डा. दामोदर पुडासैनीको अस्तित्ववादी कृति ‘कालो आँधी’ अब बजारमा ।
काठमाडौँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित नवीनतम् कृति ‘कालो आँधी’ बजारमा आएको छ । अस्तित्ववादी मनालाप (An Existential Monologue) का रूपमा रचिएको यो पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।
केही समयअघि डा. पुडासैनी ‘नेजोफेरेन्जियल कार्सिनोमा’ नामक क्यान्सरबाट पीडित हुनुभएको थियो । स्वस्थ र सक्रिय जीवन बिताइरहेका बेला अचानक देखिएको यो प्राणघातक रोगको उपचारका क्रममा उहाँले रेडियोथेरापी, किमोथेरापी र अनेकौँ औषधिको प्रयोग गर्नुभयो । उपचारका क्रममा शारीरिक रूपमा अत्यन्त जीर्ण बनेका पुडासैनीले आवाज बन्द हुने, स्वाद हराउने र तौल उल्लेख्य रूपमा घट्दा पनि हार नमानी मृत्युलाई जित्ने दृढ आत्मबल जगाउनुभयो । सोही मृत्यु र जीवनको सङ्घर्षका क्रममा प्राप्त ताता अनुभूतिहरूलाई उहाँले ‘कालो आँधी’ मा समेट्नुभएको छ ।
कृतिको भूमिकामा प्रसिद्ध समालोचक एवं कवि प्रा. डा. नेत्र एटम लेख्नुहुन्छ, “डा. दामोदरको ‘कालो आँधी’ सुनाउनका लागि मात्र होइन, अनुभूत गराउन रचिएको कृति हो । यो क्यान्सरको निकट पुगेर फर्केको अवधिमा गरिएको जीवनको गहन पुनरावलोकन हो । ” डा. एटमले यस कृतिलाई ‘मृत्युनिकटको सङ्कल्पना’ (Dying Declaration) का रूपमा चित्रण गर्दै यसले पाठकलाई जीवन, शक्ति र न्यायका परिभाषाबारे पुनर्विचार गर्न बाध्य तुल्याउने उल्लेख गर्नुभएको छ । पुडासैनीले साहित्यिक मनालापका रणनीति— निर्वाध आत्माभिव्यक्ति, आलोचनात्मक चिन्तन र अनुभूतिको भाषिक सामर्थ्यमा ठुलो सफलता हासिल गरेको डा. एटमको ठम्याइ छ ।
प्रकाशक संस्था रत्न पुस्तक भण्डारका अनुसार ‘कालो आँधी’ जीवन सङ्घर्षको एउटा सुन्दर अभिलेख हो । प्रकाशकीयमा भनिएको छ, “यो कृति पीडा र अभावका विरुद्ध सङ्घर्ष गर्दै जीवनलाई वैभवशाली बनाउने प्रयत्नको कथा हो । यो केवल रोगविरुद्धको लडाइँ मात्र नभई नेपाली समाज र संस्कारलाई नवीन दृष्टिकोणका साथ नियाल्ने मार्गचित्र पनि हो । ” काव्यिक भाषाशैली र कलात्मक प्रवाहका कारण यो पुस्तक धेरै पाठकको रोजाइमा पर्ने विश्वास प्रकाशकले व्यक्त गरेको छ ।
आफ्नो २१औँ कृतिका बारेमा डा. पुडासैनी भन्नुहुन्छ, “यो जीवन र मृत्युको मझधारमा बसेर लेखिएको मनको आलाप हो । यसमा रोगलाई केन्द्रमा राखेर समाज, मान्छे र संसारको दार्शनिक ढङ्गले चिरफार गर्ने प्रयास गरिएको छ । वास्तवमा यो पीडाको आँसुले लेखिएको कृति हो । ”
डा. पुडासैनीका यसअघि ११ कविता सङ्ग्रह, ७ नियात्रा सङ्ग्रह, एक दर्शन सङ्ग्रह र एक आर्थिक व्यवस्थापन विधाका कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँका ‘सिमानाका रङ्ग : सिमानाका तरङ्ग’ र ‘ग्रीष्मको नीलो बतास’ मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्न सफल भएका थिए ।
रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ र प्रबन्ध निर्देशक सुरेश श्रेष्ठका अनुसार पुस्तक प्रकाशनको पहिलो दिनमै उत्साहजनक रूपमा बिक्री भएको छ । हाल यो कृति देशभरका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ भने निकट भविष्यमै विदेशमा रहेका पाठकहरू समक्ष पनि पुर्याइने जानकारी दिइएको छ ।


