दिग्विजय र स्वर्णलताकी पहिलो छोरी जन्मिँदा दिग्विजयको करियर उत्कर्षमा थियो। स्वर्णलता फिल्मी अभिनयमा नयाँ थिइन् र नायिकाका रूपमा खासै जम्न सकेकी थिइनन्। त्यही बिचमा सन्तान पनि जन्मियो। त्यसै समयमा दिग्विजयले जति फिल्म बनाए, ती सबै हिट भए। विद्यालयमा सबैले छोरीलाई दिग्विजयकी छोरीका रूपमा चिन्थे।
दोस्रो छोरी जन्मिँदा भने अवस्था बिल्कुल उल्टो थियो: दिग्विजयको हातमा कुनै सिनेमा थिएन र स्वर्णलता निर्माता-निर्देशकको पहिलो रोजाइमा थिइन्।
दोस्रो छोरीलाई भने समाजले स्वर्णलताको छोरी भनेर पहिचान गर्यो; दिग्विजयको नामै आएन।
समाज तराजुजस्तै छ। हिजोका कुरा– ‘गोली मार!’ आज को डुब्दै छ, को उत्रिँदै छ, समाज त्यही हेर्छ।


