सङ्क्षिप्त समीक्षा
कालो आँधी : जीवनको मर्म अर्थ्याउने गहन कृति
समीक्षक: डा. दीपक अर्याल, एमडी
‘कालो आँधी’ पुस्तक पढ्दा जीवन र जगत्का निकै कुराहरू सोच्न बाध्य तुल्याउँछ ।
यस पुस्तकमा लेखक डा. दामोदर पुडासैनीले बाल्यकाल, युवाकालदेखि प्रौढ अवस्थासम्मका घर, जीवनको संघर्ष, कामको विविधता, शारीरिक अवस्था, रोगसँग अनवरत जुधाइ र आत्मबलका प्रसङ्गहरूलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
यस पुस्तकमा नर्सिङ पेसाकी उहाँकी श्रीमती, प्यारा छोराछोरी, बुहारी र ज्वाइँका अटुट माया र धेरै साथीहरूको सान्त्वना निकै रोचक ढङ्गले झल्कन्छ । कतिपय नातेदारका बेवास्ता र तिक्तताले भने कतिपय ठाउँमा मन चसक्क दुख्छ । लेखकले जीवनका विभिन्न कालखण्डमा गर्नुभएको सङ्घर्ष, मेहनत र इमानदारिता पनि पुस्तकमा समेट्नुभएको छ l
मैले स्वर्गीय जगदीश घिमिरेको पुस्तक ‘अन्तरमनको यात्रा’ पनि पढेको थिएँ । डा. दामोदर पुडासैनीको यो पुस्तकमा निकै मार्मिक बहाव छ, पाठकलाई गहिरो प्रभाव पार्दछ ।
कालो आँधीका लेखकको निष्पक्षता, इमानदारपन र नढाँटी सबै कुरा खुलस्त भन्ने बानी धेरैको लागि उदाहरण हुन सक्छ l
लेखापरीक्षण विषयमा विद्यावारिधि (पीएचडी) पूरा गर्ने पहिलो नेपाली डा. दामोदर पुडासैनी ‘किशोर’ को यो पुस्तकले जीवनमा आइपर्ने, झेल्नुपर्ने र गर्नुपर्ने धेरै कुराहरू सिकाउँछ र जीवनका हरेक क्षणका कठिनाइहरूको सामना गरेर उत्सवमय बनाउन उत्प्रेरित गर्दछ ।
वास्तवमा अस्तित्ववादी मनोलाप विधामा लेखिएको यो पुस्तक विशेष महत्त्वको कृति हो र सबैले यसलाई अध्ययन गर्न जरुरी छ भन्ने मेरो मान्यता छ ।
एमडी जनरल मेडिसिन | एमडी, डर्माटोलोजी | चर्म तथा यौन रोग विशेषज्ञ | इशान बाल तथा महिला अस्पताल, बसुन्धरा, काठमाडौँ ।


