आज गाउँमा कसैको बिहे होला कि ?
बज्यो, बज्यो ढोलकी बज्यो ढोलकी

नरसिङ्गाको पुहुँपुहुँ सनहीको प्याँई
सुनेपछि झ्यालीको धुन झ्याइँझ्याइँ
आज दुलही रानीको मन रोला कि ?
बज्यो, बज्यो ढोलकी बज्यो ढोलकी

पुटुङ-पुटुङ ट्याम्काको आवाज सुनियो
दमाहाले सातो लग्यो कान थुनियो
ननाचेर स्यान्दिदी किन टोलाकी ?
बज्यो, बज्यो ढोलकी बज्यो ढोलकी

घरबेटी र जन्ती भई सँगै नाचौँला
पञ्चे बाजा तालमा कम्मर भाँचौँला
यसो भन्दै उषाले साथी बोलाकी
बज्यो, बज्यो ढोलकी बज्यो ढोलकी ।

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

प्रतिक्रिया
Exit mobile version