विवेक दुलाल क्षेत्री ‘दमक’
हजारौँ रहरको गुलाबी चौरमा
जब मैले आफ्ना दर्शनहरू ओछ्याएँ,
तब मेरा साधारण दैनिकीहरूसँगै
म आफू बारम्बार स्खलित भएँ।
तर हार मानिनँ,
केही फरक नतिजा निकाल्न
मैले ईर्ष्यालु अहंताको दहीमा
मेरो निःस्वार्थपन मिसाएँ।
तर असमर्थ भएँ
श्वास फेर्न,
मेरा शालीन र शान्त सोचहरूले।
महसुस गरेँ,
जिन्दगीको चौरस्तामा
द्विविधाग्रस्त मानसिकता लिएर
मैले फगत चक्कर मात्र पो काटेछु।
किनभने बाध्यता यो छ कि,
मन खाली पारेर पनि
खुसीहरू न्यानो पार्न
मनको ताप्के नै तताउनुपर्ने रहेछ।
र त गरिरहेको छु
निरन्तर ओरालोको ब्ल्याक होल यात्रा,
अनि घृणा गर्छु आफैँलाई
नबुझेर
रहर र अहङ्कारको अर्थ।
दमक बजार, झापा।
(कवि विवेक दुलाल क्षेत्री ‘दमक’को वास्तविक नाम भानुभक्त दुलाल हो। यिनी सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन्। यिनले आफ्नो एकल कविता सङ्ग्रह ‘हिम आइमाईहरू’ (२०७५) सहित विभिन्न विधामा आधा दर्जनजति कृति निकालेका छन्।)


