यहाँ प्रस्तुत गरिएका लघुकथाका रचियता सन्दीप तोमर भारतीय प्रसिद्ध लेखक हुन्। र उनका यी लघुकथाहरू ‘हाम्रो कथाघर डट कम’ का प्रधान सम्पादक जीवन सोनीले संकलन गरी नेपालीमा अनुवाद गरेर नेपाली भाषी पाठकका लागि प्रस्तुत गरेका छन्। लेखक तोमरका बारेमा जान्न इच्छुक पाठकवृन्दका लागि उनको साहित्यिक परिचय लघुकथा क्रम सकिए लगत्तै निम्न राखिएको छ।
१. लघुकथा: व्यापार
गत महिना मात्रै मैले उक्त संस्थालाई दुई लाख रुपियाँ डोनेसन दिएको थिएँ।
आज बिहान मात्रै खबर आयो कि संस्थाले मलाई “राइटर अफ द इयर” ले सम्मान गर्दैछ।
मैले संस्थालाई यसको घोषणा अखबारमार्फत गर्न अनुरोध गरेँ।
–०००–
२. लघुकथा: सपना
ऊ सुतिरहेको थियो, मैले उसलाई उठाइनँ—
“दीवाना छ, कुनै प्रेमिकाको यादमा सपना देखिरहेको होला।”
ऊ उठ्यो र मलाई भन्यो—
“यदि तिमीले मलाई सुतेको बेला उठाइदिएको भए, आज ऊ यसरी दिल तोडेर जाने थिइनँ।”
–०००–
३. लघुकथा: तैनाथी
शहरको जुन ठाउँमा कुनै घटना हुन्थ्यो, भोलिपल्ट उसलाई त्यहीँ तैनाथ गरिन्थ्यो। पछिल्ला केही महिनादेखि यही क्रम चलिरहेको थियो। ऊ घटना र तैनाथीबाट दिक्क भइसकेको थियो।
उसले ठूलो धैर्यका साथ अधिकृतसँग भन्यो— “हजुर, जब पक्का खबर छ कि दुई दिनपछि सराफा बजारमा घटना हुनेवाला छ र त्यसपछि मेरो तैनाथी त्यहाँ तय छ भने आजै किन मलाई त्यहाँ तैनाथ गरिँदैन?”
–०००-
४. लघुकथा: खबरदार
जालिमहरूले त्यो कमजोर व्यक्तिलाई घिसारेर घरबाट बाहिर ल्याए। उसका करङहरू धौंकनीझैँ चलिरहेका थिए।
एक जालिमले उसको घाँटी समातेर भन्यो— “हाम्रो टोलमा बसेर आफ्नो धर्मको गीत गाउँछस्, तँलाई मृत्युको डर छैन?”
त्यो कमजोर व्यक्ति गिडगिडाउँदै चिच्यायो— “हेर, मलाई मार्छौ भने मारिदेऊ तर खबरदार, यदि मेरो धर्मका विरुद्ध एक शब्द पनि भन्यौ भने।”
–०००–
५. लघुकथा: पहुँच
उसले भन्यो— “मसँग बंगला छ, पनामा छ, प्याराडाइज छ, तिमीसँग के छ हँ…?”
पत्रकारले भन्यो— “मसँग यी सबै दाग धुनलाई डिटर्जेन्ट पाउडर छ, त्यो पनि एकदमै स्वदेशी।”
पुलिसवालाले— (पछाडि लठ्ठी बजार्दै), “साले, म तेरो पत्रकारिता यहीँ निकाल्छु, तँलाई थाहा छैन साहेबको पहुँच कहाँसम्म छ?”
पत्रकार यताउता हेरिरहेको थियो।
–०००–
६. लघुकथा: विनती
जालिमहरूले मुस्किलले १६ वर्षकी, दुब्लो-पातलो शरीर भएकी, गहुँगोरो रङ्गकी युवतीलाई घिसारेर घरबाट बाहिर ल्याए… युवती लड्खडाउँदै उठी, कपडा मिलाई र जालिमहरूसँग भनी— “तिमीहरू मलाई मार्छौ भने मारिदेऊ तर मेरो विनती छ, हेर मेरो सुरुवाल नच्यातिदिनु।”
–०००–
सन्दीप तोमरको जन्म ७ जुन १९७५ मा भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगर जिल्लाको गंगधाडी गाउँमा भएको हो। पेशाले अध्यापक रहेका तोमर एक बहुआयामिक साहित्यकार हुन्, जसले कविता, कथा, लघुकथा, उपन्यास, समालोचना र गजलजस्ता विभिन्न विधामा कलम चलाएका छन्।
उनले विज्ञानमा स्नातक गरेपछि शिक्षणशास्त्र, गणित, समाजशास्त्र र भूगोलजस्ता विषयमा एम.एड., एम.एस्सी., एम.ए. तथा एम.फिल.सम्मको उच्च शिक्षा हासिल गरेका छन्।
उनको साहित्यिक यात्रा सन् २००३ मा प्रकाशित पहिलो कविता सङ्ग्रह ‘सच के आस पास’ बाट सुरु भएको हो। सन् २०१७ मा प्रकाशित उपन्यास ‘थ्री गर्ल्सफ्रेन्ड्स’ ले उनलाई एक चर्चित उपन्यासकारको रूपमा स्थापित गरायो। त्यसैगरी, उनको आत्मकथा ‘एक अपाहिज की डायरी’ को विमोचन सन् २०१८ मा नेपालमा भएको थियो। उनका अन्य प्रमुख कृतिहरूमा ‘कामरेड सञ्जय’ (लघुकथा सङ्ग्रह), ‘यंगर्स लभ’ (कथा सङ्ग्रह), र ‘एस फर सिद्धि’ (उपन्यास) पर्दछन्।
साहित्य र शिक्षणमा पुऱ्याएको योगदानका लागि उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित छन्। उनका केही प्रमुख सम्मानहरूमा ‘तुलसी स्मृति सम्मान’ (२००४), भारत सरकारद्वारा ‘बेस्ट टिचर अवार्ड’ (२०११), नेपालमा प्रदान गरिएको ‘साहित्य सृजन सम्मान’ (२०१८) र ‘हिन्दी रत्न सम्मान’ (२०१८) आदि पर्दछन्।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



