गरुराहा
स्रष्टा परिचय:
वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।
साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।
अध्याय: १४
ज्योति ! केही समयपछि अजङ्गको प्रहरी पुनः आयो । ढोका खोलेर मलाई बाहिर ल्यायो अनि फूलबारीमा पानी पटाउन अह्रायो ।
मैले रातभरि काम गरेर थाकेको कुरा बताएँ । उसले खाउँलाझैँ गरेर मतिर नजर गाड्यो । मैले अटेर गर्ने आँट गरिनँ । पशुसँग अरू बातचित गरूँ भने लात-बात दुवै पाइने निश्चित थियो । चुपचाप काम गर्न थालेँ ।
ऊ भने मेरो कामको रमिते बनिरह्यो, केही बोलेन पनि । सङ्केतकै भरमा एक क्षण पनि सुस्ताउन दिएन । यसो ढाड सोझो पारेको देख्यो कि भनिहाल्थ्यो– “के हेर्छस् ? अहिल्यै आँखा निकालिदिन्छु, अनि थाहा पाउँछस् ।”
प्रत्युत्तरमा मेरो मुख खुल्यो– “रातभरि काम गरेँ, सुत्न पाएको छैन । भोकले प्राणपखेरु उड्दै छ । बात त सुन्नै नपर्ने पनि सुन्न सक्छु, तर लात चाहिँ थेग्न सक्दिनँ ।”
मेरा कुराले उसको कन्सिरी तातेछ– “अपराध गर्नेलाई बोल्ने अधिकार छैन । तँ पटमूर्ख बनेर अह्राएको काम गरिराख् । मुख खोल्न थालिस् भने रगत छाद्न सक्छस् । मरिस् भने आफैँले खनेको खाल्डोमा पुरिन सक्छस् । तँजस्ता धेरै अपराधीहरूलाई तह लगाएको ज्यान यही हो ।”
“कम्तीमा खाना त दिनू र चाहिँदो मात्र काम लगाउनू । मैले अपराध गरेकै छैन, म किन सजाय भोग्ने ?” मैले पनि साहस देखाएँ ।
ऊ रातोपिरो भयो । म डरले खुरुखुरु पानी पटाउन थालेँ । ऊ अफिसतिर गयो, सायद अफिसरको सल्लाह लियो क्यारे ! फेरि मकहाँ आयो । म डराएँ, ऊतिर हेर्ने आँटै गरिनँ ।
एक्कासि सिमेन्टमै बजारिने गरी बुटले हान्यो । इनारमा दाँत ठोकिएछ, मुखबाट रगत बग्न थाल्यो । ऊ अझ क्रोधित भयो र लगातार लात्तैलातले हान्न थाल्यो । अनुहारमा हानेको लातले दाहिने आँखा हेर्नै नहुने गरी घाइते भयो । अगाडिको घटनामा दाहिने कानकै जाली फुटेको थियो । म बाँच्नु न मर्नु भएँ ।
“मलाई नमार्नुस्, मलाई अपाङ्ग नपार्नुस् !” मेरो मुखबाट ठूलो स्वर निस्कियो ।
“ए, अझ बोल्छस् ! तँ अपराधीलाई सजायबिना उन्मुक्ति मिल्छ र !” उसले दाह्रा किट्यो ।
परिस्थिति बिलकुलै प्रतिकूल थियो । म चुपचाप बगेको रगत पुछ्न थालेँ । ऊ भुत्भुताउँदै गयो र आमाबुबासँग गाँसिएका गालीगलौजको मचान नै लगायो । बोल्न त मन थियो, तर प्रतिकारमा उत्रियो भन्दै अरू ज्यादती गर्ने अवस्था थियो । तसर्थ बिस्तारै उठेर काममा जोतिएँ ।
केही बेरपछि ऊ म नजिक उभियो । मायालु स्वर निकाल्दै भन्यो– “बुझिस् अपराधी ! आज राति तँलाई त्यही खाल्डोमा पुर्ने रे । तँ त माओवादीभित्रको केटी बेच्ने दलाल होस् रे । तँलाई बाँच्ने हक कतैबाट पनि छैन । गाउँलेको दबाब पनि छ, माथिका हाकिमको आदेश पनि छ । तेरो जीवनलीला समाप्त नभइन्जेल गाउँलेहरूको मनमा शान्ति आउँदैन रे ।”
मैले पुलुक्क ऊतिर हेरेँ । ऊ मुस्कुराइरहेको थियो । कसैको केही बिगार नगर्दा त मनपरी सहनुपर्छ, आफ्नै शरीर विसर्जनका लागि रातभरि खाल्डो खन्नुपर्छ, एकछिन शान्तिको सास फेर्न पाइन्न भने बाँचेर के पो गर्नु छ र ! प्रहरीले छोडिदिए पनि केटीको बाउको गुन्डागर्दीले बाँच्न दिँदैन । ठीकै छ, जसले जे गर्न सक्छ गरोस्; यो जुनी यत्तिकै बित्ने रहेछ ।
मनमा थरीथरीका विचारहरू मडारिन थाले । दुखियालाई मृत्यु पनि प्यारो भइदिँदो रहेछ । म मृत्युघडी पर्खन थालेँ र निसङ्कोच भएर काममा जुटिरहेँ ।
मनलाई जति बुझाउन खोजे पनि मृत्युभय किन भाग्थ्यो र ! भित्रैदेखि आँत सुकेर आयो । बाल्टिनमै मुख गाडेर पानी तनतनी पिएँ । शरीरमा प्राण भरिएझैँ भयो, भित्रैदेखि शीतल भयो ।
त्यतिखेरै ऊ आयो । “बाल्टिनमा मुख गाडेर किन पानी पिइस् ?” भन्दै मलाई बाल्टिनैबाल्टिनले भकुर्न थाल्यो । मेरो टाउकोमा बज्रेको बाल्टिनले म रक्ताम्मे भएँ । आँखाअगाडि तोरीका फूल देख्न थालेँ । सहनै सकिनँ । जुरुक्क उठेँ, बाल्टिन पक्रिएँ र शिरमा हेल्मेटझैँ हुने गरी उसैलाई बाल्टिन लगाइदिएँ ।
ऊ अन्धो भयो, बाहिर आवाज गुन्जाउन नसक्ने भयो । खै, कसैले देखेनन् कि क्या हो, कोही पनि आएनन् । मौका पाएकै थिएँ । राति मर्नु नै छ, अहिल्यै किन नमर्नु भन्दै एक लात त्यसलाई बजारेँ ।
ऊ चिच्याउँदै इनारभित्र ठूलो आवाजका साथ खस्यो । त्यहाँ रहनु अब उचित थिएन । छलिँदै पर्खाल नाघेर बाहिर निस्किएँ । तीन-चार बिघाको रहरीबारी रहेछ, म यसैभित्र छिरेँ । लगभग बीच रहरीबारीमा पुगेर सास फेरेँ । प्रहरीहरू खोज्दै आए र “आत्मसमर्पण गर् !” भन्दै हवाईफायर गरे । म पूरै भुइँमा टाँसिएर सुतिरहेँ । कसैले सुन्ला कि भनेर मन्द गतिमा सास फेर्दै बाहिरी आवाजहरू सुन्न थालेँ ।
आधा घण्टापछि प्रहरीहरू फर्किए । मन हलुका भयो । त्यही रहरीका कोसाहरू टिपेर खान थालेँ । मन अघाउन्जेल खाएँ । प्यास लाग्यो, तर बाहिर निस्कूँ भने ज्यान नबच्ने निश्चित थियो । त्यसैले ठाउँ सरेर अलिक पर्तिर गएँ र मज्जाले खुट्टा तन्काएर सुतेँ । रातभरिको अनिद्रा, काम गरेर लखतरान भएको शरीर, पेटमा चारो परेपछि फुस्स निदाएछु । कति घण्टा निदाएँ पत्तो भएन, आँखा खोल्दा सूर्य बिदा भइसकेका थिए ।
चराचुरुङ्गीको चिरबिराहट बढ्दै थियो । बाहिर मान्छेको चालचुल थिएन । म बिस्तारै-बिस्तारै रहरीबारी छाड्दै गएँ । पूर्ण रूपमा बाहिर निस्कँदा कतै मान्छेको अवशेष देखिनँ । बरु स्याल, लोखर्के र न्याउरीमुसाहरूको जमात भेट्टाएँ । तिनीहरूको चहलपहल भएको ठाउँ वरिपरि कुनै मानिस नहुने पक्का थियो । ढुक्क भएँ र एउटा खोल्सो समातेर दक्षिणतिर हानिएँ ।
निकै बेरपछि एउटा सानो खोपिल्टोमा पानी भेट्टाएँ । नजिकै गएर हेर्दा माछा र भ्यागुताहरूको सानो संसार रहेछ । प्यासले भुतुक्क भएको थिएँ ।
त्यहीँ नजिक बसेर विचार गर्न थालेँ– गाउँहरू निकै टाढा थिए, पुग्न धेरै समय लाग्थ्यो । घाँटी भिजाउन पाए त्यहाँसम्म पुग्ने त्राण आउँथ्यो । तर, फोहोर पानी कसरी खाने ? मनले मनलाई नै प्रश्न सोध्यो ।
अर्को मन सक्रिय भयो– ‘मूर्ख ! तेरो मूर्खतामा हाँस्न मन लाग्छ । रक्षक नै भक्षक भएको थाहा पाएपछि उहिल्यै सुइकुच्चा ठोक्नुपर्थ्यो । जो तेरो बचाउमा बोल्छ, उही थुनिन थालेपछि तेरो उपाय नै के थियो र ? फेरि सजायको तरिका पनि देखिहालिस् । मानव भनाउँदाहरू मानवता नराखी जहाँ हिँड्छन्, त्यो दानवराज हो । दानवराजमा मानवले न्याय पाउँदैन भन्ने बुझ्नै सकिनस् । जे गरिस्, त्यही भोगिस् । हातमा आएको फल जोगाउन सकिनस्, भड्खालोमा जाकिने काम मात्र गरिस् । अब के हेर्छस् ? खुरुक्क पानी पिएर हिँड् । माछा र भ्यागुता भन्दै नसोच् । उनीहरूको संसार नै पानी हो । उनीहरूको संसारमा आएर उनीहरूकै आधिपत्यलाई अस्वीकार गर्न मिल्दैन । मान्छेभन्दा यी प्राणी लाखौँ गुणा असल छन् । यिनीहरूको कृपाको आभारी बन् र खुरुक्क पानी पिएर बाटो लाग् ।’
म पूर्ण सचेत अवस्थामा फर्किएँ । पेटभरि पानी पिएँ । भोकले सताउन छाडेको थिएन । पुर्खाले चिम्ट्याइलो माटो खाएर प्राण बचाएको कथा सुनेको थिएँ । त्यहीँको माटो हातमा लिएँ र चाट्न थालेँ । नभन्दै आत्मतृप्ति मिल्दै गयो । केही बेरपछि पुनः दुई अञ्जुली पानी पिएर पश्चिमतिर हानिएँ ।
अँध्यारो रात ! परपर बिजुलीका बत्तीहरू पिलपिल गरिरहेका देखिन्थे । मानव बस्तीमै रात कटाउने उद्देश्यले पाइलाहरू अघि बढिरहेका थिए । नजिक पुग्दा सागसब्जीको बाली देखियो । केही त खानैपऱ्यो भनेर हरियो साग चुँडचाँड पारेर चपाएँ । केही राहत अवश्य मिल्यो ।
अघि बढ्दै जाँदा एउटा गोहाली भेटेँ । त्यसैमा छिरेको त पशुहरू तर्सिए । म टक्क अडिएँ । ती शान्त भएपछि अर्को कुनातिर नजर लगाएँ, त्यहाँ एक वृद्ध कुटी काट्दै रहेछन् । त्यतिन्जेलसम्ममा जून राम्ररी उदाइसकेको थियो । त्यही उज्यालोमा ती वृद्ध कर्ममा जुटेको पाएँ । के भनूँ र कसो भनूँ भयो ।
“बाबा !” भन्दै उनको नजिक पुगेँ । उनी रोकिए र मतिर नियालेर हेरे ।
मैले फेरि “बाबा गौ !” भनेर बोलाएँ ।
उनले “के छी रे ?” भनेर प्रश्न तेर्साए ।
आफू अर्कै गाउँको केटो भएको र विपत्मा समेत परेकाले रात गुजार्न दिऊन् भन्ने मनसायले भनेँ– “हम दोसर गामके लड़का छी । हमरा बहुत आफत परि गेल छै । हम अही ओसरा पर राति काटैलऽ चाहै छी । हमरा रहए देबही ?”
मेरो कुराको कुनै प्रतिक्रिया आएन । म टक्क उभिइ नै रहेँ ।
एक जवान ठिटो भएकाले वृद्धले काम गरिरहेको ठाउँमा उभिएर तमासा हेरिरहनु उचित लागेन । त्यसैले कुटी काटिदिने मनसायले भनेँ– “ले बाबा ! कुटीकट्टा आ हाँसु ला ! हम कुट्टी काटि दै छियौ ।”
म निहुरिँदै हँसिया समात्न बसेँ । उनले केही नबोली मलाई ठाउँ छाडिदिए । म कुटी काट्न व्यस्त भएँ र करिब आधा घण्टामा सिध्याएँ । त्यतिन्जेल गोठ धुवाँमय भइसकेको थियो ।
बुढा नजिक आए । कुटीको थुप्रो देखेर खुसी भए ।
म बस्ने गाउँ जान्ने हिसाबले बुढाले सोधे– “बौवा ! कुन गाम-घर छौ ?” प्रश्नको जवाफ के दिने होला भनेर म घोरिएँ ।
आफ्ना कोही नभएकाले निर्धक्क भएर मनको कुरा भने हुन्छ भन्ने आशयले उनले थपे– “चिन्ता नइँ कर । हमर किओ नइँ छै संसारमे । सब गोड़े हमरा छोडि कऽ चलि गेलै । हम दुनू बुढ़वे–बुढिया टा छी । तूँ अपना मोनक वात कहि सकै छें । कोनो डर नइँ कर ।” उनी केही सहज भए ।
म पनि केही खुलेँ, उनी त पूरै खुले । उनको भनाइको सार थियो– छोरीहरू बिहेदानमा गए । जेठो छोरो परमधाम गयो । माहिलो प्रहरीभित्र पसेको सकियो कि छ, थाहा छैन; पाँच वर्षदेखि कुनै सम्पर्क छैन । टाउकामा रातो कफन बाँधेर ‘विजयका दिन डाक्छु बाबा’ भन्दै कान्छो उत्तरतिर लागेको, कहिल्यै फिरेन । तीन छोरा थिए, तीनैतिर लागे । बुहारीहरू माइततिर हानिए । हामी बूढाबूढी मृत्यु पर्खेर बसेका छौँ ।
उनको आशय राम्ररी बुझेँ । उनले नयाँ–पुराना कुराहरू मनग्गे सुनाए । उनको जीवन-अनुभूतिले मलाई ठूलो प्रेरणा दियो; म गन्तव्यविहीन मान्छेलाई गन्तव्यतिर लाग्न ऊर्जा प्रदान गऱ्यो ।
मनमनै बुढालाई धन्यवाद दिएँ । १० बजे खाना खुवाए । मीठो मानेर पेटभरि खाएँ । पेट उक्सियो । भोलि उठेर के गर्ने भनेर सोच्न थालेँ । कुनै निष्कर्ष ननिस्कँदै निद्रादेवीको काखमा लुटपुटिन पुगेछु ।
रात मीठो थियो, तर बिहान टर्रो दिन उदायो । उठेँ । अब कसो गर्ने, कसो नगर्ने पत्तो लगाउनु थियो । प्राथमिकताका आधारमा होसियारीको सूची तयार पारेँ :
– प्रहरीको आँखा छलेरै बसिरहनु ।
– कान र छातीको उपचार गराउनु ।
– गाउँलेबाट जोगिएर मालतीको खोजी गर्नु ।
– दैनिक गुजाराका लागि उपाय पहिल्याउनु ।
त्यसका लागि मसँग भेष बदल्नुको विकल्प थिएन । म एक जना नटुवाको घरमा पुगेँ । उसलाई अनुनय-विनय गरेर महिलाको रूप धारण गरेँ । सारा सामग्री फर्काइदिने विश्वास दिलाएर म मानव अधिकारवादीकहाँ पुगेँ ।
त्यहाँ आफूलाई लुकाएर काम गर्नु थियो । मानव अधिकारकर्मीहरूको विश्वास गर्नुको विकल्प थिएन । प्रमुखकहाँ पुगी सबै वृत्तान्त बताएपछि अधिकार रक्षाका लागि पहल गरिदिने आश्वासन पाएँ ।
मेरो अधिकार मरिसकेको थियो र मरेको अधिकार कसैले पनि ब्युँझाउँदैन भन्ने मलाई लागेको थियो । अधिकार दयाले पाइन्न, खोस्न जान्नु र सक्नुपर्छ भन्ने चाहिँ थाहा थियो ।
मैले प्रस्ट भनेँ– “मलाई तत्काल अधिकार चाहिएको छैन । प्रहरी यातनाले जाली फुटेको कानको उपचार हुने व्यवस्था होस् । मेरो छातीमा बुट प्रहारले लागेको गम्भीर चोटको उपचार होस् । शरीरका अन्य भागमा लागेका चोटपटक म आफैँ ठीक गर्छु ।”
नभन्दै उनीहरूले काठमाडौँमा उपचारको व्यवस्था मिलाइदिए । म दलित अधिकारकर्मीकहाँ पनि पुगेँ र दुखेसो सुनाएँ । महिलाकै भेषमा मेरो दुखेसो सुन्दा उनीहरू तीनछक परे ।
एक जनाले त प्वाक्कै मुख खोलिहाले– “हैन, तपाईं पुरुष भएको कुरा गर्नुहुन्छ; रूपरङ्ग र पहिरन भने महिलाको देखिन्छ । आखिर कुरा के हो ? कि राँची पुऱ्याउनुपर्छ ? प्रस्ट बताउनुपऱ्यो ।”
मैले आफूलाई नियालेँ; म त अझै महिलाकै भेषमा रहेछु । त्यो विशाल काठमाडौँमा मलाई चिन्ने को नै थियो र ! भेष बदलेर हिँड्नु ठीक रहेनछ भन्ने ठानेर अर्कातिर गएँ र पुनः पुरुषको पहिरनमा फर्किएँ । त्यहाँ उपस्थित सबै जना छक्क परे ।
“कहिले के, कहिले के ! आखिर तपाईं दलित नै हो कि बहुरङ्गी जोकर हो ?” एक जनाले कोठै थर्कने गरी हाँस्दै भने । अरूले पनि हाँसो रोक्न सकेनन् । म हास्यपात्र बनेर ठिङ्ग उभिइरहेँ ।
त्यहाँ दलितका नाममा जोकोहीले फाइदा लुट्ने गरेको चर्चा हुन थाल्यो । म विवादास्पद व्यक्तिका रूपमा गनिन थालेँ । सङ्घर्षको पहाड फोडेर निस्केको मलाई ती कुराहरू असह्य भए । उनीहरू आ-आफ्नै गफमा मस्त र व्यस्त थिए ।
मेरो कुरा सुन्ने रुचि कसैमा देखिएन । कुरामा कुरा थपिँदै जाँदा चुलिँदै गयो, त्यसलाई गर्ल्यामगुर्लुम ढाल्नु नै थियो ।
“सुन्नुस् ! सबै जना सुन्नुस् ! कुरैकुरामा मलाई फटाहा नबनाउनुस् । म आपत्मा परेको व्यक्ति हुँ, ममाथि अझ सङ्कट थप्ने काम नगर्नुस् । रक्षा गर्नुहुन्छ कि भनेर आएको थिएँ, सक्नुहुन्न भने नगर्नुस् । तर खबरदार, प्रहरी बोलाएर जिम्मा लगाउने भूल नगर्नुस् ! पुलिसिया शासन खेपेर आएको छु, अरू सहने सामर्थ्य मसँग छैन ।” म एक्कासि विस्फोट भएछु ।
उनीहरू सचेत भए र कुरा बताउन अनुरोध गरे । मैले मालतीसँगको मिलन र विछोडको वृत्तान्त सुनाएँ । प्रहरी दमनको पराकाष्ठाको चित्रणमा धेरै शब्द खर्च गरेँ । मानव अधिकारवादीको सिफारिस-पत्रसमेत देखाएँ । भेष बदल्नुको कारण उल्लेख गर्न पनि भुलिनँ । मेरा कुराले उनीहरू सन्तुष्ट भए र सहयोग गर्न सकिने विषयमा चर्चा-परिचर्चा गरे ।
आखिरमा मेरो कान र छातीको निःशुल्क उपचार भयो । द्वन्द्वपीडितका रूपमा राहत तथा सेवा लिनेहरूमध्ये एक व्यक्ति म पनि भएँ । शरीरका अन्य भागमा लागेका चोटपटक पनि बिस्तारै निको भए । म पूर्णतः स्वस्थ भएँ ।
उपचारकक्षबाट डिस्चार्ज भएँ । अब आफ्नै बलबुतामा बाँच्नु थियो । काठमाडौँ आफ्नो गाउँ थिएन, दयाले दुई गाँस खान दिने मान्छे यहाँ विरलै हुन्थे । गगनचुम्बी महलमुनिको कोलाहलमय वातावरणभन्दा आफ्नै गाउँघर स्वर्ग थियो भन्ने लाग्यो ।
मस्तिष्क बोधो हुँदै गएको अनुभूत भयो । झट्टै कुनै कुराको निर्णय गर्ने सामर्थ्य हराउँदै गयो । अनिश्चित भविष्यले मलाई अझ घायल बनायो । केही रात काठमाडौँका सडकपेटीमा बिताएँ । खानकै लागि गिट्टी कुट्ने र बालुवा चाल्ने कामसमेत गरेँ । जसोतसो जीवन चलेकै थियो, म अनुकूल समयको खोजीमा थिएँ ।
एक्कासि आफ्नै गाउँको शुकरा रामसँग भेट भयो । ऊ हिजो मात्र काठमाडौँ आइपुगेको रहेछ । उसले गाउँको बदलिँदो परिस्थिति सुनायो ।
गाउँलेका धनमाल फिर्ता भएछन् । मलाई पक्रेर प्रहरीकहाँ बुझाउने सर्तमा गाउँलेहरू पीडामुक्त भएका रहेछन् । मालतीलाई गाउँबाट काठमाडौँ पुऱ्याइएको कुरा पनि थाहा पाएँ । आमाबुबाले भने मेरो निकै पिरलो गरिरहनुभएको रहेछ । घरको कान्छो सन्तान न परेँ, मायाममता त ओइरिने नै भयो नि भनेर चित्त बुझाएँ ।
उसैले भनेबमोजिम अहिले म गाउँ फर्कनु उचित थिएन । मेरै गाउँका काँतरहरूले मलाई पक्रेर प्रहरीकहाँ बुझाउने खतरा रहेको कुरा शुकराले प्रस्ट बतायो ।
परिस्थितिको पखेटा कहाँसम्म फैलिएको छ भन्ने विचार नगरी एकोहोरो हिँडे जहाँ पनि फँसिन सक्छ । दुई गिलास जाँड-रक्सी र चार-पाँच चोक्टा मासुमा इमान बेच्नेहरू धेरै भइसकेको कुरा बताउन पनि शुकराले भुलेन । अझ म फेरि प्रहरीको फन्दामा परेँ भने त जिउँदै गाडिनुपर्ने हुन्थ्यो । त्यो कुरा मैले पनि राम्ररी बुझेको थिएँ ।
×××
मालती काठमाडौँमै छिन् भन्ने थाहा पाएर मनमा झिनो आशा पलायो । तर कसरी पो खोज्ने काठमाडौँमा मालतीलाई ! चारैतिर घरैघर, थरीथरीका मान्छे नै मान्छे ! छिनछिनमै परिवर्तन हुने सिनेमाको दृश्यजस्तो काठमाडौँमा घुम्दाघुम्दा र हेर्दाहेर्दा मन अघायो, आँखा टट्टाए ।
मेरो शरीर थाक्यो, तर मालतीलाई पुनः पाउने आशा थाकेन । नयाँ बानेश्वर पुग्दा एउटा फलैँचा भेट्टाएँ । त्यहीँ विश्राम गर्न ढल्किएँ । थाकेको शरीर, फुस्स निदाएछु ।
लट्ठीको घोचाइले आँखा खुले । मिच्दै हेरेको त तीन-चार जना प्रहरी अगाडि ठिङ्ग उभिएका रहेछन् ! मनमा ढ्याङ्ग्रो बज्न सुरु भयो । प्रहरीहरू आपसमा कुरा गर्न थाले, म भने मनसँगै बात मार्न व्यस्त भएँ ।
सप्तरीको घटना यहाँका प्रहरीले चाल नपाउनुपर्ने ! फेरि मलाई लट्ठीले किन घोचेका त ? पक्रिने भए ब्युँझिएपछि पक्रिहाल्थे नि ! त्यसैले म प्रहरीबाट तत्काल सुरक्षित छु भन्ने कुरामा निश्चिन्त भएँ ।
हिँड्ने मन भएन । प्रहरीहरू पनि अन्यत्रै लागे । सोचेँ– सिनामङ्गलमा मालतीका फुपू-फुपाजु बस्थे, बाबु पनि त्यहीँको ग्यारेजमा काम गर्थे । पक्कै पनि मालती त्यहीँ हुनुपर्छ । मैले प्रयत्न गरेँ भने अवश्य मालतीलाई भेट्छु; उनका कुरा बुझ्न पाउँछु, आफ्ना कुरा राख्न पाउँछु र कुनै निष्कर्षमा पुगेर मनलाई बुझाउन पाउँछु ।
थरीथरीका कुरा मनमा खेलाउँदै म सिनामङ्गलस्थित मालतीले पहिले काम गर्ने गलैँचा कारखानामा पुगेँ ।
सोधखोज गर्दा थाहा भयो– उनलाई डेरामै राख्ने गरिएको रहेछ । काम गर्न आउँदा फुपूले साथमै ल्याउने र काम सकेर फर्कंदा साथै लैजाने गर्दी रहिछन् । मालती अचेल न्यास्रो मुहार लगाएर काम गर्छिन् रे ! ‘के भयो ?’ भनी सोध्दा ‘केही भएको छैन’ भनेर जवाफ फर्काउँछिन् रे ! फुपू पनि पहिलेकी जस्ती छैनन्, साह्रै क्रूर व्यवहार देखाउँछिन् ।
×××
मन गह्रौँ भयो । एक कुनामा बसेर अघाउन्जेल रुन मन लाग्यो अनि मालतीका वरिपरिका सम्पूर्ण तगारोहरू फाँडफुँड पार्न मन लाग्यो । फुपू र बाउलाई चाहिँ काँचै चपाऊँझैँ भयो । मालतीलाई भने हृदयको पवित्र भित्तामा कहिल्यै नउकिने गरी टाँसिरहन मन लाग्यो ।
कारखानामा कामदारहरू काममा व्यस्त थिए । को आउँछ र को जान्छ, उनीहरूलाई मतलब थिएन । कोही लोकभाका हाल्दै थिए, कोही किस्साकहानी भन्न र सुन्नमा मस्त थिए । कोही के गुनगुनाउँथे, कोही के बोल्थे, आफैँलाई पत्तो हुन्नथ्यो । कतै भने दिमाग खुस्केका उट्पट्याङ गफ झिकेर हाँस्ने-हँसाउने क्रम जारी थियो । थाक्ने र रोकिने नाम कसैले लिँदैनथे । कामको पत्तै नपाई उनीहरू फटाफट काम सिध्याइरहेका थिए ।
म मालतीलाई खोज्दै कारखाना चहार्न थालेँ । बल्लतल्ल म उनका सामु पुगेँ । उनको दुब्लाएको शरीर, कान्तिहीन मुहार र जिङ्ग्रिङ्ग परेको कपाल हेर्दा उनी ठूलो यातना झेलिरहेकी छिन् भन्ने प्रस्ट हुन्थ्यो ।
“मालती !” मेरो आवाज सुनेर उनले टाउको उठाइन् । बोल्न सकिनन्, तर आँखाभरि आँसु पारिन् ।
“तिमी ठीक त छ्यौ मालती ? म त अत्याचारको जाँतोमा पिसिइहालेँ । तिमी पनि उस्तै हालतमा तड्पिइरहेकी छ्यौ भन्ने कुरा तिम्रो अवस्थाले नै बताइसक्यो । पिर नगर, सबै कुरा ठीक हुन्छ । तिमी मेरी हौ र मेरी नै रहनेछौ !”
उनी बोल्नुको सट्टा घुँकघुँक गरेर रुन थालिन् । मैले सहन सकिनँ, हात अघि बढाएँ । उनी मेरो अँगालोमा बाँधिइन् ।
कामदारहरू छक्क परेर हेर्न थाले, एकापसमा मुखामुख गर्न थाले । कोही नजिक-नजिक आउन थाले । एक किसिमले कारखानाको काम नै अवरुद्ध भयो ।
फुपू दौडँदै आइन् र मेरो बाहुपासबाट मालतीलाई छुटाउँदै भनिन्– “यो के फिलिम देखाएको ? दुनियाँलाई हँसाएको ? तिमीहरूको इज्जत नहोला, हाम्रो त छ नि ! मालती, खुरुक्क काममा लाग् !”
म हेरिरहेँ, केही बोल्न सकिनँ । उनै बर्बराइरहिन्– “कस्तो सरम पचेको मान्छे ! तिमीलाई लाज लागेन अर्काका छोरीचेलीको इज्जत डुबाउँदै हिँड्न ? यत्रो सहरमा समेत आइपुगेछन् है ! खुरुक्क जाऊ, तिमीसँग हाम्रो कुनै सम्बन्ध छैन ।”
म पनि रिसले मुर्मुरिएँ– “फुपू ! कति निर्दयी बन्नुभएको ? मालतीको रूपरङ्ग हेर्नुस्, सबै तिमीहरूले नै लुछिसकेछौ । मालती मेरी श्रीमती हुन्, मैले उनको सिउँदो रङ्गाएको छु । उनले मलाई श्रीमान् मानिसकेकी छिन् ।”
मैले अझ थपेँ– “धर्म छ भने सोची हेर्नुस्, उनी मसँग खुसी थिइन् । तिमीहरूले छुटाएर ठूलो पाप गऱ्यौ । अब म मेरी श्रीमतीलाई फिर्ता लिएरै छाड्छु । हेर्दै जानुस्, तिमीहरूलाई कत्रो समस्यामा पार्छु !”
फुपू पनि गर्जिइन्– “जा, जा ! के गर्न सक्छस् गर् ! तँ नाथेले धम्क्याउँदैमा को डराउँछ ? यहाँबाट तँ चाहिँ निस्किहाल, नत्र मान्छे लगाएर गलहत्याउनु नपरोस् । थोरै पनि इज्जत छ भने यहाँबाट तुरुन्तै निस्की र आफ्नै गरुराहामा गएर अनर्गल प्रचार गर् ।”
म तत्कालै गौशाला प्रहरी कार्यालय पुगेर सबै वृत्तान्त जाहेरी गरेँ । भोलिपल्ट बिहानै प्रहरीले मालतीहरू बस्ने घरमा खानतलासी गऱ्यो ।
फुपूले मालतीलाई शौचालयमा थुनेर राखेकी रहिछन् । प्रहरीले फेला पारेरै छाड्यो । प्रहरी फुपूमाथि खनियो, तर उनले फिस्स हाँसेर टारिन् । बाबु र फुपाजु भने देखा नै परेनन् ।
प्रहरीले भन्यो– “ल फुपू ! मालतीलाई लिएर झट्टै गौशाला प्रहरी कार्यालय हिँड्नुस् ।”
चलाख फुपूले तुरुन्तै जवाफ फर्काइन्– “हजुरहरू जाँदै गर्नुस्, हामी ट्याक्सी चढेर आउँछौँ ।”
“फेरि मालतीलाई यताउता लुकाएर बहाना बनाउनुभयो भने तपाईं आफैँ फस्नुहुन्छ ! अनुसन्धानमा हामीलाई नसघाएर दुःख दिनुभयो भने परिणाम घातक हुन्छ, होस राख्नुहोस् !”
प्रहरीको बोली टुङ्गिन नपाउँदै फुपू बोलिन्– “हजुरहरू ढुक्क भएर जानुस्, सबै कुराको जिम्मेवारी म स्वयम् लिन्छु ।”
प्रहरीसँगै म पनि गौशाला फर्किएँ । उनीहरू आउने बाटो हेर्दाहेर्दा आँखा टट्टाए । करिब तीन घण्टापछि फुपू र मालती मात्रै आइपुगे ।
इन्स्पेक्टरले कुरा बुझ्न खोज्यो । मैले सारा वृत्तान्त सुनाएर मालती आफ्नै श्रीमती भएको दाबी गरेँ ।
इन्स्पेक्टरले भन्यो– “ठीकै छ, श्रीमती भएको कुनै प्रमाण छ ?”
मैले भनेँ– “केको प्रमाण ? फोटो खिचेको थियो, साथीले गाउँलेलाई बाँडेरै सिध्यायो । गरुराहाका सारा मानिस साक्षी छन् । यी दुवै नारी पनि त कुरा बुझ्दछन्, सोध्नुस् न उनीहरूलाई नै !”
इन्स्पेक्टर फुपूतिर फर्कियो । उनले मालतीलाई सोध्न सङ्केत गरिन् ।
उसले मालतीलाई प्रश्न गऱ्यो– “राजदेवले गरेको दाबी सही हो कि तिमी के भन्छ्यौ ?”
निकै बेरपछि मालतीले आँसु पुछ्दै भनिन्– “मैले कसैलाई केही भन्नु छैन, म यस केटालाई चिन्दिनँ ।”
“उसो भए राजदेवसँग घरजम गर्न राजी छैनौ त ?”
“घरजमको त प्रश्नै आउँदैन, म उसलाई चिन्दै चिन्दिनँ ।”
“त्यसो भए तिम्रो आँखाबाट आँसु चाहिँ किन बगेको त ?”
“के म आँसु बगाउन पनि नपाउनू ? मलाई अरू प्रश्न नसोध्नुस्, मलाई यहाँबाट जान दिनुस् । म अरू बोल्न र कसैको बोली सुन्न चाहन्न ।” मालतीका आँखा ओभाउँदै ओभाएनन् ।
म छाँगाबाट खसेजस्तै भएँ । सानैदेखि एउटै स्कुल पढेको, डेढ वर्षदेखि प्रेम गरेको र बिहे गरेर अढाई महिना एउटै ओछ्यानमा सुतेको मान्छेले ‘चिन्दिनँ’ भन्दा म अक्क न बक्क भएँ ।
म आफ्ना कुरा स्पष्ट पार्न अघि के सरेको थिएँ, मालतीले मेरो अनुहारमै थुकिदिइन् । “यो के गरेको ?” भन्नासाथ चप्पल उठाएर हान्न आइन् । इन्स्पेक्टरले छेक्यो र मात्र म बचेँ; नत्र मालतीको हातबाट चप्पल पनि खाइने थियो ।
इन्स्पेक्टरले उनीहरूलाई फर्कन भने । उनीहरू निस्किएपछि मलाई पनि चित्त बुझाएर गाउँ फर्किन सुझायो । मेरा सम्पूर्ण आशा, भरोसा र विश्वासको एकै चिहान भयो । म मरेतुल्य भएँ, मन भतभती पोलिरह्यो । यो संसार मेरा लागि खरानी बनाउने ग्यासच्याम्बरजस्तै भयो ।
यद्यपि, मालतीबाट त्यस्तो निर्मम व्यवहार भयो भन्ने कुरामा मेरो मनले अझै पत्याउन सकिरहेको थिएन ।
∎∎∎∎∎
क्रमशः


