‘मोदिआइन’ उपन्यासभित्र डुबुल्की मार्दा
प्राक्कथन
ल्यापटप चलाउँदै गर्दा एक्कासि मेरा आँखा वर्षौँ पुरानो एउटा फोल्डरतिर गएर टक्क रोकिए, जहाँ मैले धेरै पहिले सङ्कलन गरेर राखेका पुस्तक, उपन्यास, लेख तथा विभिन्न साहित्यिक रचनाहरू सुरक्षित थिए। त्यसैमध्ये “वि.पी. कोइराला” नामको एउटा फोल्डर पनि रहेछ। नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला कुनै अपरिचित नाम होइनन्। फोल्डर खोलेर हेर्दा उनका चार–पाँचवटा उपन्यास भेटिए, जुन मैले वर्षौँअघि नै सङ्कलन गरेर राखेको भए पनि पढ्ने अवसर भने आजसम्म जुरेको थिएन।
तीमध्ये “मोदिआइन” नामक लघु उपन्यासले मेरो ध्यान विशेष रूपमा खिच्यो। अन्य कृतिको तुलनामा सानो— जम्मा ५१ पृष्ठको भएकाले एकै बसाइमा पढ्न सकिने ठानेर त्यो पुस्तक डिजिटल माध्यमबाटै पढ्ने जमर्को गरेँ। टेबलमा रहेको तातो चियाको चुस्की लिँदै पुस्तकभित्रको महासागरमा डुब्न थालेँ। करिब डेढ–दुई घण्टापछि जब पुस्तकको अन्तिम पृष्ठ बन्द गरेँ, तबसम्म म त्यस उपन्यासको रङ्गमञ्चीय संसारबाट फर्केर आफ्नै यथार्थमा आइपुगेको थिएँ। पढिरहँदा आफू नै त्यसका पात्रहरूमध्ये एक भएको अनुभूति भइरहेको थियो। पुस्तक समाप्त भएपछि केहीबेर त्यसका विषय, पात्र र अन्तर्निहित सन्देशबारे मनन गरेँ र अन्ततः यसमाथि आफ्नो व्यक्तिगत दृष्टिकोण व्यक्त गर्न कस्सिएँ।
यो उपन्यासले मलाई विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक व्यक्तित्वभन्दा पर रहेको गहन साहित्यिक चेतना, दार्शनिक दृष्टि र अद्भुत कल्पनाशक्तिसँग परिचित गरायो। हुन त मैले पहिला उनका उपन्यास नपढेको त पक्कै होइन, तर यो उपन्यास भने अर्कै तवरमा लेखिएको पाएँ। साथै, मैले पढेको र सुनेको महाभारतलाई नयाँ दृष्टिकोणबाट हेर्ने प्रेरणा पनि दियो।
मेरो विश्वासमा असल पाठक केवल पुस्तक पढेर मात्र सन्तुष्ट हुँदैन; उसले आफ्नो अनुभूति, विचार र मूल्याङ्कन पनि अभिव्यक्त गर्छ, ताकि भावी पाठकले त्यसबाट केही प्रेरणा, दृष्टिकोण वा मार्गदर्शन प्राप्त गर्न सकून्। यही सानो उद्देश्यका साथ यहाँ आफ्ना केही शब्दगुच्छाहरू अर्पण गर्ने दुस्साहस गरेँ।
पुस्तक चर्चा
“मोदिआइन” विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित पौराणिक कथामा आधारित एक दार्शनिक लघु उपन्यास हो। यसले हिन्दूहरूको महान् धर्मग्रन्थ महाभारतको कथालाई परम्परागत धर्मशास्त्रको रूपमा नभई एक सामान्य नारी (मोदिआइन) को मानवीय दृष्टि र मनोविज्ञानबाट प्रस्तुत गरेको छ। साथै, यहाँ महाभारत युद्धको विभीषिका र त्यसले सिर्जना गरेको नारीहरूको चित्कार र आर्तनादलाई अत्यन्तै मर्मस्पर्शी ढङ्गले चित्रण गरिएको देखिन्छ। पुरुषविहीन, पूरै सेताम्मे विधवा नारीमय समाजको करुण यथार्थलाई लेखकले संवेदनशील रूपमा प्रस्तुत गरेका छन्। युद्धका कारण लाखौँ मानिसले आफ्ना पति, पुत्र, पिता र परिवार गुमाउनुपरेको पीडा उपन्यासभरि गहिरो रूपमा अनुभूत हुन्छ। कोइरालाले यस कृतिमा राजनीतिभन्दा माथि उठेर वैयक्तिक स्वतन्त्रता, आत्मनिर्णय, नैतिकता र मानवीय संवेदनालाई विशेष महत्त्व दिएको प्रतीत हुन्छ।
एकै बसाइमा पढेर सकिने यस उपन्यासले महाभारतलाई परम्परागत धार्मिक दृष्टिकोणभन्दा भिन्न कोणबाट हेर्न पाठकवर्गलाई प्रेरित गर्छ। विशेषतः युद्धका विजेता र पराजितभन्दा पनि बाहिर रहेका सामान्य मानिस, विशेषगरी नारीहरूको पीडालाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्नु यस उपन्यासको मौलिक पक्ष देखिन्छ। उपन्यासमा युद्धका क्रममा ओझेलमा परेका मानवीय वेदनालाई उजागर गर्ने प्रयास गरिएको पाइन्छ। अर्जुनलाई विवश तुल्याएर आफ्नै ससुरा, साला, गुरु मार्न प्रेरित गर्ने श्रीकृष्ण साँच्चै नै करुणाहीन र निर्मम व्यक्ति हुन्, जसले युद्ध मच्चाएर लाखौँ–करोडौँ नारीहरूलाई विधवा तुल्याएर आफ्नो खोक्रो विजयगान गाउन थाले भन्नेजस्ता कुरा गर्दै यहाँ लेखकले कृष्णको ईश्वरीय उपदेशलाई समेत ‘निर्मम’ र ‘करुणाहीन’ भन्दै अर्जुनको मानवीय दुविधा, करुणा र प्रेमलाई बढी महत्त्व दिएका छन्। साँच्चै नै महाभारतको त्यो युद्धले लाखौँको घरबार मासिदियो, नारीहरू पति, पुत्र र पिताको वियोगमा आक्रान्त भएका थिए; आज पनि उक्त युद्धमा आफ्ना पति गुमाएका नारीहरू पतिसंयोगको प्रतीक्षामा उसै स्थानमा अनेकौँ पटक जन्म लिइरहेका छन् भन्ने भाव उपन्यासमा मुखरित भएको पाइन्छ।
अन्ततः भन्नुपर्दा, यो उपन्यासले नारीवेदना, युद्धको निरर्थकता, मानवीय करुणा र प्रेमको महत्त्वलाई केन्द्रमा राख्दै युद्ध कहिल्यै पनि मानवहितको माध्यम बन्न नसक्ने सन्देश दिन खोजेको देखिन्छ। यसले पाठकलाई केवल धार्मिक आख्यान पढ्न मात्र होइन, त्यसभित्र लुकेका मानवीय संवेदना र मनोवैज्ञानिक पक्षहरूलाई पनि बुझ्न प्रेरित गर्छ।
समग्रमा, “मोदिआइन” पठनीय र मननीय एक उत्कृष्ट दार्शनिक उपन्यास प्रतीत हुन्छ।
।। ॐ अस्तु ।।
“तिमी पो कृष्ण देवता हौ स्वर्गका, जहाँको निवासी आफ्नो अमरत्वमा निस्पृह हुन सक्छ, करुणाहीन हृदय राख्न सक्छ, जसका आँखामा आँसु टल्किन दिँदैन; जहाँ मृत्यु छैन, अनन्तको जीवनको निष्काम हुन सकिन्छ, तर हामी मानव, हाय ! कालका ग्रासी हामीमा त्यो कहाँ सम्भव छ ? फेरि कृष्ण, यो कस्तो कर्तव्यको प्रेरणा हो तिम्रो, समरका लागि आफ्नो सखा अर्जुनलाई बार-बार उकासिरहने ! के मानवजीवन त्यसै मृत्युको दुर्दमनीय सिमाना चारैतिरबाट सङ्कुचित भएको छैन र तिमी मृत्युलाई अस्वाभाविक किसिमबाट आह्वान गरेर त्यसलाई कर्तव्यको संज्ञा दिन्छौ ? अर्जुन, हामी तमाम मनुष्य-नारीका हृदयको आशीर्वाद लेऊ तिमी । तिमी देवसम्मुख मानवीय सत्य स्थापित गरिरहेका छौ निर्भय भएर । अडिरहू, अर्जुन, तिमी अडिरहू ……।”
— ‘मोदिआइन’ (विश्वेश्वरप्रसाद कोइराला)
“स्वर्गको कुन थलामा भोकाएको ईश्वर बसिरहेका थिए; उनको क्षुधा अझै निवारण भएको छैन । नरमुण्डमाथि नरमुण्ड चढाऊ उनलाई; मानिसका लाशको हिमालय उनका सम्मुख खडा गर, बगाऊ शोणितको रक्तिम गङ्गा उनको प्यास मेटाउन । अठार दिनसम्म महाभारत मचिरह्यो । अन्तमा मृत्युको यन्त्र थामियो, छेदित हुने ग्रीवाको अभावमा । युद्धमा केवल सात जना बाँकी रहे, लाखौँ पुरुष मारिए । पृथ्वी पुरुषबाट शून्य भयो । केवल विधवा नारी आफ्ना असहाय बाल सन्तानलाई आफ्नो पागल छातीमा टाँसेर बाँचिरहे यस लोकमा ।”
— ‘मोदिआइन’ (विश्वेश्वरप्रसाद कोइराला)
।। हरिः ॐ तत्सत् ।।
ठेगाना : नैकाप, काठमाडौँ
शिक्षा : शास्त्री अध्ययनरत (वाल्मीकि विद्यापीठ)


