हिमलालजी, ‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रहमा पर्यावरणीय चेत कति छ ?
आरम्भमा हिमलाल श्रेष्ठसँगका अफ-द-बिट कुरा
पाठकवृन्द, वन तथा वातावरण विषय पढ्नु र त्यसमै दत्तचित्त भएर लाग्नुका बीचमा कत्तिको तादात्म्य छ ? म यो प्रश्न किन सोध्दै छु भने, कुनै बेला म पनि वनविज्ञान पढेको विद्यार्थी हुँ भन्ने सम्झाउनका लागि मात्र हो है । तर यतिबेला म न त वन क्षेत्रमा कार्यरत छु न त वातावरणका क्षेत्रमा नै । बरु भाषा-साहित्यको कक्षामा उभिएर प्रवचन दिएका भरमा मेरो रोजीरोटी चलेको छ । तर पनि आफ्नो विगत सजिलै कहाँ भुलिँदो रहेछ र ?
मैले २०४५ साल माघमा एसएलसी दिएर २०४६ मा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि वनविज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसबाट २०४६ देखि २०४८ को विद्यार्थी भएर प्रथम श्रेणीमै आइएस्सी उत्तीर्ण गरेको थिएँ । सोही क्याम्पसमा मभन्दा एक ब्याच जुनियर भएर आइएस्सी पढेका रहेछन् हिमलाल श्रेष्ठले पनि । आइएस्सीपछि मैले त्यो क्षेत्र चटक्कै छाडेका कारण उनीसँग हिमचिम भएन । पछि उनी साहित्यमा देखा पर्न थालेपछि मात्र उनीसँग हाइ-हेलो चलेको हो । कवि ऋषि बस्ताकोटीको ‘पानीको रङ’ कविताकृतिको विमोचनमा भने उनीसँग आत्मीयता बढेको थियो । त्यो आत्मीयता यही २०८२ कात्तिक ९ गते कथायात्राको टोलीसँग उनी चितवन आउँदा भने निकै बढ्यो । भनिन्छ नि— देख्यो, भेट्यो, माया बस्यो । यस्तै छ उनको र मेरो सम्बन्ध ।
त्यसपछि हिमलालको लेखन प्रवृत्तिका कुरा
लेखकहरू साहित्यमा कसरी प्रवेश गर्छन् ? यो अहम् सवाल हो । अन्य लेखकजस्तै हिमलाल श्रेष्ठको लेखनको सुरुआत कविताबाट भएको देखिन्छ । त्यसो त उनका हालसम्म दुईवटा मात्र कृति प्रकाशित छन् । उनका कृतिहरू हुन्: ‘युगीन कविता’ (२०६५) कवितासङ्ग्रह र ‘चौतारो चिन्तन’ (२०८२) लघुकथासङ्ग्रह । वातावरणविज्ञानमा विद्यावारिधि गरेका उनको मुख्य क्षेत्र वातावरणका बारेमा अनुसन्धान गर्नु हो । यसका अतिरिक्त उनी साहित्यमा पनि क्रियाशील छन् । लेखन र अनुसन्धानका अतिरिक्त उनी सम्पादनमा पनि सक्रिय देखिन्छन् । यसको प्रमाणका रूपमा ‘फूलबारी’ बालकथासङ्ग्रह (२०५८), ‘माटो, मानव र सिर्जना’ (२०७७), ‘प्रकृति : सहअस्तित्वको खोजी’ (२०८०), ‘प्रकृति प्रवाह’ (२०८१), ‘वन प्राविधिक सङ्घको स्वर्ण स्मारिका’ (२०८१) लाई लिन सकिन्छ ।
लेखक आफू जस्तो समाजमा बसेको छ, दैनिक रूपमा जेजस्ता पात्रसँग साक्षात्कार गर्छ, जेजस्ता भोगाइसँग घुलमिल हुने गरेको छ, जुन क्षेत्रमा कार्यरत छ— हो, त्यही कुरालाई साहित्यमा उतार्न लाग्यो भने सफल हुन्छ भन्ने लाग्छ मलाई । पाठकवृन्द, तपाईंलाई चाहिँ कस्तो लाग्छ नि ? हिमलालको पछिल्लो कृति हेर्दा मलाई त्यस्तै लागेको छ । उनी वातावरणीय विषयमा बढी खुलेका छन् । यति हुँदाहुँदै पनि उनको ‘चौतारो चिन्तन’ पर्यावरणमा मात्र केन्द्रित कृति होइन । यसका बारेमा कृतिको भूमिकामा ध्रुव मधिकर्मी यस्तो लेख्छन्:
“यी लघुकथाहरूले आजको सामयिक विषय, पर्याचेतनाको आवश्यकता र राज्यले विगतमा भोग्नुपरेको भयावहतालाई सिर्जनामार्फत उजागर गरेका छन् । एउटा स्रष्टाले समय र समाजका सबैजसो सन्दर्भलाई केलाएर प्रस्तुत गर्दछ । केही खास विषयसित सम्बद्ध लघुकथाबाट स्रष्टाको दृष्टिकोण, विचार र संरचनामा कथ्यको शिल्पबारे पाठकहरूले जान्न पाउँछन् । यहाँ स्रष्टाको पर्याचेतनातर्फको दृष्टिकोण प्रभावकारी छ ।”
अनि त्यसपछि ‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रहको सतही कुरा
कथाकार हिमलाल श्रेष्ठको ‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रहको प्रकाशन सिर्जना अभियान समाज, भक्तपुरले गरेको हो । यसभित्र राखिएको ‘आफ्नो कुरा’मा सर्जक श्रेष्ठले यस्तो लेखेका छन्, “प्रकाशनका लागि धेरै ढिला गर्नु पनि उचित लागेन । तसर्थ, हालसम्म लेखिएका ४५ कथाहरूलाई समेटेर ‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रह प्रकाशन गर्ने निचोडमा पुगेँ ।”
पाठकवृन्द, उनी गन्ती गर्न झुक्किए कि सुरुमा ४५ कथाबाट थालिएको कृतिमा पछि तीनवटा थपियो ? यो कुरा उनै जानून् । यसभित्र पाँचवटा खण्ड विभाजन गरी कुल ४८ वटा लघुकथाहरू समेटिएका छन् । यसको साक्ष्यका लागि ‘पर्यावरण’ शीर्षक राखिएको पहिलो खण्डमा १६, ‘जनयुद्ध र जनजीवन’ शीर्षक राखिएको दोस्रो खण्डमा ७, ‘समाज र परिवर्तन’ नाम राखिएको तेस्रो खण्डमा पनि ७, ‘आदर्श’ शीर्षक राखिएको चौथो खण्डमा १३ र ‘कोरोना विशेष’ शीर्षक राखिएको पाँचौँ खण्डमा जम्मा ५ वटा लघुकथाहरू समेटिएका छन् । यसरी खण्ड विभाजन गरिएको भए पनि कुल ४८ वटा लघुकथाहरू यो सङ्ग्रहमा समाविष्ट रहेका छन् ।
के लघुकथा हुन २०० देखि २५० शब्दको सीमाभित्रै रचिनुपर्छ ? के आयाम लघुकथाको प्रमुख तत्त्व हो ? त्यसो भए लघुकथाको मुख्य अवयव के हो ? यसका बारेमा लघुकथाका पण्डितहरू के भन्छन् ? मलाई थाहा छैन । त्यसो त ‘चौतारो चिन्तन’भित्रका अधिकांश लघुकथा दुई पृष्ठको आयाममा फैलिएका र माथि भनिएको भनाइसँग मेल खाने खालका भए पनि यसभित्र एक पृष्ठको आयाम भएको ‘आवरण’ लघुकथा जम्मा ९६ शब्दमा बुनिएको छ भने ‘मुसाको आन्दोलन’ लघुकथा कुल १४३ शब्दको आयाममा फैलिएको पाइन्छ । त्यस्तै तीन पृष्ठको आयाममा फैलिएको ‘कोप–२८ सम्मेलन’ लघुकथामा ३५० भन्दा बढी शब्द रहेका छन् । यसका बारेमा के भन्ने, मलाई केही थाहा छैन ।
‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रहमा प्रतिबिम्बित पर्यावरणीय चेत
पाठकवृन्द, माथि नै भनिसकियो, कथाकार हिमलाल श्रेष्ठको ‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रहमा विविध भावका लघुकथाहरू समेटिएका छन् । अझ त्यसको व्यवस्थापन नै फरक-फरक शीर्षक राखेर गरिएको छ । यो छोटो आलेखमा म ती समग्र लघुकथाहरूको विश्लेषण गर्ने पक्षमा छैन । यहाँ ‘पर्यावरण’ शीर्षक राखिएको पहिलो खण्डका सोह्रवटा लघुकथामा पर्यावरणीय चेत कसरी प्रयोग भएको छ भन्ने खोजी गर्ने प्रयास गरिएको छ । तिनलाई सैद्धान्तिक ढाँचामा राखेर विश्लेषण गर्दा लामो हुने भएकाले त्यो पनि गरिएको छैन ।
कृतिभित्रको पहिलो लघुकथा ‘डाँफेको एकालाप’मा नेपालको राष्ट्रिय पक्षी डाँफेलाई पात्र बनाइएको छ । वातावरणीय प्रदूषणका कारण उसको जीवनमा आइपरेको समस्यालाई एकालाप शैलीमा यो कथामा चित्रण गरिएको छ । त्यस्तै देशभित्रको समस्याका बारेमा पनि यो कथा बोलेको छ । हेरौँ एउटा साक्ष्य:
“शैलुङ र नागीतिर बुकी फुलिसक्यो, चौरतिर गाइतिहारे फुलिसक्यो भन्छन् । आफूलाई मौसम बदलिएर छुट्टी, मनमा हुटहुटी । बेग हान्नु कसरी ? खरबारी चहार्नु कसरी ?”
(पृ. १६)
त्यस्तै दोस्रो लघुकथा ‘चिलहरूको वार्तालाप’मा घनटाउको र बाँकटे नामका दुई चिलहरूको कुराकानी देखाउँदै उनीहरूको दैनिक जीवनमा आइपरेका समस्याको चित्रण गरिएको छ । त्यस्तै गाउँमा बस्ने विपन्न मान्छेहरूको जीवनलाई पनि पक्षीका दृष्टिबाट हेरिएको छ । ती चराको संवादमा एउटाले अर्कोसँग के भन्छ भन्ने कुराको पुष्टि यो कथांशले गर्ला कि:
“तिमीलाई त खाली चार चौरास डुल्दैमा ठिक्क छ । आफूलाई भने हरेक रात कुन पहरामा बास बस्ने, ती छिचिमिरा जस्ता बच्चाहरुको खान्की शिकार कहाँ खोज्नु भन्ने चिन्ता हुन्छ, तिमी भने डुल्यो, खायो ।”
(पृ. १८)
कृतिमा समाविष्ट तेस्रो लघुकथा ‘काग र कोइलीको हानथाप’मा प्रकृतिका दुई पक्षी काग र कोइलीलाई पात्र बनाई उनीहरूको जीवनशैलीको चित्रण गरिएको छ । लोकजीवनमा प्रचलित ‘कोइलीले आफ्नो बच्चा आफैँ नकोरलेर कागको गुँडमा अन्डा पार्छ’ भन्ने कथनको पुष्टि यो कथामा गरिएको छ । हेरौँ एउटा साक्ष्य:
“हरेक दिन काग आफ्नो गुँडमा अन्डा थप्थ्यो । अल्छी कोइली न घर बनाउँथी न ओथारो बस्न रहर गर्थी । खाली रनबन डुल्यो, बनै थर्काउने गरी ‘कुहु कुहु’ गर्यो हिँडिदियो । जब काग बाहिर निस्कन्थ्यो, कोइली सुटुक्क छिरेर कागको अन्डा फुटाएर खान्थ्यो र आफ्नो अन्डा छाडेर जान्थ्यो ।”
(पृ. २०)
त्यस्तै चौथो लघुकथा ‘सोलीफिस्टो’मा प्रकृतिमा रमाउने निकै सानो चरा सोलीफिस्टोलाई चिनाउन खोजिएको छ । जसलाई कथाकार यसरी व्याख्या गर्छन्:
“नजिकै फुलेको कपासका फूलहरु ल्याएर ससाना पात जोडेर सोली आकारको घर बनाउँथ्यो र बच्चा कोरलेर उडाउँथ्यो । आफू जस्तै साना साना प्रकृतिको प्रेमी चरो – सोलीफिस्टो ।”
(पृ. २२)
पाँचौँ लघुकथा ‘बार्दलीको रौनकता’ अतीतमा हराउने खालको कथा हो । यसमा आफू बिरामी परेर घरमा बसेको अवस्था देखाउँदै गाउँको सम्झना गरिएको छ । त्यस्तै सम्झनामा गाउँमा फुल्ने फूलहरूको सम्झना यसरी गरिएको छ:
“धेरै पछिसम्म पनि हरेक चोटि गाउँ पुग्दा एक चोटि त्यो फूलको बोटनेर पुग्ने गर्थें । पछि त त्यो बोट बुढो भएर ठुटो नै भइसकेको थियो तर पनि उसको त्यो ढकमक्क फुलेको बाक्कली फूलको बोटको सम्झना अझै पनि मनमा ताजै छ ।”
(पृ. २४)
त्यस्तै अर्को लघुकथा ‘कोप–२८ सम्मेलन’मा ‘म’ पात्र अर्थात् लेखक ‘कार्बन उत्सर्जन घटाउन मानवीय पहल’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्न गएको सन्दर्भ देखाइएको छ । त्यस्तैमा मार्था नाम गरेकी युवती, जो पेसाले पाइलट हुन् र उनी पनि त्यो सम्मेलनमा भाग लिन आएकी हुन्, उनीसँग बुर्ज खलिफा घुम्न जाने क्रममा भेट भएको र कुराकानी भएको सामान्य अवस्था देखाइएको छ । यो लघुकथा संस्मरणजस्तो छ । यसमा पर्यावरणसम्बन्धी चिन्ता यसरी देखाइएको छ:
“म मेरी एकातिर हजुरआमाको हरित अभियान सम्झन्छु भने अर्कोतिर मेरो यथार्थ तुलना गर्छु कि म भने आकाशमा कार्बन उत्सर्जन गरिरहेको छु ।”
(पृ. २७)
‘जिद्दी केटो र सालक’ लघुकथा एउटा गाउँले केटो, जो विद्यालयमा पढ्छ र सालकलाई असाध्यै माया गर्छ, सँग सम्बन्धित छ । यसमा त्यो बालक सालकको संरक्षणमा लाग्न चाहेको र सालकको प्रकृतिसँगको तादात्म्यका कुरा सपनामा पनि यसरी बर्बराएको देखाइएको छ:
“न उसलाई मर्छु भन्ने डर छ, न उसले कसैलाई शत्रुताको भावले हेर्दछ । उसले केवल संसारमा रहेका सबै प्राणीको जिउने अधिकार छ भन्ने बुझ्छ । अन्य प्राणी पनि सबै राम्रा होलान् तर यो हेर त सालक हाम्रो नजिक आउँछ । हामीलाई मित्रवत् ठान्छ ।”
(पृ. २९)
त्यस्तै ‘फुर्के पोखरी’ लघुकथामा प्रकृतिको रम्य काखमा रहेको एउटा सुन्दर पोखरीको चित्रण गरिएको छ । यो लघुकथाभन्दा पनि लेख वा प्रकृतिसँग सम्बन्धित लघु आकारको निबन्धजस्तो देखिन्छ । हेरौँ एउटा साक्ष्य:
“पहाडको खोँचमा एउटा सफा पोखरी छ । त्यहाँ पहाडबाट छहरे बगेर आउँछ र सङ्लिएर सफा पानीको पोखरी बनेको छ । कन्चन पानीमा वरपरका जङ्गलबाट चराहरु आउँछन् र डुबुल्की मार्छन् ।”
(पृ. ३०)
कृतिको शीर्षकसँग तादात्म्य राख्ने ‘चौतारो चिन्तन’ लघुकथामा चौतारो मासेर अन्य संरचना तयार पार्ने अचेलको मानवीय कुप्रवृत्तिमाथि व्यङ्ग्य गरिएको पाइन्छ । हेरौँ एउटा साक्ष्य:
“उत्पलाले खोजेको जवाफ पाइसकेकी थिइन् । भोलिपल्टदेखि उत्पला दत्तचित्तका साथ लागेर आफ्नो शोधग्रन्थ पूरा गरेर बुझाइन् । शीर्षक थियो – चौतारो चिन्तन ।”
(पृ. ३३)
त्यस्तै ‘माछा किन मारिस् ?’ लघुकथा एउटा माछा मारेर जीवन गुजारा गर्ने जालहारीको कथा हो । यसमा माछा मार्न हिँडेको जालहारीले खोलामा माछाका भुराहरू देखेपछि उसको मनमा माछा मारेर अपराध गरेको मनोभाव आएको देखाइएको छ, जुन अलिक कृत्रिमजस्तो लाग्छ । यसको पुष्टिका लागि हेरौँ एउटा कथांश:
“निरीह जालहारी एउटा आरोपित अपराधीझैँ आफ्नै पुर्पुरोमा हात राखेर मनमनै भनिरहेछ, “माछा किन मारिस् ?”
(पृ. ३५)
‘अङ्कमाल’ लघुकथामा रूखलाई माया गर्ने एउटी बालिका प्रनिशाको कथा उतारिएको छ । उसलाई उपचारका लागि डाक्टरकहाँ लगिएको छ । डाक्टरसँग उसको बाबुले सल्लाको रूखका छेउमा पुग्दा त्यहीँ हराउने गरेको सन्दर्भ सुनाउँछन् । यो कथा भारतीय भूमिमा निकै पहिले चलेको ‘चिपको आन्दोलन’सँग ठ्याक्कै मेल खान्छ । हेरौँ एउटा साक्ष्य:
प्रनिशा भन्दै थिई, “रूखलाई अङ्कमाल गर्नु भनेको समस्या होइन, समाधान हो । जब हामी वृक्षलाई अङ्कमाल गर्छौं तब हामी धर्तीसँग जोडिन्छौँ । हामीमा बोटबिरुवाबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ । त्यसैले वृक्षलाई अङ्कमाल गर्नुहोस्, माया गर्नुहोस् । तपाईंमा समाधानयुक्त हर्मोन सिर्जित भई सुखमय मार्गमा अघि बढ्ने छ ।”
(पृ. ३७)
त्यस्तै ‘मुसाको आन्दोलन’ व्यङ्ग्यचेत भएको लघुकथा हो । यसमा मुसालाई चित्रण गर्दै वर्तमान नेपाली समाजको चित्रण यसरी गरिएको छ:
“त्यो गजक्क परेर दुलोबाट मलाई नै टुलुटुलु हेर्ने जब्बर मुसा आज आन्दोलनको नाइके रे ! के सुन्नुपरेको, के देख्नुपरेको, होइन दिनभर लुकेर रातभर बिगार्ने यी मुसाहरूलाई आज किन डर नभएको ? ताजुब छ बा !”
(पृ. ३८)
‘व्यापार’ लघुकथा घरघरमा लगेर प्रकृतिमा पाइने विभिन्न चिजहरूको व्यापार गरेर पेटपालो गर्ने महिलाको कथा हो । यसमा उसले गाउँ र जङ्गलबाट विभिन्न चिजहरू सङ्कलन गर्ने गरेको कुरा उतारिएको छ । यसमा लेखकले प्रकृतिको सम्झना यसरी गरेका छन्:
“कुशको मुठा, सिमलको फूल, कुर्सिमल, कुकुरडाइना, सालको पात, साल्धुप, भोगटेको मसिनो दाना, सिरु, गाइ तिहारे, उखु, कुभिन्डो सबै थोक पाउँछ हुजुर ।”
(पृ. ४०)
त्यस्तै ‘मुढालाई अङ्कुसे’ लघुकथा वातावरणीय विनाशसँग सम्बन्धित छ । यसमा गाउँमा झरी परेपछि खोलामा मुढा खोज्न गएको बले नामक पात्र रातभर हराएको घटनाको चित्रण गरिएको छ । यसमा गाउँमा खोलो पसेको सन्दर्भको चित्रण यसरी गरिएको छ:
“तर बाहिर परिवेश अर्कै थियो । नदीभित्र मान्छे होइन, बस्तीभित्र खोला पसेको थियो । आरी घोप्ट्याएझैँ पानी परेर एक्कासि घर–खलिहान सबैतिर पानी नै पानी भएको थियो । त्यो भेलमा रूखपात, घार, पशुलगायत मानिस बगाएर ल्याएको थियो ।”
(पृ. ४२)
‘तामाको टुसा’ लघुकथा तराईको परिवेशमा लेखिएको कथा हो । यसमा पहाडिया र तराई मूलका मानिसहरू मिलेर बसेको घटना उल्लेख गरिएको छ । उनीहरू वनमा गएर महुवा, कुरिलो र बाँसको तामा सङ्कलन गरेको घटना पनि देखाइएको छ । यस्तैमा रेन्जरले उनीहरूलाई भेला गराई चुरेको संरक्षण कसरी गर्न सकिन्छ भन्ने प्रवचन दिएका छन् । हेरौँ एउटा साक्ष्य:
“मिटिङमा हरिप्रतापले चुरे संरक्षणका लागि बाँस जोगाउनु जरुरी छ । बाँस जोगाउनको लागि तामा भनेर बाँसको टुसा जङ्गलबाट ल्याउनुहुन्न । नैनकला झसङ्ग भइन् । दिदीबहिनीहरुतर्फ हेर्नै सकिनन् ।”
(पृ. ४४)
पहिलो खण्डको अन्तिम लघुकथा ‘शालिग्राम’मा गण्डकीको तीरैतीर शालिग्राम खोज्न हिँडेको १२ वर्षे बालकको जिज्ञासा उतारिएको छ । उसले त्यो शालिग्राम धार्मिक आस्थाका कारण नभएर विज्ञान शिक्षकको भनाइबाट उत्प्रेरित भएर खोजेको कुरालाई यसरी उतारिएको छ:
“धेरै दिनसम्म मुस्ताङ घुम्दा फेला परेको शालिग्रामको पछि-पछि लाग्यो । उसलाई त्यो शालिग्राम फोड्नु थियो । त्यसभित्र भएको कुन जीव हो ? हेर्नु थियो । स्कुलमा बताइएको ढुङ्गाभित्र हुने जीवावशेषको जाँच गर्नु थियो ।”
(पृ. ४६)
यसरी यहाँ ‘पर्यावरण’ शीर्षकको पहिलो खण्डमा रहेका १६ वटा लघुकथामध्ये कतिपय पशुपक्षीलाई पात्र बनाएर लेखिएका छन् भने कतिपयमा मानवीय दुष्चरित्रको पर्दाफास गरिएको छ । यसर्थ यी लघुकथामा कतै न कतै पर्यावरणीय चेत पाइन्छ, तर यी लघुकथामा लघुकथाका तत्त्व भने निकै कम पाइन्छ । यसको प्रस्तुति निकै फितलो छ । यसमा लेखकले निकै मेहनत गर्नु जरुरी छ ।
यस कृतिमा समाविष्ट रहेको ‘चौतारो चिन्तन’ शीर्षकचाहिँ मलाई निकै राम्रो लाग्यो । यसमा लघुकथामा हुने सन्देह (सस्पेन्स)को राम्रो पालना गरिएको छ भने ‘काग र कोइलीको हानथाप’, ‘सोलीफिस्टो’, ‘जिद्दी केटो र सालक’ जस्ता लघुकथाका शीर्षकहरू नै बालकथाजस्ता लाग्छन्; उता ‘कोप–२८ सम्मेलन’को शीर्षक संस्मरणजस्तो देखिन्छ । भनिन्छ नि, नाममा पनि केही त पक्कै हुन्छ । अर्को कृति निकाल्ने बेलामा यसमा ध्यान जाओस् है, हिमलालजी ?
जाँदाजाँदै केही छुटपुट कुरा
यतिबेला नेपाली लेखकहरू जो गद्यमा लेखिरहेका छन् ती लघुकथामा र पद्य लेख्नेहरू गजलमा झुम्मिएको पाइन्छ । तुक अर्थात् अन्त्यानुप्रास मिलाएर लेखिएका आठ-दस पङ्क्तिका रचनालाई गजल भनेर छाप्ने गरेको र चुट्किलाजस्ता गद्यमा लेखिएका रचनालाई लघुकथा भनेर ह्वार्रह्वार्री कृतिको ओइरो लगाउने गरेको पाइन्छ । तिनमा गुणवत्ता कति छ ? तत् विधाका एउटै कार्यक्रममा दुई दर्जनभन्दा बढी कृति विमोचन गरिएका समाचार पनि पढिएकै छन् । ती कृति कतातिर छन् ? तिनका पाठक साँच्चै कति छन् ? यसको हिसाबकिताब कसले गरिदिने ?
पाठकवृन्द, ‘चौतारो चिन्तन’का लेखकले कृतिभित्र समाविष्ट ४८ वटा लघुकथाहरूलाई पाँच खण्डमा विभाजन गरेको भए पनि यो कृतिमा मूलतः चारवटा खण्ड मात्रै देख्छु म त । पाँचौँ खण्ड ‘आदर्श’लाई चौथो खण्ड ‘समाज र परिवर्तन’भित्र मिसाउँदा के फरक पर्छ ? यसका बारेमा यहाँको अभिमत राख्दै गर्नुहोला है त ।
यहाँ मेरो बहस पर्यावरणकेन्द्री भएकाले खण्डविभाजनका बारेमा योभन्दा बढी नलेखौँ होला । यो कृति पनि अन्य लघुकथाजस्तै भीडमा हराउने खालको छ कि भीडभन्दा केही अलग छ ? यसको बारेमा बुझ्न माथि गरिएको बहसले केही मद्दत गर्यो कि गरेन ? मेरो यो बहसले यहाँको लघुकथाको भोकको शमन गरेन र यहाँको मनमा अरू जिज्ञासा छन् भने एक पटक कृति खोजेर पढिदिने कष्ट गर्नुहोला ।
जाँदाजाँदै लेखक मित्र हिमलाल श्रेष्ठलाई अनेकौँ बधाई छ र उनको यो कृतिको अपार सफलताको कामना गर्छु म । कविताबाट आख्यानमा आइसकेका उनलाई अब चुप लागेर बस्ने छुट छैन । अब नयाँ लघुकथा, कथा वा उपन्यास नै ल्याउँदा पनि संरचना, विषयवस्तु, भाषाशैली र प्रस्तुतिमा अझ निखारसहित छिट्टै आऊन् भन्दै कलम रोक्छु । भवतु सब्ब मङ्गलम् ।
—भरतपुर, चितवन—


