करादीखोला, स्याङ्जा, १८ असोज ।
करादीखोलास्थित कमला–ज्ञानप्रसाद उपाध्यायको परिवारका तर्फबाट आफ्ना स्वर्गीय बुबाआमा पोतप्रसाद उपाध्याय, पवित्रादेवी उपाध्याय र छोरा चेतनारायण उपाध्याय ‘प्रवीण’ को स्मृतिमा हरेक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार—२०८३’ अग्रज स्रष्टा देवीप्रसाद वनवासीलाई प्रदान गरिएको छ ।
स्याङ्जाको वालिङ, त्रियासी, शङ्खरेडाँडामा वि.सं. १९९७ कात्तिक २७ गते जन्मनुभएका वनवासीले वि.सं. २०२० जेठमा ‘माछापुच्छ्रेको काख’ (झ्याउरे लयका कविताहरू) शीर्षक आफ्नो पहिलो साहित्यिक कृति प्रकाशित गरी नेपाली साहित्यको क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएको छ ।
उक्त पुरस्कार आज दिउँसो करादीखोलास्थित उपाध्याय निवासमा आयोजित एक अनौपचारिक समारोहबिच समर्पण गरिएको हो । पुरस्कारको राशि रु. ११,१११/- (अक्षरेपी एघार हजार एक सय एघार रुपियाँ) रहेको छ ।
नेपाली भाषा, वाङ्मय र लोकसंस्कृतिका क्षेत्रमा क्रियाशील रहेर महत्त्वपूर्ण योगदान पुर्याउनुभएका राष्ट्रिय स्तरका सिर्जनशील अग्रज र युवा स्रष्टालाई आलोपालो गरी हरेक वर्ष पुरस्कृत तथा सम्मानित गर्ने पवित्र उद्देश्यले स्याङ्जा, करादीखोलाका कमला–ज्ञानप्रसाद उपाध्यायको परिवारका तर्फबाट वि.सं. २०८१ मा ‘पोतपवित्रा–प्रवीण स्मृति पुरस्कार कोष’ स्थापना गरिएको थियो ।
स्व. पोतप्रसाद उपाध्याय, स्व. पवित्रादेवी उपाध्याय र स्व. प्रवीण ज्ञवालीको स्मृतिमा स्थापित उक्त साहित्यिक पुरस्कारको नगद राशि पहिलो वर्ष एघार हजार एक सय एघार, दोस्रो वर्ष बाह्र हजार दुई सय बाह्र र तेस्रो वर्ष तेह्र हजार तीन सय तेह्र हुँदै सोहीअनुसार क्रमशः वृद्धि गर्दै लगिने जानकारी परिवारका तर्फबाट पुरस्कार कोषका संस्थापक रामचन्द्र उपाध्यायले गराउनुभएको छ ।


