खुट्टा लर्बराउँदै घरमा छिरेको लोग्नेलाई देखेर स्वास्नीले आक्रोश पोखी, “हैन, कति खान सकेको हो, यो झोल पनि ? लबस्तरोले दिउँसै धोकेर पो मरेछ । छि ! कसैले देखे भने नि के भन्लान् ?”
उसले ठाडै जवाफ दियो, ” हैन , खाएँ त आफ्नै बाउको खाएँ। तलाई के को टाउको दुख्यो हँ ?”
सम्झाउने लवजमा ऊ बोली , “घरमा जवान छोरी बिहेको लायक भाकी छे । उसको मनोविज्ञानमा कस्तो असर पर्ला ? अलिकति पनि सोच्नु पर्दैन ?”
ऊ दलानमै डङ्ग्रङ्ग लडेर बर्बरायो , “घरमा आयो कि जहिले कचकच मात्रै गर्छे । आउन नि मनै लाग्दैन । के गर्नु ?”
“तिम्रो चालामाला देखेर छोरी बाहिर निस्किन पनि मान्न छाडिसकी। बाहिर निस्कियो कि जँड्याहाको छोरी भन्छन् रे ! घरको इज्जत कहाँ पुगिसक्यो ? खान, लाउन पनि मैले नै हाड घोट्नु पर्ने भयो । हरे ! मेरो भाग्य !” ऊ गनगनाउन थाली ।
ऊ जुरूक्क उठ्यो र ठूलो स्वर गर्यो, “नाथे, त्यसै ठूली भएकी छे । खान, लाउन पाकै छस् क्यारे ! तिमीहरुलाई सबै चिज पुर्याएकै छु । त्यसै जान्ने हुँदि रहिछे बडा !”
उसले उदास स्वरमा भनी, “कोही माग्न आए भने पनि तपाईंको यो लतले छोरीको विवाहमा वाधा पुऱ्याउँछ कि भनेर अत्यास लागेको छ । आफ्नो जिम्मेवारी त बुझ्नु पर्यो नि !”
ऊ जङ्गियो, “अरुका स्वास्नीले लोग्नेलाई कति माया गर्छन् । तँ एउटी चाहिँ मलाई देख्यो कि बिग्रिएको रेडियो झै जतिखेर पनि क्यारक्यार क्यारक्यार गर्न जान्या छेस् । होइन ?”
राम काका कराउँदै प्रवेश गरे , “हैन, बाहिरै बसेर जोईपोइ के को गन्थन हो ? छोरीलाई केटोको कुरो लिएर म आएको, बिहे गर्ने हो नि ? के छ, बिचार ?”
उसले आत्तिदै सोधी , “काका, केटाको रक्सी पिउने लत त छैन नि ? अलि राम्रोसँग बुझ्नु है !”
– भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर