हाम्रो साझा बारन थियो । बारन अर्थात सुर्ती सुकाउन टिनको पाताको ढ्वाङ् बनाएर ठूलो चुलो मार्फत आगोको राप पठाउनको निम्ति बनाईएको घर ।
त्यहाँ हाम्रा दाजुभाईका बारीमा लगाईएको भर्जिनियाँ सुर्ती बाँसको फट्टामा बाँधेर तला-तला हालेर राखिन्थ्यो । सँगसँगै अन्य गाउँलेका सुर्ती पनि सुकाईन्थ्यो । अहिलेको समयको चश्माले हेर्ने हो भने त्यो त्यस समयको एउटा गाउँले उद्योग थियो । सुर्ती सुकाउने उद्योग । बारन हाम्रै काकाको जमिनमा घरदेखि पूर्बपट्टी करिब २०० मिटरको दुरिमा बाँसको टाटिको भोटो लगाएर उभिएको थियो ।
बारन हिंउँदे याममा मात्र सञ्चालन गरिन्थ्यो किनभने सुर्ती हिउँदे बाली थियो । सुर्ती बारनमा राखेपछि करिब दुई हप्तासम्म ठूलो चुलोमा रापिलो आगो बल्थ्यो । सुर्ती सुनौलो रंगको भएर सुकेपछी बाहिर निकालेर तह तह पारेर ओभानो ठाउँमा राख्ने चलन थियो । सुर्ती खेतीले सरकारी धाप पाएको बेला थियो त्यो । त्यसैले गाउँ पिच्छे १-२ बारन सञ्चालनमा हुन्थे । बारन चलाउन एकमात्र इन्धन दाउरा र दाउराको खपत अत्यधिक हुने हुनाले बारन वरिपरि दाउराको स-सानो पहाड खडा हुन्थ्यो ।
बारनको चुलोमा आगो ताप्न तथा गफीन मान्छेहरुको राम्रै जमघट हुन्थ्यो बिशेष गरि साँझपख । आगो बाल्न तथा बारनको अन्य प्राविधिक पक्षको निरिक्षण तथा नियन्त्रण गर्न एकजना तलबी मान्छे राखेका थियौं । त्यस मानिसलाई क्युटर भन्थ्यौं । क्युटर पथलैयाको एकजना मान्छे थियो । रिठ्ठे मगर । एकदिन बजारको दिन पारेर क्युटर घर गएको थियो । बेलुका आउँदा रक्सी सेवनले रसिलो लिएर फर्केछ र अँगेनामा दाउरा हाल्न खोज्दा असन्तुलित भएर खरानी निकाल्ने कोखे चुलोमा खसेछ । धन्न त्यतिबेला अन्य मानिसहरुको त्यहाँ उपस्थिति रहेकाले तत्काल उद्दार संभव भएछ । उसको अनुहारको केहि भाग र हात भुतभुते खरानी र कोईलाको प्रकोपले डढेको थियो । उक्त घट्नापछि क्युटरले बारनको काम छोड्यो । त्यसपछि बारनको काम गर्न काका दाईहरुले आलोपालो गरि काम गर्ने प्रबन्ध मिलाउनु भयो ।
सुर्ती खेती गाउँको एकमात्र नगद घर भित्रिने बाटो थियो । गाउँका अधिकांशले सो बाटो पहिल्याएका थिए । बारनमा सुकाएर तयार पारिएको सुर्तीलाई फागुन, चैत्र तिर मिलाएर सुतीको बोरामा प्याक कसेर बर्दिबास स्थित सुर्ती विकास कम्पनिमा लगेर दाखिला गरिन्थ्यो । टायर गाडामा हालेर । त्यहाँका कर्मचारीले सुर्तीको चेकजाँच गरेर स्तर अनुसार नम्बर दिने गर्दथे । जस्तै १ नम्बर,२ नम्बर या ३ नम्बर । एक नम्बर सर्लक्क परेको पात तथा सुनौलो रंग । दररेट भने सुर्तीको नम्बर अनुसार निर्धारण हुन्थ्यो ।
त्यसको भुक्तानी असार साउनमा जनकपुर चुरोट कारखानाको मातहतबाट हुन्थ्यो ।
सुर्तीको भुक्तानी लिन जाने समय गाउँमा उत्सवमय माहोल बन्थ्यो । त्यहिबेला गाउँका प्रायः सबैजनाले थोर बहुत नगद हात पार्दथे । सुर्तीको पैसा लिन जनकपुर जाँदा धेरैले जिरा, लुगाफाटो, छाता,चप्पल यस्तै यस्तै आवश्यकता र गच्छे अनुसारको सर सामान खरिद गर्थे । पैसा लिएर फर्केपछि गाउँलेको काँधमा चढेर नन्दलाल पाल कम्पनिको बेतको डण्डी भएको छाता गाउँभरि भित्रिन्थ्यो । नन्दलाल कतै गोठालोमा, कतै खेत बारिमा कतै भित्तामा झुण्डिएर मान्छेको रखबारी गरिरहेको देखिन्थ्यो ।
एकदिन बारनमा बसेर गफिँदै गर्दा काकाले हामीले सोच्दै नसोचेको कुरा सुनाउनुभयो । भन्नुभयो, “यसपाली सुर्तीको पैसाले त टिभी किन्ने कुरो छ नि केटाकेटी हो हामी ४ भाई मिलेर ।”
“हो र ?” हाम्रो प्रश्नको बारुलाले काकालाई चारैतिरबाट चिल्न थाल्यो।
हल्का खोक्दै काकाले थप्नुभयो,“हो त। तर कसैलाई नभन्नु नी !”
उमेरले पाको भएपनि काकासँग दोहोरो संवाद गर्न हामी सहजै महशुस गर्थ्यौं । गफकै सिलसिलामा काकाले हामीले सोच्दै नसोचेको तथ्य किनारा ल्याइदिनु भयो । खुसीको हिमालले आकाश छुला झै गर्यो । उत्साहको रिमझिमे झरिमा निथ्रुक्कै भिज्यौँ । तर पनि आम स्विकृतीको निम्ती परिवारकै सदस्य माझ सो सम्बन्धि प्रश्नहरु बारम्बार राखिरहेँ ।
यहि प्रश्न मैले मम्मी समक्ष पनि दोहोर्ऱ्याएँ । वहाँले पनि अलिअलि अनिश्चयको भावमा भन्नुभयो, “खै होला त नि! तर कसैलाई पनि नभन्नु है ।”
त्यस खबरले आल्हादित हामी सुर्तीको काममा साबिक भन्दा अधिक खटिन थाल्यौं । सुर्तीको पात टिप्नु, बारनसम्म ओसार्नु, फट्टा बाँध्नु सबै काम द्रुत गतीमा हुन थाल्यो । सुर्तीको काम गरेको दिन सुर्तीको कसले हात कालै हुने र त्यसलाई पखाल्न बेथे रगडेर मिचिमिचि धुनुपर्थ्यो । तर त्यो तितोभन्दा टिभी किन्ने उत्साहको गुलियो शरिरभरी सञ्चार भएको थियो । टिभी किन्ने कुरा गाईँगुईँ सुनिन्थ्यो तर कसैले घोषणा भने गरेको थिएन् । यसर्थ अलिअलि संशय र दुबिधाबिच पनि उत्साहको रंग उत्ताल थियो बिशेषगरि हामी छोराछोरी पुस्तामा ।
चैत लाग्यो । सुर्ती प्याक गरेर बुझाएकै थिएन् । कहिले सुर्ती बेच्ने र कहिले पैसा कारखानाले भुक्तानी दिन्छ भनेर हिसाब गर्दा गर्दै हाम्रा हातका औंला हप्ता दिनमै कैंयौं पटक भाँचिन्थे । बसन्त ऋतुले सिसौका रुखहरु हरियो घुम्टो हालेर नव दुलहि जस्ता भए । आँपका मञ्जरी हाँगाहरुमा बिस्तारै उक्लिन थाले । यसै बिचमा सुर्ती बुझाउने काम सम्पन्न भयो । वातावरणमा पालुवा र फूलहरुको मादक गन्ध बहन थालीसकेको थियो । तर टिभी किन्ने कुराचाहीं कता हो कता गहिराईमा दबिएर बगेको सेती झैं भएको थियो । आवाज सुन्न सकिने तर सतहमा अनुभव गर्न नसकिने । गाउँघरमा खेल्न जाँदा साथीभाई प्रश्न गर्थे, “ तिमेरु टिभी किन्ने रे हो सुर्तीको पैसा आएपछि ? ” म उदास भएर जवाफ दिन्थें, “ खै मलाई त केही थाहा छैन ।” मलाई थाहा छैन भनेको कुरा उनिहरु मरिकाटे पत्याउँदैनथे ।
एकदिन सान्दाई म लगायतका अन्य साथीहरु खोलातिर घुमेर फर्किंदै थियौं । मैले उहि प्रश्न दोहोर्याएँ, “हामी टिभी किन्ने रे हो सान्दाई ? अनि कस्तो हुन्छ नि टिभी ।” सान्दाई बडाबाका कान्छा छोरा र हामी दाजुभाई मध्ये जान्नेसुन्ने र टाठोबाठो त्यसमाथि दाईकी दिदी तथा सानीआमा कलकत्ता बस्ने हुँदा दाइपनि यदाकदा कलकत्ता गैरहने गर्नुहुन्थ्यो । त्यसैले दाइले टिभी नदेख्ने कुरै भएन् । दाइले टिभी भनेको त्यहीँ फिलिम जस्तो त हो नि तर अलि सानो हुन्छ । टिभीमा धेरै किसिमको कार्यक्रम दिन्छ, फिलिम हेर्न पाईन्छ, रमाईलो हुन्छ भनेपछी मन बल्ल आश्वस्त भयो । मैले त्यस उमेरसम्म टिभी देखेकै थिईँनँ तर सिनेमा भने एक दुई पट्क बर्दिबासको हलमा हेरिसकेको थिएँ ।
समयको लहरलाई कसले पो छेक्न सक्नु र ! दिन फेरियो । समय फेरियो । क्यालेण्डरको पातो फेरियो र असार घर, खेतबारि तथा आकाश सबैतिर छताछुल्ल पोखिन थाल्यो । एकदिन साँझपख हाम्रो घरमा बुवा, काका, बडाबा र दाईहरुको कचहरि बस्यो । कचहरिको साङ्गोपाङ्गो निष्कर्ष यस्तो थियो ।
-यसपालि सुर्तीको पैसाले चार भाई मिलेर टिभी किन्ने ।
-हाम्रो ग्वालीको माथिल्लो तलालाई टिभी हेर्ने कोठा बनाउने ।
-दर्शकको भीड बढ्यो भने आँगनभरि बसेर हेर्न मिल्ने गरि माथिल्लो तल्लाको बेरा काटेर टिभी आकारको प्वाल बनाउने र त्यहिँबाट टिभी हेर्ने ।
-चार गाउँमा कसैको टिभी नभएकोले हामीले टिभी राखे हाम्रो यश किर्ती चारैतिर फैलिने ।
-टिभी ल्याउने कुरा कसैलाई पनि नभन्ने, परिवार भित्रमात्र सिमित राख्ने ।
केही दिनमै हाम्रो ग्वालीको माथिल्लो तल्ला सरसफाई गर्ने तथा लिपपोत गर्ने काम शुरु भयो । यस कामको अग्रपंक्तीमा रही दिपक दाई, काका तथा ऋषि दाईले मोर्चा सम्हाल्नु भयो । हामी झिना मसिना काम सघाउने सहायक भयौं । मान्छेहरु टिभी राख्ने कोठा बनाउन लागेको हो कि भन्दै प्रश्न गर्दथे । तर हामी जिब्रो चपाउँदै मजाकमै भन्थ्यौं, “हैन हैन हाम्रो दिपक दाईको बिहे गरेर बस्ने कोठा बनाउन लाग्या हौं ।” तर उनिहरुको भंगिमाले हाम्रो तर्कलाई विश्वास नगरेको स्पष्ट देख्न सकिन्थ्यो ।
नभन्दै सुर्तीको पैसा लिन जाने दिन पनि आयो । बुबाहरु बिहानै खाना खाएर तयार हुनुभयो । हाम्रो बर्खै बिदा अझैं बाँकी थियो । दिउँसो तिर दाईहरु बाँस काट्न जानुभयो । मैले सुनेको थिएँ एउटा अग्लो बाँस चाहिन्छ एन्टेना झुण्ड्याउनको निम्ति । के होला त्यस्तो एन्टेना भनेका मनमा अनेकौं काल्पनिक एन्टेनाहरु बन्ने र भत्किने क्रम चलिरह्यो । दिउँसो सम्म त टिभी लिएर आईसक्नुपर्ने हो तर आउनुभएको थिएन । मन अधीर घोडामा सवार हुँदै बुर्कुसी मार्न थाल्यो । हाम्रो रुमानी उफानलाई छल्न घरि खोलातिर दौडन्थ्यौं घरि बरमथानसम्म दौड्दै बाटो हेर्न थाल्थ्यौं । एक दिन पनि जीन्दगीकै सर्वाधिक लामो दिन प्रतीत भयो त्यो दिन । साँझ पख । हामी चौरमा मोजाको बल खेल्दै थियौं । खेलको रनाहामा डुबेर विस्मृति को पिँधमा पुगेको बेला एकजना दौड्दै आएर हामीलाई टिभी घरमा आईपुगेको सूचना दियो । तुरुन्तै यथार्थको किनारा उत्रियौ ।
सूचना पाउनु के थियो बतास टेक्दै घर पुगें । स्वासको गती बढेर छातीमा भाँटि चलिरहेको थियो । साँच्चै टिभी त घरमा आईसकेछ । घर बिहे घर जस्तै भईसकेको रहेछ । घरको दलानमा प्याक गरिएका केही कार्टुनहरु राखिएका थिए । यसैबिचमा गोपीदाई अगाडी सरेर कार्टुन प्याकहरु खोल्नुभयो । मेरो कौतुकमय आँखामा एउटै प्रश्न रुमल्लिएको थियो आखिर टिभी हुन्छ चैं कस्तो ? दाइले गाईभैसीको करङ जस्तो सामान निकाल्नु भयो । मेरो ह्रदयमा टिभि भन्या कस्तो न हुन्छ होला भन्ठान्या त यहि बुढो गोरुको करङ जस्तो पो हुँदोरैछ भन्ने परिसकेको थियो । तर दिदीले त्यो त एन्टेना पो हो भनेपछि आफ्नो सुझबुझमा भएको कमजोरी प्रति आफैलाई दया लागेर आयो । त्यतिबेला सम्म केटाकेटी देखि बयस्कसम्म हाम्रो आँगनमा जम्मा भैसकेका थिए । बडावा, बुवा काकाहरु भने चौडा आँगनको मध्य भागमा कुर्सिमा बसेर गफिदै हुनुहुन्थ्यो । दाईहरु भने एन्टेना जोडजाड तथा तार कसकासको कार्यमा व्यस्त हुनुहुन्थ्यो । मेरै बयका गाउँका साथीहरु तथा म भन्दा छिप्पिएका थिए आएर सोध्न थालेःटिभी ल्याको हो ? कुन टिभी हो नी ? तर मलाई एउटै कुराको ज्ञात थियो त्यो हो कसैलाई भन्नु हुदैन । बस त्यो कुरा मनको हाँगामा बसेर बारम्बार चेतावनी दिईरहन्थ्यो । बाँसमा करङजस्तो चिज निलो रंगको चेप्टो तारले जोड्ने कार्य सम्पन्न भएपछि ऋषिदाईले एउटा चारकुने तर लाम्चो आकारको बस्तु कार्टुनबाट निकाल्नु भयो । मैले अनायासै सोधेछु,” दाई यहीँ हो त टिभी ?” धेत के भन्छ यो ?” ऋषिदाई हाँस्नुभयो । वरिपरि मसँगै उभिएकाहरु पनि हिल्हिलाउँदै हाँस्न थाले । म खुम्चिएँ । लाजले गर्दा नाकबाट सिगान पग्लिन थाल्यो । स्याँक्क सिगान तानेर वरिपरि हेरें सबै अझै हाँसिरहेकै थिए । त्यो त टिभी चलाउने ब्याट्री रहेछ जुन मैले कहिल्यै देखेको रहेनछु । एन्टेना जोडजाड गरिसकेपछि ऋषि दाईले एउटा अलि अलग्गै राखिएको ठूलो कार्टुनको प्याक खोल्दै भन्नुभयो, “ यि देखिस यो हो टिभी ।” मलाई त्यो बाकसजस्तो बस्तु नै टिभी हो भन्नेमा दुबिधा रहेन् ।
टिभी काँधमा बोकेर दाई ग्वालीको लिस्नो उक्लिनु भयो । हामी जन्ती झैं पछिपछि लाग्यौ । टिभी कोठामा एउटा सानो खटिया थियो । टिभी त्यसैमाथी राखेपछि त्यसमा निलो च्याप्टो एन्टेनाको तार जोड्नुपर्ने रहेछ अनि ब्याट्रिसँगै फलामको चिम्टा जोडेपछी टिभीको स्क्रिनमा अचानक हजारौं मौरी भुन्भुनाएको देखिन थाल्यो । तस्बिर केही देखिएन् । गोपीदाई ट्युनिङ् मिलाइन थाल्नुभयो । बाहीर नकुलदाई एन्टेनाको दिशा परिबर्तन गर्न बाँस घुमाईरहनु भएको थियो । हामी सबै प्रकियाहरु शुक्ष्मरुपमा अवलोकन गरिरहेका थियौं । अचानक पर्दामा दृश्य चलमलाउन थाल्यो र क्षणभरमै स्थीर भयो । ए… ए… भयो भयो । भित्रबाट कोहि चिच्यायो । बाहिर एन्टेनाको दिशा परिवर्तन गर्ने दाई रोकिनुभयो । अहिले सम्झन्छु त्यो शेर्पा साबुनको विज्ञापन रहेछ जसमा एउटा मान्छे राफ्टिङ बोट लिएर नदिमा हेलिन्छ र पानीको लहरबिच हराउन पुग्दछ । त्यो दृश्य नै पहिलोपटक टिभीमा देखेको दृश्य थियो । मेरो मुखबाट अनायासै आश्चर्य मिश्रित चित्कार निस्किन्छ, “ ला…त्यसलाई त खोलाले बगायो ।” उपस्थित सबैजना गलल्ल हाँसे । म शर्मले गलित भएँ । त्यो त अभिनय मात्र हो भन्ने नै भुसुक्क बिर्सेछु । टिभी हेर्ने उत्तेजनाले बशिभूत पारेछ मेरो चेतनालाई कठै । त्यसपछि टिभी हेर्ने हाम्रो नियमित दैनिकी नै बन्यो । बिशेष गरि राती ८: ३० बजेपछि नेपाल टेलिभिजनबाट कुनै न कुनै टेलीश्रृङ्खला प्रशारण गर्ने हुँदा त्यस समय टिभी हेर्ने अघोषित तालिका नै थियो । कुन बार के प्रशारण हुन्छ भन्ने हामीमात्र नभएर गाउँभरिका प्रायः टिभी प्रेमी मानिसलाई कण्ठस्थ थियो ।
हाम्रो ग्वालीको टिभी प्राय उहि समयमा खुल्थ्यो । तर सो भन्दा अगावै टिभी हेर्ने आकांक्षीहरु हाम्रो चौडा आँगनमा जम्मा भैसक्थे । टिभीमा प्रशारण हुने सामग्री भन्दा पनि टिभी हेर्नुको आनन्दले हुने अनुभव सर्वप्रिय हुन्थ्यो । समाचार होस कि विज्ञापन हाम्रा आँखाहरु काँचको पर्दामा अकण्टक टाँसिरहन खोज्थे । शुरुका केहीदिन माथिको कोठामा गर्मी अत्याधिक हुने तथा दर्शकको संख्या अधिक भएकोले गर्दा बेरा काटेर बनाईएको स्थानबाट टिभी राखेर आँगनभरि बसेर टिभी हेर्ने कार्यक्रम भयो । तर त्यो १४ ईन्चको श्यामश्वेत पर्दामा देखिने मान्छे के चिन्नु ? चिन्नै सकसपूर्ण हुने महशूस गरेपछि माथि कोठामै टिभी हेर्ने बन्दोबस्त भयो । कोठामा हाम्रा काका, बुवा,बडाबाहरुलाई टिभी हेर्न बिशेष व्यवस्था गरिएको थियो ।
एकसाँझ कहिल्यै टिभी हेर्न नआउने गाउँकै बयोवृद्ध धमलाबुढा केटाकेटि माझ घेरिएर टिभी हेर्न हाम्रो घर आईपुगे । वहाँलाई देखेर अचम्मित हुँदै बुवाले सोध्नुभयो, “ हैन बाजे ! आज त तपाईँ पनि आउनुभएछ त टिभी हेर्न ।”
“अँ…, ”उनले अलि लामो भाका हाल्दै बोले,“ बा म सानै हुँदा बिते । बाको अनुहार कस्तो थियो सम्म थाहा भएन । आज टिभीमा बाउको बिहे दिन्छ भनेर केटाकेटीले भने । त्यै भएर बाउको बिहे कस्तो हुँदो रै’छ भनेर हेर्न आ’को नी ।”
हामी हाँस्यौं । साँच्चै उक्त साँझ बाउको बिहे नामक हाँस्यरसमा आधारित टेलिश्रृङ्खला जो प्रशारण हुँदै थियो । बिहानदेखि नै टिभीमा आज के दिदैछ भन्ने चर्चा परिचर्चा चल्थ्यो । शनिबारको दिन अझ विशेष हुन्थ्यो । घाँस काट्नुपर्नेहरु बिहानै घाँस काटेर राख्थे । दिउँसो चराउनु पर्ने बस्तुभाउ बिहानभरि चराएर १२-१ बजेसम्म थलोमा ल्याएर बाँधिन्थ्यो । दिउँसो २ बजेपछी भने नेपाल टेलिभिजनबाट प्रशारण हुने हिन्दी सिनेमा हेर्न सानो कोठाभरि मान्छे खचाखच हुन्थे । कोठामा नअटाएकाहरु भने उभिएरै भएपनि ढोकाबाट हेर्थे । घरमै बसि बसि सिनेमा हेर्न पाउनु सुखूद अनुभूतिको अवर्णनीय आनन्दमा सबैजना डुबेका हुन्थे । सिनेमा हेरिसकेपछी साँझमा सिनेमामा देखाइएका मार्शल आर्टको अभ्यास गर्ने असफल प्रयत्न गर्दथ्यौं हामी ।
टिभी हेर्ने ब्याट्रिको चार्ज लगभग एक महिना चलेपछी सिध्दिन्थ्यो । ब्याट्रि चार्ज भएर आईपुग्न ४ देखी ६ दिनसम्म लाग्थ्यो । त्यतिबेलासम्म बर्दिबासमा बिजुली आईसकेको थिएन । साईकलमा हालेर ढल्केबर लानुपर्थ्यो चार्ज गर्न । ब्याट्रि चार्ज गर्न लैजानेहरुको आकांक्षीहरु बिच प्रतिस्पर्धा चल्थ्यो । तर प्रायः दिपक दाई या ऋषिदाईको नेतृत्वमा ब्याट्रि चार्ज गर्ने टोली ढल्केबर पुग्थ्यो । ब्याट्रि लिन जाने दिन हामी गाउँदेखी अलि माथीसम्म आशाको खुट्किलो टेक्दै स्वागतार्थ जान्थ्यौं । तर कहिलेकाहीं बिजुली नियमित नभएर भनेको दिनमा ब्याट्रि ल्याउन नसिकिने अवस्था सृजना हुन्थ्यो । त्यसबेला भने स्वागतापेक्षी आँखाहरु लोलाउँदै फर्किन्थे र ब्याट्रि ल्याएको दिन भने मनभरि उमंगका रंगिन प्वाँख सिउरिदै फर्किन्थ्यौं ।
२०५२ सालमा रातु खोलाको भिषण बाढी गाउँमा पसेपछि हामी साबिकको गाउँ भन्दा अलि उत्तर दिशामा बसाईं सर्यौं । स्थानान्तरणले उल्झन मात्र थपेन नवीनता पनि प्रचुर मात्रामा बोकेर ल्यायो । एकै लय र सुरमा बस्ती बस्यो । हाम्रो ४ परिवारको एकै आँगन भयो । भब्य र चौडा । चार वटा उस्तै शैली र स्वरुपका घरहरु लहरै र घरदेखि उत्तरतिर ग्वाली र बिचमा फराकिलो आँगन । कुनै मल्लकालीन दरबारको चोक जस्तै । जो कोही त्यहाँ आउने मानिस हाम्रो बस्ती देखेर आश्चर्य र खुसी एकैसाथ हुन्थे । अझ केयर नेपालको अनुदान सहयोगमा गाउँमै पहिलोपल्ट १२ घनमिटरको गोबरग्याँस प्लाण्ट घरदेखी दक्षिण दिशामा चारै दाजुभाईले लहरै जडान गर्यौं । गोबरग्याँस जडान गरेपछि भान्सामा दाउरा र धुँवाको सकस पटाक्षेप भयो । साँझ परेपछि सबै घरको नगोलको अग्रभागमा प्रज्वलित गोबरग्याँसको बत्तिले बस्ती नै झिलिमिलि हुन्थ्यो ।
रात्रीकालीन समयमा बस्ती भन्दा अलि टाढाबाट हेर्दा हाम्रो बस्ती नै धपक्क बलेको र आकाशै उज्यालो देखिन्थ्यो ।
माथिल्लो बस्तीमा हाम्रो घर स्थानान्तरण भएपछि टिभी हेर्ने कोठा काकाको ग्वालीसँगै जोडिएको पालीमा भयो । त्यतिबेला सम्म गाउँका अन्य स्थानमा पनि टिभी आईसकेको हुनाले पहिले जस्तो भिडभाड र भरिभराउ नभएपनि हेर्ने दर्शकको संख्या उल्लेख्य नै हुन्थ्यो । टिभीमा महाभारत प्रसारण भर्खरै शुरु भएको थियो । उक्त दिन टिभी साबिक समयभन्दा अगावै खुल्थ्यो । दर्शनाभिलाषी आँखाहरुको असिम जमघट हुन्थ्यो । कोठामा नअटाएका मान्छेहरु कुँडुलो लागेर ढोकाबाट हेर्थे । त्यसको भोलीपल्ट गाउँभरिका केटाकेटिको आत्मामा अर्जुन चढ्थ्यो र मनमा भीम । बाँसको धनु र तीर बोकि हिंड्नेहरुको लहर चल्थ्यो । बाटो चौबाटोमा महाभारतकालीन युद्धको प्रतिच्छाया स्थानीय शैलीमा देखिन्थ्यो ।
समयले कोल्टे फेर्यो । नयाँ सामाजिक परिवेश र सोचका ढोकाहरु उघ्रिन थाले । प्रत्येक घरमा सोलार प्यानल भित्रिएसँगै त्यसलाई पछ्याउँदै टिभी पनि घर घर पस्न थाल्यो । समयको अबिराम गतीमा आएको परिवर्तन स्वरुप एउटा स्थानमा सबै जम्मा भएर सामुहिक आनन्द लिंदै टिभी हेर्ने परम्परा कालान्तरमा भङ्ग भयो । सामुहिकता बाट समाज व्यक्तिगत सोच तर्फ ढल्किन थाल्यो । घर घरमा टिभी भित्रिएपछि टिभी हेर्न सुगमता र सहजता त थपियो । तर सुगमताले टिभी हेर्नुको आन्नद भने फिका हुन थाल्यो र टिभी हेर्नुसँग जोडिएका सामुहिकताको परम्परा घर घरमा खुम्चिएर बस्न पुग्यो ।
समाप्त
बर्दिबास-१४, महोत्तरी।