लघुकथा: जुक्ति
“हजुर पनि कस्तो मान्छे हो ?” सङ्गीताले आफ्ना पति दौलतसँग भनिन् ।
“के भयो तिमीलाई ? के चित्त बुझेन ?” दौलतले प्रतिप्रश्न गर्यो ।
“एकातिर धनवीरलाई यसो गर्यो, उसो गर्यो भन्दै कराउनु पनि हुन्छ, महाकञ्जुस छ पनि भन्नुहुन्छ । अर्कोतर्फ उसैलाई आफ्नो बाइकमा बसालेर ल्याउनु पनि हुन्छ!” सङ्गीताले आश्चर्य मान्दै सोधिन् ।
“ओहो! ऊ हिँड्दै आएको थियो, म पनि यतै आउँदै थिएँ, बसालिहालेँ । के भयो त ?” दौलतले सफाइ दिँदै भन्यो ।
“भएको केही होइन । लगातार सात–आठ दिन भइसक्यो, सधैँ उसलाई बसालेको देख्छु । जब ऊसँग हजुरको विचारै मिल्दैन, उसले एक रुपियाँ पनि खर्च गर्दैन भने फेरि किन यस्तो हमदर्दी ऊसँग ? मैले हजुरको यही कुरा बुझ्न नसकेर सोधेकी मात्र हुँ,” सङ्गीताले निधार खुम्च्याउँदै भनिन् ।
“हो, यसैमा त एउटा रहस्य लुकेको छ,” दौलतले केही सोचेझैँ गर्दै भन्यो ।
“त्यही कुरा त मैले बुझ्न खोजेकी हुँ, भनिदिनुहोस् न!” सङ्गीताले जिद्दी गरिन् ।
“ठीक छ, त्यो पनि भनौँला । समय आएपछि तिमी आफैँले पनि देख्नेछौ,” दौलतले भन्यो ।
“अब देख्ने कुरा त पछि देखौँला, भन्ने कुरा अहिले नै भनिदिनुहोस् न!” सङ्गीताले आग्रह गरिन् ।
“कुरा के हो भने, ऊ बजारबाट सधैँ पैदल आउने–जाने गर्छ । त्यसरी उसले आफ्नो दुई सय रुपियाँ भाडा जोगाउँछ, हो कि होइन ?” दौलतले प्रश्न गर्यो ।
“त्यो त हो,” उनले संक्षिप्त उत्तर दिइन् ।
“अनि केही दिन मेरो बाइकमा सित्तैमा सरर हिँडेपछि उसलाई पैदल हिँड्ने बानी छुट्छ । जब म चढाउन छाडिदिन्छु, तब उसलाई पैदल हिँड्न गाह्रो हुनेछ । त्यसपछि कि त उसले भाडा तिरेर अटो चढ्नैपर्छ, कि त बाइक किन्नुपर्छ! बुझ्यौ मेरो रहस्य ?” दौलतले ठट्यौली पारामा भन्यो ।
“हजुर त साँच्चै अत्यन्तै दूरदर्शी पो हुनुहुँदो रहेछ!” सङ्गीता मुस्कुराउँदै बोलिन् ।


