‘अन्तरिक्षको आँगन’को गृहविमोचन, विमर्श तथा सिर्जना उत्सव सम्पन्न
वालिङ, १७ असोज ।
निबन्धकार अनन्त अर्यालको पहिलो निर्बन्ध–आलेख तथा पाँचौँ साहित्यिक कृति ‘अन्तरिक्षको आँगन’को गृहविमोचन, विमर्श एवम् सिर्जना उत्सव–२०८३ सम्पन्न भएको छ ।
गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाको आयोजना तथा ‘वैकल्पिक बाटो, पृथक् पाइला सिर्जनात्मक अभियान–२०७६’को सहकार्यमा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको हो ।
निबन्धकार अनन्त अर्यालको अध्यक्षता तथा अग्रज स्रष्टा विश्वप्रेम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘अन्तरिक्षको आँगन’को लोकार्पण गरिएको थियो । लोकार्पणपश्चात् कृति, कृतिकारको व्यक्तित्व र निर्बन्ध–आलेख लेखनमाथि केन्द्रित रहेर वक्ताहरू दीपक लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यामबहादुर कुँवर र चक्रबहादुर पराजुलीले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए भने लेखक अर्यालले निर्बन्धीय मन्तव्य राखेका थिए ।
वालिङ नगरपालिका–१४, गाएँडाँडा, स्याङ्जामा २०२३ पुस १९ गते बुवा गुप्तप्रसाद अर्याल र आमा तारादेवी अर्यालको कोखबाट जन्मिएका अनन्त अर्याल हाल जनसेवा माध्यमिक विद्यालय, वालिङ–१४, डुम्रेभञ्ज्याङमा प्रधानाध्यापकका रूपमा कार्यरत छन् । उनी गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्षसमेत हुन् । तिलाकुमारी स्मृति साहित्य पुरस्कार (२०६०) र भेषजविन्दु साहित्यिक पुरस्कार (२०८२) लगायतबाट सम्मानित अर्याल लामो समयदेखि नेपाली साहित्य सिर्जनामा निरन्तर क्रियाशील छन् ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर (एम.ए., एम.एड.) सम्मको अध्ययन पूरा गरेका अर्यालको यो पाँचौँ साहित्यिक कृति हो । सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित तथा युवा स्रष्टा मिलन समीरद्वारा सम्पादित यस कृतिमा २९ वटा समसामयिक निर्बन्ध–आलेखहरू समावेश गरिएका छन् ।
युवा स्रष्टा शम्भु अर्यालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संयोजन ‘वैकल्पिक बाटो, पृथक् पाइला सिर्जनात्मक अभियान’का संस्थापक संयोजक एवम् साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए ।
कार्यक्रमको दोस्रो चरण अर्थात् ‘सिर्जना उत्सव’मा चिन्तु गिरी, लेखनाथ काफ्ले, नीलकण्ठ लम्साल, सीताराम अधिकारी, अग्निकुमार रेग्मी ‘पल्लव’, प्रेमबन्धु सुवेदी, लीलाम्बर ढुङ्गाना, शोभाकान्त रेग्मी, गुरुप्रसाद ढकाल, पारिश्वर न्यौपाने, खगेन्द्रजङ्ग थापा, इन्द्रप्रसाद पाठक, प्रेमप्रसाद सुवेदी, विनुप्रसाद पराजुली, वसन्त खनाल, कमल बगाले, चण्डिकाप्रसाद भट्टराई र डिल्लीराम भण्डारी लगायतका स्याङ्जाली स्रष्टाहरूले आफ्ना उत्कृष्ट रचना प्रस्तुत गरेका थिए । सो अवसरमा उदय श्रेष्ठ र लक्ष्मीपति पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


