कवि: सेर्कु शेर्पा
हरियालीले सुनसान जङ्गलभित्र,
चराचुरुङ्गीको चिरिबिरी
र खोलाको कलकलमा,
बिहानीको सुसेलीसँगै,
सूर्य उदाउँदा
सुनौलो रङले ढाकिन्छ—धर्मडाँडा ।
रङ्गीन लुङ्ता र छोतार फर्फराउँदा,
गोन्पाभित्र आस्थाको दीप बल्छ,
कठ्याङ्ग्रिने जाडो भए पनि
हिमालको काखमा,
निश्छल र खुसीमा जीवन मुस्कुराउँछ ।
काखैमा शेर्पा बस्ती,
घरको छानोबाट निस्कने धुवाँ,
त्रिरत्नको शरण,
बुद्ध वचन, डमरु र घण्टीको ध्वनि
गुञ्जिरहन्छ ।
चौँरीको छुर्पीसँगै सुच्या र चाम्पा खाँदै,
दिनभरिका
घामको किरणसँगै हिमाली दैनिकी,
आफ्नै गतिमा चौँरी गोठतिर लम्किन्छ ।
साँझ परेपछि
हिमाल चाँदीझैँ चम्किन्छ,
चौँरीका घण्टीहरू
गोठतिरै फर्किन्छन्,
यही धर्मडाँडाको काखमा,
हिमालभन्दा अग्लो मुस्कान बोकेर
बाँचिरहेका छन् मानिसहरू ।
शब्दार्थ :
-
- सुच्या : नुन चिया
- चाम्पा : सातु
- लुङ्ता : घरको छानोमा, बाटोमा वा डाँडापाखामा डोरीमा लहरै बाँधेर तेर्सो पारेर टाँगिने पञ्चरङ्गी ससाना ध्वजा/पताका
- छोतार : घर वा गुम्बाको आँगनमा ठाडो खम्बामा फहराइने पञ्चरङ्गी ध्वजा


