‘असारकाे महिना प्राविधिकलाई काम गर्न भ्याइनभ्याई हुन्छ । नेपालकाे प्रणाली नै ठीक छैन । “दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई ।” साउनमा आर्थिक वर्ष शुरुभए पनि बैशाखबाट मात्र याेजना शुरु गरिन्छन् र असारमा पाल टाँगेर भए पनि निर्माण कार्य गरिन्छन् । असारे विकासले हामी प्राविधिकलाई धेरै धपेडी हुन्छ।’ सब-इन्जिनियर कृष्णले सुस्केरा पाेख्याे।
‘अँ त नि! वर्खामास बाढीपहिरोकाे पनि डर हुन्छ । झरी र गर्मी पनि उस्तै । हिउँदमा नै विकासका काम गरे कति जाती हुन्थ्याे।’
हाेटल साहुजीले सही थापे ।
बाहिर मुसलधारे पानी परिरहेकाे थियाे । ऊ काेठामा बसेर दिनभरि हेरेका याेजनाहरुकाे मूल्याङ्कन प्रतिवेदन तयार पार्दै थियाे । काम सकेर राती बाह्र बजे सुत्याे ।
राती भीषण पहिराे आयाे र त्यहाँ रहेका चार घर नै साेहाेरेर लग्याे । र, एक हप्तापछि मात्र उसकाे शव खोला किनारामा फेला पर्यो । तर सयौं योजनाका प्रतिवेदन र उसको इमान्दारिता पहिरोसँगै बगेर गएको नियतिलाई मात्र थाहा भयो ।
– मातातीर्थ, काठमाडौं