कथा: नाम नभएको मातृत्व
“कहाँ जाने भाइ ?”
सुर्खेत बसपार्कको टिकट काउन्टरको सानो झ्यालभित्र बसेका एक जना पुरुष कर्मचारीले मलाई हेर्दै सोधे । उमेरले उनी करिब बयालीस-त्रिचालीस वर्षका देखिन्थे ।
“बुटवल जाने हो दाइ, एउटा टिकट दिनु न,” मैले नरम स्वरमा भनेँ । एकछिन रोकिएर फेरि थपेँ, “झ्यालछेउकै सिट दिनुहोला है दाइ । धेरै अगाडि पनि होइन, धेरै पछाडि पनि होइन ।”
उनी हल्का मुस्कुराए, “गाडी खाली नै छ भाइ, जहाँ बसे पनि हुन्छ ।”
उनले टिकट काटेर मेरो हातमा थमाइदिए । मैले पैसा तिरेँ र टिकटमा लेखिएको बस खोज्दै बाहिर निस्किएँ ।
केही मिनेटको खोजीपछि बस भेट्टाएँ । टिकट फेरि एकपटक हेरेँ— ‘ए’ साइडको ८ नम्बर सिट ।
बसभित्र छिरेँ र आफ्नो सिट खोज्दै अगाडि बढेँ । सिटनजिक पुगेपछि मेरो नजर त्यहाँ बसिरहेकी एउटी महिलामाथि पर्यो । हेर्दा उनी करिब पचास वर्षकी देखिन्थिन् ।
“तपाईंको सिट नम्बर कति हो ?” मैले नम्र हुँदै सोधेँ ।
“ए को ७ हो,” उनले मतिर हेर्दै भनिन् ।
“ए… ए…” मैले छोटो स्वरमा भनेँ ।
उहाँ आफ्नै सिटमा बसिरहनुभएको थियो । सिटका विषयमा उहाँसँग धेरै वादविवाद गर्न मन लागेन । त्यसैले म पनि उहाँकै छेउको सिटमा बसेँ । केही बेर त्यत्तिकै बसेपछि मोबाइल झिकेँ र आफ्नै संसारमा हराउन थालेँ ।
केही समयपछि गाडी गुड्न थाल्यो । झ्यालबाट छिरेको चिसो हावाले यात्रामा छुट्टै अनुभूति थप्दै गयो । बाहिरका रूख, घर र बस्तीहरू पछाडि छुट्दै गए । गाडीभित्र भने सबै आ-आफ्नै मौनतामा थिए । केही बेरपछि छेउमा बसेकी ती महिलासँग कुराकानी गर्ने इच्छा जाग्यो । अपरिचित यात्रामा कहिलेकाहीँ एउटा सामान्य कुराकानीले पनि बाटोलाई छोटो बनाइदिन्छ ।
“अनि दिदी, तपाईं कहाँसम्म पुग्ने हो ?” मैले सोधेँ ।
“म बुटवलसम्म । अनि तपाईं ?”
“म पनि बुटवलसम्मै हो । अनि तपाईंको घर कहाँ हो नि ?”
“कालिकोट हो बाबु । अनि तपाईंको नि ?”
“मेरो गुल्मी हो दिदी । अनि तपाईं के कामको सिलसिलामा जान लाग्नुभएको ?”
उहाँले सहज स्वरमा भन्नुभयो, “म त मेरो स्कुलको कामको सिलसिलामा जाँदै छु । अनि हजुर नि ?”
“म हुन त इन्जिनियर हुँ, आफ्ना मान्छेहरूलाई भेट्न जान लागेको ।”
एकछिनपछि फेरि जिज्ञासु हुँदै सोधेँ, “तपाईं स्कुलमा शिक्षिका हुनुहुन्छ कि क्या हो ?”
उहाँले केही क्षण मेरो अनुहारमा हेर्नुभयो र बिस्तारै भन्न थाल्नुभयो, “म एउटा स्कुलको आश्रममा काम गर्छु बाबु । त्यहाँ अनाथ बच्चाहरूको हेरचाह गर्ने, आश्रम सफा गर्ने र बच्चाहरूलाई आवश्यक पर्ने सबै काम गर्छु ।”
उहाँको कुरा सुनेर मलाई झन् उत्सुकता जाग्यो ।
“हो र ? तपाईं एक्लैले सबैको हेरचाह गर्नुहुन्छ ?”
उहाँ हल्का मुस्कुराउनुभयो, “हामी तीन जना छौँ । पालैपालो गरेर काम गर्ने हो । बच्चाहरूलाई नुहाइदिने, खाना बनाउने, खुवाउनेदेखि लिएर उनीहरूको हेरचाह गर्ने र आश्रम सफा गर्ने— सबै काम गर्नुपर्छ । मेरो घर पनि धेरै टाढा त छैन, करिब एक किलोमिटरजति मात्र हो । त्यति नजिक भएर पनि दुई हप्तामा एकपटक मात्र घर जान्छु । एक रात घरमा बसेर फेरि आफ्नै काममा फर्किन्छु ।”
उहाँको कुरा सुनेपछि म केही बेर चुप लागेँ । घर केवल एक किलोमिटर टाढा, तर घर पुग्न दुई हप्ता कुर्नुपर्ने ! मानिसका लागि दूरी सधैँ बाटोले मात्र निर्धारण गर्दैन रहेछ । कहिलेकाहीँ जिम्मेवारीले पनि घर र आफूबीच लामो दूरी खडा गरिदिँदो रहेछ । उहाँका कुरा सुन्दै जाँदा मेरो मनमा अनेकौँ प्रश्नहरू जन्मिन थाले ।
अन्ततः मैले सोधेँ, “अनि तपाईंका छोराछोरी नि ? कति जना छन्, कहाँ छन् ?”
“यता घरमा मेरो कान्छो छोरो अनि कान्छी छोरी छन् । अनि काठमाडौँमा जेठो छोरो छ ।”
“अनि यता घरमा कान्छो छोरो र छोरी मात्रै ?”
उहाँले हल्का मुस्कुराउँदै भन्नुभयो, “हैन, हैन । यता घरमा त छोराछोरी, मेरा श्रीमान् अनि उहाँकी श्रीमती पनि हुनुहुन्छ ।”
म एकछिन स्तब्ध भएँ ।
“अनि तपाईं चाहिँ उहाँकी श्रीमती होइन र ? अनि ती बच्चाहरू तपाईंका होइनन् र ?”
उहाँले ओठमा सानो मुस्कान ल्याउनुभयो, “हुन्, ती सबै मेरै बच्चाहरू हुन् । अनि मेरा श्रीमान् पनि उहाँ नै हुनुहुन्छ । तर म उहाँकी कान्छी श्रीमती हुँ । उहाँकी जेठी श्रीमती पनि हुनुहुन्छ ।”
अब कुरा बुझ्न थालेँ, तर बुझ्दै जाँदा अचम्म भने झन् बढ्दै गयो ।
“तपाईंहरू सबै जना सँगै बस्नुहुन्छ ?”
“हामी सँगै बस्छौँ ।”
मैले केही बेर उहाँको अनुहारमा हेरेँ, “दुई जना श्रीमती सँगै मिलेर बसेको मैले अहिलेसम्म देखेको थिइनँ दिदी । तर तपाईंहरू त मिलेर बस्नुहुँदो रहेछ । सुन्दा नै खुसी लाग्यो ।”
उहाँ मुस्कुराउनुभयो, “यस्तो हो बाबु, म त सधैँ स्कुलमै बच्चाहरूसँग व्यस्त हुन्छु । घर जाने भनेको पनि दुई हप्तामा एकपटक मात्रै हो । राति घर पुग्दा सबै जना सुतिसकेका हुन्छन् । अर्को दिन एक रात बसेर फेरि आफ्नै काममा फर्किन्छु । हामी त्यस्तो झगडा गर्दैनौँ । दिदी र म राम्रैसँग मिलेर बस्छौँ । यत्रो वर्ष भइसक्यो हामी सँगै भएको । दिदीले घरको काम सम्हाल्नुहुन्छ, म चाहिँ स्कुलको काम हेर्छु । कामको चाप धेरै भयो भने म घर जान्छु, नत्र घरको सबै काम दिदीले नै सम्हाल्नुहुन्छ ।”
उहाँका कुरा सुन्दै गर्दा मलाई लाग्यो— सम्बन्धहरू सधैँ समाजले बनाएका परिभाषाभित्र मात्रै बाँच्छन् भन्ने पनि रहेनछ ।
“अनि तपाईंको बिहेचाहिँ कहिले भएको नि ?”
उहाँ केही क्षण चुप लाग्नुभयो । झ्यालबाहिर दौडिरहेका दृश्यतिर हेर्नुभयो । ती दृश्यभन्दा टाढा उहाँको नजर सायद आफ्नै अतीततिर पुगेको थियो ।
“म आठ कक्षामा पढ्ने बेला नयाँ स्कुलमा गएकी थिएँ । त्यही स्कुलमा उहाँसँग भेट भयो । उहाँ मलाई मन पर्नुहुन्थ्यो । उहाँसँग कुरा गर्न, उहाँलाई हेर्न मन लागिरहन्थ्यो । त्यसपछि एक दिन हामी भाग्यौँ । पछि बिहे गर्यौँ । अनि अहिले यतिका वर्षदेखि सँगै छौँ ।”
“ए… अनि त्यतिबेला त उहाँको बिहे भइसकेको थियो होला, होइन र ? तपाईंलाई उहाँ विवाहित हुनुभएको कुरा थाहा थिएन ?”
उहाँले बिस्तारै टाउको हल्लाउनुभयो, “थाहा नै भएन बाबु । त्यतिबेला म पनि सानै थिएँ । के सही, के गलत भन्ने त्यति धेरै सोच्न सक्ने उमेर थिएन । उहाँले पनि पहिले नै बिहे भइसकेको कुरा भन्नुभएन । मलाई उहाँ मन पर्नुहुन्थ्यो, उहाँले पनि मलाई माया गर्नुहुन्छ भन्ने लाग्थ्यो । त्यसपछि हामी भाग्यौँ र बिहे गर्यौँ । तर घर पुगेपछि मात्र थाहा पाएँ— उहाँको त पहिल्यै बिहे भइसकेको रहेछ ।”
मलाई उहाँको कथा झन् अनौठो लाग्दै गयो ।
“अनि तपाईंका माइतीले यो कुरा थाहा पाएपछि के भन्नुभयो त ?”
“केही भन्नुभएन ।”
“केही पनि भन्नुभएन ?”
“बिहे गरिसकेपछि के नै भन्नु भनेर कुरा भयो । त्यतिबेला अहिलेको जस्तो सम्बन्धविच्छेद गर्ने चलन पनि थिएन । बिहे गरिसकेकी छोरीलाई फेरि घर फर्काएर के गर्नु ? जे भयो, भयो । ‘तेरो खुसी नै हाम्रो खुसी हो’ भन्नुभयो । म पनि खुसी नै थिएँ बाबु । त्यसैले माइतीमा पनि त्यो कुरा ठूलो समस्या बनेन ।”
उहाँको स्वरमा कुनै गुनासो थिएन । जीवनले जस्तो बाटो देखायो, उहाँ त्यही बाटोमा सहजै हिँड्दै जानुभएको थियो ।
“म कान्छी श्रीमती भएँ,” उहाँले बिस्तारै भन्नुभयो, “तर दिदी र मबीच कहिल्यै सौताको जस्तो व्यवहार भएन । उहाँले पनि मलाई माया गर्नुभयो, मैले पनि उहाँलाई आफ्नै दिदीजस्तै मानेँ । हामीबीच कहिल्यै ठूलो मनमुटाव आएन ।”
केही बेर हामी दुवै चुप रह्यौँ । तर मेरो मन भने शान्त थिएन ।
“अनि दिदीतर्फका बच्चाहरू चाहिँ कहाँ-कहाँ छन् ?”
उहाँले सहजै भन्नुभयो, “दिदीका त बच्चाबच्ची भएनन् । मेरा तर्फबाट चाहिँ तीन जना भए— दुई छोरा र एक छोरी । जेठो छोरो काठमाडौँमा बसेर कक्षा १२ पढिरहेको छ । ऊ अब विदेश जान्छु भन्छ, खै के गर्ने हो… । अनि कान्छो छोरो र कान्छी छोरीचाहिँ यहीँ घरमै छन् । छोरो कक्षा ८ मा पढ्छ, छोरी कक्षा ५ मा ।”
उहाँका कुरा सुन्दै जाँदा मेरो जिज्ञासा अझ बढ्दै गयो ।
“अनि तपाईंका छोराछोरीलाई दिदीले नै हेर्नुहुन्छ ?”
उहाँले सहजै टाउको हल्लाउनुभयो, “उनीहरू दिदीसँगै बस्छन् । दिदीले नै सबै हेरचाह गर्नुहुन्छ । जन्म त मैले दिएँ, तर सरकारी कागजअनुसार… दिदी नै उनीहरूको आमा हुनुहुन्छ ।”
“मतलब ?”
“मैले नै बच्चाहरू जन्माएकी हुँ बाबु, तर उनीहरूको जन्मदर्तामा दिदीको नाम आमाका रूपमा राखिएको छ ।”
“किन त्यस्तो ? के बाध्यता थियो र ?”
उहाँ मुस्कुराउनुभयो, “मलाई त त्यस्तो केही छैन । म त सधैँ स्कुलमा बच्चाहरूसँगै हुन्छु । उनीहरूसँग रमाउँछु, उनीहरूको माया पनि पाएकी छु । तर दिदीका त सन्तान भएनन् । उहाँलाई पनि त आमाको सुख चाहिएको थियो नि ! त्यसैले मैले सोचेँ— मैले जन्माएको भए पनि दिदीकै नाममा गरिदिऊँ । उहाँले पनि बच्चाहरूलाई आफ्नै सन्तानजस्तै माया गर्नुहुन्छ । घरमा उनीहरू दिदीसँगै हुन्छन् । म त बाहिरै हुन्छु, स्कुलमै हुन्छु । बच्चाहरूलाई यो कुरा थाहा छैन बाबु । जेठोलाई चाहिँ पछि थाहा भएछ । गाउँका अरू मानिसहरूले कुरा गरेको सुनेर उसले थाहा पाएछ । बाँकी दुई जना त अझै सानै छन् ।”
म केही बेर उहाँको अनुहार हेरेर टोलाइरहेँ । आफ्नै कोखबाट जन्माएका सन्तानलाई अर्की महिलाको नाममा सुम्पिदिनु— कति ठूलो त्याग होला त्यो ! सायद मेरो अनुहारमै त्यो प्रश्न प्रस्ट देखिन्थ्यो ।
उहाँले केही क्षण झ्यालबाहिर हेरिरहनुभयो । त्यसपछि बिस्तारै भन्नुभयो, “सुरुमा त मेरा श्रीमान्ले पनि मलाई यस्तो नगर भन्नुभएको थियो । ‘आफ्नै कोखबाट जन्माएका बच्चाहरूलाई दिदीको नाममा किन दिन्छ्यौ ? पछि समस्या हुन्छ, नगर’ भन्नुभएको थियो । तर मेरो मनले मानेन ।”
उहाँको स्वरमा यसपटक अलिकति कम्पन थियो ।
“दिदीलाई रित्तो हात हेरिरहन मेरो मनले सकेन । उहाँको पनि त मन छ, उहाँलाई पनि आमा बन्ने रहर थियो होला । सन्तान नहुँदा उहाँको मनभित्र कति पीडा थियो होला, त्यो मैले नबुझेको होइन । मैले बच्चाहरू जन्माएँ, तर दिदीले तिनीहरूलाई आफ्नै सन्तान सम्झेर माया गर्नुभयो । घरमा उनीहरूसँगै बस्नुभयो, हुर्काउनुभयो, उनीहरूको हरेक खुसी र दुःखमा साथ दिनुभयो । त्यसैले मैले सोचेँ— जन्म त मैले दिएँ, तर आमाको सुख दिदीलाई पनि मिलोस् । बच्चाहरूले उहाँलाई ‘आमा’ भनेर बोलाउँदा उहाँको मनमा जुन खुसी आउँछ, त्यो खुसी खोस्न मलाई मन लागेन । आखिर दिदीको खुसी नै मेरो खुसी हो ।”
त्यसपछि केही बेर उहाँ बोल्नुभएन । बस आफ्नै गतिमा अगाडि हुइँकिइरह्यो । बाहिरको बाटो बदलिइरहेको थियो, तर मेरो मनमा भने उहाँले बोलेका शब्दहरू एउटै ठाउँमा अड्किएका थिए ।
“अनि तपाईंका छोराछोरीले तपाईंलाई चाहिँ के भनेर बोलाउँछन् ?”
उहाँको अनुहारमा यसपटक छुट्टै किसिमको चमक र मुस्कान आयो ।
“मलाई ‘कान्छी ममी’ भन्छन्,” उहाँले भन्नुभयो, “अनि दिदीलाई ‘जेठी ममी’ भन्छन् ।”
जन्म दिने आमा एउटी, हुर्काउने आमा अर्की ! एउटै घर, एउटै बाबु, तर दुई आमाका फरक-फरक नाम ।
म अझै धेरै कुरा सोध्न चाहन्थेँ । उहाँको जीवनका धेरै पाना अझै खुल्न बाँकी थिए । तर त्यही बेला बसको सहचालक हाम्रो सिटनजिक आयो ।
“भाइ, तपाईं पछाडिको सिटमा बसिदिनु न है । यहाँ लेडिजसँग अर्को लेडिज बहिनीलाई राखौँ ।”
साँच्चै भन्नुपर्दा, त्यो क्षणमा मलाई उठेर पछाडि जान पटक्कै मन थिएन । तर परिस्थितिसँग बहस गर्न सकिन्नथ्यो ।
“दिदी, म पछाडि सर्छु है । केही पर्यो भने भन्नुहोला ।”
यति भन्दै म झोला बोकेर पछाडितिर लागेँ । पछिल्ला सिटहरू खाली थिए । म झ्यालछेउको सिटमा बसेँ र टाउको सिटमा अड्याएँ । तर निदाउनुअघि पनि उहाँका शब्दहरू कानमा गुन्जिरहे— ‘दिदीको खुसी नै मेरो खुसी हो ।’
सोच्दासोच्दै मेरा आँखामा निद्रा पर्न थाल्यो । कहिले निदाएँ, पत्तै भएन । जब आँखा खुल्यो, बिहान भइसकेको थियो । बस बुटवलनजिक पुगिसकेको रहेछ । झ्यालबाहिर बिहानीको उज्यालो फैलिँदै थियो । सडक, बस्ती र वरिपरिका दृश्यहरू बिस्तारै प्रस्ट हुँदै थिए ।
मैले अगाडितिर हेरेँ । दिदी आफ्नै सिटमा बसिरहनुभएको थियो । केही बेरमै बस बुटवल बसपार्कमा पुग्यो । यात्रुहरू आ-आफ्नो सामान समेट्दै ओर्लिन थाले । म पनि झोला बोकेर बसबाट ओर्लिएँ । तर मन भने अझै त्यही बसभित्रै रुमल्लिरहेको थियो । दिदी पनि आफ्नो झोला लिएर ओर्लिनुभयो । म उहाँनजिक पुगेँ ।
“ल दिदी,” मैले मुस्कुराउँदै भनेँ, “तपाईंको कथा निकै मन छुने लाग्यो । तर मेरो मनमा अझै धेरै प्रश्नहरू बाँकी रहे, सोध्नै पाइएन । फेरि हाम्रो कतै भेट भयो भने सबै कुरा गरौँला है !”
उहाँको अनुहारमा परिचित आत्मीय मुस्कान फर्कियो, “हुन्छ बाबु, राम्रोसँग जानुहोस् ।”
“हजुर, तपाईं पनि ।”
यति भन्दै हामी आ-आफ्नो बाटो लाग्यौँ ।
केही पर पुगेपछि मैले फेरि पछाडि फर्केर हेरेँ । उहाँ बिस्तारै भीडमा हराउँदै जानुभएको थियो । केही बेर म उहाँलाई नै हेरिरहेँ । त्यो भेट केही घण्टाको मात्र थियो, तर उहाँले सुनाएको कथा भने केही घण्टामा सकिने खालको थिएन ।
म सोचिरहेँ— कुनै महिलाको मातृत्व उसको नाममा हुन्छ कि उसको त्यागमा ? आमा हुनु भनेको केवल जन्म दिनु मात्र हो कि, जन्म दिएर पनि जीवनभर माया र ममताले हुर्काउनु हो ? आमाको सच्चा पहिचान कोखसँग जोडिन्छ कि बच्चालाई आफ्नो संसार सम्झेर सर्वस्व दिने ममतासँग ?
सायद यी प्रश्नहरूको उत्तर उहाँसँग थियो होला, तर त्यो दिन मैले सोध्न सकिनँ ।


