नवीन कुमार रोकायाको पहिलो उपन्यास ‘निःशब्द’ सार्वजनिक
काठमाडौं । लेखक नवीन कुमार रोकायाको पहिलो उपन्यास ‘निःशब्द’ औपचारिक रूपमा पाठकमाझ सार्वजनिक भएको छ । लामो समयदेखि लेखकीय यात्राका क्रममा सँगालेका अनुभूति, विचार तथा समाजका मौन कथालाई आख्यानका रूपमा प्रस्तुत गर्दै रोकायाले ‘निःशब्द’मार्फत उपन्यास विधामा आफ्नो उपस्थिति जनाएका हुन् ।
संवाद प्रकाशन प्रा.लि.मार्फत प्रकाशित ‘निःशब्द’मा मानवीय सम्बन्ध, पारिवारिक संवेदना, सामाजिक यथार्थ, जीवनका उतारचढाव तथा मानिसले भोग्ने मौन पीडाजस्ता विषयलाई कथानकमार्फत प्रस्तुत गरिएको छ । उपन्यासले पाठकसँग गहिरो भावनात्मक संवाद स्थापित गर्ने अपेक्षा गरिएको छ ।
उपन्यास सार्वजनिक भएसँगै ‘निःशब्द’ क्रमशः विभिन्न बजार तथा पुस्तक पसलहरूमा उपलब्ध हुँदै जाने जनाइएको छ । पुस्तक घरमै मगाउन चाहने पाठकले ह्वाट्सएपमार्फत ९७४९८५७७०३ मा अर्डर गर्न सक्नेछन् भने पुस्तक तथा उपलब्धतासम्बन्धी थप जानकारीका लागि ९७६७५८८८९३ मा सम्पर्क गर्न सकिनेछ ।
यसैबीच, नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सञ्चालित बृहत् पुस्तक प्रदर्शनीमा समेत ‘निःशब्द’ उपलब्ध हुने भएको छ । प्रदर्शनीका पछिल्ला दुई दिन, असोज १७ र १८ गते, पाठकले दोबिल्ला, शिखा र मञ्जरी कक्षमा पुगेर उपन्यास प्राप्त गर्न सक्नेछन् ।
साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउँदै आएका रोकायाका लागि ‘निःशब्द’को प्रकाशन उनको लेखकीय यात्राको एउटा महत्त्वपूर्ण चरण हो । पुस्तक सार्वजनिक गर्दै लेखक रोकायाले पुस्तकमाथि पाठक तथा साहित्यप्रेमीबाट प्राप्त हुने दृष्टिकोण, प्रतिक्रिया, सुझाव तथा आलोचनालाई आगामी सिर्जनात्मक यात्राका लागि मार्गदर्शनका रूपमा लिने बताएका छन् ।
समाजका केही मौन कथालाई शब्दमा उतार्ने प्रयासस्वरूप आएको लेखक नवीन कुमार रोकायाको यो पहिलो उपन्यास अब पाठकको हातमा पुगेको छ ।


