उहिले उहिले मान्छेलाई दु:खकष्ट आइपर्दा नजिकका देवीदेवताको भाकल गरेर समस्याको समाधान भएकोमा आत्मसन्तोष अनुभूत गर्थे । हाम्रो गाउँतिर धेरैले थानीमाई ,मनकामना र छाब्दीबाराहीको भाकल गरेका हुन्थे । अनि, त्यसको केही समयपछि भाकल पूरा गर्न पूजापाठ गर्न पनि जान्थे ।
तनहुँँको वसन्तपुरको थानीमाईको मन्दिरमा बलि दिने चलन थिएन । त्यहाँ त हरेक मङ्गलबार बाजागाजासहित फूलको डोली लिएर जाने प्रचलन छ । त्यसको अघिल्लो रात घरमा पूजा लगाउने गरिन्छ । त्यस्तै ,गोरखाको मनकामना र तनहुँँको छाब्दीबाराहीमा भने बलि दिने प्रचलन रहेको छ ।
म तीन कक्षामा पढ्दा अर्थात् विसं २०३५ सालमा दु:ख पर्दा हाम्री आमाले छाब्दीबाराही माईको भाकल गर्नुभएको रहेछ । अनि, एकदिन शनिबार पारेर माइलादाइ (शिवदाइ) र पाठो लिएर छाब्दी जाने भयौं । घरमा पाठाबोका धेरै नै थिए । अँधियामा पालेको सेतीबाख्रीको पाठा र पाठी जोडी थिए । त्यसको पाठो चाँहि लिएर जाने निधो भयो । बाख्राधनी सिरानघरे भाउजुले पनि सहमति जनाउनु भएको थियो ।
त्यो बेला परिवार संख्या थोरै र जग्गाजमीन धेरै भएका मानिसहरूले अरूलाई अँधियामा वा पाँचखण्डी (धनिलाई ३ भाग र खेतीवालाई २ भाग ) मा खेतीपाती गर्न दिने प्रचलन थियो । त्यस्तै, महिलाहरूले पेवामा पाएको पशुपन्छी अरूलाई अँधियामा पाल्न दिने चलन पनि थियो । दिइएको बस्तुभाउ पूरा उसैको हुने र त्यसबाट हुने उत्पादनमा मात्र आधा हक लाग्ने चलन थियो ।
त्यतिबेला खेतीबाली उत्पादन गर्न र पशुपन्छी हुर्काउन गरिने लगानी भने श्रम मात्र थियो र श्रमको मूल्य पैसामा तुलना गरिदैनथ्यो । अहिले भने हरेक काम पैसामा गरिने भएकोले लागत मूल्यभन्दा उत्पादन मूल्य कम हुने भएकोले जग्गाजमीन बाँझै राख्ने र गोरु पाल्दा लाग्ने खर्चभन्दा ट्र्याक्टरले जोत्दा कम खर्च हुने भएकोले गोरु पाल्न पनि छाडेका छन् ।
अँ ,हामी शनिबारको दिन शिवदाइ र म सिरानघरको जेठाबासँग झिसमिसेमै उठेर गरमखोलाको बाटो उकालो लाग्यौं । एक घण्टा उकालो हिंडेपछि शन्सरीबराहको थानमा पुग्यौं । त्यसपछि मैबलकोटको ठाडो उकालो चढेर छिर्कनेभञ्ज्याङ झर्यौं । त्यसपछि एकघण्टा जङ्गलको बाटो र आधाघण्टा खेतको बाटो हिंडेर हामी १० बजेतिर छाब्दीबाराही मन्दिरामा पुग्यौं ।
खोलाको खोचमा आकर्षक मन्दिर रहेछ । मन्दिरसँगै सानो कुण्डमा वाममाछाका भुराहरू घुमिरहेका थिए । ठूला वाममाछाहरू भने कूरमा लुकेर बस्थे । पूजारीले बलिa काटेर कुण्डमा फालेपछि रगत चुस्न माछाहरू कूरबाट निस्केर धुरिन्थे । परेवाका बच्चाहरू भने सुलुत्तै निल्ने गरेको देखियो । यो अचम्मको दृश्य मैले धेरैबेर हेरिरहें ।
मन्दिरको भित्तामा छाब्दीबाराहीको बारेमा जानकारीमूलक शिलापत्र टाँसिएको रहेछ ।
~~०००~~
छाब्दीबाराहीको मन्दिर तनहुँ जिल्लाको दमौलीबाट ५ किलोमिटरको दक्षिणपूर्वी दुरीमा रहेको छ। यो मन्दिरमा कुखुरा, हाँस, परेवा एवं राँगाको बलि दिइने गरिन्छ। ढोरबाराही मन्दिर र छाब्दीबाराही मन्दिर भन्ने नाम मगर भाषाबाट आएको हो। हजारौं वर्ष पहिलेदेखि यी दुवै देवीको पूजाअर्चना मगरहरूबाट गरिंदै आएको हो।
यो मन्दिरलाई सत्यवती देवीका नामबाट पनि स्थानीय बासिन्दाहरू तथा यस मन्दिरप्रति आस्था राख्ने मानिसहरूले परिभाषित गर्ने गर्दछन्। महाभारतका रचयिता महर्षी वेदव्यासकी आमा मत्स्यगन्धा अर्थात् सत्यवतीको जन्म माछाको पेटबाट भएको र उनै सत्यवतीले सपनामा स्थानीय एक मगरलाई उक्त स्थानमा मन्दिर बनाई माछाको पूजाआजा गर्नू भनी सन्देश दिएकी हुँदा हालसम्म उनै मगर पूजारीका सन्तान दरसन्तानहरू पूजारी रहदै आएका छन् ।
“बाराही” को अर्थ नै मगर भाषामा देवी भन्ने हुन्छ। मगरहरुको धर्म संस्कृति अलग्गै किसिमको छ। यी दुई बाराहीहरु भने हिन्दु देवीहरू होइनन् भनिए पनि हिन्दूहरूले समेत पुज्दै आएका छन् । छाब्दीबाराही र ढोरबाराहीको दैवी शक्ति प्रचुर मात्रामा भएकोले धेरै सम्प्रदायका मानिसहरूले पनि यी बाराहीहरूको पूजाअर्चना गर्दछन्।
यहाँ पूर्णिमा, पञ्चमी, अष्टमी,नयाँ वर्ष तथा शनिबारका दिनहरूमा पूजाआजा र विशेष मेला लाग्ने गर्दछ । साथै औँसी, एकादशी र साउन महिनाभरी मन्दिर बन्द रहन्छ। उक्त समयमा देवी गुफा बस्न जाने मान्यता रहेको पाइन्छ। यो मन्दिर माछाको पूजा गरिने नेपालको एक मात्र मन्दिर हो। यस मन्दिरको कुण्डमा सुनको टीका लगाएको माछा छ भन्ने पनि एक प्रकारको जनबिश्वास रहिआएको छ ।
छाब्दीबाराही मन्दिर घाम नलाग्ने गहिरो खोचमा रहेको छ । त्यहाँ परापूर्वकालदेखि नै वाम माछाहरू रहेको बताइन्छ । तिनै वाम माछाहरूलाई देवीको प्रतीक मानी पूजा गरिदै आएको हो । पोखरीमा रहेका माछाहरूको फोटो खिच्ने गर्दा फ्लासलाइट आँखामा परी माछाहरू अन्धा हुन पुगेकोले बिस्तारै लोप हुन पुगेका र पुन: माछा ल्याएर राखिएको स्थानीय बासिन्दाहरू बताउँछन् ।
~~~०००~~~
पूजाआजा सकेर हामी खाना पकाउने तयारीमा लाग्यौ । छाब्दीखोलाको किनार हुँदै केही माथितिर पुगेर खोलाकिनारको चौरमा हामीले खाना पकाएर खायौं । जेठाबा स्वयंपाकी हुनुभएकोले उहाँले बाटाभरी केही पनि खानुभएको थिएन । उहाँले धोतीपाटा फेरेर चोखिन हालेर भात र मासु पकाउनु भयो । अनि , मासुभात खान पाएकोले म असाध्यै खुशी भएँ । तर , थाल पखाल्ने बेलामा थाल खोलाले बगायो । म आत्तिएर खोलामा पसें र छोपें पनि । यो देखेर दाइ र जेठाबा हाँस्नुभयो ।
केहीबेर खेतको बाटो हिंडेपछि डाँडाडाँडै जङ्गलको बाटो हिंडेर २ घण्टामा छिर्कने भञ्ज्याङ पुगिन्थ्यो । त्योबेला दमौलीबाट छाब्दी जाने मोटरबाटो खुलिस्केको थिएन ।
डाँडा उक्लनुअघि हामीले खोलाखोलाई निउरो टिप्दै गयौँ । तर सामलतुमल र बोकाको मासु झोलामा भएकोले गरुङ्गो होला भनेर हामीले निउरो धेरै टिपेनौं । अनि जङ्गलको बाटो हुँदै छिर्कनेभञ्ज्याङ नजिकै आएपछि एउटा घरमा बिश्राम गर्यौँ । त्यो घरका धनी त हाम्रै तेह्रदिने दाजुभाइ र एउटै कुलदेवता मान्ने जिजुबाजे दाजुभाइ भएका न्यौपाने नै रहेछन् । तर आँगनभरि कुखुरा देख्दा हामिलाई आश्चर्य लागेको थियो । बाहुन भएर पनि कुखुरा पाल्नु उचित नभए पनि छोरानातिले अण्डा र भाले बेचेर पढाइ खर्च जुटाउनको लागि यसो गरेका रहेछन् ।
छिर्कनेभञ्ज्याङमा झरेपछि शिवदाइले सोध्नुभयो -‘ बसमा जाने कि बा ? ‘
‘यहाँबाट हिंडेर जानु र डुम्रेबाट हिंडेर जानु बराबर हो । बेकारमा किन बसभाडा खर्च गर्नु र ?’ जेठाबाले जबाफ फर्काउनु भयो । अनि हामी हिंडेर नै जाने भयौं ।
छिर्कनेबाट मैबलकोटसम्म उकालो र मैबलबाट आमडाँडा(सेपाबगैंचा)सम्म ओरालो हिंड्नुपर्दा म थकित भैसकेको थिएँ । पीच सडक र थरिथरिका गाडी देख्न पाए पनि गाडी चढ्ने अवसर नपाएकोमा खिन्न थिएँ ।
जेठाबाको घरमा आएपछि बोकाको मासु दुइभाग लगाइयो । अनि, आधा भाग लिएर झम्केसाँझमा घर आइपुगियो । तर मासु र भात नपाक्दै म त भुसुक्कै निदाएछु । दाइदिदीले उठाएपछि ब्युझेर मासुभात खाएँ र क्षणभरमै भुसुक्कै निदाएँ ।
– नवराज न्यौपाने ‘मौन’
मातातीर्थ, बालागाउँ काठमाडौं।