रवि एक ९ वर्षको बालक थियो । ऊ प्रकृतिलाई निकै माया गर्थ्यो। ऊ घरको आँगनमा पिपलको रुखमुनि बसेर किताब पढ्ने, चरा हेर्ने र नयाँ कुरा सिक्न मन पराउँथ्यो। तर पछिल्लो समय मोबाइल गेमले उसको समय खाइरहेको थियो। अब ऊ सधैंजसो फोनको स्क्रिनमा रमाउने भइसकेको थियो।

~~~०००~~~

एक दिन आमाले रविलाई सम्झाइन्, “रवि, मोबाइल गेम मात्र खेलिरहँदा तिमीले आफ्नो दिमागलाई ठग्दैछौ। तिमी प्रकृतिमा जान रुचाउँथ्यौ। तिमीले त्यो छोड्न हुन्न। आऊ, म तिमीलाई एउटा कथा सुनाउँछु।”

“के कथा?” रविले कौतुहलताका साथ सोध्यो।

“तिमीले कहिल्यै बुद्धिमान मयूरको कथा सुनेका छौ?”

“मयूर? बुद्धिमान? त्यो त रोचक लाग्यो! सुनाउनुहोस् न, आमा।”

आमा मुस्कुराउँदै सुरु गर्नुभयो —

जंगलको छेउमा एउटा सुन्दर मयूर बस्थ्यो। उसलाई नृत्य गर्न, साथीहरूसँग खेल्न र जंगलमा रमाउन मन पर्थ्यो। तर त्यस जंगलमा एउटा ठुलो समस्या आयो। मानिसहरू आएर ठूला-ठूला यन्त्रहरूसहित जंगलका रुख काट्न थाले। चरा र जनावर डराउन थाले।

तर मयूर भने डराएन। उसले सबै जनावरलाई भेला गर्यो र भन्यो, “हामीलाई हाम्रो जंगल बचाउनुपर्छ। तर यसको लागि योजना चाहिन्छ।”

सबै चरा र जनावर उसको बुद्धिमत्ता देखेर चकित भए। मयूरले भन्यो, “हामीले मानिसहरूलाई देखाउनुपर्छ कि यो जंगल बिना उनीहरूको जीवन पनि अधुरो हुन्छ।”

त्यसपछि मयूरले जनावर र चराहरूसँग मिलेर यस्तो गरे —

बाँदरले मानिसका सामान चोरेर रुखको टुप्पोमा राखिदिए।

चराहरूले गाउँभरि जंगलमा भएको हरियाली र जीवनका बारे गीत गाउन थाले।

हरिण र खरायोहरू मानिसका नहर वरपर नाच्न थाले।

मानिसहरूले यो सबै देखेपछि महसुस गरे कि उनीहरूले प्रकृतिलाई नाश गर्दैछन्। उनीहरूले तत्काल रुख काट्न बन्द गरे र जंगललाई यथावत राख्ने निर्णय गरे।

~~~०००~~~

कथा सुनेपछि रविले सोच्यो, “म पनि त मोबाइलले गर्दा मेरो संसार छुटाइरहेको छु। म यो खेलमा हराउँदा साथीहरू र परिवारसँग रमाउने मौका गुमाउँदैछु।”

त्यस दिन रविले मोबाइल थन्कायो। ऊ बगैँचामा गयो र त्यहाँको सुन्दरतामा हरायो। उसले चरा र प्रकृतिसँग खेल्न थाल्यो। बेलुका साथीहरूसँग भलिबल खेल्न गयो।

~~~०००~~~

त्यस दिनदेखि रविले मोबाइललाई सीमित बनायो। ऊ पुस्तक पढ्न, साथीहरूसँग खेल्न र नयाँ कुरा सिक्न ध्यान दिन थाल्यो।

“हामी पनि मयूरजस्तै बुद्धिमान बन्नुपर्छ। प्रविधिको प्रयोग गर्नुपर्छ, तर यसले प्रकृति र सम्बन्धलाई नाश गर्न दिनुहुन्न,” रवि सबैलाई भन्न थाल्यो।

रवि मात्र नभई उसका साथीहरू पनि उसैबाट प्रेरित भए। रविले साथीहरूलाई भन्न थाल्यो– “प्रकृतिलाई बचाउँदा मात्र जीवन सन्तुलित हुन्छ। हामीले प्रविधि प्रयोग गर्ने तरिकामा समेत सन्तुलन ल्याउनुपर्छ।”

– नन्दलाल आचार्य
बेलका- २, सिद्धार्थटोल, उदयपुर

प्रतिक्रिया
Exit mobile version