँ, फर्कन्छौ रित्तो हात । यी यायावर लेखक पुडासैनी घुम्छन्, सुन्छन्, पढ्छन् । देख्छन् । अनुभव गर्छन् । ती कुरालाई अनुभूतिमा उर्ताछन् । अरु अरु त बाह्य रूपमा आउँछन् रमाउँछन् । लेखक पुडासैनीको लेखन चाहिँ आन्तरिक पक्षको सोचमा पर्छन् — तिनलाई लिपिबद्ध गर्छन् ।
लेखक पुडासैनीको लेख लाग्छ —
‘अक्षरं परमं ब्रह्म:’ – उनका प्रत्येक अक्षर परम् ब्रह्म रूपमा छन् । (मैले पढेका उनका कृतिहरूमा म यस्तै बुझ्दछु ) । विकसित अविकसित देशमा पुगेका पुडासैनीको धर्म हो – ‘कृतित्वको वाङमय भर्नु । नेपाली वाङ्मय संसारमा उपहार थप्नु’ – क.दी. यसै भन्छन् । यसको स्वागत गर्छन् । के पुडासैनी स्वान्त: सुखाय भनि लेख्छन् ? प्रश्न उठाउनेहरू छन् । उनको लेखन ‘त्यतिसम्म चाहिँ पक्कै होइन’ – देखिन्छ । छोटै समयमा जहाँ गएपनि उनी त्यहाँको पोस्टमार्टम गर्न चाहन्छन् । पाठकले खुराक पाउँछ । चिन्तन, दर्शन त्यहाँको परिवेश, वातावरण, भूगोल, इतिहास, जनजीवन ।
उनका लेखनबाट पाठक आल्हादित बन्न पुग्छ । त्यो वृहत संसार हुन्छ, ज्ञानको सूचना, विज्ञानको सूचना ।
पुडासैनीको वैशिष्ट्य के छ भने उनी जहाँ पुग्छन् त्यहाँबाट प्रभावित हुन्छन्, तर त्यो प्रभावलाई उपयुक्त तुलना गर्न पुग्छन् । विदेशको भौतिक झिलझिलीमा उनको घुलमिल हो, तात्कालिनता । मूलतः उनी आत्मीय पक्षप्रति आकर्षित हुन पुग्छन् । उनको वाह्य चक्षु क्षणिक भौतिक चहलपहलमा पनि व्यापकता नियाल्छ मूलतः । उनी ज्ञानचक्षुकै खोजीमा उभिन्छन् । (ज्ञान चक्षुमा डुब्ने) यसो भनौ परिधीय रूपमा घटनालाई यक्ष परिवेश, यक्ष भौतिक अवस्थिति, खोजी गर्दछन् । लेखक मूलतः जीवनलाई महत्व दिन्छन् । उनको सघनपक्ष भन्नु उनको नेपालीत्व हो । यो नेपालीत्वमा नेपाल, नेपालको इतिहास, भूगोल, नेपाली संस्कृति, यहाँको कला, पुरातत्व, सम्पदा, सामाजिकता जस्ता पक्ष छन् । (उनी आफ्नो देश, आफ्नोपन, आफ्नो मुटुको गहिराई उतार्न पुग्छन्) । उनी पूर्वीय र पश्चिमी देशहरूको फरक जीवन पद्धति दर्शाउन सक्षम छन् । आफूले भ्रमण गरेका देशको समाज, जीवन पद्धति, संस्कार संस्कृतिलाई औल्याउन पुग्छन् । (कतिपय सन्दर्भमा नङ्ग्याउँछन् यथार्थतालाई र नाङ्गिन धक मान्दैनन् सत्यको पक्षमा उभिएर ।)
लाग्छ पुडासैनी लेखकीय दृष्टिले स्वतन्त्र छन्, कतिपय सन्दर्भमा स्वच्छन्द भन्न सकिने ।
लेखक पुडासैनीको मनमस्तिष्कमा सदैव नेपाल रहन्छ । पूर्वीय दर्शनका आँगनमा हुर्केका पुडासैनीमा अध्ययनबाटभन्दा पारिवारिक परिवेशबाट उनको मन मस्तिष्कमा कुनै न कुनै रूपमा आध्यात्मप्रति झुकाव देखापर्छ । (यस्तो झुकाव, तर अन्धविश्वास रुढीप्रति समर्पित हुँदैन अध्यात्मिकताको नाममा उब्जेको अँध्यारो पुडासैनीको सामु टिकिरहन सक्तैन । भौतिकताको विराट पहिचान तथ्य र प्रमाणमा खोतल्छन् उनी) ।
पुडासैनी बुझ्छन्, जीवन जीवन नै हो । जीवनमा मानवतावादको महत्वपूर्ण स्थान छ ।
सभ्य अधिकार र व्यक्तिगत स्वतन्त्रता उनको प्रिय पक्ष हो । लेखन जीवनको अपरिहार्य आवश्यकता । कुनै समय लेख्न नपाउनु उनको लागि पीडा हुन्छ, सशक्तताको पराकाष्ठा वा भनौ जीवनको कालरात्री । (कस्तो बानी बनेछ उनको, यही भन्छन् उनी ।)
स्वदेशको महत्वमा रम्ने पुडासैनी विदेशमा भौतिक पक्ष अनुकरणीय पक्षलाई ग्रहण गर्न पछि पर्दैनन् । तर.. तर त्यहाँको भौतिकपक्षमा रुमलिएका उनी पूर्वीय अध्यात्मका जरा सुमसुम्याउँछन्, हिमाली राज्य मातृभूमि प्रति अनुस्क हुन्छन् ।
लेखक जहाँ जान्छन् त्यस देश वा स्थानको विशिष्ट पक्ष औल्याउन पछि पर्दैनन् । उनी भूमण्डलीय नक्सामा नेपालको पिछडिएको आकृति र परिधि सानो देखेर खुम्चदैनन् । नेपालको एतिहासिक भौगोलिक सांस्कृतिक, सामाजिक, पुरातात्विक, धार्मिक सम्पदाको वैभवताको गौरवबाट पुलकिंत हुन पुग्छन् । नेपाल, सुन्दर, शान्त, विशाल, नेपालको गौरव, सगरमाथा, बुद्ध, जनक, सीता सम्झन पुग्छन् ।
मातृभूमिप्रतिको अगाध निष्ठा, आस्था, ममता, जननी र जन्मभूमिको गाथा उनको अभेद्य किल्ला । मन र मस्तिष्क नेपाल तर्फ हरक्षण, हरपल नेपाल तर्फ ।
लेखक पुडासैनीको लेखनीमा पाइने पक्ष हो – नेपालको गौरव, आफ्नो मातृभूमिको विगतको, अतितको गाथा, नेपालको हिमवतासको गौरव महत्व । यसैले हिमाल, पहाड, तराई, चुरे भाँवर, उपत्यका त्यहाँको भ्रमणमा रमाउने त्यसमा नै अन्तर्लीन हुने (हराउने) कहिले प्रकृतिसँग, कहिले परिवेशसँग, कहिले वातावरणसँग, कहिले अवस्थितिसँग । भिन्नै संयुक्त रुपमा । सधैँ नेपाल …….नेपाल …….नेपाल …..केबल नेपाल ।
°°°°°° °°°°° °°°°°
विषयवस्तुका दृष्टिले मानसिकता, मानव क्षेत्रको त्रिकोणात्म आयाम बाहिरसम्म छ । मानव जीवनमा देखापरेका उहापोह समाजका विविधपक्ष, प्रतिनिधि पात्र नेपाली कैयौ पक्ष सार्वभौमिक देखापर्ने । सार्वजनिक, सार्वकालिक शास्वत पक्षको बढ्दो मात्रा । (भन्छु– मानवीय पक्षको संवेदनशीलता । यस पक्षलाई देशभित्रका र बाहिरका विषयवस्तुमा पनि टिप्न त्यतिकै सिपालु । कतै सूक्ष्म रूपमा कतै विस्तृत रूपमा ।
किशोर अवस्थादेखि नै साहित्यमा कलम चलाउन सिपालु छन् – पुडासैनी । उनका कृतिले बहु र विविध पक्ष दर्शाएका छन् । रमणीय पठनीय । साहित्यका विभिन्न विधामा सशक्त रूपमा प्रस्तुत पुडासैनीका इष्र्यापूर्ण प्रस्तुति हुन् – विधागत कृतिहरू दोहोरिएर तेहोरिएर आउनु लोभलाग्दो ।
उनका लेखनमा डायस्पोराका रङ्ग छन् । उत्तर आधुनिक रूपका थुङ्गाहरू छन् ।
पुडासैनीमा कुनै अन्यौल छैन । अन्यमनस्कता पनि । उनी एकच्छन् रूपमा लेखिरहन्छन् । लेखिरहन्छन् । विषयगत, विधागत पाटोका छनक दिन्छन् । यत्रतत्र पुडासैनीका कृतिका विशिष्टता के छन् – ती प्रत्येक कृति कालजयी छन्, जो अनन्तकालसम्म ज्ञानको प्रकाश छर्न चाहन्छन् ।
पुडासैनीका केही कमजोरी पक्ष छन् भनौँ — विषयवस्तु छनौटमा । शैलीगत विविधतामा । उनले धेरै पक्ष छुन पाएका छन् । (छोएका छैनन्) । आजका ज्वलन्त पक्ष हुन् – ज्येष्ठ नागरिकका हक र हितका कुरा । वरिष्ठ मानिसहरूको उपेक्षा – यान्त्रिक रूपमा रहेका वृद्धबृद्धाहरू । सन्तानहरू विदेशमा छन् । स्वदेशमा रहेका सन्तानबाट पनि सम्मान पाएका छैनन् । ती उपेक्षित छन् । शरीरका सबै इन्द्रियहरू जीर्ण भएर, अव्यवहरू खुस्किन लागेर, आँखा देख्न नसक्ने भएर, श्रवणशक्ति शून्य भएर, स्मृतिलोप भएर, गोडाले भर गर्न नसकेर, साहारा लिएर हिँड्नुपर्दा सहारा नभएर, लौरोले भर नपरेर, कोही हेर्ने, भर गर्ने नआएर, अपहेलित रूपमा बाँच्ने आँगन नै परदेश भएका बृद्धबृद्धाको संवेदनशील व्यक्तित्वको आजको अवस्थालाई चित्रण गर्दै लेख्न सक्षम पुडासैनी पछि परेका छन् । यो सोचनीय पक्ष हो । यस्तै अपाङ्ग अधिकार, सुशासन, भ्रष्टाचार, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता जस्ता विविध पक्षले पनि उनलाई पछ्याइ रहेकै छन् । उनको लेखनीलाई साहित्य म ठान्छु — साहित्य सत् हुन्छ, सत्य सुन्दर हुन्छ । (नारीवादीहरूलाई छोड्ने हो भने यो सत् सावित हुन्छ नै) । सत्य सत्य हुन्छ । त्यो कहिलेकहिँ कठोर पनि । नेपाली सभ्यताको नेपालको इतिहासको सन्दर्भमा पुडासैनीका कृति हेर्दा ती कृति नेपालीयतालाई ओझेलमा पार्दैनन् । ती कृति अन्धविश्वास बिरुद्धमा छन् । तिनले ज्ञानलाई छर्छन् – प्रकाशका रूपमा । विज्ञानलाई उभ्याउँछन् प्रविधिका रूपमा । (पुडासैनीको प्रभाव अन्धविश्वास होइन, रुढी र कुरिती हुने कुरै होइन) ।
पुडासैनीलाई निहित स्वार्थवश विनाश व्यक्तित्व कसैले भन्यो । हो, लेखक पुडासैनीले यस्तै आरोप खप्न पनि सक्नु पर्छ, किनकि सिर्जना गर्नु केही कुरा विनास गर्नु पनि हो । (व्यक्ति पुडासैनीको कुरा मलाई थाहा छैन) । शेक्सपीयरले भनेको – ‘इमान्दार हुनु दस हज्जारमा एक हुनु हो ।’ यस अर्थमा लेखक पुडासैनी एक देखापर्छन् । लेखक पुडासैनीमा यो सत्य देखा पर्छ । यसका निम्ति उनी इमान्दार छन् आजसम्म । (भोलि उनले त्यो छोडलान्, निकट भविष्य त्यस्तो लाग्दैन) ।
पुडासैनी लेखिरहन्छन् । उनको लेखनी अघि बढिरहेको छ — विभिन्न धारमा, विभिन्न भावमा । उनको लेखनको संख्यात्मक मात्र होइन, गुणात्मक वृद्धि भइरहेको छ – यो सन्तोषको विषय हो । उनका हातले मानवतामा अझ बढ्नुपर्छ । संस्कृतिलाई उजागर गर्नुछ । मूलतः जीवन सत्यलाई बढाउनै पर्छ । वास्तवमा – कला भन्नु सिर्जनामा कल्पना र सत्यको सुन्दर प्रकाशन हो । यस कथनलाई उनले आत्मसात् गरेकै कुरामा छौँ हामी ।
हो पनि, कलाका केही गुण हुन् – सत्यता, सुन्दरता, सिर्जनशीलता हृदयस्पर्शिता । यी पक्षको कुनै घटी र कुनै गुण बढी तुलनात्मक रूपमा सोझै रुपमा पुडासैनीको लेखनीमा पाइन्छ । लेखक पुडासैनीको लेखनमा कवीरले भनेझैँ – ‘जीन खोज तिन पाइया गहरे पानी पैठे’ भन्न त सकिँदैन ।
‘कला वास्तविक जीवनको खोजी हो ’– जोन स्कीनले भनेको हो । कतिको लागि त कला नै जीवन हो । कला उतार चढाव आजीवन साधना (निरपेक्ष साधना) । यसलाई मध्यनजर गर्दै दामोदर कला यात्रामा निस्कन्छन्, साहित्यकलामा । उनले बुझेकै छन् कलाले आनन्द, सन्तुष्टि दिन्छ । मानव जीवन सुन्दर पार्छ ।
मान्छेको जीवन क्षणिक छ (उनी बुझ्छन्) । जीवनले आफुलाई भोग्ने होइन, जीवन भोग्न सक्नु पर्छ (यो भने सजिलो छैन) । जीवनको लक्ष्य बिना जीवनको के अर्थ ? जीवन केही छोटो छ, अत्यन्त छोटो । मृत्यु शास्वत, जीवन एउटा यात्रा । जन्म पछि मृत्यु निश्चित (व्यहोर्नै पर्ने) । यसैले जीवनमा एक कर्म गर्न चाहन्छन् कर्म अमर्क नहोस्, सुकर्म होस् । त्यो सुकर्म जीवन्तता दर्शाउने सुकर्म पुडासैनीको सुकर्म हो – कीर्तिपूर्ण कार्य, (अनुकरणीय र निश्छल कार्य) । जन्म जन्मान्तर रहने कार्य । भनिन्छ — ‘धिक्कार हो मकन बस्नु नराखी कीर्ति’ उनको कथन ।
सञ्जीवनी बन्दैछन् पुडासैनी । सञ्जीवनी खन्दै, खोस्रदै र हुर्काउँदैछन् पुडासैनी । (हो पनि कीर्तिशाली मान्छे सधैं जीवित रहन्छ) ।
यो कीर्तिका लागि उनी साहित्य यात्रामा हुन्छन् । उनी कल्पनामा रमाउछन् सफलताका शिखर टेक्छन् । जीवनलाई बुझ्दछन् । (भोगाइलाई सम्झन्छन्) । जीवनलाई कुनै भूगोल, कुनै इतिहास, कुनै समाज, कुनै संस्कृति, कुनै नीति, कुनै शास्त्रमा जोड्न पुग्छन् ।
एउटा गाउँले केटो शहर पस्यो, जीवन निर्वाहको क्रममा शहरमा अघि बढ्यो । जीवन वृत्ति विकासको क्रममा जागिरे बन्यो । जागिर जीवनवृत्ति, जागिरलाई कमाऊ धन्दा र शुभ लाभको रूपमा लिएन उसले । उ त सरस्वतीको उपासक बन्न पुग्यो — ‘जय शारदा माता’ । अनि सिर्जनाको क्षेत्रमा नयाँ बाटो बनाउँदै अघि बढ्यो ।
‘जसलाई जस्तो अभाव हुन्छ त्यस्तै सिद्धि प्राप्त हुन्छ’ – श्रीकृष्ण भन्छन् । दामोदर एउटा गाउँले किशोर, अनि युवा । उसले सिर्जनामा रङ्ग र गति पछ्यायो ।
एउटा गाउँले ठिटो दामोदर । अझै गाउँलाई पिछडिएको ‘गामे’ भनिन्छ । तर उनले गाउँलाई त्यसको सतत्वलाई बढी बुझे ।
कुपरले भनेकै छन् ‘गाउँ सृष्टिकर्ताको सृष्टि, शहरको सृष्टि मानिसको ।’ विगत पल्टाएर हेऱ्यो शान्तिको खानी गाउँ हुँदो रहेछ । गाउँ र बालक एउटै प्रकृति र सिर्जना । एकै अनुभव र बुद्धत्व एकै । अनि उ गाउँमा राष्ट्रियता देख्न थाल्यो, अविराम अनुभव सँगाल्न थाल्यो । ( जगतजननिको एक उदाहरण) । उसले अनुभव गऱ्यो उसको जीवन हिमालको, पहाडको, तराइको, चुरेभावरको, भित्री मधेशको हो । त्यहाँका गाउँको । गाउँ नै गाउँले भरिएको देशको । (कृत्रिम नगर र नगरपालिका भिन्न) न–गर पालिका भिन्न । नगरमा पाइने जालझेल, इष्र्या, षड्यन्त्र, लोभ, स्वार्थीपन भिन्न । यसैले एउटा ग्रामीण केटो पढ्दै लेख्तै र ‘क्यारियरिष्ट’ बन्न पुग्यो । सरकारी उच्च अधिकृत ।
त्यही केटो हो आजको पुडासैनी । दामोदर पुडासैनी ।
उ लेखनको क्षेत्रमा प्रवेश गरेर आज आफ्नै पहिचान बसाल्न अग्रसर छ । साहित्यका विभिन्न विधामा सक्रिय । नेपाली वाङ्मयमा आफ्नै पहिचान । उसको पहिचान सार्थक जीवनका गोरेटोका आफ्नै प्रयास । आफै उठेको (न टेक्ने, न समाउने) । पुडासैनीका कृतिमा सन्देश पाइन्छ, प्रशस्त । ग्रहण गर्ने सामर्थ्य आवश्यक आदर्शको, त्यो विभिन्न रूपमा प्रयुक्त छ । नेपाल, नेपाली अभिव्यञ्जन सामर्थ्य । सम्झौँ गाउँमा हुर्केको पुडासैनीले यो सम्झेको हुँदो हो त कति अभाव हुन्थ्यो, यस क्षेत्रमा ।
‘माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन’ — (देवकोटा)
एउटा ग्रामीण केटो खेतीवाल, किसान हुन्थ्यो । त्यसलाई आफ्ना सूक्ष्म छविले ‘… सुन्दर स्वर्ण’ देख्यो र तिनलाई शब्दचित्र उतार्दै छ । उतार्दैछ यो सुखद पक्ष ।
पुडासैनी भन्छन् —
‘न त्वतं काम्यये न सुखम् नपुनर्भम’ गीताको श्लोक दोहोऱ्याउँछन् । तेहऱ्याउँछन् । किन ? धन, सम्पत्ति, पद, प्रतिष्ठाको मोहमा छैनन् सुख जस्तो कुरा त्यति ठूलो छ उनी सिर्जनात्मक बगाइमा छन् । एकनिष्ठ,एकोहोरो त्यसैले उनलाई लाग्ने गर्छ (बारम्बार लाग्छ) । ‘छैनन लोभ समान दुर्गुण अरु ।’ लोभ, लाभ, लालची तृष्णाभन्दा भिन्न छन् उनी । उनी ‘विद्याको खोजमा छन्’ सरस्वती उपासनामा छन् । उनलाई लाग्छ – ‘दूर्नाम मृत्यु नै हो । सकिन्छ सुनाम गरे, दुर्नाम छेउमा नै पर्न नदेऊ । यसै उसले ‘कीर्तिलाई’ गहनाको रूपमा लिन्छन् । उनमा भएको लोभ शायद यही कीर्ति हो भनिएको छ ‘काम्यये दुःख मार्चानाम् कृते ।’
लाग्छ लेखन उनको मनको सुन्दर पक्ष । यसकै अभिव्यक्ति । यो आनन्द र शान्तिबाट प्राप्त हुन्छ । असहज कार्यलाई सहज बनाएका छन् – अर्जुन दृष्टिले । लाग्छ – ‘उनको लेखन कल्पनाप्रदान होइन । (कोरा कल्पना) दर्शन प्रधानता होइन नै (दर्शन केन्द्रीयता) । परिधी रूपमा यी होलान् । (छन् नै) । सहज लेखनको सहज शैलीमा कतै शब्दचित्र, कतै पत्रकारिता शैली, कतै रिपोर्टर टर्रोपन तर शुष्कपन कतै छैन । एउटा अर्थयुक्त जीवन, प्रलापविहीन जीवन । विगतको जीवनमा चियाएर हेर्दा– पैतृक विरासत छ ग्रामीण पैत्रिक विरासत । (केही परिवार प्रति केही समाजप्रति, केही आफ्नै गाउँघर प्रतिको आफ्नै सशक्त सघन सुक्ष्ममा प्रवेश गर्न चाहने यात्रा छ पुडासैनीको ।)
जीवनको यो उचाई, उमेर, जीवनवृत्ति, जागिरे जीवन घर परिवारको जिन्दगीमा, एउटा सन्तोष र शान्तिमा उनलाई लाग्दो हो जीवन त्यसै बितेको रहेनछ । (कसैले नबनाएको) यौटा निश्चित नीति, नियम, लक्ष्य र सार्थक कार्यक्रम । पश्चाताप विनाको जीवन । सतत् र सरस… निष्ठा । तिनको चुली (कहिल्यै चुली टेकिदैन) जहिले टेकिन्छ त्यस माथिको आकांक्षा) लाग्छ मृगतृष्णा नै सही ।
अझ टाल्स्टायले भनेको सम्झन्छु – भविष्यको विचार नगर भविष्य छोटो हुन्छ । (जे गर्नु छ अहिले, आजै गर) ।
एक दिन कुनै दिनको कुनै क्षणमा दामोदरले प्वाक्क भने ‘तेहि भे दिवसंगता’ कत्रो ठूलो मर्म । हो पनि शिशु र किशोर कालका ती रमाइला क्षण । कहिले अत्तालिएनन् (शब्द चित्रमा) उनले । सारै कठिन काम । (आफूले नै आफूलाई लेख्नु पर्ने) हो । उनको जीवन औसतभन्दा उपल्लो रह्यो, विशिष्ट भन्न सकिने । (औसत भनिसके) त्यो जीवन अर्थविहीन प्रलापपूर्ण बन्ने (महत्वपूर्ण पक्ष) पक्षलाई पकड, पक्ष भ्रष्ट कुनै पनि अर्थमा हुन दिएनन् (भोलि के गर्लान्) परिस्थितिले के गर्ला ? (नियति पनि त छ नै) तैपनि उनको जन्मस्थल पारिवारिक पृष्ठभूमि, (सेलिब्रेटीको संगत र चाहना) यो नगर्लान् (भ्रष्ट हुने कार्य) आशा गरौँ । पूर्वजहरूको आस्था र निष्ठामा कसैले चुनौती दिन नपरोस्, नसकोस् । उनको आस्था, निष्ठा अझ बढोस् । पश्चाताप गर्ने अवस्था नआओस् । (सन्तोष र शान्तिको सास फेर्न पाउन्) ।
हो पनि, एउटा इतिहासको विरासतको रूपमा अँध्यारोबाट उज्यालो पूर्ण चाहने उनको निस्वार्थ, र निष्कलंकपूर्ण रहित यात्रा एउटा जागिर, एउटा, लेखन र अरु सामान्य व्यवहार, व्यापार) (व्यापारिक क्रियाकलाप) । व्यापार, व्यापार होइन । हो, जागिर, जागिर – व्यापार, न राजनीति गुटबन्दी, न सत्ताको निकटपूर्ण सत्ताको राप-ताप) ती सबै विहीन– नेपाली वाङ्मय जगतमा एकोहोरो समर्पण । नेपाली वाङ्मयमा आफ्नो सेवा र समर्पण । (जता फर्के पनि ज्ञानको ज्योतिको श्रीवृद्धि ।
दामोदरको जीवनी कथा होइन, जीवन हो, जीवन । यो जीवनको घटना कथा कति बुझ्यौ, बुझायौँ, बुझेनौँ । के हो भनेर जीवन लामो समय उत्साह, उमङ्ग बोक्तै हिँडी जीवनमा एक आँट, अठोट, विश्वास, निष्टासाथ अघि बढेको तर बेग्लै फूलको थुङ्गामा पुगे जस्तो हो । जहाँ उत्साह, उमङ्ग घट्छ हट्छ – वृद्धजनजस्तै हरेक ज्येष्ठ नागरिक जस्तै) नाममा ज्येष्ठ नागरिक तर हरेक कुरामा उपेक्षा । हो पनि बुढ्यौली भनेको टाकुरा जस्तै हो । जति उचाईमा पुगिन्छ त्यति थकित र सास फेर्न समेत गाह्रो हुने, तर दृष्टिकोण भने व्यापक र फराकिलो । यो ज्येष्ठ नागरिकको अन्तर कथा । तपाईंको नवीन लेखनीले लेख्नैपर्ने हो दामोदरजी ।
हो, दामोदरले बुझेका छन् – संसार अति सुन्दर छ, यस संसारमा क्रुर व्यक्ति छन्, परिवेश, घटना, इतिहास छन् । सुन्दर जीवन, अति छोटो छ – त्यसै त्यसै विलीन हुने, सुन्दर इच्छाहरू, कर्ममा जीवनहरू पूरा गर्न कठिन, कठिन (परिश्रम साध्य) । कति त सरापको पात्र जस्तो सिसिफस जस्ता । जीवनमा चिन्ताले सताउँछ, चिन्ताको चिन्ता (घर परिवारको चिन्ता) । यो अवस्था भोलि आउँछ । जीवनमा आएका तीता मीठा कुरा ‘स्वप्न’ समान छन् । विषम परिस्थिति आत्मसात गर्दै गन्तव्य पुरा गर्न आवश्यक छ । उनको लक्ष हो – राम्रो सिर्जना । सिर्जना प्रगतिशिल सिर्जना, जीवन्त सिर्जना, सिर्जनाका उपल्लो कोटी तर जनसिर्जना कालजयी सिर्जना । युगीन, विश्वव्यापी, सार्वभौम सर्वकालिन, मुनामदन, नयाँ मुनामदन । माघव घिमिरे शतवर्ष गर्दैछन् ।
पुडासैनीलाई भाइ सम्झेर लेखेको थिएँ – धेरै बुझेर (फेरि लेखें) । धेरै बुझ्नेले अझ धेरै बुझ्न बाँकी । सूक्ष्म, सघन, व्यापक बुझाई । यो बुझाइको निरन्तरता । नयाँ नयाँ आविष्कारहरू । लाग्छ – उनी अध्ययनशील छन् (रहिरहुन्) । ‘जीवेमः शरदः शतम्’ सम्म अध्ययन गरुन् । लेखुन्, खुव लेखुन । अझै कर्ममा नौलो उचाई पुरा गरुन् । सुकर्म अर्थात् सत्कर्मको ।
उनका कृतिमा धेरै पात्र छन् – विभिन्न प्रकारका । उनी एक आविष्कारक । विभिन्न क्षेत्रका विभिन्न देशका घटना नेपालको गौरवशाली इतिहास, सुगन्धित भूगोल घटना परिघटना, स्थिति परिस्थिति । नेपालको नेपालीयताको कुरा आउनासाथ देखिने सगरमाथा (हिमालय खण्ड), बुद्ध (वृहत कपिलवस्तु) नेपाली सभ्यताका कोशी, कर्णाली, गण्डकी, उपसभ्यता, उपत्यका, तराईका अनेक पक्षहरू छन् । हाम्रा कला कौशल, हाम्रो मठ, मन्दिर, प्राकृतिक सम्पदा … ।
नेपालीहरूको शान्तिप्रियता, बुद्ध, कर्मठ बहादुरीपन । नेपाल र नेपालीपन विविध जातीहरूको विविध धर्म र संस्कृतिहरूको संयोजन । यी सबै सबैलाई बडो संक्षेपमा बढी कलात्मक रूपमा उतार्न सक्नु पर्छ । त्यसतर्फ गहन पाइला चलेको छ दामोदर पुडासैनीको – स्वागत योग्य पाइला । (एक्लैले एकैदिन गर्न नसकिने कार्य) ।
लाग्छ युवा लेखक दामोदर पुडासैनीले नेपाली वाङ्मय विधामा दिन सक्छन् धेरै । कारण स्पष्ट छ – मैले बुझेको उनको दृढ निष्ठा, आस्था छ लेखनप्रति । उनको लेखन सबल छ – सक्षम छ । समयले उनलाई अझ साथ दिनुपर्छ – हामी पाठकहरूले हौस्याउँनु पर्छ राम्रो कामका लागि (उनको स्वतन्त्र सिर्जनाप्रति) । उनको अटुट लगन संस्कार हुन्छ । उनी सफल रहन्छन् एक दृष्टिले संलग्न भएमा, हालको संलग्नताको ‘स्पीड’ बढ्नै पर्छ । (उनका बारेमा लामो अध्ययन पछि डायरीमा यौटा टिपोट लेखें) मैले ।
पुडासैनीज्यू ! नेपाली भाषाको मन्दिरमा आफ्नै पाटोमा संलग्न तपाईंलाई तपाईंको ज्यूँदो जाग्दो अवस्थामा सम्मान गरेर थप प्रोत्साहन दिन आवश्यक छ । यो हामी सबैले गर्ने हो । यसरी गरिने सम्मान आफैलाई गरिने हो । यस तर्फ म र अरु म लगायत नेपाली परिवार सक्रिय रहनुपर्ने देख्छु । (सभ्य जगत्मा अरुलाई सम्मान गरिन्छ नै) । मैले पढेको, लेखेको, देखेको, सुनेको सबैबाट मैले भन्नै पर्ने हुन्छ – ‘चरित्र नष्ट व्यक्ति सदैव नष्ट हुन्छ’ । हो पनि, सच्चरित्रको पक्ष लिदै निस्क्रिय भएर हिँड्ने वा विलासी भएर रङ्गोलिया मच्चाउने अथवा बिहे गरेर स्वास्नी कुटिरहने, पुँजी उँडाएर बेकम्मा भइरहने, अल्लारेहरू एक दिन भासिनेछन् । जीवन वृत्तिको जागिरे जीवनमा कर्तव्य बहन गर्दै सङ्गतिपूर्ण यात्राको महान मार्गका सुयात्री तपाईंलाई अभिनन्दन गर्नै पर्छ । मेरो हार्दिक अभिनन्दन ।
दामोदर पुडासैनीका बारे लेख्न बस्दा एकाङ्की पुडासैनीलाई हेर्ने हो भने पूर्णता आउन सक्तैन । यसका लागि त पाठकले समग्र पुडासैनी हेर्नुपर्ने हुन्छ । समग्र पुडासैनी बुझेर समग्र पुडासैनीमय हुन सक्नुपर्छ । यसको लागि समय र सीपको जरुरी छ । (ध्यान निष्ठा त हुनैपर्ने) । छिपछिपे हेराइले पुडासैनी बुझिदैनन् । (त्यो सतहीको हेराइ हुन जान्छ) । यो अतिशयोक्ति हुँदैन – उनका स्वनामको गहनता सघनताको पक्षमा प्रवेश गर्नु । दुष्कर, दुसाध्य,मानौं अभिमन्युको चक्रव्यूह, न पस्न नसकिने न निस्कन । (प्रवेश नगर्नु नै सजिलो) । उनीसँग यात्रा गर्दा रमणीयता मनमोहकता यत्रतत्र प्राप्त हुन्छ । कतै पढेको थिएँ– क्षणक्षणमा रमणीयताको आभास हुने रमणीयत्व र सौन्दर्यत्व पाइन्छ उनीसँगको यात्रामा । मोहक सौन्दर्य छ उनको लेखनीमा । यदाकदा उहापोह देखिन्छन्, तर ती उहापोह त डुब्दै जाँदा भवनी अम्वरतलमा मिश्रित क्षितिजको पातलो पर्दा । साहित्यको उच्च संयोजन, सम्मिश्रण, फ्युजन, बहुविधा व्यक्तित्व बहुलता, समग्रता, बहुलता, विविधताका पाटो, ज्ञानको भण्डार, अभिधासँगै लक्षणा व्यञ्जना, प्रवाहमयी लेखन शैली । कलात्मक सौम्यता । भावचित्र, शब्दचित्र सौन्दर्य । (कहिले काहिँ लाग्छ हिमगिरीबाट प्रवाहित हुने सरिता झैँ गतिशील निर्मल, सरल निश्छल, इमान्दारपूर्ण स्वभावक समिश्रणको मादकता (समाजलाई, जीवन जगतलाई टिप्न सक्ने ‘नीर क्षीर’ विवेक विद्धता, प्राज्ञत्व, बुद्धिमत्ता, विवेकशीलता, तर्कको एक सशक्त पाइला । कता कता अमीट भावमा लाग्ने वाचालता । राष्ट्रको वाङमयको अमूल्य अलङ्कार ।
त्रिचालिस वर्षे त्रिभुवन विश्वविद्यालयको प्राध्यापकीय जीवनबाट निवृत्त भएको एक वर्ष बितिसकेको छ मेरो । आज पुडासैनीको युवा सकारात्मकपनले केही न केही गरिरहुँ, अझ उठाउँ एक पाइलो, जांगर अरू चलेको छ ।
पाठकहरू यो लेखलाई अध्ययन गर्न तलको पङ्क्ति हेर्नु पर्ने हुन्छ —
यो लेख मेरो विभिन्न ठाउँमा विभिन्न किसिम र विभिन्न कारणले टुक्राटुक्रा आएको छ र टुक्रा टुक्रा जोडेर बनेको देश बुझ्नुपर्