तिमी बदलिएपछि
यस्तो लाग्छ,
बिर्सियाे सगरमाथाले पनि
आफ्नै शिर माथिकाे आकाश !
मृत सागरले पनि भुल्याे आफ्नाे गहिराइ
उच्च हिमालका चुलीहरू
मुर्झाउँन थाले खिन्न मन लिएर
सन्ध्याकालीन रंगिन बादलहरूले
हराउँन थाले आफ्ना रंग
तिमी बिनाका हरेक बिहानहरू
ओइलाउन थाले शिशिर यामका
काेमल कुसुम पत्रहरु जस्तै ।

तिमी बदलिएपछि
जूनको उज्यालो पनि
धूमिल धूमिल टीठलाग्दो लाग्छ
रातका ताराहरू गहिरो मौनता बोकेर
सुस्ताइरहे जस्तो लाग्छ
चिसो बतासले कानमा फुसफुसाउँदै
भनेजस्तो लाग्छ ;
कसैको पर्खाइमा आफ्नै अन्त्य हुने
कस्तो कहर दियाे तिमीलाई नियतिले ।

तिमी बदलिएपछि
फूलहरू बगैंचामा सुवास नछर्दै
ओइलाउने
बहाना खोजिरहेछन्
र पातहरूले पनि हरियालीलाई
परित्याग गरि उजाडपन अंगाले झैं देख्छु
लाग्छ नदीहरूका तेज बहावमा
थकान मिसिएकाे छ
उस्तै थकित छन् छाल र किनाराहरु पनि ।

तिमी बदलिएपछि
चराहरूले हराएकाछन् आफ्ना
प्रिय गीतहरु
बेखबर छन् प्रियसीका प्रेमिल सम्झनाहरु
भुलेका छन् आफ्नै बसेरा पनि
लाग्छ निलाे आकाश पनि लतपतिएकाे छ
अनिश्चितता र विश्मयका उदास रंगहरुले
धर्तीका सुन्दर छटाहरुमा छाएकाेछ
निराशाकाे अँध्यारो ।

तिमी बदलिएपछि
गुमाउँन थालेकाछन् मेरा हरेक
शब्दहरूले गहिरो हृदयस्पर्शी अर्थ
कविताहरू बिस्मृतिका पानामा
थचक्क थन्किएकाछन् चुपचाप
मौनताले पिराेलेकाेछ,सन्नाटा छाएकाेछ चारैतिर
समेट्नै नसक्ने गरि भौँतारिएको छ
मेरो मनकाे बाटाे
तिम्रै सम्झनाहरूको भूलभुलैयामा
हरघडी बिचरण गरिरहेछन् मेरा सपना
हराइरहेछ्न् मेरा विपनाहरु ।

तिमी बदलिएपछि
बिहान उर्जा लिएर खुलेको छैन क्षितिज
हरेक रातिहरु दुःस्वप्नजस्तै बनेकाछन्
मानौं कि म उभिएको धर्ती भासिंदैछ अचानक
बढेको बढ्यै छ तिमी र मबीचको
दुरीकाे फासला दिन दुगुना रात चौगुना ।

तर,
तिमी बदलिए पनि
यो मन बदलिन मान्दैन किन हाे
तिम्रो प्रतीक्षामा प्रेम दीपहरु
जलाइरहन्छु भन्छ अविराम
तिमीलाई नौलाे गन्तव्यमा कुनै
असहजता मिले
यिनै प्रदिप्त प्रेम दीपले बाटाे देखाउँनेछन्
र त म हिजाे भन्दा आज अझै भरोसा गर्छु
अझै प्रेम गर्छु बदलिएको तिमी र तिम्राे प्रतिबद्धतालाई ।

तेह्रथुम

प्रतिक्रिया
Exit mobile version