गरुराहा
स्रष्टा परिचय:
वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।
साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।
अध्याय: १३
ज्योति! तिमीलाई मेरो जीवनको अर्को पाटो अवगत गराउन खोज्दै छु । जीवन बुझ्न विविध घटनामा फस्न सक्नुपर्ने रहेछ । म सुरुआतमा लहैलहैमा र पछिपछि सुझबुझसहित विविध झमेलामा फसेको छु । कतै राम्रै काम गरेँ हुँला, कतै भने आलोच्य काम पनि गरेको हुनुपर्छ ।
म पञ्चायतीबाट गलहत्याएर थानातिर ल्याइँदै थिएँ । वरपीपलको बिसौनीमा आइपुगेपछि तीन जना प्रहरीसामु मैले गर्नुपरेको कुराकानी सोही भाकामा यहाँ प्रस्तुत गर्दै छु ।
एक प्रसङ्गमा एउटा प्रहरीले कुरा निकाल्यो, “यस ठिटाले भूमिगत पार्टीको विद्यार्थी सङ्गठनमा लागेर उधुम मच्चाएको पनि रहेछ । हेर्दा पो यो सामान्य छ, यसभित्र आगो छ आगो! यो आफैँमा एउटा कुकर बम हो । ब्लास्ट भइदियो भने पक्कै नजिक परेकालाई ध्वस्त पार्छ । त्यसैले यसलाई सामान्य ठानेर मनपेट दिनु घातक हुन्छ ।”
कलिलो प्रहरी आश्चर्यमा पर्यो । उसले अरू कुरा मलाई बताउन भन्यो । म अन्कनाएँ । एउटा काण्डमा त फसेकै छु, त्यसमाथि अर्को काण्डमा फस्नुपर्यो भने कहिल्यै उम्कने मौकै पाइन्न ।
मैले काम गरेको माउ पार्टी २०५२ सालको अन्त्यदेखि नै भूमिगत थियो । उसका क्रियाकलाप जनहितमा मात्र केन्द्रित थिएनन् । कतिपय अवस्थामा सर्वसाधारणसमेत तारो हुने गरेका थिए; भलै यसलाई पिठो पिस्दा घुन पिसिएको भनेर चोखिने कुरा गरिन्थ्यो ।
अर्कातिर क्रान्ति सोझो राजमार्गमा मात्र नहिँडेर बाङ्गोतिङ्गो बाटोमा पनि दौडन्छ भन्ने कथन अघि सारिन्थ्यो । यद्यपि मृत्युदण्डवर्जित मुलुकमा क्रान्तिका नायकहरूको टाउकाको मूल्यसमेत तोकिएको अवस्था थियो ।
त्यस्तो बेलामा मैले राजनीतिक संलग्नता र सक्रियताबारे कुरा गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नुहुन्थ्यो । म केही नसुनेको र नबुझेको जस्तो भएर चुपचाप रहँदो भएँ ।
कलिलो प्रहरीले मलाई छाड्दै छाडेन । भन्न थाल्यो, “के डराउँछस् ? यहाँ अरू कोही छैनन् । तँ अन्यायमा परेको हामीलाई थाहा छ । हामीले धम्कीपूर्ण व्यवहार गरेर तँलाई नतर्साए हाम्रै जागिर जोखिममा हुन्छ । तुरुन्तै सईले सरुवा गरेर माओवादी प्रभावित इलाकामा बलिको बोको बनाउन पठाउँछ । तसर्थ उसकै इसारामा हामीले काम गर्नुपर्छ ।”
उसका कुरा मैले नबुझेको होइन, तर अहिले भने प्रस्ट भएँ । मेरो सत्य पाटो नबुझ्ने कोही थिएन र छैन पनि । मुखले नभने पनि मनमनमा मप्रति घृणा होइन, सहानुभूति छ भन्ने पक्का भयो । मलाई अलिकति राहत मिल्यो; तर म मौन नै रहेँ ।
“अहिले तँ हाम्रो साथी होस् । तैँले माओवादीको के-के काम गरेको छस् ? तँलाई हामी यस काण्डमा कुनै कारबाही गर्ने छैनौँ । सईले के गर्छ गर्दैन, त्यो उसको कुरा हो । तैँले हामीसँग गरेका कुरा कतै चुहाउँदैनौँ । हामीले सुनाएमा तँ त भित्रै रहन्छस्, हामी पनि लफडामा जाकिन्छौँ । ‘त्यसका साथीहरूलाई पक्रेर ल्याऊ’ भनेर हामीलाई रातभर ड्युटी खटाउँछ, गाउँघर चहार्न लगाउँछ । हामी त्यस्तो जङ्गे शासनमा परेर आफ्नो अमनचयन गुमाउन चाहँदैनौँ,” कलिलो प्रहरीले मनको ऊहापोह प्रकट गर्यो ।
मैले भन्नै पर्यो । भन्न थालेँ, “हामी विद्यार्थी छँदा जानी-नजानी विद्यार्थी सङ्गठनमा आबद्ध भएछौँ । बेलुका १० बजे स्कुलपछाडि हुन्थ्यौँ । प्रशिक्षण लिन्थ्यौँ । कुन-कुन साहू-मालिककहाँ केकति परिमाणमा वैध र अवैध हतियार छन्, त्यसको सूचना सुनाउँथ्यौँ । बाह्र बजेको सेरोफेरोमा गाउँ मस्तले निदाएको हुन्थ्यो । हामी घरघर पस्थ्यौँ, हतियार खोज्थ्यौँ । यसरी पाँच-छ रात काम गर्दा दुई दर्जनका हाराहारीमा बन्दुक हामीले हात पार्यौँ । एक किसिमले गाउँ बन्दुकविहीन बनाउने हाम्रो अभियान पूरा हुँदै गयो ।”
कलिलो प्रहरीले नै अरू भन्न उकास्यो । मैले नभनी सुखै पाइनँ, भन्न थालेँ, “राति चोरेका र लुटेका हतियारहरू चलाउन भने जान्दैनथ्यौँ । राजविराजबाट आएका माथिल्ला तहका पदाधिकारीहरूले ५० भन्दा बढी हतियार जम्मा गर्न लगाएका थिए । हतियार देखाएर हतियार खोस्न सकिने मन्त्रसमेत सिकाएका थिए । त्यसो गरेर हामीले थप केही हतियार जम्मा गरेका थियौँ । ती हतियारहरू कता पुर्याइए, केही थाहा भएन ।”
“तिमीहरूले राम्रो कामचाहिँ के-के गर्यौ ?” छिप्पिएको प्रहरी अघि सर्यो ।
जवाफ फर्काउन गाह्रो थियो । म सम्झन थालेँ । उनीहरूले भन्न कर गरिरहे ।
एक्कासि मेरो मुख खुल्यो, “म दलित हुँ । मेरो पारिवारिक पृष्ठभूमि नै समाजबाट अपहेलित छ । हामीले ढोलक नबजाए, बाजा नबजाए समाजमा शुभमङ्गलका दिन आउँदैनन् रे । हामीले अशुभ नहटाए समाजले शुभमङ्गलको महसुस गर्न पाउँदैन रे । यस किसिमले अमङ्गल नाश गर्ने हैसियत भए पनि सबैभन्दा थिचोमिचोमा हामी नै परेका छौँ । तसर्थ हामी मुकुन्डो लगाएर चमारबस्ती-बस्तीमा पुग्यौँ । सबैले घृणाका दृष्टिले हेर्ने पुर्ख्यौली पेसा र व्यवसाय बन्द गर्न लगायौँ । बाजागाजा लुट्यौँ । हाम्रा कुरा अस्वीकार गर्नेलाई चुट्यौँ । परिवर्तनको मार्गमा आउन नचाहनेलाई चेतावनी दिएर छाड्यौँ । हाम्रो कदमले कतिपयको रोजीरोटी लुटिएछ, कतिपयको उठिबास भएछ । कतिपयले भने माओवादीले परिवर्तनको इतिहास रचना गर्दै छ भन्ने ठानेछन् ।”
कलिलो प्रहरीको मुहार उज्यालो देखियो । उसले पनि बुझेका कुरा भन्न थाल्यो, “ए, त्यही भएर पो दलितहरूले सिनो फाल्न अस्वीकार गरेका होलान्! उनीहरू एकजुट भएर ‘हामी सिनो फाल्न जन्मेका होइनौँ’ भनेछन् । ‘तिमीहरूले सहकार्य गरे मात्र हामी सिनो फाल्न सहयोग गर्छौँ’ भनेर गैरदलित भनाउँदाहरूलाई लोप्पा खुवाएछन् ।”
छिप्पिएको प्रहरीले ढिलो भएको सङ्केत गर्यो । हामी हिँड्न थाल्यौँ । कुराकानी बन्द भयो । त्यसपछि मसँग मित्रवत् व्यवहार कसैले गरेन, सोधपुछ पनि गरेन । चौकी आइपुग्यो ।
उनीहरूले भनेकै कोठामा पसेँ र एक कुनामा झोक्राएर बसेँ । साँझपख त्यही कलिलो प्रहरीको हातबाट खाना खान पाएँ । त्यस बेला ऊ पनि बोलेन, गम्भीर थियो । उसको गम्भीरतालाई चिर्न सक्ने क्षमता मसँग छँदै थिएन ।
रातको दस बजेको घण्टी लाग्यो । एउटा नयाँ प्रहरीले मलाई सईको कार्यकक्षमा पुर्यायो । सई रक्सीले मातेको थियो । मेरो नजिक आयो, कन्सिरी समात्यो र जुरुक्क तान्यो । म शब्दविहीन ठिङ्ग उभिइरहेँ । बस्न सङ्केत गर्यो । फेरि कन्सिरीमा हात पुर्यायो । यस पटक भने मैले उसका हात पन्छाएँ ।
ऊ रिसले मुर्मुरियो । “प्रहरीलाई हातपात गर्ने यत्रो हिम्मत ?” भन्दै कानैमा कसेर तीन थप्पड बर्सायो । म भुतुक्कै भएँ । चिच्याउँदै जमिनमा ढलेँ । अझ दुई-चार बुट बजारेपछि उसको रिस शान्त भएछ, कुटपिट बन्द गर्यो ।
केही बेरपछि जुँगे हबल्दार आयो । कपाल पक्रेर निर्दयी चालले नै उठायो । कान छामेँ, रगत आइरहेको थियो । पीडा कम हुनुको साटो बढ्दै थियो । त्यस कानले केही पनि सुनिरहेको थिइनँ । पछि पत्ता लाग्यो— सईको थप्पडले कानको जाली नै फुटेछ ।
सूर्योदयसँगै उठेँ । टुक्रुक्क बसेको थिएँ । पेटमा मुसा दगुर्दै थिए । शरीर थङ्थिलो थियो । जीवनले लिएका मोडहरू सम्झेर विरक्त भइरहेको थिएँ । हिजैको नयाँ प्रहरी आयो र मलाई बाहिर ल्यायो ।
एकाबिहानै लात खुवाउन बाहिर ल्याउँदै छ भनेर म आत्तिएँ । त्यसलाई धकेलेर भागूँ कि भन्ने लाग्यो । तर सत्य पथमा हिँड्नेले आपत् आइलाग्यो भन्दैमा असत्य मार्ग रोज्नु किमार्थ राम्रो होइन भन्ने लाग्यो ।
उसले फूलबारी गोड्न पस्नी थमायो । आफू पनि गोड्न थाल्यो, म पनि गोड्न थालेँ । केही बेरपछि मैले पानी पिउने इच्छा राखेँ ।
‘भाग्ने होइन नि’ भन्दै ऊ बाहिरियो र पानी लिएर आयो । त्यस बेला ड्युटीवाल प्रहरी चनाखो भएर मतिर हेरिरहेको थियो । मैले विश्वासलाई अविश्वासमा बदल्ने कुरा मनमै आउन दिइनँ ।
केही बेरपछि शौचकर्ममा जाने प्रस्ताव राखेँ । “हैन, फूलबारी गोडूँ कि तेरो ड्युटी गरूँ हौ ? सहयोग गर्लास् कि भनेर तँलाई यहाँ ल्याएको हो । सूर्यको प्रकाशले शरीर छोओस्, बाहिरी हावा खान पाएस् र कैदी जीवनमा पनि केही सहज अनुभव गरेस् भनी तेरै भलाइ सोचेको त तँ चाहिँ यसो र उसो भनेर मलाई नै सताउन थालिस् त!” उसले गुनासो गर्दा मैले बोल्नु उचित ठानिनँ ।
उसले मलाई शौचकर्म गर्ने वातावरण मिलाइदियो । मुखसमेत धोएँ । अरू दुई गिलास पानी पिएँ । अलिक फुर्तिलो भएँ र अघिभन्दा छिटोछिटो काम गर्न थालेँ । प्रहरी पनि खुसी भयो ।
दुई घण्टामै सारा फूलबारी गोडियो । अब पानी पटाउनु थियो । उसले मलाई इनारबाट पानी निकाल्न लगायो, आफूचाहिँ पटाउन व्यस्त रह्यो ।
म अह्राएको काम दत्तचित्त भएर गर्न लागेँ । विश्वास गरेर स्वतन्त्र छाडिदिने प्रहरीलाई विश्वासघात गर्नै मन भएन । मभित्रको मान्छेले गलत बाटो समात्नै चाहेन ।
झारपात फ्याँकेपछि फूलबारी सुन्दर देखियो । अझ सिँचाइ पुगेपछि वातावरण नै मनमोहक भयो । फूलबारीकै सुन्दरतालाई नियालेर बस्न मन लागेको थियो । त्यसलाई सुन्दर तुल्याउन मेरो पनि पसिना बगेको थियो ।
काम गर्नुपर्दा मलाई कुनै प्रकारको कष्ट महसुस भइरहेको थिएन । प्रहरीसँगै काम गर्न पाउँदा बरु गर्वबोध भइरहेको थियो । यसरी नै प्रहरी प्रशासनभित्रका फोहोरमैलालाई स्वयं प्रहरी र जनता मिली उखेलेर मिल्काउने हो भने समाजमा आपराधिक घटना घट्दै जान्छन् भन्ने ठहरमा पुगेँ ।
अन्यायीको जित र न्यायमा बसेकाहरूको हार भएका कारणले आपराधिक घटना थपिएका त हुन् नि । अपराधीहरू बढ्दै जानु र सोझासाझाहरू अन्यायी जाँतोमा पिसिँदै जानु नै वर्तमानको परिचय बनेको छ र पो! त्यस बेला म यस्तै सोचमा डुबेँ ।
त्यही प्रहरीको झकझकाहटले मेरो तन्द्रा भङ्ग भयो । मलाई अर्कै ठाउँमा पुर्याएर पेटभरि खाना खुवायो । घरमा खाएको खानाको स्वाद मैले त्यहाँ पाएँ । मनमा अब कुनै खिन्नता रहेन ।
त्यस दिनको रात असाध्यै प्यारो भयो । काम गरेपछिको माम स्वादिलो हुने रहेछ, विश्रामसमेत आनन्ददायक हुने रहेछ । छेउछाउका रूखमा विश्राम गरेका पन्छीहरूको चिरबिराहटसमेत मेरो निम्ति आनन्ददायक सङ्गीत बनेको थियो । सिमेन्टको चिसो पनि न्यानो लाग्दै थियो । कानको पीडा पनि भुल्दै थिएँ ।
काम गर्न दिने, खान पनि पाइने र विश्राम गर्न बाधा नपुर्याउने हो भने हिरासत जीवनसमेत सुधारगृह हुने देखेँ । सिर्जनाले संसार सजाउन सकिन्छ, सजायले सिर्जनालाई ध्वस्त पार्न तम्स्याउँछ । मान्छेले मान्छेलाई मानवीय नजरले हेर्ने र व्यवहार गर्ने हो भने दानव पनि असल मानव बन्छ । त्यस बेला मेरो मनमा यस्तै भावना आए ।
मन खुसी नै थियो, स्वप्नलोकमा सयर गर्ने तरखरमा थियो । अचानक टर्चको फोकस मेरो शरीरमा पर्यो । उठेर बसेँ । घडी हेरेँ— रातको ११ कटेको थियो । सादा पोसाकको त्यस व्यक्तिले मलाई बाहिरिन भन्यो । मैले ढोकामा ताल्चा छ भनेँ ।
उसले ढोका खोल्यो र बाहिर निकाल्यो । मैले “तपाईं को हो ?” भनेर सोधेँ । उसले जवाफ फर्काउनुको साटो आँखा तरेर हेर्यो । म डरले भुतुक्क भएँ ।
बाहिर निस्कन करै लाग्यो, निस्केँ । उसले एउटा फरुवा, बेल्चा र टर्च थमायो । म छक्क परेँ । चौकीदेखि उत्तरतिर लोकमार्ग आँखा तरेर एकोहोरो हेरिरहेको थियो, दक्षिणतिर खाली जग्गा थियो ।
त्यसले त्यही खाली ठाउँमा पुर्यायो । मलाई टर्च देखाउन आदेश दियो र आफू जमिन नाप्न थाल्यो । दस मिटर लम्बाइ र पाँच मिटर चौडाइमा चिनो लगायो । म अलमलमा परिरहेँ ।
“ए कैदी! आज रातभरिमा यो नापको खाल्डो ११ फिट गहिरो खन् । तँलाई सहयोग गर्न दुई जना प्रहरी आउँछन् । अहिले कसैको सहयोग चाहिँदैन, खुरुखुरु खन् । बिहानीपख दुई बजेपछि मात्र उनीहरू आउँछन् ।”
प्रश्न सोध्न मन लागेको थियो, हिम्मत भने आएन । दिनभरको कामले थाकेको शरीर रातमा पनि जोतिनुपर्दा मरेतुल्य भएँ ।
फेरि खाल्डो खन्नेजस्तो निरर्थक काममा मलाई लगाइँदै थियो । यो उत्पादनमूलक काम होइन भन्ने लाग्दै थियो । कर्तुतहरू ढाकछोप गर्न यसखाले खाल्डो खनिँदै छ भन्ने अनुमान लगाएँ । जे सोचे पनि काम नगरे लात पाइन्थ्यो नै । त्यसैले फरुवा समाएँ र आफ्नै सुरमा काम गर्न थालेँ ।
करिब आधा घण्टा लगातार काम गरेपछि १२ बजेको घण्टी लाग्यो । एकछिन विश्राम लिन माटोमै थ्याच्च बसेँ । ऊ नजिकै आयो र मेरो शरीर हेर्यो । त्यस जाडोमा पनि निथ्रुक्क भिजेको शरीर देखेर पनि उसले दया देखाएन ।
उल्टै झर्कन थाल्यो, “नामर्द छस् कि क्या हो ? अहिलेसम्म रत्तिभर खन्न सकिनस्, अझ बसेर थकाइ मारिरहेको छस्! झिसमिसे हुनुपूर्व नै सबै काम सिध्याउनुपर्छ । यहाँ थुपारेको माटो गेटनेर पुर्याउनुपर्छ । छिटो गर्, बसेर हुँदैन । तँलाई बसाउन यहाँ ल्याएको होइन, काम गराउन हो । काम गर्!”
उसको बोली सिधिएपछि मैले बोल्ने आँट गरेँ, “हजुर! यो के प्रयोजनका लागि खनेको हो ?”
ऊ चुप रह्यो । मलाई खन्न सङ्केत गर्यो । उसले जे भन्यो, मैले त्यही गर्दै रहेँ । विश्राम गर्न बस्दा दुई मिनेट नबित्दै कचकच गर्न थालिहाल्थ्यो । जसोतसो चार फिट खनेँ । माटो फ्याँक्न गाह्रो भएको जनाउ दिएँ ।
उसले तीनवटा तगारी ल्यायो र माटो बोक्न खटायो । गेट नजिक पुर्याएर माटो फाल्न थालेँ । ऊचाहिँ तगारीमा माटो भरिदिन्थ्यो । बिहानको दुई बजेको घण्टीले जनाउ दियो । दुई जना प्रहरी आँखा मिच्दै आए ।
उनीहरूले मलाई राम्ररी नियाले । मैले पनि नियालेँ । तिनीहरूमध्ये एउटा कलिलो अनुहारको र अर्को त्यही छिप्पिएको उमेरको प्रहरी थियो ।
पहिलेको मान्छे शरीर टक्टक्याउँदै गयो । दुवै प्रहरीसँग मुखामुख भयो । मैले भने आत्मीय मित्र पाएझैँ अनुभव गरेँ । बोली निस्किरहेको थिएन । दुवै जनाले लगाएका कपडा सुर्किए । एउटाले बेल्चा र अर्कोले फरुवा लियो । मलाई टर्च देखाउन लगाए ।
खनेको खाल्डोतिर हेर्दै कलिलो प्रहरी बोल्यो, “ए, राजदेवले त धेरै खनेछ! अब खन्नुपर्ने धेरै छैन । यसको इमानदारीले गर्दा हामीले कम दुःख पाउने भयौँ ।”
मैले उनीहरूका कुरामा भन्नुपर्ने केही थिएन । एउटा कुरा भन्दा अर्कै सुन्ने र एउटा काम गर्दा अर्कै बुझ्ने उनीहरूको बानी पनि मलाई थाहा थियो । मैले गलत कदम चाल्न चाहिनँ । लाटो हुनुमै बुद्धिमानी ठानेँ र भनेको काम खुरुखुरु गरिरहेँ ।
तिनीहरूका मुखारविन्दबाट जेजस्ता फोहोरी शब्द निस्किए पनि पाखुरी बलियै रहेछन् । काम गर्न कन्जुस्याइँ गरेनन् । केही बेरपछि मलाई खाडलभित्र पसेर खन्न लगाए । मलाई चोट लाग्ला कि भनेर होसियार पनि हुन्थे । जेहोस्, मित्रवत् रूपमै रातभर काम गरियो । झिसमिसे नहुँदै सम्पूर्ण काम सिद्धियो ।
शरीर गलेर फतक्क भएको थियो । आँत हरहरी भइरहेको थियो । उनीहरूले पानी पिए र मलाई पनि दिए । नुहाइधुवाइ गर्न सङ्केत गरे । फेर्ने कपडा नभएको जनाउ दिएँ । पुराना कपडा ल्याइदिए । मज्जाले नुहाएँ र पूर्ववत् स्थानमा गएर ढल्किएँ ।
झकाउन मात्र लागेको थिएँ, अजङ्गको प्रहरी उभिएको रहेछ । सूर्य भर्खरै उदाउँदै थियो । उसले क्षुद्र वचनले बोलायो । नजिकै गएँ । उसले मलाई राम्ररी नियाल्यो । नियाउरो, अनिँदो र थकित मुहार देखेर ऊ चुपचाप फर्कियो ।
∎∎∎∎∎
क्रमशः


