टङ्… टङ्… !
मोबाइलमा आएको नोटिफिकेसनले मेरो ध्यान भङ्ग हुन्छ । स्टारबक्समा बसेर कफी पिँइरहेको म हत्तपत्त कफीको कप टेबलमा राखेर मोबाइलमा मेसेज चेक गर्न पुग्छु ।
“हलो सिजन, हाउ आर यू ?” एडमको मेसेज रहेछ । म खुसीले उत्तेजित हुँदै रिप्लाई गर्छु— “हलो एडम, आइ एम भेरी फाइन्, थ्याङ्क्स ।”
“हाउ एवाउट यू ?” – उताबाट तुरुन्त रिप्लाई आउँछ । “आई एम ग्रेट थ्याङ्क्स । सिजन बाई द वे, आई ह्याव अ गुड न्यूज फर यू, द्याट आई एम प्लानिङ टु कम ब्याक टोकियो नेक्स्ट मन्थ ।”
एडमको मेसेजले आश्चर्यचकित हुँदै रिप्लाई गर्छु— “रियल्ली एडम, ह्वाट अ सरप्राइज ? आई एम लुकिङ फरवार्ड टु सि यू सून ।”
उताबाट फेरि एडमको मेसेज आउँछ— “सि यू ।”
“ओके सिजन, बाई, होप टू सि यू सून टेक कियर ।”
मैले पनि— “ओके बाई, टेक कियर यु टु ।” भनेर मेसेज सेन्ड गरेँ ।
म अचम्म पर्छु, एडम किन आउन लागेको होला टोकियो । अमेरिका सिफ्ट भएको एक वर्ष त भयो । कफी उठाउँदै सुरूप्प सुरुप्प पिउन थाल्छु । कफीको चुस्कीसँगै अतीतको सागरमा पौडिन पुग्छु ।
~~~०००~~~
कामको पहिलो दिन म अलि चाँडै टोकियो स्थित होटल हिल्टन पुगेको थिएँ । धेरै प्रयासपछि यो होटलमा काम पाएको थिएँ । टोकियोको एक प्रख्यात फाइभस्टार होटल थियो, होटल हिल्टन ।
होटलको लकर रुममा ड्रेस चेन्जका लागि गएको थिएँ । त्यत्तिकैमा एउटा गोरो अग्लो अमेरिकन केटासँग भेट भयो । ऊ पनि ड्रेस चेन्ज गर्दै थियो, सायद । मैले “गुड मर्निङ” भनेँ, उसले पनि मुस्कुराउँदै “गुड मर्निङ” भन्यो । र त्यति भनेर ऊ “बाई” भन्दै सरासर आफ्नो काममा गयो ।
पहिलो दिन अलि मनमा डर र सङ्कोचले घेरा हालेको थियो । काम कस्तो होला ? वर्करहरू के कस्ता होलान ? विदेशको ठाउँ । यी यावत कुराले मलाई पिरोलिरहेको थियो । तर काम राम्रै भेट्टाएको थिएँ । होटलको डाइनिङ हलमा रहेको बफे (बकेट) मा खाना रिप्लेस गर्ने साथै पाहुनाहरूको स्वागत सत्कार गर्ने ।
सुरुसुरुमा अलि कठिन नै भए पनि पछि अभ्यस्त हुँदै गएँ । पाहुनाहरूलाई विभिन्न प्रकारको खानाको बारेमा विवरण दिनुपर्थ्यो । यसरी विभिन्न थरीका पाहुनाहरूसँग बोल्ने मौका पनि पाउँथ्यो । जे होस्, काम प्रतिको मेरो लगाव बढ्दै गएको थियो । प्रख्यात होटल भएर विभिन्न देशका धेरै नै भी.आई.पी.हरूको आगमन हुन्थ्यो । म सबैसँग खुलेर बोल्थेँ । बिस्तारै काममा पोख्त हुँदै गएँ ।
कामको बीचमा एक घण्टाको लन्चब्रेक हुन्थ्यो । त्यो बेलामा मोबाइलको मेसेज हेर्न लकर रुममा जान्थेँ, किनकि काममा मोबाइल बोक्नु पनि बर्जित थियो । नियम कडा थियो टोकियोको होटलमा ।
एकदिन लकर रुममा मोबाइलको मेसेज चेक गर्दै थिएँ । गुड मर्निङ भन्ने आवाजले मेरो ध्यान मोडियो । म तर्फ मुस्कुराउँदै हेरिरहेका थिए । नजिकै उहीँ पहिलो दिन भेटेको अमेरिकन केटा पो रहेछ । मैले पनि मुस्कुराउँदै गुड मर्निङ भन्दै हात मिलाउन हात अगाडि बढाएँ । हामीले एकआपसमा परिचय गऱ्यौँ । उसको नाम एडम रहेछ । सनफ्रान्सिस्कोबाट आएको रहेछ । यो होटलमा काम गरेको पाँच वर्ष भएको रहेछ । उसले मेरो नाम सोध्यो, मैले मेरो नाम भन्दै म नेपालबाट आएको हुँ भनेँ ।
मैले पनि उसलाई सोधेँ— “तिमीलाई नेपालको बारेमा थाहा छ एडम ?” उसले उत्सुकता देखाउँदै भन्यो— “मलाई नेपाल एकदम मन पर्छ । एकचोटि अवश्य जाने छु त्यो सुन्दर हिमालयको देश ।”
म खुसीले गद्गद् हुँदै भनेँ— “तिमीलाई स्वागत छ नेपालमा ।”
उसले फेरि भन्यो— “यो होटलमा लगभग सबै देशका स्टाफहरू छन्, तर नेपालबाट आएको तिमी पहिलो हो ।” म आश्चर्यचकित भएँ । यसरी हाम्रो मित्रताको सुरुवात भएको थियो ।
प्रायः काममा जाँदा हाम्रो लकर रुममा भेटघाट हुने गथ्र्यो । उसको र मेरो कार्यस्थल बेग्लाबेग्लै थियो तर लकर रुम सँगसँगै थियो । त्यो होटलमा करिब तीन सय स्टाफ तथा चारओटा त रेस्टुरेन्ट मात्र थियो । जे होस्, कुराकानी गर्ने मेरो एउटा साथी बनेको थियो, एडम ।
एकदिन उसले मलाई भन्यो— “सिजन, मैले नेपाली रेस्टुरेन्टको बारेमा हिजो राती टी.भी.मा एउटा प्रोग्राम हेरेको थिएँ । नेपाली खाना खान जान मन लाग्यो । तिमी पनि जान्छौ ?” अचम्म पर्दै मैले सोधेँ— “कहाँ एडम ? टोकियो मै हो ?”
उसले भन्यो— “म बस्ने ठाउँ नजिकै शिनओकुबु भन्ने ठाउँ हो ।” त्यस ठाउँका बारेमा त मलाई थाहा थियो तर गएको चाहिँ थिइनँ ।
मैले भनेँ— “आउँदो शनिबार मेरो डे अफ (बिदा) छ, सँगै जाउँला । उसले स्वीकृतिवस टाउको हल्लाउँदै ओके डन भन्यो ।
मलाई टोकियोको नेपाली रेस्टुरेन्टको बारेमा त्यति जानकारी थिएन । तर.. ऊ त यहाँ बाह्र वर्षदेखि बसिरहेको थियो । उसलाई सबै कुराको जानकारी थियो । जापानिज भाषामा पनि पोख्त थियो । नम्र बोली, सबैसँग घुलमिल हुने स्वभाव सहयोगी भावना । म साँच्चै नै उसको व्यवहारले आकर्षित भएको थिएँ । मनमनै सोचेँ– एउटा राम्रो साथी पाएँ, जोसँग खुलेर कुरा गर्न सक्छु, सँगै रेस्टुरेन्टमा जान सक्छु । नत्र यता साथीभाइको निकै अभाव हुँदो रहेछ ।
जापानीजहरू त्यति खुल्दैनन् विदेशीहरूसँग । त्यसैले साथी बन्न निकै गाह्रो, उहीँ नोमीहोदाई (सँगै पिउने) भन्दै बियर पिउन गइन्छ, पिइन्छ, खाइन्छ, हाँसिन्छ, रमाइन्छ, सकिएपछि आआफ्नो तिऱ्यो, हिँड्यो । त्यसपछि मऱ्यो बाँच्यो मतलब भएन ।
भोलिदेखि उही रुटिङ लाइफ । आयो काम गऱ्यो गयो । केवल कामसँग सम्बन्ध छ । उनीहरूलाई सम्बन्ध मित्रता भन्नेसँग सरोकार नै छैन । आकर्षण त केवल नयाँ नयाँ परिकार खानु, नयाँ नयाँ ठाउँमा डुल्नु अनि काम र पैसासँग मतलब छ । आफ्ना कुरा कसैलाई पनि पोख्दैनन् तर अरूको कुरामा चाहिँ एकदम जान्न उत्सुक हुन्छन् । अनि पछाडि कुरा गर्ने बानी । हामी नेपालीको झैँ कसैको नकारात्मक कुरामा चाहिँ खुबै चियोचर्चा गर्ने बानी रहेछ भन्ने कुराको जानकारी भयो मलाई, श्रीमती जापानिज भएको र केही जापानिज साथीहरूको सङ्गतले । हो, जापानिजहरू साह्रै इमानदार हुन्छन् । त्यस्तै कामप्रतिको लगनशीलता, धेरै नबोल्ने शान्त प्रकृतिको तर नकारात्मक प्रवृत्ति (पक्ष) पनि प्रबल नै रहेछ । कसैसँग घुलमिल हुन नचाहने मित्रता, प्रेम, सम्बन्ध भन्ने कुराका ज्ञान नभएको रोबोट जस्तो लाग्न थालेका थिए । तर एडम एकदमै भिन्न प्रकृतिको मिलनसार सहयोगी भावनाले ओतप्रोत भएको एउटा आत्मीय साथी थियो ।
एकदिन हामी दुवै शिनओकुबुस्थित सोलमारी भन्ने नेपाली रेस्टुरेन्ट गएका थियौँ, भनौँ मलाई एडमले लगेका थिए । त्यहाँको वातावरणले मलाई नेपाल नै पुगेको भान भएको थियो । गेटमै बुद्धको शान्त प्रकृतिको मूर्तिले मलाई खुब आर्कषित गरेको थियो । नेपाली परिवेश पाएको थिएँ मैले । धेरै समयको अन्तरालपछि, मन त्यसै त्यसै फुरुङ्ग भएको थियो । हामीले पहिले मोः मोः अर्डर गऱ्यौँ । एडमलाई मोःमोः निकै मन पर्दो रहेछ । जापानमा पाउने ग्यौजा जस्तै भन्दै थियो । तर ग्यौजाभन्दा मोःमोः निकै मीठो स्वादिलो हुन्छ रे भन्दै थियो । सायद पहिले कतै खाएको होला भन्ने मैले अनुमान गरेँ ।
त्यसपछि नेपाली खाना अर्डर गऱ्यौँ । दाल, भात, तरकारी, अचारको साथै कुखुराको मासु सजाएर खण्डे थालमा ल्यायो । एडम दङ्ग पर्दै स्टिलको खण्डे थालमा सजाएको नेपाली परिकार हेर्न थाल्यो । मैले नेपाली खाना खाने तरिका सिकाएँ । ऊ निकै मीठो मानेर खाइरहेको थियो ।
मैले सोधेँ– एडम, नेपाली बियर पनि पिउने हो ?”
उसले छक्क पर्दै भन्यो— “नेपाली बियर पनि पाउँछ र ?”
मैले एभरेस्ट बियर दुई बोतल अर्डर गरेँ । हामी दुवैले खाम्पाई भन्दै
पियौँ । (जापानी भाषामा चियर्सलाई खाम्पाई भनिन्छ ।)
ऊ भन्दै थियो— “नेपाली बियर त गजबको स्ट्रङ रहेछ, जापानी
बियरभन्दा । मैले जिस्कँदै भनेँ— “यो संसारको सबैभन्दा उच्च हिमशिखर माउन्ट एभरेस्टमा बनेको बियर हो नि । मेरो साथी फुजी जस्तो होचो माउन्टेनमा बनेको हो र ?”
ऊ मज्जाले हाँस्यो, मेरो ठट्टा सुनेर । म पनि हाँस्दै एडमसँग एभरेस्ट बियर पिउँदै गएँ । एडम भन्दै थियो– केही दिनअगाडि मात्र जापानको फुजि टी.भी.मा यस रेस्टुरेन्टको बारेमा प्रोग्राम हेरेकोले आउन मन लागेको रे । उसले पनि नेपाली खाना दाल, भात, तरकारी पहिलोपल्ट चाखेको नत्र मोः मोः मात्रै नेपाली खाना होला भन्ठानेको रे भन्दै थियो । मलाई खुब हाँसो उठ्यो । यस पटक म मजाले हाँसेँ । भनेँ— “नेपाली खाना मीठो लाग्यो हैन त ?” एडम खुसीले प्रफुल्ल हुँदै भन्यो– एक दम मीठो छ, तर अलि पिरो लाग्यो ।” सायद युरोपियन, अमेरिकनलाई हामी नेपाली जस्तो पिरो खाने बानी नभएर होला भन्ने लाग्यो ।
यो रेस्टुरेन्ट ऊ बसेको ठाउँ सिने ओकुबु भन्ने ठाउँमा रहेछ । यो ठाउँमा प्रायः विदेशीहरू बस्दा रहेछन्, कोरियन, चाइनिज, फिलिपिनो, नेपाली इत्यादि । यो ठाउँ नेपालीको अड्डा जस्तो भइसकेको रहेछ । धेरै नेपाली रेस्टुरेन्टहरू पनि खुलेको रहेछ । जे होस्, धेरै रमाइलो भएको थियो त्यो दिन । हामी नेपाली खानाका साथै नेपाली बियरको स्वादमा पनि रमाएका थियौँ । यसरी हाम्रो मित्रता सुमधुर हुँदै गइरहेको थियो ।
म एडमको बारेमा धेरै कुरा जान्न उत्सुक थिएँ । एउटा मन मिल्ने अमेरिकन साथी पाएर म दङ्ग थिएँ । जापानमा सेप्टेम्बर अक्टोबरतिर फायर वर्क हुन्छ, जसलाई जापानीजमा हानावी नामले मनाउँछन् । यो एउटा चाडजस्तै हुन्छ, जापानिजहरूका लागि । विभिन्न थरीका झिलिमिली पटकाहरू उडाउँछन् आकाशमा । हाम्रो देशमा तिहारमा पटका पड्काएजस्तै, तर यहाँ त टोलटोलमै सरकारी तवरले गर्छ । मान्छेहरूको ओइरो लाग्छ । जापानिज युवायुवतीहरू यौखाता (जापानिज ड्रेस) मा सजिएर खुब रमाइलो गर्छन् । बाटाभरि पसल राखिएका हुन्छन्, स्ट्रिट फेस्टिबल जस्तै गरेर । विभिन्न किसिमका परिकार तथा पटका बेच्ने गर्दछन् । करिब एक घण्टा जति आकाशमा विभिन्न किसिमका पटका, रकेटहरू पट्काएर आकाश नै झलमल्ल पार्छन् । यसरी आकाशको झलमल हेरेर एक घण्टा मजा लिन्छन् ।
एकदिन एडमलाई मैले हानाबीको दिनमा घरमा निमन्त्रणा गरेँ । ऊ खुब खुसी भयो, किनकि मेरो बसेको ठाउँको बरन्डाबाट फायर वर्क मजाले हेर्न सकिन्छ । बाहिर हुलमुलमा जानै पर्दैन । मेरी श्रीमती पनि त्यस दिन प्रायः आफ्ना जापानीज साथीहरूलाई घरमा बोलाउने गर्थिन् । हानाबी (फायर वर्क) को दिन करिब पाँच बजेतिर एडम घरमा आएको थियो । मैले मेरी श्रीमती आइकालाई परिचय गराइदिएँ । एडमको नम्र स्वभाव देखेर आइका खुबै प्रभावित भएकी थिइन् । मेरो चार वर्षका छोरो पनि ऊसँग खुबै हेलमेल भएको थियो । एडमको शालीन व्यवहारले मेरो परिवारको मन जितेको थियो । मैले नेपाली परिकार बनाएको थिएँ, साथै मेरी श्रीमतीले जापानी परिकार सुसी र टेम्पुरा । एडमका साथै अरू जापानिज साथीहरूले पनि नेपाली परिकार खुबै स्वाद मानीमानी खाएका थिए । खानापछि बरन्डाबाट करिब सात बजे हानाबी (फायर वर्क) को झिलिमिलीमा हराएका थियौँ । साह्रै रमाइलो भएको थियो त्यस दिन ।
एकदिन कुरैकुरामा मेरी श्रीमती भन्दै थिइन्– एडम त गजबको ह्यान्डसम रहेछ ।” मैले पनि जिस्कँदै भनेँ— “म जतिको त हैन होला ?” “तिमीभन्दा धेरै टल एन्ड ह्यान्डसम छ । तिमीभन्दा पहिले उसँग भेट भएको भए त उसैसँग बिहे गर्थें ।” मलाई जिस्काउँदै भनिन् ।
मैले बनावटी रिस पोख्दै भनेँ— “अहिले गरे पनि केही छैन । यी जापानिज केटीहरूलाई त खैरो कपाल र नीलो आँखा देख्नै नहुने, हगि ?” तिनले पनि झर्किंदै भनिन्— “गर्नुहुन्थ्यो नि, तर उसको त गर्लफ्रेन्ड होला नि ? यस्ता ह्यान्डसम अमेरिकन केटोको त गर्लफेन्ड नहुने कुरै छैन ।” विश्वस्त भइन् ।
साँच्चै जापानिजहरूलाई पनि अमेरिकाको आर्कषणले खुबै लोभ्याएको छ । हामी नेपालीलाई जस्तै । हामी पनि त सपनाको देश भन्छौँ, जान मरिहत्ते गर्छौं । तर यिनीहरूलाई त जानुभन्दा पनि खैरो कपाल, नीलो आँखाको जादुले मोहित पारेको छ ।
हाम्रो भेट प्रायः हुने गर्दथ्यो । म उसको बारेमा जान्न चाहन्थेँ । तर ऊ आफ्नो बारेमा केही कुरा गर्नै खोज्दैनथ्यो । त्यसैले मैले अर्काको निजी कुरा कोट्याउन चाहिनँ, तर पनि एकदिन त सोधिहालेँ— “एडम, तिम्रो गर्लफ्रेन्ड जापानिज हो ?” ऊ एकछिन त अक्कमक्क पऱ्यो मेरो अनपेक्षित प्रश्न सुनेर । तर पनि हाँस्दै भन्यो— “तिमी गेस गर्न सक्छौँ ।” त्यसपछि मैले सोध्ने जमर्को गर्न सकिनँ । मनमनै सोचेँ– पक्कै पनि जापानिज नै हुनुपर्दछ । प्रायःजसो अमेरिकन, युरोपियनले जापानिज नै बिहे गरेको देखेको छु यहाँ । उसले भन्न नचाहेको हुनुपर्छ । कहाँबाट यी युरोपियन, अमेरिकनहरू हामीजस्ता खुल्ला दिलका हुन्छन् र ? हामी पो मन मिल्ने साथी पाएमा आफ्ना मन, मुटु खोलेर देखाउँछौँ । मैले आफ्नै मनलाई सान्तवना दिने प्रयास गरेँ ।
एकदिन कुरैकुरामा एडमले सोध्यो— “सिजन, तिमीलाई योगा कतिको मन पर्छ ? म त अर्को विकेन्डमा योगा क्लास जाने विचार गरेको छु । यहीँ टोकियोमा छ, निर्मल योगा । तिमी पनि जान्छौँ ?” मैले तुरुन्तै जवाफ दिएँ— “मलाई योगामा खुब इन्ट्रेस छ एडम । तर मलाई त थाहा भएन, टोकियोमा पनि योगा क्लास छ र ?” प्रश्नवाचक दृष्टि एडमतिर फैलाएँ । अझ मैले त विपश्यना योगाको दस दिने कोर्श पनि गरेको छु । एडमले खुसी हुँदै भन्यो –“त्यसो भए अर्को हप्ता जाने है ?” ऊ पहिला पनि गइसकेको रहेछ भन्ने लाग्यो मलाई । हामी सँगसँगै कतिचोटि टोकियोको बारहरू चहारिसकेका थियौँ । हाम्रो मित्रता दिनप्रतिदिन गाढा हुँदै गइरहेको थियो ।
~~~०००~~~
मोबाइलको रिगटोनले मेरो तन्द्रा भङ्ग हुन्छ । म फेरि वर्तमानमा आउँछु । मोबाइल हेर्छु । मेरो श्रीमती आइकाको रहेछ । मोबाइल उठाउँदै हेलो भन्छु । उताबाट आवाज आउँछ— “मोसी मोसी दोको इत्तानो (हलो कहाँ गएको ?)” जापानिजहरू फोनमा ‘हलो’ को सट्टा ‘मोसी मोसी’ भन्छन् । म फेरि भन्छु— “कोही नोन्देरु यो (कफी पिउँदै छु)” ।
“हिरू गोहान ताबेनाइनो ?” (लन्च खाँदैनौ ?) –तिनी सोध्छिन् ।
“ताबेरु ताबेरु” (खाने खाने) — म हडबडाउँदै जवाफ दिन्छु ।
“हयाकु खाइते कित्ते, बातासिमो सिगोतो इकुकारा” (छिटो फर्केर आऊ, मलाई काममा जानु छ) झर्किंदै भनिन्
“वाकात्ता मो सुगु खाएरु (बुझे, छिट्टै फर्कन्छु) भन्दै मोबाइल डिक्स कनेक्ट गरेँ ।
हत्तपत्त कफी सकाएर स्टारवक्स कफीसपबाट बाहिर निस्केर घरतर्फ छिटोछिटो पाइला सारेँ । लन्च तयार पारेर मलाई पर्खेर बसेकी रहिछन् आइका, मीठो स्पागेटी बनाएकी थिइन् । छोरोसँगै सबै जनाले लन्च गऱ्यौँ । मैले श्रीमतीलाई फुर्काउँदै भनेँ— “होन्तो नि ओइसिखात्ताने, आरिगातो ।” (साँच्चै मीठो लाग्यो धन्यवाद) । तिनी दोमो (स्वागत छ) भन्दै मसक्क मस्किन् ।
मैले एडमको कुरा भन्न सुरु गरेँ । “सितेरु मादा, एडम निहोन नि कुरु इन्ता ।” (थाहा छ ? एडम फेरि जापान आउने रे) ।
“नान दे, मादा कुरु ?” (फेरि किन आउने ?) तिनी झर्किइन् ।
“नान दे का सिरानाई ।” (थाहा छैन) मैले भनेँ ।
“ताबुन, आनाता नि, आई ताई इन् ज्यानाई ।” (सायद तिमीलाई भेट्न मन लागेर हो कि ?) – तिनले हाँस्दै भनिन् ।
“बोकु जना कुत्ते आनाता नि आइताई इत्ता यो ।” (म होइन तिमीलाई भेट्न मन लाग्यो रे भन्दै थियो ।) – मैले जिस्काउने सुरले भनेँ ।
“आइता कुनाई आनो ओखासी हितो दा यो ।” (भेट्न मन छैन त्यस्तो अचम्मको मानिससँग) । – भन्दै बाहिर निस्किन् अनि “ज्याने” भन्दै हात हल्लाइन् । ज्याने भनेको बाहिर निस्कँदा प्रयोग गर्ने शब्द हो । मैले पनि “इतरासायी” भन्दै हात हल्लाउँदै बाई भनेँ । ‘इतरासायी’ भन्नाले कोही बाहिर जान लागेको छ भने ‘राम्रोसँग जानुहोस्’ भने जस्तै हो जापानी भाषामा ।
श्रीमती गएतर्फ हेर्दै मनमनै गुनेँ— “हैन यी आइमाईहरूको जात किन यति डाढे प्रवृत्तिको हुन्छ होला ?”
~~~०००~~~
आज मेरो बिदाको दिन भएर यसो बिहान हावा खान निस्केको थिएँ । कोही साथी थिएन । एक्लै कफी पिउँदै विदेसिनुको मजा लिँदै थिएँ । यहाँ यस्तै छ, श्रीमती कामबाट लखतरान भएर फर्किन्छे, म काममा जान्छु । म कामबाट थाकेर फर्कन्छु, तिनी जान्छिन् । सँगै बसेर खाना खान नपाएको पनि तीन चार दिन भइसकेको थियो । आज बल्ल लन्च खाने साइत जुरेको थियो परिवारसँग । के गर्नु र आफूले चाहेर मात्र नहुने रहेछ । काम नै यस्तै हो, बाँच्नै पऱ्यो । पैसा कमाउन आएको कमाउनै पऱ्यो । हेर्दा जति खुसी देखिन्छ, त्यति नै दुःखी छ विदेशिएको जिन्दगी । के गर्नु र देशमा राम्रो भएको भए को आउँथ्यो र विदेशमा गधाजस्तो जोतिनलाई । खै यो गणतन्त्र पनि घाँडो भए जस्तो छ जनतालाई । हुन पनि किन नहुनु र गणतन्त्रको नाममा लुट मच्चाएका छन्, नेताहरूले अनि कसरी चित्त बुझाउन् त जनताले पनि । जुन जोगी आए पनि कानै चिरेको झैं, झन् झन् बिग्रेर गएको छ ।
“पापा जितेन्स्या इका नाइनो ?” (पापा साइकल चढ्ने हैन ?) – छोराको यो आवाजले मेरो सोचाइमा ब्रेक लाग्छ । हतारिँदै भन्छु— “इको इको ।” (जाऊँ जाऊँ) छोरालाई साइकल सिकाउन छोरासँगै बाहिर निस्कन्छु ।
छोरालाई साइकिलिङ गराएर घरमा आएँ । रातीको खाना पकाएर छोरासँगै आफूले पनि खाएँ । श्रीमतीका लागि फ्रिजमा राखिदिएँ । काम सकाएर आधा रातमा आउँछे । आज नाइट सिफ्ट परेकोले फर्किन अलि ढिला हुन्छ ।
छोरो टी.भी.को कार्टुनमा हराउन पुग्छ । मलाई भने मनमा निकै खुल्दुली लागिरहेको छ, एडमको बिहानको म्यासेज सम्झेर । के भएछ एडमलाई बिहे त गऱ्यो होला कि ? एक्लै आउने हो या दुवै आउने हो, जापानको माया लागेर हो वा घुम्न अथवा साथीभाइलाई भेट्न आउन लागेको हो कि ?
फ्रिजबाट बियर निकालेँ र गिलासमा खन्याएर पिउन लागेँ । एक्लै पिउँदापिउँदै एडमसँग बिताएका पलहरू एकपछि अर्को गर्दै आँखाअगाडि तरङ्गित हुँदै आइपुगे ।
~~~०००~~~
एकदिन टोकियोको एउटा प्रसिद्ध बारमा बियर पिउँदापिउँदै एडमले एक्कासि भन्यो– सिजन, म तिमीलाई एउटा कुरा भन्न चाहन्छु … … “तर … …वाक्य बीचमै रोकेको थियो ।
“तर के ? भनन, किन कुनै समस्या पऱ्यो ?” मैले केही सहयोग गर्नुपऱ्यो भने भन है, हामी नेपालीहरू साथीभाइलाई सहयोग गर्न सधैँ तम्तयार हुन्छौँ ।” मैले पनि बियरको चुस्की लिँदै भनेँ ।
ऊ अलि अप्ठ्यारो मान्दै थियो । अलि हिच्किचाउँदै भन्यो— “म तिमीलाई पहिले नै यो कुरा भन्न चाहन्थेँ, तर आँट नै आएन ।”
“कुरा के हो ?”—मैले उत्सुक र आश्चर्य मिश्रित भावमा भने”
“मेरो ब्वाइफ्रेन्ड छ अस्ट्रेलियामा, हामी एकअर्कालाई एकदमै माया गछौँ । टोकियोको एउटा डान्स प्रोग्राममा भेट भएको थियो ।” — उसले भन्यो ।
म छक्क पर्दै उसलाई हेर्न थालेँ । उसले भनेको कुरामा विश्वास गर्न गाह्रो भइरहेको थियो । ऊ अगाडी भन्दै थियो— “म गे हुँ सिजन । यदि तिमीलाई मसँगको मित्रतामा अप्ठ्यारो महसुस हुन्छ भने मित्रता तोड्न सक्छौ । म तिमीलाई पहिलेदेखि नै भन्न चाहिरहेको थिएँ, तर भन्न सकिरहेको थिइनँ ।” उसले एकै श्वासमा भनी सिध्यायो ।
म आश्चर्यचकित भएँ । उसका कुरा सुनिरहेँ, सुनिरहेँ ।
मनमनै सोचेँ— “कसरी एडम गे हुन सक्छ ?” ऊ कुनै पनि एङ्गलबाट गेजस्तो देखिँदैन थियो किनभने गे भन्नाले केटीको जस्तो व्यवहार गर्ने केटाहरू । अनि रातीराती काठमाडौँको ठमेल सञ्चयकोष क्षेत्र छेउछाउतिर जम्मा हुने केटीको पहिचान र शृङ्गारमा देहव्यापारका लागि ग्राहकको खोजीमा देखिने समलिङ्गीहरूको जमात होला कि भन्ने लाग्दथ्यो । एडमको कुराले मेरो भ्रमको पर्दा च्यातियो । यहाँ एउटा सबल पुरुष जो कुनै पनि कुरामा कमी छैन, केटीहरू उसको एक इसारामा पछि लाग्न सक्छन्, त्यस्तो पुरुषले ‘म गे हुँ, मलाई केटीहरूप्रतिको आकर्षण छैन, म एक पुरुषलाई प्रेम गर्छु र छिट्टै बिहे गर्न पनि तयार छु’ भनिरहेको छ । फेरि मनमनै उत्तर खोजेँ— “सायद यो प्रकृतिको खेल हो । प्रकृतिले नै यस्तो बनाइदिएको होला, ऊ आफूले चाहेर बनेको होइन, प्रकृतिको अगाडि कसको के लाग्छ र ?”
तर प्रकृतिले त एउटा पुरुष, एउटा महिला बनाई दुई थरीको बनाइदिएको छ । जसको संसर्गले सृष्टिको निरन्तरता चलिरहोस् । कसरी भयो होला यस्तो पुरुष पुरुषमा पनि प्रेम संसर्ग, यसले त सृष्टिको निरन्तरता दिँदैन, कसरी प्राकृतिक भनौँ ? – म रनभुल्लमा परेँ ।
तर ऊ त मेरो साथी हो, गे भन्दैमा साथी बनाउन नहुने हो र ? मनले बलियो आधार खोज्यो अनि सुस्तरी भनेँ— “तिमी मेरो असल साथी हो, मलाई तिम्रो सेक्सुवालिटीसँग कुनै सरोकार छैन । तिमी गे हुनु र नहुनुमा मलाई केही फरक पर्दैन । त्यो तिम्रो प्रकृतिको कुरा हो अनि तिम्रो स्वतन्त्रताको पनि ।” यति भन्दै मैले उसको गिलासमा बियर राखिदिएँ ।
एडमले लामो निःश्वास छोड्दै भन्यो— “धन्यवाद सिजन, तिमीजस्तो साथी पाउन पनि मेरो भाग्य नै हो । साँच्चै नै नेपालीहरू खुल्ला विचारधाराको हुँदा रहेछन् जापानिजहरूभन्दा, अति मिलनसार पनि, तर यो कुरा मेरो होटलको कसैलाई पनि थाहा छैन र थाहा नहोस् भन्ने आशा राख्छु । मलाई कसैको घृणाको पात्र बन्नु छैन । यहाँ अमेरिकाको जस्तो खुल्ला संसार छैन । एकअर्काको चियोचर्चा गर्ने बानी छ । मैले जे गर्दै छु ठिक गर्दै छु । म जे छु त्यसमा खुसी छु । तिमीलाई थाहा छ सिजन, म गे हुँ भन्ने थाहा हुने बित्तिकै मसँग घृणा गरेर नबोल्ने साथीहरू धेरै देखेको छु । गे हुनु कुनै नराम्रो कुरा होइन । मैले कसैलाई दुःख दिएको छैन । मैले मेरो परिवारलाई सधैँ सपोर्ट गरेँ, तर मेरो दाजुले धेरै दुःख दियो ।”
मैले उत्साहित हुँदै भने— “मलाई तिम्रो परिवारका बारेमा बताउन सक्छौँ एडम ?”
ऊ भन्दै गयो— “सनफ्रान्सिस्कोमा एउटा मिडिल क्लास परिवारमा जन्मेको हुँ । मभन्दा दुई वर्ष जेठो दाजु डेभिड थियो । ड्रग्सको लतले तीन वर्षअगाडि उसको मृत्यु भयो । उसको विधवा श्रीमती र दुई बच्चाहरूलाई मेरो ममले हेरचाह गर्नुहुन्छ । म पनि सके जति सहायता गर्छु । डेभिडले धेरै दुःख दिएको छ ममलाई, हामीहरू स-सानो हुँदाको बेलामा मेरो ड्याडले अर्कै केटी विवाह गरेर छुट्टै बस्नुभयो । हामीलाई ममले धेरै दुःख गरेर हुर्काउनुभयो, तर डेभिड पनि ड्याड जस्तै भएर निस्कियो । उसले बिहे गरेर बच्चा जन्माए पनि आफ्नो परिवारलाई कहिल्यै हेरचाह गरेन । त्यसमाथि ड्रक्सको लतले ज्यानै गुमायो । तर म ममलाई खुसी दिन चाहन्छु । मेरो ड्याड र दाजुले धेरै दुःख दिए ।”
मैले कुरा कोट्याउँदै सोधेँ— “अनि तिम्रो ममलाई थाहा छ तिमी गे भन्ने कुरा ?”
उसले हाँस्दै भन्यो— “अमेरिकामा कुनै पनि वर्गलाई अधिकार पनि छ र स्वतन्त्रता पनि, गे, लेस्वियन सबैको आ-आफ्नै अधिकार छ । त्यहाँ यहाँ जस्तो घृणाको नजरले हेरिँदैन । मेरो मम पनि साह्रै खुसी हुनुहुन्छ, मलाई जति नै एलेक्सलाई पनि माया गर्नुहुन्छ । भन्दै हुनुहुन्थ्यो– एलेक्स पनि उहाँकै छोरा हो ।”
आश्चर्यचकित हुँदै उसलाई हेर्दै भनेँ— “साँच्चै तिमी भाग्यमानी छौँ एडम । हाम्रो देशमा त अझै गे लेस्वियनलाई हेर्ने दृष्टिकोण धेरै फरक छ । हाम्रो समाज त्यति खुल्न सकेको छैन । पुरुष पुरुषको विवाह त असम्भव नै छ । त्यसै कारण समाजमा यो पक्ष लुकेर बसेको छ । अनि नचाहँदा नचाहँदै पनि समाजका लागि, परिवारका लागि भनेर बिहे गराइदिन्छन् र दुवैको जीवन तहसनहस हुन्छ । हामी अझ प्रकृतिलाई आत्मसात् गर्न सकिरहेका छैनौँ । अप्राकृतिक भनी समाजमा घृणा फैलिरहेको छ ।”
मेरो कुरा सुनेर गम्भीर हुँदै एडमले भन्यो— “बिस्तारै बुझ्छन् । जब चेतनाको स्तर बढ्छ समाजमा अनि मान्छेको विकृत धारणाहरू बदलिँदै जाने छ । गे, लेस्वियन हुनु कुनै विकृति हैन, यो प्राकृतिक कुरा हो, वस समाजमा लुकेर बसेको एउटा सत्य हो भन्ने कुरा जब समाजले बुझ्ने छ, तब घृणाको पर्खाल ढल्ने छ ।”
मैले स्वीकृतिमा मुन्टो हल्लाउँदै फेरि सोधेँ— “एडम, मलाई एलेक्सको बारेमा केही बताऊ न, कस्तो रहेछ ऊ, तिम्रो जीवनसाथी हेर्ने उत्सुकता जाग्यो ।”
ऊ हाँस्दै हत्तपत्त मोबाइल झिकेर फोटो खोज्न थाल्यो ।
एकै छिनपछि मलाई मोबाइलको फोटो देखाउँदै भन्यो— “यी यिनै हुन् मेरो एलेक्स, न्यू एयर पार्टीमा सनफ्रान्सिस्को मेरो घरमा खिचेको । ऊ अस्ट्रेलियाबाट आएको थियो मसँग न्यू एयर मनाउन ।”
एउटा चिटिक्क परेको केटोको फोटो देखाउँदै भन्यो ।
मैले फोटो हेर्दै हाँसेर भनेँ— “जोडी त गज्जब मिलेको रहेछ ।” त्यसपछि ऊ पनि खित्का छोड्दै हाँस्यो ।
एडम भन्दै गयो— “ऊ एउटा अस्ट्रेलियन बैले डान्सर हो । म ऊसँग प्रेम गर्छु । ऊ पनि मलाई निकै माया गर्छ । हाम्रो अफेयर चलेको पनि दुई वर्ष भैसक्यो । ऊ मेरो लागि भनेर धेरैचोटि जापान पनि आइसक्यो । अब हामी दुई जना अमेरिका सिफ्ट हुने निर्णय गरेका छौँ । उहीँ बिहे पनि गर्ने । हाम्रो निर्णयले मेरो मम एकदमै उत्साहित हुनुभएको छ । अबको दुई महिनापछि म अमेरिका सिफ्ट हुँदै छु, जापानलाई सदाका लागि छोडेर ।”
मलाई कस्तो कस्तो लाग्यो, बल्ल बल्ल एउटा मिल्ने साथी बनाएको ऊ पनि अब छोडेर जाने भयो । मनमा निराशा छायो । अनि आफूलाई समाल्दै भनेँ— “अनि होटलको काम छ त तिम्रो एडम ?”
उसले उत्साहित हुँदै भन्यो— “अब अर्को महिनासम्म मात्र हो सिजन, त्यसपछि सकिन्छ । मैले छोडेर जाने सूचना दिइसकें। अब अमेरिकामै गएर काम खोज्नु पर्ला।”
“तर एडम, तिमीलाई त जापान मनपर्छ, हैन र? फेरि यहाँ बसेको पनि त धेरै भैसक्यो। कसरी चटक्कै छाडेर जान सक्छौँ?”
मेरो कुरा सुनेर एडम अलि गम्भीर भयो र भन्यो – “हो सिजन मन त पर्छ तर यहाँको समाज तिम्रो नेपालको जस्तै छ । खुल्ला छैन, हामी यहाँ निसास्सिन्छौं। फेरि एलेक्सलाई खासै जापान मन पनि पर्दैन । उसलाई अमेरिका बस्ने मन छ रे ।
“बल्ल कुरा बुझें मैले । एलेक्सका लागि एडमले जापान छोड्ने निर्णय गरेकाे रहेछ । गज्जब लाग्यो मलाई एडमको प्रेम देखेर । जो जापानको प्रशंसा गरेर नथाक्ने मान्छे, जापान जस्तो बस्न लायकको सुन्दर देश अमेरिका पनि होइन भन्ने व्यक्ति एलेक्सको प्रेममा डुबेर जापान छोड्ने निर्णय लिन्छ। प्रेम त आखिर प्रेम नै हो नि, जहाँ त्याग समर्पणको भाव हुन्छ। चाहे त्यो स्त्री – पुरूषको प्रेममा होस्, चाहे त्यो पुरूष – पुरूषको प्रेममा होस् आफ्नो रङ्ग त देखाइहाल्छ नि!
म नतमस्तक भई एडमको प्रेम प्रतिको समर्पणलाई नमन गरें ।
~~~०००~~~
हा…..हा…..हा….. छोराको अट्टहास सुनेर मेरो तन्द्रा भङ्ग हुन्छ। छोरो टम एन्ड जेरीको कार्टुन हेर्दै खित्का छोडेर हाँसी रहेको थियो। म एकतमासले छोराको हाँसोमा हराउन पुग्छु। छोरो अझैँ पनि हाँस्दै थियो हा…..हा…..हा…..
हरिश कल्पित
( यो कथा कथाकारको दोस्रो कथासङ्ग्रह ‘ग्याब्रियले’मा सङ्ग्रहित कथा हो, र ‘ग्याब्रियले’ कथासङ्ग्रहमा सङ्ग्रहित अन्य धेरै कथाहरू यहाँ तल लगतै राखिएको भिडियो फाइल मार्फत सुन्न सकिन्छ । )