विवेक दुलाल क्षेत्री ‘दमक’
हजारौँ रहरको गुलाबी चौरमा
जब मैले आफ्ना दर्शनहरू ओछ्याएँ,
तब मेरा साधारण दैनिकीहरूसँगै
म आफू बारम्बार स्खलित भएँ।
तर हार मानिनँ,
केही फरक नतिजा निकाल्न
मैले ईर्ष्यालु अहंताको दहीमा
मेरो निःस्वार्थपन मिसाएँ।
तर असमर्थ भएँ
श्वास फेर्न,
मेरा शालीन र शान्त सोचहरूले।
महसुस गरेँ,
जिन्दगीको चौरस्तामा
द्विविधाग्रस्त मानसिकता लिएर
मैले फगत चक्कर मात्र पो काटेछु।
किनभने बाध्यता यो छ कि,
मन खाली पारेर पनि
खुसीहरू न्यानो पार्न
मनको ताप्के नै तताउनुपर्ने रहेछ।
र त गरिरहेको छु
निरन्तर ओरालोको ब्ल्याक होल यात्रा,
अनि घृणा गर्छु आफैँलाई
नबुझेर
रहर र अहङ्कारको अर्थ।
दमक बजार, झापा।
(कवि विवेक दुलाल क्षेत्री ‘दमक’को वास्तविक नाम भानुभक्त दुलाल हो। यिनी सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन्। यिनले आफ्नो एकल कविता सङ्ग्रह ‘हिम आइमाईहरू’ (२०७५) सहित विभिन्न विधामा आधा दर्जनजति कृति निकालेका छन्।)
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।