(स्रोतकथा)
लघुकथा: इच्छा

“मलाई बजारसम्म लगिदिनु !”
उसले बहिनीलाई सहयोग मागी।

“तपाईं किन जानु पर्ने भयो?”
अनुले अलि झर्केर सोधी।

“जाडो सुरु भयो, तातो कपडा किन्ने मन छ ।”
दिदीले आफ्नो कुरा राखिन्।

“खर्च दिनुस्, म ल्याइदिन्छु”
अनुले नजिकै गएर भनिन्।

“तैंले ल्याइदिएको कस्तो पो हुने हो!”
दिदीले नम्र हुँदै उत्तर दिइन्।

“बाहिर घुम्न जान सक्ने भए पो, घरमा बस्दा जस्तो लगाए पनि भैगो!”
अनुले कठोर स्वरमा भनिन्।

यो सुनेपछि दिदीको आँसु रोकिएन। आँखा रसाउँदै भनी,
“खुट्टा मात्रै कमजोर भएको हो, इच्छा त मेरा पनि छन् नि!”

✍️प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना, सुर्खेत

~~~०००~~~

(उत्तरकथा)
लघुकथा: सम्मान

दिदीको आँखाबाट चुहिएका आँसुहरू अनुलाई गहिरोसँग छुनेछ भन्ने सोचिनन्। उनको कठोर बोली र व्यवहारको पछाडि सायद अलिकति हतास र थकान थियो। तर त्यो दिन दिदीको ती सरल शब्दहरूले अनुलाई एक क्षणमै रोकिदिए, सोच्न बाध्य बनाए।

त्यस रात अनुलाई निन्द्रा लागेन। दिदीको भिजेका आँखा बारम्बार उसको आँखा अगाडि आइरहे। “खुट्टा मात्रै कमजोर भएको हो, इच्छा त मेरा पनि छन् नि।” यी शब्दले उसको मनभित्र एउटा गहिरो घाउ जस्तै बनायो।

भोलिपल्ट बिहान अनु दिदीको कोठामा छिरिन्। दिदी अलि चिसो स्वरमा भनिन्,
“के चाहियो फेरि?”

अनुले केही नबोली दिदीको हात समाइन्।
“दिदी, बजार जान तयार हुनुहोस्। आज म तपाईंसँगै जान्छु।”

दिदीले अचम्मित हुँदै अनुको अनुहार हेरिन ।
“तिमी मजाक गर्दैछ्यौ?”

“होइन, दिदी। साँचो हो। तपाईंको इच्छाहरू बुझ्न मलाई ढिलो भएछ। तपाईंका इच्छाहरू पनि मेरा जस्तै महत्त्वपूर्ण छन्। हिजोको लागि मलाई माफ गर्नुहोस्।”

दिदीको आँखा फेरि रसाए, तर यसपटक खुसीका आँसु थिए।

त्यो दिन बजार जाँदा अनुले केवल दिदीलाई तातो कपडा मात्रै किनिदिइन । एउटा नयाँ ह्विलचेयर पनि लिएर आइन्।
“अब तपाईं जहाँ जान मन लाग्छ, म तपाईंलाई लैजाउँछु। तपाईंका इच्छाहरू पूरा गर्नु मेरो जिम्मेवारी हो।”

दिदीले मुस्कुराउँदै भनिन्,
“मलाई त केवल सम्मान चाहिएको थियो, अनु। आज मैले त्यो पाएको छु।”

✍️लक्ष्मी रिजाल
रुपनगर, सप्तरी

प्रतिक्रिया
Exit mobile version