लक्ष्मण सिटौलाको ‘आखिर कोही नहोलान्’ गीत सार्वजनिक
काठमाडौँ । साहित्यका विभिन्न विधामा सक्रिय गीतकार लक्ष्मण सिटौलाको नयाँ गीति–सिर्जना ‘आखिर कोही नहोलान्’ सार्वजनिक भएको छ । करिब १० वर्षअघि रेकर्ड गरिएको उक्त गीत शनिबार सिटौलाको आफ्नै आधिकारिक युट्युब च्यानल (Laxman Sitaula) मार्फत सार्वजनिक गरिएको हो ।
नेपाल वायुसेवा निगमको मुम्बई (भारत) स्थित स्टेसन प्रमुखका रूपमा कार्यरत रहँदा सिटौलाले यो गीत रचना गरेका थिए । गीतको अन्तिम स्वराङ्कन (रेकर्डिङ) भने वि.सं. २०७३ चैतमा सम्पन्न भएको थियो ।
हालसम्म ७०० भन्दा बढी गीत सिर्जना गरिसकेका सिटौलाको यस गीतमा भारतीय गायिका श्रुति भारद्वाजको स्वर रहेको छ । गीतमा सङ्गीत स्वयं सिटौलाकै रहेको छ भने सङ्गीत संयोजन (एरेन्ज) टी.एस. भारद्वाजले गरेका हुन्। त्यस्तै, भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन् ।
नेपाली गीति–लेखन परम्पराको लामो इतिहास र शृङ्खला छ । मोतीराम भट्टको युगदेखि सुरु भएको आधुनिक गीत–गजल लेखनले कालान्तरमा नेपाली साहित्यमा छुट्टै र सशक्त विधाको रूप धारण गर्यो ।
त्यही गीति–परम्परालाई पछ्याउँदै सिटौलाले वि.सं. २०४८ मा आफ्नो पहिलो गीत लेखेका थिए, जसमा वरिष्ठ गायिका तारादेवीले स्वर भरेकी थिइन् । त्यसयता उनका सिर्जनामा नेपाली सङ्गीत जगत्का थुप्रै अग्रजदेखि नयाँ (जेन–जी) पुस्ताका गायिका रचना रिमाल र सिम्रन परियारसम्मले स्वर दिइसकेका छन् ।
साहित्यका विभिन्न विधामा करिब तीन दर्जन कृतिका स्रष्टा सिटौलाका राजनीतिक, सामाजिक, आर्थिक विकृति एवं भ्रष्टाचारविरुद्धका सयौँ विचार–स्तम्भहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन् ।


