(सन्दर्भ – महिला हींसा अन्त्य दिवस)

भान्सामा काम गर्दै गर्दा ऐनामा देखिएको निधारको डामले गीताको विगतलाई ताजा बनायो । वर्षौंसम्म सहन गरेको हिंसा र अपमानको तस्बिर झलझली देखियो । यद्यपि साँझको झुल्के घामले गीताको अनुहार उज्यालो पार्दै थियो ।

“हजुर किन सहनुहुन्छ, आमा ?” छोरीको प्रश्नले उनको मन कटक्क काट्यो ।

“किनभने यो मेरो भाग्य हो ।” उनले हप्काउन खोजिन् ।

“भाग्य होइन, आमा । यो हजुरको डर हो ।”

छोरीका तिनै शब्दहरूले उनको मनभित्र लुकेको साहस जाग्यो । केही समयपछि उनले प्रहरी चौकीको ढोका ढकढक्याइन् । महिला अधिकारीसामु आफ्नो कथा खोल्दा उनको मन हलुका भयो ।

दिनहरू संघर्षमा बिते । यद्यपि अदालती फैसला आफ्नो पक्षमा आउँदा पहिलो पटक आफूलाई स्वतन्त्र महसुस गरिन् ।

छोरीले मुस्कुराउँदै भनी, “आमा, हजुरले अपनाएको यस बाटोले धेरैको जीवन बदलिनेछ ।”

गीताले छोरीलाई अँगालो हालिन् ।

“अब म डरको होइन, साहसको कथा बन्नेछु ।” उनले हर्षका आँसु पुछ्दै भनिन् ।

लक्ष्मी रिजाल
कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।

प्रतिक्रिया
Exit mobile version