कवि: डा. दामोदर पुडासैनी ‘किशोर’
आगोले हिउँ छोपिरहेथ्यो,
घामले हिउँ छादिरहेथ्यो ।
गिटार र पियानोका धुनहरू
लेखिरहेथे स्काइलार्कहरूले ।
मेरी नातिनी एक्लै,
जस्तापाताझैँ कुच्याउँदैथिन् पृथ्वीलाई ।
साँझमा पहाड बन्यो चन्द्रमा
र समुद्र बन्यो सूर्य ।
मेरी नातिनी शेलीले
कुपुकुपु खाइन् ती दुवैलाई
हलुवा बनाएर ।
रूख र हावा सल्लाह गर्दै थिए—
“हल्ला नगर,
हल्ला नगर;
भरिरात जागा बस्छिन् शेली,
अर्थ–हार्पका आकार कोरेर ।”
विस्कन्सिनमा अनिदो नाचमा छ साँझ,
पृथ्वी नसुत्ने खबर
फैलिरहेछ सामाजिक सञ्जालहरूमा ।
आगोका फिलिङ्गाहरू विस्कन्सिनमा
अर्चाउँछन् आँखाहरू,
आमाका पाइला पैँचो लिएर ।


