तीज लक्षित गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक
काठमाडौँ । हरितालिका तीजलाई लक्षित गर्दै नयाँ नेपाली तीज गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक भएको छ । एसएस क्रिएसनको आधिकारिक युट्युब च्यानलमार्फत आइतबार साँझ सार्वजनिक भएको यो कर्णप्रिय तीज गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको छ ।
सरला श्रेष्ठका शब्द तथा लक्ष्मण पोखरेलको सङ्गीत निर्देशनमा तयार भएको गीतमा मनोज चौलागाईंको एरेन्जमेन्ट छ । गीतको रेकर्डिङ दिल समर्पणले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । गीतको रेकर्डिङ एकुस्टिक स्टुडियोमा गरिएको हो ।
दर्जनौँ नेपाली गीतका म्युजिक भिडियो निर्देशन गरेका निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल गरिमा शर्मा तथा स्मारिका ढकालले अभिनय गरेका छन् । उनीहरूसँगै खेम बा, सुमिना कार्की, कृष्ण ढुङ्गाना, गोमा न्यौपाने र श्रेजस्सिका थापाको पनि अभिनय रहेको छ।
भिडियोको छायाङ्कन उत्सव दाहाल तथा उनको टिमले गरेका हुन् । सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोको सहायक सम्पादन दीपक देउवाले गरेका छन् भने सम्पादन तथा कलर मिन रावलले गरेका छन् । भिडियोको पोस्ट–प्रोडक्सन केडी रुपाखेती फिल्म्सले गरेको हो ।
तीजका अवसरमा हरेक वर्ष विभिन्न शैलीका गीत सार्वजनिक हुँदै आएका छन् । यसै क्रममा ‘आइन आमा यो तीजमा’ ले पनि तीजको सांगीतिक माहोलमा आफ्नो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।
गीतको भिडियोमा तीजको सांस्कृतिक परिवेशसँगै कलाकारहरूको प्रस्तुति समेटिएको निर्माण पक्षले जनाएको छ ।
गीत तथा भिडियोका अनधिकृत डाउनलोड तथा अन्य स्ट्रिमिङ प्लेटफर्ममा पुनःअपलोड नगर्न निर्माण पक्षले आग्रह गरेको छ ।


