विश्व नयाँ सहस्राब्दीमा प्रवेश गरिसकेको छ ।
म पनि छिप्पिएको जांडले मातिएको जंड्याहा झैं धर्खराउंदै नयाँ सहस्राब्दीमा प्रवेश गरिसकेको छु । मेरो नाम चेत बहादुर । जात दलित । पेशा ढुंगा फुटाउने ,भारी बोक्ने यस्तै । शिक्षा सात कक्षा पास । पढ्दा पढ्दै घर व्यवहारको जाँतोमा पिसिएर बिचैमा पढाई छोड्न बाध्य भएको एउटा विवश नेपाली । मलाई यो देशले प्रदान गरेको मेरो परिचय , गणतान्त्रिक देशको सार्वभौमसत्ता सम्पन्न पिछडिएको तन्नम नेपाली रैती ।

एक दिन गाउँको चोकमा ठूला मान्छेहरु भेला भएका थिए । अवरुद्ध यात्राका उद्देश्यहिन यात्री जस्तै देखिएका थिए उनीहरु । म पनि उनीहरुको नजिकै थिएँ । मान्छेहरु देख्नलाई साँच्चै ठूला थिएनन् । कोही पुड्का , कोही मझौला भए पनि उनीहरुलाई गाउँका सबैले ठूला मान्छे मान्छन् । अतः म पनि उनीहरुलाई ठूलै मान्छे मान्दै आएको छु ।

यस्ता ठूला मान्छेहरु पहिला पनि हुन्थे र अहिले पनि छन् । यिनीहरुमा अन्तर केही पनि छैन । उनीहरु गाउँका निमुखा, गरीब र असहायहरुलाई परिस्थितिको जालमा पारेर आफ्नो स्वार्थको भकारी भर्दथे । पहिले र अहिले उनीहरुका बिचमा के फरक थियो भने पहिलेका ठूला मान्छेहरुले म जस्ता साना, सोझा सिधा मान्छेहरुलाई नचपाईकन स्वात्तै निल्थे । अहिले भने चपाई चपाई निल्छन् ।

अँ, चपाई चपाई निल्नु प्रजातान्त्रिक तरिका हो भनेर उनीहरु दाबी गर्ने गर्छन् । उनीहरुको बिचारमा नचपाईकन निल्नु बढी खतरापूर्ण काम हो । यसरी उनीहरुको स्वार्थको शासन एकछत्र चलिरहेको थियो ।

त्यसो त गाउँको चोकमा भएको उक्त भेला बारे कसैलाई पत्तो थिएन । उनीहरु केही सिमित ठूला मान्छेहरुको बैठक थियो । उनीहरुले गणतान्त्रिक कार्यविधि अपनाएका थिए । गणतन्त्रमा पनि केही सीमित ठुला मान्छेहरुले थाहा पाए पछि अरु सानातिना मान्छेहरुले थाहा पाइरहनु जरुरी पर्दैन भन्ने मान्यताको घोडामा सवार थिए उनीहरु । मैले चाहीँ उनीहरु नजिकै पुगेर मौनताको पर्खाल भत्काएँ । मैले भेलाको जानकारी लिन अलि सानू किसिमको ठूलो मान्छेको सहायता लिएको थिएँ । म जस्तै चौथो पटकमा सात कक्षा उतिर्ण र उपबुज्रुकको दर्जामा पुग्न पुग्न आँटेको रामेले पनि सोधेको थियो, “अँस्ति के को बैठक थियो हजुर ?”

रामेको अनि मेरो अनुहारमा जिज्ञासाको दियालो बलेको देखेर सानो किसिमको ठूलो मान्छे अलि पछि हटेको थियो तर ठूलो खालको ठूलो मान्छे पछि हटेन । हातमा सन्तुष्टिको छडी नचाउँदै ठूलो मान्छे अट्टहासका साथ हाँस्न थाल्यो । मनको सागरमा उठेको आनन्दको ज्वारभाटालाई शान्त बनाउँदै उसले भन्यो , “ अव फेरि हामीलाई तिमीहरुको आवश्यकता परेको छ । ”

“किन फेरि चुनाव आयो र हजुर ? ” रामेले एक कदम अगाडि बढेर ठूला मान्छे तिर होइन म तिर हेर्दै सोधेको थियो ।

“तेसो होइन रामे , चुनाव सुनाव केही आएको छैन । कुरो साधारण छ । सबै कुरा बिस्तारै भनी हाल्छौं नि ! ” ठूलो मान्छेले आफ्नो पाईन्टमा लागेको धुलो झार्दै भन्यो र फेरि हाँसोको विमान उडाउन थाल्यो ।

ठूलो मान्छे हाँस्न थालेको देखेर म पनि हाँस्न थालेको थिएँ । म हाँसेको देखेर भाव नबुझी रामे पनि हाँस्न थाल्यो । हामीहरुको हाँसोमा आकाश जमिनको फरक थियो । ठूलो मान्छेको बल्ल बल्ल नेतामा बढुवा भएको निष्क्रिय कार्यकर्ताको दम्भयुक्त हाँसो थियो अनि रामेको आफु भन्दा बुज्रुक हाँस्दा उसको आनन्दको लागि हाँसी दिने हजुरियाको जस्तो हाँसो थियो । रामे र मलाई बाध्यताको हुरीले उडाएर यस्तो अवस्थामा ल्याइ पुर्याएको थियो ।

ठूलो मान्छेको हाँसोको बाढी घटी सकेको थियो । उ त्यहाँबाट दलबल सहित गैसकेको थियो । मैले उ पर पुगुन्जेल हेरें । किन किन मैले यतिखेर ठूलो मान्छेको सानु व्यक्तित्व देखिरहेको थिएँ ।

अघिल्लो दिनको ठूला मान्छेहरुको बैठकको कुरा गाउँका सबैले बुझे । नबुझे पनि जवरजस्ती बुझाइए । बाटोमा ढुंगा, गिट्टी ,बालुवा थुपारेर बाटो जिर्णोद्वार गर्नु थियो । त्यसो त बाटो ठिकै थियो । बाटोको कुनै खराबी, सिकायत थिएन । गाउँभरिका सबै घरधुरीलाई कडा उर्दी जारी भएको थियो । सबै मिलेर श्रमदान गर्नु थियो । प्रत्येक घरबाट एक एक जना मानिस अनिवार्य रुपमा उपस्थित हुनु पर्ने नियम ठूला मान्छेहरुले बनाएका थिए ।

गाउँका साना मान्छेहरु बस्ने पल्लो टोलमा बाटो पुगेको थिएन । पिउने पानीको समस्या समाधान भएको थिएन अर्थात् साना मानिस बस्ने टोलमा केही थिएन । अनि ठूला मान्छेको टोलमा सबै कुरा थियो । पानीका धारा थिए । बाटो थियो । स्कुल थियो अर्थात् ठूला मान्छे बस्ने टोलमा सबै कुरा थियो । कहिलेकाहीँ ठूला मान्छेहरु ठट्टाको कुर्सीमा बसेर भन्ने गर्थे , “ विकासले विकास तान्छ । विकास भएकै ठाउँमा गर्नु पर्छ विकास । विकास नै नभएको ठाउँमा किन चाहियो विकास ? ”

ठूला मान्छेहरुको बिचारमा साना मान्छेहरु बस्ने टोलमा विकास जरुरी थिएन । केन्द्रबाट आउने विकास बजेट ठूला मान्छेहरुको लागि मात्रै हो भन्ने भ्रमको महलमा उनीहरु हुर्कंदै आएका थिए । उनीहरुको कुरा सुनी सके पछि एउटा उपबुज्रुक करायो । उसले आक्रोशको तरवार चलाउँदै भन्यो , “ बाटो त ठिकै छ । के गर्नु पर्यो फेरि ? कति दिन दिनु श्रमदान पनि ? फेरि एउटा टोलमा सधैं हामीले नै खटिनु पर्ने ? आफ्नो गाउँमा खट्न पाए पनि एउटा कुरा !”

अब भने मलाई पनि अलिअलि बल मिलेको थियो । पीडाको भारी विसाउंदै मैले पनि भनें , “हामी जस्ता सम्पति नभएका गरिब जनताले सधैंभरि श्रमदान गरेर के खाने , के लाउने ? आफ्ना लालावालालाई के खुवाउने ? यहीँ हो गणतन्त्र भनेको ?”

त्यतिखेर म यस्तो जोडले बोलेंछु कि उनीहरुले त मलाई गरिब दुखीको नेतै पो सम्झेछन् । उनीहरुको मनको तलाउमा त्रासको लहर उर्लन थालेको थियो । हैकमको पर्खाल ढल्ने भयले उनीहरु आक्रान्त थिए । त्यसैले उनीहरु भित्र भित्रै विभिन्न षड्यन्त्रका जाल बुन्न थालेका थिए । पछि उनीहरुले मलाई बोलाउन दुई जना लठैतहरु पठाएका थिए तर म उनीहरुले बोलाएको ठाउँमा गइन । त्यसको भोलिपल्ट देखि उनीहरुले मलाई धम्कीको लौराले प्रहार गर्न थालेका थिए ।

उनीहरुले रामेलाई पनि प्रलोभनको डोरीले बाँधेर आफ्नु समूहमा प्रवेश गराइसकेका थिए । रामले स्वार्थको डोको बोकेर मेरो साथ छोडेपछि म नितान्त एक्लो भएँ । अरु साना मान्छेहरुलाई सम्झाउनु सामान्य कुरा थिएन । उनीहरु मृत चेतनाको ओछ्यानमा मस्त निदाइ रहेका थिए । उनीहरुलाई सम्झाउनु भन्दा त पहाड फोडेर समतल बनाउनु सजिलो थियो । त्यसैले त यस गाउँमा सदियौं देखि ठूला मान्छेहरुले एकछत्र शासन गर्दै आएका थिए ।

मलाई अब ठूला मान्छेहरुले पटक पटक धम्क्याउन थालेका थिए । उनीहरुको समर्थनमा उभिएर दासताको झन्डा उचालेदेखि गाउँमा बस्न दिने उनीहरुले मलाई पठाएको धम्कीको संदेश थियो । दलालीको पंखा हम्कन्दै रामे ठूला मान्छेहरुको पछि लागेपछि उनीहरुको लागि बाँकी खतरा म मात्रै थिएँ ।

देश गणतन्त्रमय भएको निकै वर्ष भैसके पनि म जस्ताले अमनचैन पाउनु आकाशको फल जस्तै भैरहेको थियो । अझसम्म म जस्ता साना मान्छेहरु उनै ठूला मान्छेहरुको पैताला मुनि थियौं । जुनसुकै सरकार आए पनि उनीहरुको धन्दामा कुनै छेकवार थिएन । जुनसुकै पार्टी सत्तामा पुगे पनि गाउँमा खासै फरक थिएन । म जस्ताको जीवन पद्दति एकै थियो । म जस्ता मान्छेहरु बकाइदा सार्बभौमसत्ता सम्पन्न भएका छौं तर हाम्रा मौलिक हकहरु उनै ठूला मान्छेहरुको दया मायामा निहित छन् ।

त्यसो त चुनाव अघि केन्द्रका ठूला मान्छेहरु कुशल र सुनौला योजना लिएर गाउँघर सम्म आई पुग्थे । विकासको फल सर्वप्रथम निम्न वर्गका जनतालाई खुवाउने कुरा गर्थे । बडा शिष्ट ,नम्र भएर भोट माग्थे । बेरोजगारी र गरिबी हटाएर समुन्नत समाज निर्माण गरी देश बिकाश गर्छौं भनेर कसम खान्थे अनि एकपटक हामीलाई सत्तामा पुर्याएर हेर्नोस् भन्थे । अनि सबै जनतालाई आश्वासनको चेक बाँडेर ठूला मान्छेहरु चुनाव जिती राजधानी फर्कन्थे तर चुनाव पछि फेरि गाउँ जस्ताको तेस्तै रहन्थ्यो ।

अन्तत ठूला मान्छेहरुको गाउँको बाटो जिर्णोद्वार भयो । साना मान्छेहरु ज्यान माया मारेर श्रमदान गरी भोकको तापले बाफिएर घरतिर फर्के । अनि उहीँ अभावको गाँस निलेर निद्राको अंगालोमा गुटमुटिएर उन्नत समाजको सपना देख्न थाले ।

पछि त ठूला मान्छेहरुले बाटो निर्माण गर्न पाँच सय जना कामदार लागेको कागज बनाए । भरपाई कागज अनुसार श्रमिकहरुले दैनिक सात सय रुपैंयाका दरले ज्याला पाए । बिचरा गाउँलेहरुले आफुले दिनको सात सय ज्याला पाएको थाहै पाएनन् । कागजी व्यवहार थियो । भरपाईमा सहिछाप ठूला मान्छेहरुले नै गरिदिएका थिए । गाउँ पालिकाको यस वर्षको विकास बजेट पनि बाँकी रहेन ।

उनीहरु अर्को आर्थिक वर्षको बजेट खर्च तथा योजना तर्जुमा गर्न फेरि जुटिसकेका थिए । म भने आफु सार्वभौमसत्ता सम्पन्न भएको र गणतन्त्रको घाम लागेकोमा खुशीले गद्गद् भएको थिएँ । अनि मेरो गाउँमा रहेको अन्यायको झार उखेल्नका लागि गाउँलेहरुलाई उत्साहित बनाउंदै थिएँ ।

मैले गाउँलेहरुलाई जगाउन जागृतिको शंख जति बजाए पनि उनीहरु अझै ब्युंझी सकेका छैनन् । तैपनि मैले हार खाइसकेको छैन ।

एकदिन पक्कै साना मान्छेको झुपडीमा पनि खुसीको दियालो बल्नेछ । त्यो दिन अब धेरै टाढा छैन ।

लीलाराज दाहाल
बागमती ११ , कर्मैया , सर्लाही, नेपाल

प्रतिक्रिया
Exit mobile version