नेदरल्यान्ड्स मेरो लागि सधैँ कुतूहलपूर्ण सहर थियो । नेदरल्यान्ड्समा समुद्र सतहमुनि घर छन्, समुद्र सतहमुनि चरा उड्छन्, समुद्र सतहमुनि आकाश छ, त्यस्तैत्यस्तै धेरै कुराहरू सुनेको थिएँ मैले । त्यति कुतूहलपूर्ण देशमा कहिले पुगिन्छ होला भन्ने कल्पनाले रोमाञ्चित हुन्थेँ । साइत जुऱ्यो । हामीले ब्रसेल्स छोड्दा पातविहीन जङ्गलमाझ कुहीरो छिर्दै थियो । हिउँ र चिसोले कठ्याङ्ग्रिएका रूखहरू कुहिरोले उकुसमुकुसजस्तो देखिन्थे । कँयौँ रूखहरू बिरालाका छाउराहरू खेलेझैँ हावा र कुहिरोसँग जिस्कदै मस्किदै हल्लिरहेथे । सडकछेउमा जतासुकै जङ्गल थियो । टाढा–टाढासम्म चिटिक्क मिलेका सुन्दर बस्तीहरू थिए । बीचबीचमा हरियो गहुँले ढाकेको फाँट थियो । कतै भर्खर जोतिएका खेतबारीका विशाल र सम्म पाटाहरू बैँस खोज्ने तर्खरमा थिए ।
ब्रसेल्सबाट हेगतर्फ लाग्दा शीतल र सुरम्य दृश्यहरूको माझ मन रमाइरहेथ्यो ।

एउटा नदीको भङ्गालो भेटियो, बियानेन नदीको । त्यही नदीको नाममा बियानेन सहर उभिएको छ । बियानेन राइन नदीमा मिसिन दौडिरहेछ । यूरोपमा राइन, डेन्यूब र भोल्गा तीनवटा नदी प्रख्यात छन् । राइनको भङ्गालो फेला पऱ्यो । दर्शन गरें मैले । नदी झैँ बगिरह्यौँ हामी पनि, परपरसम्म । राइन नदीको किनारमा चराहरू उडिरहेथे, चारा खोजिरहेथे ।
बियानेन नदी पार गरेको केही बेरमै बेल्जियमबाट नेदरल्यान्ड्सको रोटरड्याम पुगियो । बेल्जियमबाट नेदरल्यान्ड्स प्रवेश गर्दा जाँचबुझ भएन । बेल्जियम छोडेर नेदरल्यान्ड्स पसेको पत्तै भएन । एक देश र अर्को देश छुट्याउने कुनै साँध सिमाना छैन । सुरक्षाकर्मीको सारसुर छैन । सबैबीच समझदारी छ भने पर्खाल किन पाल्नु, साँधसिमाना र सुरक्षाकर्मीको निहुँमा बिनसित्ति किन पैसा फाल्नु ।

बेल्जियमबाट २ घण्टामा नेदरल्यान्ड्सको हेग पुग्यौँ । घाम थिएन । मलिनता छरिरहेथ्यो आकाशले । बिदाको दिन भएकोले मान्छेहरूको चहलपहल बिलकुलै थिएन । पूरै स्केफेनिङ झुसिलो बन्यो । आकाशमा उज्यालो थिएन, धरतीमा स्फूर्ति रहेन ।
न्यायको सर्वोच्च संस्था अन्तरराष्ट्रिय अदालत च्यापेर फुर्केको छ हेग । हेग पुगिसकेपछि अन्तरराष्ट्रिय अदालतको भवन नहेरी फर्कने कुरै भएन । गयौँ । ‘संसारमा न्यायको विजय हुनेछ लेखिएको एउटा सानो स्तम्भ अघिल्तिर राखेर उभिएको छ एउटा विशाल भवन । भवनको अघिल्तिर विश्वशान्तिको ज्योति अखण्ड रूपमा जलिरहेछ । विश्वका सात महादेशको प्रतिनिधित्व हुने गरी सन् १९९९ मा सात ज्वालाको रूपमा प्रज्वलित छ त्यो ज्वाला ।

नेदरल्यान्ड्स पुगेपछि समुद्री सतहभन्दा तल रहेका सहरलाई ननियाल्ने कुरै भएन । मान्छेले समुद्री सतहमुनि घरनिर्माण गरेर सहर बसाइरहेछ भन्ने सुन्ने जोसुकैलाई उत्सुकता जाग्नु स्वाभाविक नै हो । बलभर्ड सहर छिचोल्दा छिचोल्दै गहिराइबाट उठ्दै गएको जमीन भेट्टियो । बिस्तारै मोडदार रूपमा शहरका घरहरूभन्दा अग्लो बन्दै गयो सतह । अग्लाइ सकिनेवित्तिकै समुद्र देखियो । समुद्रका लहरहरू उठ्दै आए । मान्छेहरू समुद्री किनारबाट समुद्री सतहभन्दा मुनिका घरहरू नियाल्दै थिए । समुद्री सतहमा ज्वारभाटाहरू पहाड बनेर उर्लिरहेथेँ । बटुको भित्रको बस्ती बनेको थियो नेदरल्यान्ड्स । आन्ध्र–महासागरको सतहभन्दा १२ फिट गहिराइमा जीवन्तता छरिरहेछ सहर । नेदरल्यान्ड्स सहरभन्दा १२ फिट माथि आन्ध्र–महासागर सुस्केरा हालिरहेथ्यो । मेरो मन बटुकाको बिटजस्तो जमीनको भागमा बसेर पुलिकत बन्यो । बटुकाको बाहिरपट्टि बिटसम्म नै नीलो समुद्र आफ्नो सतह मिलाएर चलिरहेछ, भित्रपट्टि गहिरोमा विशाल शहरभित्र मान्छेले गरेको प्रगतिमा मिसिएर प्रकृति पनि पुलकित बनिरहेछ । चराहरू उडिरहेथे समुद्री सतहभन्दा अझ तल । मेरो मन तिनै चराहरूसँग उडिरह्यो पखेँटा फिजाएर । स्केवेनिङ्गन शहर पनि त्यसैगरि बाँचेको भेट्टियो । सम्पूर्ण नेदरल्यान्ड्स नै त्यस्तै रूपमा उभिएको छ संसारलाई नै चकित पार्दै ।

फ्रेन्चभाषामा नेदरल्यान्ड्सलाई पे वा भन्दछन् । ‘पे’ को अर्थ देश र ‘वा’ को अर्थ ‘होचो’ हो भन्ने अर्थ लगाउँदै हुनुहुन्थ्यो मार्शलजी । कुनै जमानामा हल्यान्ड नाम बोकेर बाँचेको थियो हालको नेदरल्यान्ड्स । हल्यान्डको अर्थ पनि होचो जमीन भन्ने नै हो । एउटा भनाइ भने प्रसिद्ध छ नेदरल्यान्ड्समा – “भगवान्ले डचहरूको सिर्जना गरे, डचहरूले हल्याण्डको सिर्जना गरे । प्रकृतिको सुन्दर उपहारलाई मान्छेले अझ सुन्दर बनाएको नमूना खोज्दा नेदरल्यान्ड्सलाई नियाले पुग्छ ।
हेगबाट लाइडेन शहरहुँदै नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डमतर्फ बढिरहेथ्यौँ । समुद्रको छेउछाउमै बसिरहेथ्यो लाइडेन शहर । लाइडेन सेन्ट्रल स्टेशननामक रेलवे स्टेशन अगाडि हजारौँ साइकल पार्क गरिराखिएका देखिए । एक ठाउँमा कुचिएका टिनलाई मिलाएर अमूर्त कलाको रूप दिएको थियो ।
हरिया गराहरू र जोतेर सम्म्याइएका सुन्दर र सफा गराहरू तरेली परेका देखिन्थे । बीचबीचका बस्तीहरू मखमलीका बुच्का जस्तै गुचुमुच्च फुलेका थिए । हेर्दा हेर्दै हाम्रो कार सुरुङ–मार्ग भित्र छिऱ्यो । ‘माथिबाट ओर्लेको विमानले धसायो भने सुरुङभित्रको गति के होला ?’ – सुरुङ्गभित्र अत्तालिनुभयो कर्णजी । सुरुङ सकिनेबित्तिकै छमछम नाचिरहेकी युवती झैँ मुसुक्क मुस्कुरायो आम्स्टर्डम अन्तरराष्ट्रिय विमानस्थल ।
हाम्रो र सिमसिमे पानीको प्रवेश एकैपटक भयो आम्स्टर्डम शहरमा । चिसो हावा बहादुर बनेर सबैलाई थप्पड हान्दै थियो । सडकका दुवै किनारका झैँ दाँत मिलेका घरहरूले स्वागत गरे । घरछेउमा राखिएका अनगिन्ती साइकलहरूले पनि स्वागत गरे । सडक–किनारमा गाडी र पेटीमा साइकल–बिसौनी भए पनि यात्रु र अन्य सवारी–साधनहरूलाई चाहिने क्षेत्रफल मौजूद थियो । सडकबीच ट्रलिबस गुडिरहेका थिए । छेउमा कुदिरहेथे असङ्ख्य साइकलहरू । आम्स्टर्डमको केन्द्रीय भागमा फराकिला सडक, दुइतिर टम्म मिलेका घरहरू, घरको अघिल्तिर पेटी, सडकको छेउमा पनि पेटी, पेटी र पेटीकै बीचमा जलमार्ग । सडक तथा जलमार्गमा रेल, ट्राम रिक्सा, बग्गी, ट्रलिबस, साइकल, मोटरसाइकल, डुङ्गा जस्ता सबारीका सबै साधनहरू आ–आफ्ना पङ्क्तिबाट चलिरहेका । मान्छेहरू सम्पन्न छन्, स्वस्थ छन् र व्यस्त छन् । डुङ्गामा चढेर गाउँदै नाच्दै शहरको मजा लुट्नेहरू पनि कम थिएनन् ।

हाम्रो गाडी नेदरल्यान्ड्सकी महारानीको दरबारनजिक ड्याम स्क्वायरमा पार्क गरेका थियौँ । दरबार नाघेपछि एउटा ठूलो बाटो पश्चिमतिर लाग्यो । एउटा चोकबाट छिरेपछि यौन पसल, यौन म्युजियम, यौन क्याफे वैद्युत लेखोटहरू थिए टोलभरि । घरका मोहडामा शिशाका सानासाना कोठाहरू बनाइएका थिए । त्यसभित्र लगौँटी जत्रो पेन्टी मात्र लगाएका युवतीहरू हाउभाउ कटाक्ष प्रस्तुत गर्दै उभिरहेका थिए । विश्वका विभिन्न भागबाट यौन व्यापारको लागि आएकाहरू बसेका थिए त्यहाँ । सडकका दुईतर्फ घरहरूमा त्यस्ता यौनकर्मीहरू मुस्काइरहेका थिए । यो त झन्डै हाम्रो बानेश्वरभन्दा ठूलो पो छ त – जनार्दनजी भन्दै हुनुहुन्थ्यो । करीब दश–पन्ध्र घरका शीशाका कोठामा अग्ला र ठूला जीउडाल परेकाहरू देखिए । देखिएका हजारौँ नगरवधुहरूमध्ये अधिकांश बारुले कम्मर, झिनो शरीर, कमलो अनुहारमा प्रस्तुत भइरहेका थिए । मान्छेहरू मेला भर्न हिँडेझैँ देखिन्छ ड्याम स्क्वायर वरिपरिका गल्लीहरूमा । असी–नब्बे वर्षका बूढाहरू–बूढीहरू बीस–बाइस वर्षभन्दा माथिका युवा र युवतीहरू । अठार वर्षभन्दा कम उमेरकालाई भने कडाईसाथ प्रतिबन्ध लगाइएको छ । पसलहरूमा यौनपुस्तक, श्रव्य–दृश्य सामाग्रीहरू, नारी र पुरुषका यौन अङ्गहरू शृङ्गारका सामान सजाइएझैँ देखिन्छन् । त्यस्ता अखडा थाइल्यान्डको बैङ्कक र पताया, जर्मनीको बर्लिनस्थित ओर्बर स्ट्रिटमा प्रशस्त देखिएको हो । तर नेदरल्यान्ड्सको आम्स्टर्डममा झैँ शीशाकोठामा ग्राहक आमन्त्रण गर्ने, नाङ्गो र वस्तु जस्तै खरीदबिक्री हुने चलन मैले अन्यत्र देखेको थिइन ।
मान्छेहरू नाङ्गो बनेर व्यापार चलाइरहेछन् । संसारभरका अनगिन्ती अपरिचितहरूसँग आफन्तको अभिनय गर्नुपर्ने तीर्थस्थलजस्तो गन्तव्य भएको छ ड्यामस्क्वायर ।
नेदरल्यान्डस्का कफी शप पसल गाँजा जस्ता लागु पदार्थहरूको किनबेच र सेवन समेत खुला रूपमा भइरहन्छ । ड्यामस्क्वायरको उत्तरतिर ५ मिनेट गाडीमा गुड्दा पनि गाँजाको गन्धले छोडेन ।
मोजमस्तीको लागि विश्वकै गन्तव्य स्थल बनेको छ नेदरल्यान्ड्स । त्यसबाट अत्यधिक राजस्व उठाइरहेछ सरकारले ।

नेदरल्यान्ड्सकी महारानीको दरबार अगाडि पुग्दा एउटा विशाल चोकले स्वागत गऱ्यो। यहाँ पकेटमारहरूको बिगबिगी छ । साइकलबाट हुत्तिँदै आएको लुटेराले मेरो हातको क्यामेरा खोसेर लग्यो – दरबारअघिल्तिर रहेको आम्स्टर्डम डाइमन्डसम्मुख भीडमा चिच्याउँदै एउटा अधबैँसे चिच्यायो । “हो, अलि पर मेरो पर्समा रहेको तीन सय यूरो पनि कुन सड्को स्वाहा पारिसकेछ – मसिनो हात खुट्टा भएकी अर्की युवतीले थपिन् ।
दरबार र स्तम्भबीचको चोकमा मान्छेहरू आ–आफ्ना क्षमताको प्रदर्शन गरिरहेथे । कतै मुकुन्डो लगाएर विभिन्न हाउभाउको प्रदर्शन र अभिनय गरेर पैसा बटुलिरहेथे । कतै गितारको धूनमा गीत गाइरहेथे । एक ठाउँमा मुसलमान समुदायका मान्छेहरू युद्धमा मारिएकाहरूको सम्झनामा श्रद्धाञ्जलि सभा गरिरहेथे ।
विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित उच्च भूभागबाट संसारभरकै होचो (समुद्री सतहभन्दा १२ फिट गहिरो) देश नेदरल्यान्ड्समा पुग्न पाउँदा मेरो मनमा फूलका पत्रहरू पलाएका थिए । मैले आफ्नो कचना–कलना सम्झे ।
आम्स्टर्डमबाट ब्रसेल्स फर्कँदा आन्ध्र–महासागरको भँगालो शहरभित्र पसेको फेला पऱ्यो ।भँगालोकै पानीमाथि घरहरूको निर्माण गरे नेदरल्यान्ड्सवासीले । पानीमाथिको घरहरूमा जीवन बिताइरहेका छन् मान्छेहरू ।जलथल दुवैको सदुपयोग गर्न चुकेका छैनन् नेदरल्यान्ड्सवासीहरू ।
बेल्जियमको सिमानामा वाटरलुको सिरेटो तँछाडमछाड गर्दै हामीलाई छोइरहेथ्यो । सप्तरङ्गी सजिएर जिस्क्याइरहेकी थिई तरुनी ब्रशेल्सले ।

डा. दामोदर पुडासैनी ‘किशोर’

प्रतिक्रिया
Exit mobile version