शरीरमा लागेको चोटपटक र अनुहारका नीला दागहरूले उसको पीडा ओकल्दै थिए । यद्यपि आज भने ऊ विल्कुलै डराएकी थिइनँ ।
“तिमीले यस्तो उपद्रव ममाथि थोपर्न पाउन्नौँ !” उसले साहस बटुलेर पहिलोपटक कडा स्वरमा भनेकी थिई ।
जवाफमा पतिले झनै ठूलो स्वर चर्काए । उनका धम्कीका शब्दहरूले पुरानै डर जगाउन खोजे। तर यो पटक ऊ स्थिर थिई ।
“अब अति भयो । अब मेरो जिन्दगी म स्वयं चलाउँछु ।” ऊ दृढ शब्दमा बोल्दै उठी ।
उसले कोठाको कुनामा राखिएको सानो झोला उठाई । भित्र केही कपडा र शैक्षिक प्रमाणपत्रहरू राखी ।
“यी चोटका दागहरूलाई म आफ्नो आत्मबलको गवाही बनाउने छु ।” मनमनै सोच्दै प्रहरी चौकीतर्फ पाइला चाल्न थाली ।
अघिल्ला धेरै रातहरू डर, पीडा र लाचारीले ग्रसित भएर बितेका थिए । तर आज उसको हृदयमा नयाँ प्रकाश व्याप्त छ।
प्रहरी चौकी पुगेर उसले आफ्नो सारा कुरा भनेपछि अन्त्यमा थपी; “अब म आफ्ना लागि लड्न तयार छु । यो कथा समाप्त नभएर मेरो स्वतन्त्रताको सुरुवात हो ।”
प्रहरीको रिपोर्टमा पहिलो अक्षर टाइप भइसकेपछि उसले गहिरो सास फेरेर आफूलाई पहिलोपटक स्वतन्त्र महसुस गरी।
“यो मेरो मात्र कथा होइन, धेरै महिलाहरूको मुक्ति यात्राको सुरुवात हुनेछ ।” मनमनै सोच्दै ऊ मुस्कुराई ।
नन्दलाल आचार्य
एनेलकुटी, सिरहा