लघुकथा: महायात्रा
बाबुराम न्यौपाने ‘उत्स’
अनन्त सृष्टिको रहस्यमय संसारमा निरन्तर चल्ने यो एउटा अपूर्व घटना थियो ।
उसले कोकोहोलो गर्दै सुन्दर धरतीलाई स्पर्श गर्यो । फूलहरूले स्वागत गरे । शुभकामनाले जीवनको पर्दा खोल्यो ।
उसले दिन र रातसँग लुकामारी खेलिरह्यो । शिखर चुम्नु थियो, निरन्तर हिँडिरह्यो ।
एक पल थपक्क घामसँगै अस्तायो । ऊ ब्युँझिएन, अनन्त महानिद्रामा लीन भयो ।
उसको पार्थिव देह श्रद्धाञ्जलीको पर्दाले सर्लक्क छोपियो ।
एक अद्भुत कलाकार पलभरमा खरानी भयो ।
यता मलामीको भीड पालैपालो महायात्रामा जान लामबद्ध थियो ।
दार्शनिकको कलमले एक शब्दमा जीवनको अर्थ लेख्यो—
“जीवन महान् सपना र भ्रम हो, महायात्रा सत्य !!”
दमक, झापा


