( शार्दूलविक्रीडित )
इच्छा यो मनमा गरूँ मुलुकको सन्धान खोजूँ भनी
चारैतर्फ विशाल भाव भरिँदो सौन्दर्य पोखूँ भनी ।
मेरो देश हिमालको छ पगरी संसारको आबरु
जेजे होस् तर यो विशाल मनले नेपाल हेरी मरूँ।।
१
नेपाली घरभित्रका मनहरू हाँसेर बाँचून् सदा
कोही छैन कुपात्र मानमनितो हाम्रो चलोस् सर्वदा।
चम्केका नभका नक्षत्र सरि भै आकाश ढाकी रहूँ
मेरो जीवन अन्धकारसरि होस् नेपाल हेरी मरूँ।।
२
वर्षाका ऋतुझैँ झरूँ रिमिझिमी पानी बनी झर्झर
धर्तीका उरमा नयाँ तृणहरू उम्री बढून् सुन्दर
नौलो सिर्जनशील होस् रहरमा धर्ती सिंगारूँ अरू
छातीमा अतिबिघ्न शूल धसियोस् नेपाल हेरी मरूँ
३
आफ्नो देश समस्त विश्वभरमा भुल्नै नसक्ने बनूँ
माटोको अभिमानले जगतमा नेपालमात्रै भजूँ।
नेपालीपन झल्किने शमनको आचार आफ्नै गरूँ
धर्ती पट्ट फुटोस् तथापि दिलले नेपाल हेरी मरूँ।।
४
पाखा पर्वत टाकुरा प्रकृतिका सौन्दर्यका साख हुन्
नेपालीजन पुष्प हुन् विविधका उद्यानमा फुल्दछन्
अप्ठ्यारा जति छन् सबै सहजले हुङ्कार गर्दै तरूँ
बोली बन्द भए हवस् तर म ता नेपाल हेरी मरूँ ।।
५
प्यारा ती इतिहासका घटहरू नेपालका चिन्ह हुन्
सग्लो देश बनेर धड्कन सधैँ हाँसेर धड्किन्छ झन्
यस्ताअन्तरकाल बाँच्न सकिने संस्कार साँच्ने गरूँ
धर्तीकै छ पवित्र देश युगको नेपाल हेरी मरूँ।।
६
– कुमार दाहाल ‘कुसुम’
बागमती- ५, सर्लाही