निरोध….
मलाई के हुन्छ कुन्नी जब राम्रा तरुनी केटीहरू देख्छु, देख्ने बितिक्कै मेरो मन चन्चल हुन थाल्छ, एक प्रकारको छटपटि हुन थाल्छ, आफूलाई नियन्त्रण नै गर्न सक्तिन…”

°°°°°

हेर्दा र देख्दा त मेरा श्रीमान् सोझा थिए ।
“सायद उनी यतिबेला फोनमा साथीसँग कुरा गरिरहेका छन्”।

‘उनले फोन राख्ने बित्तिकै मैले आफ्नो असन्तुष्टि व्यक्त गरें’

“तिमीले मसँग बिहे गरिसक्यौ । बिहे भन्दा अगाडि को-कोसँग के के गर्यौ!, कस्तो थियौ!, तिम्रा कतिवटि गर्लफ्रेन्ड थिए मैले चासो राख्दिन। अब त तिमी मेरो श्रीमान हौ। मेरो शिरको मान श्रीमान । म तिम्रो श्रीमती हूँ। अलिकति त सरम राख । मेरै अगाडि फोनमा केटीको बारेमा यसरी कुरा गर्न अलिकति लाज लागेन… ?”

“तिमी चिन्ता नगरन प्यारी, म केटीसँग बोलेको त होईन नि। त्यो फोनमा बोलेको साथि त मेरो बच्चा देखिको लगौटिया हो, निरोध । म केवल स्त्रीहरुको सुन्दरताको मात्र प्रशंसा गर्छु। अरु त केही गर्दिन नि ! । सौन्दर्यको प्रशंसा गर्दा के बिराए त मैले प्रिय ? मैले केटीसँग फ्लर्ट गरेको होइन नि। म तिमीलाई मात्रै माया गर्छु। सम्बन्ध सयौंसँग होला तर माया केवल एक सँग — मात्रै एउटा तिमीसँग ।

— सबै खराब पुरुषले बोल्ने भाषा एकै हुदोरहेछ
“मैले फेरि उनलाई काबुमा ल्याउन कराए।”

यति भन्न नपाउदै उनले मलाई चुम्बन गरे, मायाले अँगालोमा बरे र फेरि म कमजोर भएँ। मलाई उनको माया लाग्यो। म शान्त बने भेल पछिको नदि जस्तै……।

हामीले एक महिनाअघि बिहे गरेका थियौं, तर केटीहरूको बारेमा उनले बोल्ने तरिका मलाई मन परिरहेको थिएन। उनी यस्तो थिए कि, केटीहरुको कुरा र प्रसङ्गबाट उनी कहिल्यै पार पाउँदैन्थे। उनी हरेक सुन्दर युवतीप्रति आकर्षित हुन्थे नै । कहिलेकाहीँ उनी मसँगै बाहिर घुम्न निस्कदा पनि उनको आँखामा वासनाको भोक ज्यादा देख्थे म । उनको यो आदतको अगाडि म दिक्क भैसकेकी थिए। ‘केटा हेन्सम देखेर बिहे गर्ने केटीहरुले दुख झेल्न पर्दोरहेछ’।

– यतिसम्म कि बिहानको रङ्गिन पत्रपत्रिकामा छापिएका हिरोइनहरुका अर्धनग्न रङ्गिन तस्बिरहरू हेरेर भोकाएका उनका आँखाहरू देखेर उनी प्रती मलाई दया लाग्छ । उनी मलाई नै सोध्छन्,
‘हेर त यस्को हट फिगर?, यस्को कति राम्रो आँखा?, हेर त यो केटीको कोक जस्तो फिगर, हेर त यस्को कति उठेको नितम्ब… बाफ्रे यस्ता पो केटी त…..”

कहिलेकाहीँ उनी भन्ने गर्थे, ‘मलाई केटीहरू हरियो खुर्सानी जस्तै लाग्छ। पिरो थाहा पाउन टाेक्नै पर्छ भन्ने कहाँ छर? त्यस्को सुगन्धित र स्वादिलो रागलाइ वरिपरिको हावाले नै उडाएर ल्याउछ हरर। त्यसको शारदीय स्वाद असाध्य मीठो हुन्छ।
फेरि कहिलेकाहीँ भन्थे,
‘सेक्स अपील नहुने केटीहरु त ‘बहिनी’ जस्तै हुन ।

बाटोमा हिँड्दै गरेका केटीहरुलाई कहिले ‘बम’ भन्ने कहिले ‘च्वाँक’ । उनी सधैं आफ्ना आँखाले केटी नाप्ने गर्थे । उनको यस्ता कार्यले गर्दा म बारम्बार रिसाउँथें र गाली गर्थे “राम्रोसँग व्यवहार गर, नत्र म तिमीसँग सम्बन्ध विच्छेद गर्छु”।
यसमा उनको एउटै जवाफ हुन्थ्यो, ‘प्यारी’, मैले त मजाक मात्र गरेको हुँ । तिमी मलाई शंका नगर । मलाई खुल्ला हावामा श्वास फेर्न देउ । नत्र म निसास्सिन्छु।

एकपटक हामी गाडीमा कलन्किको फ्लाई ओभर बाट जाँदै थियौँ । त्यहाँ एउटी सुन्दर युवतीले बाटो काटि। त्यो जेब्रा क्रसिङ पनि थिएन। उस्को त्यो लचकता र ढिड पन देखेर पतिदेवले भन्न थाले-

“काठमाडौंको सडकमा विभिन्न ठाउँमा मेरा तीर्थहरू छन, किनभने जहाँ सुन्दर केटीहरू देख्छु, त्यहाँ म मर्छु।”

मेर रिसाएका आँखालाई नहेरी उनी अगाडि भन्छन्, “धेरै वर्ष पहिले यहाँबाट सितापाइला गइरहेको बेला मैले एउटा अचम्मको रुपवती केटी देखेको थिएँ । त्यसैले त्यो ठाउँ आजसम्म मलाई सम्झना छ ।”

मैले आफ्नो असन्तुष्टि व्यक्त गरिरहँदा उन्ले गाडीको गियर फेरेर म प्रति आफ्नो माया व्यक्त गर्न थाले र मेरो रिस फेरि एकपटक कमजोर भयो।
तर, हरेक केटीसँग प्रेम गर्ने उनको बानीले मलाई रिस उठाउँदै थियो। कमसेकम मसँग हुँदा त कुनै दोस्रो केटीको कुरा नगरिदिओस भन्ने चाहन्थेँ ।

एक पटक उन्ले हाम्रो जवान छिमेकी केटीसँग फ्लर्ट गरेको देखे। मैले उनीलाई गाली गरे र यस्को ठुलो विरोध गरे, उनीले मलाई फेरि उस्तै स्नेह र माया व्यक्त गरेर मेरो मनलाई शान्त पार्ने प्रयास गरे, तर मेरो मन उनीप्रति दिनप्रतिदिन खल्लो हुँदै गइरहेको थियो। बिस्तारै मेरो लागि अवस्था असहनीय बन्दै गइरहेको थियो । हाम्रो बिहे भएको डेढ महिना मात्रै बितेको थियो तर विगत १०-१५ दिनदेखि उनले मेरो शरीर छोएका पनि थिएनन् । मेरा विवाहित साथीहरूले मलाई विवाहको पहिलो छ महिनासम्म उनीहरूको हनिमुन अत्यन्तै सम्झना योग्य घटनाको रूपमा ब्यक्त गरेको सम्झेकी थिए। यहाँ आफ्नो श्रीमानको भने यस्तो हभिगत थियो। म भित्र भित्रै दुखी थिए। श्रीमानको अस्वाभाविक चरित्रले मलाई दुखी बनाइरहेको थियो। उनीमा कुनै कुरामा पनि एउटा गम्भीरता थिएन। जागीर पनि थिएन। केवल एउटा खाइलाग्दो शरीर थियो उस्को। त्यहीँ शरीर देखेर होला उ प्रती लोभिएका केटीहरु। जसरी म लोभिएकि थिए….।

एक पटक म मध्यरातमा ब्यूँझिए र उनलाई देखेर म छक्क परें। उनी आफ्नो आइप्याडमा पोर्न साइट खोलेर हेरिरहेका रहेछन। म अचम्मित भए। आफैलाई लाज लाग्यो । उनको यो अस्वभाविक चरित्रले मलाई अप्ठ्यारो महसुस भयो। कि मसँग पनि सल्लाह गरेर “ल आज हामी यस्तो फिलिम हेर्नी है तिमी माइन्ड नगर” भन्नू पर्यो होइन भने यो कस्तो नकचरोपन हो? कस्तो हेपाहा प्रवृत्ति हो म प्रती उनको ?

“म यहाँ हुँदा तिमी किन यो सब गर्दैछौ? ममा के कमी देख्यौ ? के मैले तिमीलाई कहिल्यै ‘हुन्न,नाइ’ भनेकि छु र ?”

“सरी दीपा, यो त्यस्तो होइन। म तिम्रो निद्रामा बाधा पुर्‍याउन पनि चाहन्नथे। टेलिभिजन कार्यक्रममा अस्ति भएको सुन्दरी प्रतियोगिता प्रशारण भएको थियो । त्यो हेरेपछि म अनियन्त्रित भएको थिएँ, र भित्रैबाट इच्छा हुन थालेको थियो। हाम्रो देशमा पनि यस्ता नाङ्गा फिगर प्रस्तुत गर्ने केटीहरु भएछन है भनेर ताजुब लाग्यो। र आफुलाइ धैर्य बनाउनै सकिन अनि पो यो सब गरेको ………”

“यदि तिमी जस्तै मैले पनि आफ्नो मोबाइलमा पोर्न साइट हेरेर यो सबै हर्कत गर्न थाले भने, तिमीलाई कस्तो लाग्छ होला है ? म प्रती कस्तो सोच बनाउछौ होला है?”
मेरो कुरा उनलाई चित्त बुझेनछ शायद।

“हे दीपा तिमी सामान्य कुरामा झगडा गर्ने बहाना गर्दै छौ,” भने उनले।

“तर, यो सानो कुरा हो त ?”

°°°°°°

कहिलेकाहीँ ऐनाको अगाडि उभिएर आफ्नो शरीरलाई हरेक कोणबाट हेर्छु म । आखिर ममा के कमी छ कि उ मेरै अगाडि अरु केटीहरुको खुलेर प्रशंसा गरिरहेको हुन्छ ।
उस्ले कहिले फिल गरेन कि आफ्नो पत्नीको अगाडि दोस्रो केटीहरुको कुरा गर्न हुन्न भनेर। के म उस्ले खोजेको जस्तो राम्री थिइन र ?

पहिलोपटक उ मलाई बिहे गर्ने उदेश्यले हेर्न आउँदा मेरो सौर्न्दर्यबाट द्रवित भएका थिए। आमाले “मेरी छोरी मन पराइस्यो?” भन्दा “मन पर्दैमा मलाई दिनुहुन्न होला त आमा?” भनेका थिए। अनि आमाको पोजेटिभ उत्तर सुनेर उनले तुरुन्तै बजार गएर हामी सबैलाई मीठाइ ख्वाएर घर फर्किएका थिए। त्यो रात मलाई निन्द्रा नै परेको थिएन। कम्सेकम जिन्दगीमा अरु केही इच्छा पुरा गर्न नसके पनि जीवन साथी चाहिँ आफुले चाहेको जस्तो होस, मलाई केयर गर्ने होस, आहा ! भन्ने होस । मलाई पनि उस्को धेरै माया लाग्ने होस। उनीमा यी सब गुणहरु पक्कै छन भन्ने सोचिरहे। उनको अनुहार असाध्यै माया लाग्दो थियो । उनलाईलाई देख्नासाथ मेरो यहीँ केटासँग बिहे भैदिए हुन्थ्यो भन्ने सोच आइहाल्यो मनमा। तर हिजोआज ती सबै सपनाहरू खै कहाँ गए।

°°°°°

कहिलेकाहीँ म आफै आफ्नो शरीरलाई ऎनामा हेर्छु। सलक्क परेका हातका औंला, सरक्क मिलाएर लाएको नेलपोलिस। चटक्क छाटेको आखी भौका रेखा। लामो नितम्बसम्म खसेको कालो कपाल, जस्तो पहराबाट तल झरेको बेगमबेलीको लहरा जस्तै । यी तिखा वक्षस्थल। यो पातलो शरीर। यो उठेको हिप। यसको चिल्लोपन त नयाँ झप्री केराको पात जस्तै सिरिक्क परेको छ। मेरो अनुहार, ओठको मुस्कान, कमी त कतैबाट पनि देख्दिनँ । फेरि यति हुँदाहुँदै पनि मेरो जीवन सुक्खा र निर्झर एक्लो पहाड जस्तै किन बनिरहेको छ ?

एकदिन शनिबार घरायसी सामान किन्न भनेर बजार गएकि थिए । मेरो मन ठीक ठाउँमा थिएन, बजार गएर सपिङ गरे भने मन भुलिन्छ बरु भन्ने सोच आयो। एक हप्तालाई पुग्ने तरकारी र अरु घरायसी सामान किनेर घरतिर फर्किए । घर फर्किसकेपछि आफैले लगाएर निस्केको मुल ढाेकाको चाबी खोले। ढोका खोल्नासाथ ड्राइंग रुममा प्रवेश मात्रै के गरेको थिए मेरो त होश हवास सब गुम्यो। मेरो पोइको काखमा एकजना भर्खरैकि केटी बसेकि रैछ ।

मुखबाट कुनै शब्द पनि निस्किन सकेन। चुपचापले भान्सातिर गए। यो सपना हो कि जस्तो लाग्यो। सपना भैदिए पनि कत्ती खुसी हुन्थे..

मलाई देख्नेबित्तिकै उनीहरू डराए जस्तो गरे। त्यति कलिली केटी कस्को छोरी होलिन? मनमा सोचाइको भेल उर्लिन थाल्यो। शायद उस्को पहिले देखिकै गर्लफ्रेन्ड हुनुपर्छ । रिस र अपमानले मेरा आँखा रसाउन थाले । मलाई चिच्याउन मन लाग्यो, बेस्सरी कराएर सबै छिमेकीलाई बोलाएर यी दुवैलाई प्रहरीमा जिम्मा लाइदिउ जस्तो नि लाग्यो । पति नामको प्राणीको अनुहार च्यात्न मन लाग्यो । थप्पड हान्न मन लाग्यो। कर्याक कुरुक पारेर अनुहार कोपर्न मन लाग्यो। त्यो नाथी केटी किन आकि अर्काको घरमा ? लाज त त्यस्लाई पनि लाग्न पर्ने हो नि । म चट्याङ जस्तै बन्न चाहन्थें र तिनमा खस्न चाहन्थे।

चिन्ताले सारा शरीर पोल्न थालेपछि गहिरो समुन्द्र भित्र फाल हाल्न मन लाग्यो । म नहुदा हिजो अस्ति पनि यो बाइफाले केटी आउदी हो है। मेरो लोग्नेसँग सुतेर जादी हो। किन सधैं मेरो लोग्नेले दोस्रो केटी मान्छेहरुको प्रशंसा गर्छ भनेको त कारण यो पो रहेछ। अब त मलाई सय प्रतिशत सत्य लाग्यो कि मेरो पोइ फुंडाे हो भनेर।
ज्वलन्त आगो बनेर ती दुईलाई त्यतिनै बेला जलाउन चाहन्थें म। मलाई रुन मन लाग्यो। म यो पति नामक प्राणीबाट बदला लिन चाहन्थें। मलाई याद छ कि पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले आफ्नी श्रीमती हिलारी क्लिन्टनलाई धोका दिए र मोनिका लेविन्स्कीसँग रमाइलो गरेको। अनि खराब चरीत्रका कारण रास्ट्रपति पदबाट बर्खास्त भएको । आइमाईले गति छाडि भने सबै पुरुष खरानी हुन्छन। के सबै पुरुष समान रूपमा अविश्वासी छन्? के ती सबैले आफ्नी श्रीमतीलाई धोका दिदा रहेछन..?

चिया डढेको गन्हाएपछि पति परमेश्वरको भान्सामा प्रवेश भो। अनुहारमा थुकु जस्तो लाग्यो। मुख भित्र थुक पनि जम्मा गरे। थुक्छु भनेर मुख मात्रै के खोल्दै थिए। हातमा लुकाएर रसबरी ल्याएका रहेछन् “आ.. गर भने”

“लाज, घिन, इज्जत, कुल, संस्कार, खान्दान केही नभएको जन्तु हो तिमी !मलाई अब तिमीसँग यो घरमा बस्नु पनि छैन भन्दै साफ हपारे।” मीठाइ सिठाइ फाल्दिए। रिसले अगाडि केही देखिन। त्यो केटीलाई भुत्ल्याउन भनेर बाहिर निस्कन के खोज्दै थिए उनले मेरो हातमा च्याप्प समातेर भने – “त्यस्तो पाप नसोच बिन्ती । उ त मेरी भान्जी हो। उस्को बिहे हुँदै छ । त्यहीँ भएर खुसीयालीमा मीठाइ बोकेर आकि”

“अनि त्यत्री ठुली भएकि भान्जीलाइ किन काखमा लिएको त शरम लागेन अलिकति पनि ?”

“आफ्नै साख्य भान्जी त होइनन् क्यारे मावलीतिरकी भान्जी हुन। हामी सानोमा स्कुल सँगै पढेका हौ साथी जस्ती”

“ए अनि त्यहीँ भएर काखमा बोक्ने छुट मिलेको हो ?”

“धेरै किच किच नगर न। धरोधर्म मेरो प्रेम, मेरो माया, मेरो बिश्वास त तिमी मात्र हौ दीपा ।”

उस्ले यति भनेपछि फेरि म उस्को मायाले कमजोर भए, पग्लिए। अघिको रिस खै कता गयो, बिर्सिए। एकछिन त्यो घटनानै नभएको जस्तो भो । सपना मै टुङ्गियो जस्तो प्रतीत भयो……। म बाहिर बैठक कोठामा निस्किए। तर त्यो भान्जी भनौदी निस्किसकेकी रहिछ । अब मलाई झनै शङ्का लाग्यो ।

°°°°°°°

जिन्दगीको भोगाइबाट बाहिर निस्कदा मेरो जीवन एउटा पेचिलो धागो जस्तै बनिसकेको थियो । श्रीमानको स-साना कार्य र हर्कतले मेरो मन हतप्रभ भइरहेको थियो। यो घटनाको लागि उनले माफी पनि मागे। तर पनि मेरो मनको धैर्यताको बाँध टुट्दै गइरहेको थियो । कता कता आफू एक्लिँदै गइरहेको जस्तो लाग्यो। अब म उनीहरूसँग बदला लिन चाहन्थे । मेरो आँखै अगाडि मेरो लोग्नेको काखमा निर्धक्कले बसेर मलाई च्यालेन्ज दिएको जस्तो लाग्यो। केही दिन देखि म यहीँ पीडाले बेचैन थिए।

मेरो श्रीमानको आदत उस्तै हो। अब त उनी मलाई काम परेर बाहिर गए भने पनि त्यहीँ भान्जी भेट्न् गए जस्तो लाग्न थाल्यो। म भित्र भित्रै चिन्ताले गल्दै गैरहेकी थिए।
जागिर नभएको मेरो श्रीमान अब त बिहान देखि बेलुकी सम्म व्यस्त हुन थाले। हरेक गम्भीर कुरालाई सामान्य रूपमा लिइदिने उनको बानी थियो। म जे कुरालाई गम्भीर भन्छु उनी त्यहीँ कुरालाई सामान्य मान्छन्। केहिदिन देखि हामी बिच बोलचाल पनि कम हुन थालेको थियो। मलाई त्यहीँ भान्जीको हर्कतले मन खाइरहेको थियो। उनीहरूको बिचमा यदि पवित्र सम्बन्ध थियो भने उ किन भाग्नु परेको थियो। उस्ले मलाई किन नबोलाइ गइ। हो यहीँ कुराले मलाइ खाइरहेको थियो।

“एकाएक श्रीमान बदलिएपछी म मात्रै किन सति सावित्री बनिरहु?” सोचाइ आइरह्यो मनमा।

त्यहीँ काम पुरुषले गर्दा पुरुषार्थी हुने अनि त्यहीँ काम स्त्रीले गरिन भने बेश्या हुने? यो कस्तो बिभेदना हो समाजको?

एकदिन खाना खादा श्रीमानले मोबाईल चार्जमा राख्नु भएको रहेछ। टेक्स्ट् मेसेज पनि आएको रहेछ।

“असाध्य बोरिङ भैराछ एक दिन कतै बाहिर गएर बसुम न हामी” भन्ने मेसेज देखेसी मेरो टाउको दुख्यो। केही बोलिन। उनीले खाना खाएर बाहिर निस्कदै गर्दा भने
“दीपा आज बाहिर काम छ बेलुकी नआउन पनि सक्छु”
म केही बोलिन। चुपचाप भान्सातिर गए। जवाफ फर्काउन मन पनि लागेन। सबै बिचारहरु, उदेश्य र सपनाहरू शिथिल बन्न थालिसकेका थिए।

दिनभर घरमा एक्लै हुन्थें म।
एकदिन मेरो फेसबुकमा एउटा केटाको फ्रेन्ड रिक्योस्ट आयो। यसो प्रोफाइल हेरेको स्टाटस राम्रो थियो। केटा पढे लेखेको राम्रो लाग्यो। “राज शाही” नाम गरेको केटाको प्रोफाइल पिक्चरले एक्छिन कता कता मन लोभियो।आफू भित्र खै अर्कै गुदगुदी हुन थाल्यो। शाही खान्दानको केटा रहेछ।
“शायद यो प्राकृतिक नै थियो होला किनभने हरेक स्त्री र पुरुष विपरित लिङ्गी प्रती आकर्षित नभए स्वास्थमा केही समस्या छ भन्ने बुझ्नुपर्छ रे। यहीँ भनेर मैले श्रीमानलाई धेरै जिद्दी नगरेको । जति दबायो त्यति भड्किन खोज्छ मन।”

फ्रेन्ड रिक्योस्ट स्वीकार गरेको पाँच मिनेटमा उताबाट

“हाइ! धन्यवाद मलाई साथी स्वीकार गर्नुभएकोमा” – भन्ने मेसेज आयो।
जवाफ नदिउ कि जस्तो लागेको थियो फेरि ठूलो मान्छे किन हुनु भनेर “धन्यवाद हजुरलाइ पनि” भने।

एकदिन बजारबाट आउँदै थिए। घर पुग्ने बेलामा हाम्रो टाेल सँगैको एउटा गल्लीमा राजलाई देखे। फेसबुकको हेन्सी केटो। जोसँग बिगत केही दिन देखि मेसेन्जरमा हाम्रो कुराकानी भैरहन्थ्यो। उसलाई आज आफ्नै आँखा अगाडि देख्दा मन कस्तो खुसी भयो । उ नै राज थियो। उस्ले मलाई देख्नासाथ हाइ भन्यो। कहिलेकाहीँ हामी लामो कुराकानी गर्थ्यौँ मेसेन्जरमा। उसको आदत आनीबानी मलाई सबै थाहाँ भैसकेको थियो। अनुहार चम्किलो मात्रै होईन हसिलो पनि उतिकै थियो । उस्को हिस्सी र बानीव्यहोराले बिस्तारै म उ प्रती आकर्षित हुँदै गइरहेकि थिए।

राज हाम्रै छिमेकमा भाडामा बस्दोरहेछ । एउटा खाइलाग्दो जवानीले भरिएको कलिलो युवक; देख्दैमा आहा भन्न मन लाग्ने । भेटेपछि जब उसले आफ्नो हात जोड्यो, त्यसमा नै उस्को शालीनता झल्किएको थियो। म बसेको फ्ल्याट र उ बसेको फ्ल्याट आमनेसाम ने जस्तै रहेछ।

कहिलेकाहीँ नुहाएर कपाल सुकाउन टेरेसमा जान्छु, उसले मलाई कस्तो मायालु नजरले हेरिरहेको हो कि जस्तो लाग्छ। आँखाले एकोहोरो हेरिरहँदा मभित्र गुदगुदी हुन्थ्यो। बिस्तारै कुरा गर्न थाल्यौं । हाम्रो कुराकानीको क्रममा मैले थाहा पाए कि राज एक पेशेवर फोटोग्राफर रहेछ।

“तपाईको अनुहार असाध्य फोटोजेनिक छ। मोडलिङ किन नगर्ने ?” राजले मलाई हाम्रो दोस्रो भेटमा यसो भन्यो। उ चाहन्थ्यो म मोडलिङ गरु । मोडेल बनु ।हाम्रो हरेक भेटमा उस्ले मेरो निकैबेर प्रशंसा गर्थ्यो।

सुरुमा मलाई यो सबै अनौठो लाग्थ्यो, तर चाँडै मैले यो खोलाको धारमा आफैलाई बगाउन दिएँ। श्रीमान् बाहिर जाँदा म राजसँगै उसकोको स्टुडियो जान्थें । स्टुडियो धेरै टाढा पनि थिएन। जहाँ मैले दैनिकी सागसब्जी लिन्थे त्यसै गल्लिको अग्लो घरमा थियो। राजले ममा त्यस्तो आकर्षण के पायो कुन्नी मलाई मोडलिङ गर्न असाध्य कहर गऱ्यो र दुइचारवटा फोटो सुट पनि गऱ्यो । राम्रो मोडलिङ असाइनमेन्ट पाउनको लागि राम्रो पोर्टफोलियो आवश्यक रहेको बतायो राजले ।

त्यो फोटो एउटा होजियारी कम्पनीको साहुले आफ्नो ब्रान्डमा लोगो बनाएर प्रयोग गरेछन्। मेरो फोटो प्रयोग गरेबापत मैले बीस हजार रोयल्टी समेत पाए। जिन्दगीमा आफ्नो अनुहारको मुल्य पाएको दिन म सबैभन्दा खुसी थिए । अनुहार पनि यसरी बिक्री हुँदोरहेछ भनेर मलाई जिन्दगीमा पहिलोपटक थाहा भो। “हजुरका तस्विरहरू धेरै राम्रा छन्,” राजले प्रायः यहीँ भनेर मलाई फुर्क्याइ रहन्थ्यो। आफ्नो लोग्नेले सधैं अर्कै केटीहरुको प्रशंसा गरेको सुन्दा सुन्दा अवाक् भएकि म कहिलेकाहीँ पर-पुरुषबाट आफ्नो बारेमा राम्रो कुरा सुन्न पाउदा एक प्रकारको अर्कै आनन्द लाग्दोरहेछ।

‘अब बिस्तारै मलाई यस्तो लाग्न थाल्यो कि ममा पनि कतै, अलिकति जीवन बाँकी छ…’
झन्डै झन्डै डिप्रेशनमा जान लागेकी म “राज”ले बचायो।

पतिदेव नियमित जागीर खाएको बहानामा बिहान नौ बजे निस्किन्थे अनि बेलुकी प्रायः अबेर आइपुग्थे । उनको यो समय तालिकाले मलाइ एक प्रकारको मुक्ति मिलेको छ। मैले निभाउनु पर्ने एक पत्नीको भुमिका निभाइरहेकी छु। कर्तव्यबोध त मलाई छँदै छ। दिनभरी के गरेर बस्छौ समय कसरी बितिरहेछ भनेर एक वचन कहिले पनि सोधपुछ गर्दैनन् उनी । र मैले पनि मेरो जिन्दगीमा के भैरहेको छ उनलाई सुनाई रहनु आवश्यक ठानिन।

“सोध्नेले नसोध्ने र भन्नेले नभन्ने भएपछि सम्बन्धमा एक प्रकारको दरार आउँदोरहेछ।”

हाम्रो बिहे भएको छ महिना चलिरहेको थियो। सुरुका दिनका ती रोमाञ्चक पल सम्झिदा यी मान्छे यस्तो ढिट पनि होलान् र भनेर पत्याउन सकिन्न। जवानीमै घरको लोग्नेले पत्नीलाई बेवारिसे बनाइदिएपछी, पत्नीको मन भड्किनु के गल्ती होर जस्तो लाग्न थालेको छ मलाई आजकाल। यो कारणले पनि होला म राजसंग मेसेन्जरमा वा प्रत्येक्ष भेट्दा खुलेर कुरा गर्छु। हाम्रो दुरि क्रमशः नजिकिदै गइरहेको छ।

राजलाई कहिले देखि माया गर्न थाले थाहाँ नै भएन । मलाई उसको काखमा सुत्ने इच्छा हुन्थ्यो । जब म उसको नजिक हुन्छु, उसको शरीरको गन्धले मलाई मोहित बनाइदिन्छ। मन अनियन्त्रित हुन थाल्छ। मन भित्र चाहनाहरु उठ्न थाल्छन् । यस्तो अवस्थामा जाँदै गर्दा जब उस्ले मलाई नग्न (न्यूड) मोडलिङको प्रस्ताव राख्यो, मैले बिना कुनै हिच्किचाहट हुन्छ भनिदिए। उसले भनेको सबै कुरा मान्न मन लाग्छ। सकेसम्म उसको कुराहरू काट्न मनै लाग्दैन ।

त्यो दिन नुहाएर तयार भएँ । सुगन्धित अत्तर लगाएँ। मैले एक दिन अघि नै राम्रो ब्यूटी पार्लरबाट फेसियल, मैनीक्योर, पेडीक्योर, ब्लिचिङ आदि गराएकी थिएँ। मेरो सबैभन्दा सुन्दर मोती झुम्का र नक्कली हीराको हार लगाएको थिएँ। सौर्न्दर्य केहो यो बिचमा मलाई राजले सबै तालीम दिइसकेको थियो। श्रीमान र राजमा तुलना गरेर हेर्छु धेरै भिन्नता पाउछु। पुरुष जात एकै हो। शरीर उस्तै हो। उदेश्य एकै हो तर बिचार कति फरक छ। राम्रो शरीर भित्र कुरुप बिचार भो भने त्यो शरीर हीरा जस्तै सुन्दर भएर पनि के काम ?

अस्ति पाएको बीस हजारले आँफुलाई मन पर्ने लुगा किनेकी थिए । एक दुई पटक त्यो लुगा लगाएर पुग्दा राजले घोरिएर हेरेको थियो मेरो शरीरमा। राजलाइ मनपर्ने लुगा लगाएर सुटिङ स्टुडियो पुगेँ।

राज पनि त्यो दिन खुब सुन्दर देखिएको थियो। उसै त हेन्सी केटो । उसका सबै कुराले मेरो जिन्दगीमा एक प्रकारको प्रभाव जमाइसकेको थियो। गुलाबी रंगको शर्ट र कालो प्यान्टमा उ झनै राम्रो र कामुक देखिएको थियो।

“स्टुडियो पुग्नासाथ “तपाईं एकदमै राम्री देखिनु भएको छ,” उसले हासेर भन्यो। यो सुनेर मभित्र सयौं सूर्यमुखी फूलहरु फुलिदिए। सारा शरीरमा रोमाञ्चकता सन्चारित भयो। आहा यो पो त जीवन है ! भनेर सुखद् अनुभुति गर्न थाले म।

फोटो सेसन राम्रो भयो । राजको अगाडि टपलेस हुन मलाई कुनै संकोच थिएन । उसले मेरो शरीरलाई हेरिरहेको थियो। क्यामराको सयौं सर्टहरुमा उस्ले मलाई बेहिसाब कैद गर्यो। उसको इशारा, उसको सिकावाई, उसको कोमल बोली र बिचारले मेरो यो नग्न फोटो सुट पूर्ण सफल भैसकेको महसुस गरे। यो दुई घन्टाको सुटमा उसले मेरो बडि टच गरेन तर मैले भने उसको कोमल छुवाइ चाहिरहेको थिए।शरीरले अर्कै खोजीरहेको थियो। मैले भित्र भित्रै अर्कै स्वप्निल जगतको कल्पना गरिरहेकी थिए..।
फोटो सेसन सकिएपछि फलामे चुम्बकमा अर्को फलाम टाँसिएझैँ म राजतिर तानिए । मेरो मुटु छिटो छिटो धड्किरहेको थियो । मैले उसको हात समाए ।

“होइन दीपाजी, यो ठीक होइन। मैले तपाईंलाई त्यो नजरले कहिल्यै हेरेको छैन। हाम्रो सम्बन्ध व्यावसायिक मात्रै हो। सबै सम्बन्ध त्यस्ता हुन्नन जे हामी कल्पना गर्छौ । मेरो स्टुडियोमा कयौं महिला मोडलहरु आउछन् आफू मोडल हुने मनोकांक्षा पुरा गर्छन। कोही मोडलिङमा सफल हुन्छन् । उचाई छुन्छन। कत्तिले त फिल्ममा काम गर्ने अवसर पनि पाउँछन्। यो त एक प्रकारले स्कुल जस्तै हो। यहाँ अपरचुनीटि पाउँछन र त आउछन्। सबै जना मेरो आकर्षकपन, मेरो हेन्सिपन र मेरो मादकतामा हराए भने, मेरो पेशा पनि मर्यो र उनीहरूको भविष्य पनि सक्कियो। प्रेम र रोमान्सले अगाडि बढ्ने बाटो नै रोकिदिन्छ दीपाजी। हो एउटी अविवाहित स्त्रीका लागि त त्यो ठिक पनि होला तर तपाई त विवाहित हुनुहुन्छ ।”

राजले यति भनिसकेपछि, मलाई भित्र भित्रै मुटुमा कोपरे जस्तै लाग्यो। के सोचेर आएको थिए घरबाट के भयो अहिले । सबै चाहना एकाएक सेलायो।

‘…तर राज मलाई लाग्थ्यो कि तिमीले पनि मलाई माया गरिरहेको वा चाहिरहेको जस्तो…! अनि आज किन पर हुनु भो”? – मैले गनगन गरें।

“दीपाजी मलाई गलत नबुझ्नु। तपाइ धेरै सुन्दर हुनुहुन्छ । र मन पनि उत्तिकै सुन्दर छ। तर मेरो लागि तपाई एउटी सुन्दर मोडल मात्र हो। म अरु कुनै सम्बन्धका लागि तयार छैन । र मसँग पहिले देखि नै एक प्रेमिका छिन जोसँग म चाँडै नै बिहे पनि गर्न जाँदैछु, – राजले भन्यो ।

°°°°°°°

“त्यसो भए यो केवल एकतर्फी आकर्षण वा पतिसँग बदला लिने इच्छाको परिणाम मात्रै हो त मेरो ?”

लुगा लगाएर हिँड्न थालेपछि राजले मेरो हात समातेर रोक्यो । मलाई पारिश्रमिक दियो खाममा हालेर। र स्टुडियोमा राखिएको फूलदानीबाट एउटा पहेँलो गुलाब निकाल्यो र मेरो कपालमा सिउरिँदिँदै भन्यो,
“दीपाजी, पहेँलो गुलाब मित्रताको प्रतीक हो । हामी असल साथी बन्न सक्छौं।”

राजको कुरा सुनेर म छक्क परें । कपालमा सिउरिदिएको त्यो पहेँलो गुलाब लिएर, म मेरो पुरानै संसारमा फर्किएँ

°°°°°°

त्यो रात, धेरै महिना पछि, जब मेरा श्रीमानले मलाई मायालु चुम्बन गरे र आफैलाइ सुधार गर्ने वाचा गरे, म पग्लिएँ र उनको अँगालोमा परें।
झ्यालबाहिर देखिएको आकाशमा कुनै न कुनै रूपमा रंग बदलिरहेको थियो। चिसो हावा झ्यालबाट कोठाभित्र पसिरहेको थियो । मेरो पूरै शरीर मीठो उत्साहले भरिन थाल्यो। मेर श्रीमानले मेरो शरीरका अंगहरूमा मायालु स्पर्श सँग चुम्बनको वर्षा गरे । म बगिरहेको पहाडी खोला जस्तै बनिरहेकी थिएँ । एउटा मिठो गुदगुदीले मभित्र खुसी भरिदियो ।

°°°°°°°

त्यसपछि … त्यहाँ केवल पतिपत्नी बिचको मायाको ह्याङ्वभर थियो। र उसको छातीको कपालमा म आफ्ना औँलाहरु चलाउँदै गर्दा, “मलाई कहिल्यै धोका नदेऊ है भन्न पुगेछु ।” कोठाको एउटा कुनामा माकुराले आफ्नो टुटेको जालो बुनिरहेको थियो। रातभर बुढाबुढी मस्तले निदाइएछ।

भोलिपल्ट बिहान तरकारी किन्न निस्कदा राजसँग एउटी केटी देखे – नजिकै पुग्दा त्यही भान्जी, जो मेरो श्रीमानको काखमा देखेकी थिए। र उनी त्यो दिन म बाट भागेकी थिइन। मलाई संकोच लाग्यो । राजले चिनाउँदै भन्यो “उहाँ मेरो हुनेवाला भविष्य” उनीले मलाई नमस्ते गरिन् मैले नमस्ते फर्काए। र हतारमा सब्जी किनेर कोठामा फर्किए।

खै.. के हो के हो बुझ्नै सकिन्न हो जिन्दगीलाई? यहाँ कतै पनि सरलता देख्दिन। जेरि जस्तै छ जिन्दगी । जताततै जेलिएको। मेरो श्रीमानको काखमा भेटिएकी ती केटी राजको हुनेवाला भविष्य! यो कसरी सम्भव थियो? कसरी सकेकी होलिन आफ्नो बोइफ्रेन्ड हुँदा हुँदै फेरि मेरो श्रीमानको काखमा बस्न?

“भो यति धेरै सोच्न थाले भने म फेरि डिप्रेशनमा जान सक्छु ।”

मलाई त यस्तो लाग्न थाल्यो यो जगत नै सम्बन्धहरुको पुल हो। यहाँ कसै न कसैले कसैलाई समाती नै रहेको हुन्छ। जोडिए पनि जोडीनुस केही छैन तर गुलियो जेरि जस्तै हुनुस। जिन्दगीको स्वाद लिनुस्। खल्लो नहुनुस्। जो खल्लो हुन्छ उहीँ डिप्रेसनमा जान्छ। “धन्यवाद राज मैले तिम्रो असल क्यारेक्टरबाट सिक्ने मौका पाए।यदि पुरुष खराब हुन्थ्यो भने तिमी मबाट जे फाइदा पनि लिन सक्थ्यौ…..”

°°°°°°°

नियमित रात्रीकालिन काम सकेर श्रीमान कोल्टे फर्केर निदाएका छन् । उनको घुराइले अलिक निन्द्रा खल्बलियो मेरो । यो चिन्तालाई म पनि अब यहीँ बिसाउंछु शुभरात्री….

°°°°°°°

यो घटना भएको एक वर्ष बितिसक्यो । यस घटनाको केही महिनापछि राज पनि छिमेकको भाडाको घर छोडेर कतै गैसकेको थियो । त्यो दिनपछि मैले राजलाई भेटिनँ । तर अहिले पनि जब पहेँलो गुलाब देख्छु, म काँप्छु । एकपल्ट मैले आफ्नो छतको गमलामा पहेँलो गुलाब राख्ने हिम्मत जुटाएकि थिए, मेरा हातहरू नराम्ररी काँपेका थिए।

समाप्त

प्रतिक्रिया
Exit mobile version